• स्थानीय चुनाव र अबको मिथिलाः संरचनासँगै सोच बदलौं

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७४, बिहीबार ०७:५४

    दोस्रो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा उम्मेदवारहरुको चर्चासँगै स्थानीय तहको सम्भावना र चुनौतीको पनि लेखाजोखा भइरहेको छ । यस क्रममा तराई–मधेसमा विशिष्ट स्थान राख्ने मिथिला क्षेत्रलाई छुटाउन मिल्दैन । २० वर्षदेखि स्थानीय निकायमा रोकिएको सेवा-सुविधा पाइने भएकाले तराईका जनता यो चुनाव पर्खिरहेका छन् ।

    मिथिला भनेको सांस्कृतिक, भाषिक तथा भूगोलको रुपमा छुट्टै पहिचान भएको क्षेत्र हो । मिथिला भूगोल पनि हो । त्यो भूगोललाई राजनीतिक सीमाको रुपमा खासै मान्यता नदिइए पनि आम जनतालाई थाहा छ, यो क्षेत्र भनेको मिथिला क्षेत्र हो । तर, मिथिलाभित्रै मिथिलालाई उपेक्षाको कोणबाट हेर्ने प्रवृत्ति बढेको छ ।

    पहिचान र भाषाको कुरा

    नेपालमा सबभन्दा बढी बोलिने नेपालीपछिको दोस्रो भाषा मैथिली हो । यस हिसाबले मैथिलीभाषी जनसंख्या नेपालीभाषीपछिको दोस्रो ठूलो जनसंख्या हो । त्यो हिसाबमा विगतका शासकहरुले मैथिली भाषालाई सम्बोधन गरेनन् । यत्तिको गरिमा भएको भाषालाई यस्तो तल्लो स्तरमा हेर्ने, कानुनी र संवैधानिक रुपमा मान्यता नै नदिने, सरकारी कामकाज र माध्यम भाषाको रुपमा प्रयोग नगर्ने अवस्था संसारमा अन्यत्र कहीँ पनि उदाहरण भेटिन्न ।

    हुँदा–हुँदा संविधानसभाले पनि देवनागरी लिपिमा लेखिएको नेपाली भाषा कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था गर्दै अन्य भाषाको हकमा भनेर सबैलाई एकै ठाउँमा राखियो । दोस्रो भाषाको कुनै हरहिसाब नै गरिएन । पछि राज्य बन्छ र त्यसपछि आयोग बन्छ वा के हुन्छ, अहिलेको स्थितिमा त्यो पनि अन्योलग्रस्त नै छ ।

    तराईमा जुन आन्दोलन भइरहेको छ, अहिलेको आन्दोलनलाई राजनीतिक मात्र भन्न मिल्दैन । अहिलेको आन्दोलन सामाजिक पनि हो । यो आन्दोलनमा सबभन्दा बढी मुखर भएर आयो, त्यो पहिचानको कुरा हो । त्यो पहिचानसँग राजनीतिक आन्दोलन जोडियो । मुख्य कुरा भनेको संस्कृति हो, भाषा हो । भाषा र संस्कृति पहिचानसँग जोडिन्छ ।

    भन्ने हो भने संस्कृति भनेको अमूर्त कुरा हो । भाषाले त्यसलाई जीवन्तता दिन्छ । अर्थात् तराईको भाषाभाषीलाई राज्यले सम्बोधन गरिदिएको भए जनतालाई मैले पहिचान पाएँ भन्ने महसुस हुन्थ्यो । अहिलेसम्मको स्थितिमा त्यो पहिचान कसैले महसुस गर्न सकेको छैन ।

    जतिसुकै आन्दोलन भए पनि यदि त्यसमा कतै मिथिला र मैथिली भाषाको कुरा समेटिएको छैन भने त्यो आन्दोलनको के अर्थ ? यदि मिथिलाले परिचय पाएन र मैथिली भाषाले पनि इज्जत पाएन भने त्यो आन्दोलनको के उपलब्धि भयो ?

    अब यस्तोमा प्रश्न उठ्छ, मैथिलीभाषीको यति ठूलो संख्या छ भने अहिलेसम्मको राजनीतिक आन्दोलन खै त मैथिली भाषाको विषयमा उठेको ? मधेस केन्द्रित दलहरुले गर्दै आएको आन्दोलनप्रति यो गहन प्रश्न हो । म मैथिली आन्दोलनमा लागेको र मैथिली भाषा, साहित्य र कलामा काम गर्ने मान्छे भएको नाताले बडो प्रष्ट रुपमा भन्छु, नेपाल एकीकरण भएदेखि अहिलेसम्मको अवस्थामा सबभन्दा कमजोर अवस्था मिथिलाको अहिले छ । अहिले कसैले मिथिला भन्यो भने मैथिलीभाषीहरुले नै कहाँको शत्रु यो भनेर व्याख्या गर्छन् ।

    एकातिर राज्यले मैथिलीभाषीहरुलाई उचित सम्मान गरेन र तिरस्कृत नै गर्‍यो । अर्कातिर, आफ्नै समुदायभित्र पनि जो सामाजिक र राजनीतिक आन्दोलनमा होमिँदै म अधिकार र पहिचानको लागि लड्दै छु भनिरहनुभएको छ, उहाँहरुको नेतृत्वमा सहादत दिइएको छ, तर भन्ने हो भने मैथिली आन्दोलनप्रतिको लिगेसी उहाँहरुको पनि कमजोर छ । त्यो के कारणले भएको हो ?

    हामीले मैथिलीको कुरा गर्दा नेपालभित्रका विभिन्न संस्कृतिमध्ये सबभन्दा पहिला मानव संस्कृतिको विकास भएको ठाउँ हो मिथिला । सबभन्दा पहिला ज्ञान–विज्ञानको विकास भएको ठाउँ हो मिथिला । नेपालमा मात्र हैन, संसारभरि नै ज्ञानको प्रसार भएको हो मिथिलाबाट । आजको समयमा मिथिला बिना नेपालको कल्पना गर्न सकिँदैन ।

    यो यथार्थ हुँदाहुँदै हाम्रै आफ्नै मैथिलीभाषीहरु नै यसप्रति उदासीन देखिन्छन् । यस्तो किन भयो त ? एक त हामीमाथि राज्यबाट परिचयको संकट थोपरिएको छ भनेर भनिन्थ्यो, अर्कोतिर फेरि आफैंले आफूलाई उपेक्षा गरियो भने त्यसले मिथिलालाई कहाँ पुर्‍याउला ?

    जतिसुकै आन्दोलन भए पनि यदि त्यसमा कतै मिथिला र मैथिली भाषाको कुरा समेटिएको छैन भने त्यो आन्दोलनको के अर्थ ? यदि मिथिलाले परिचय पाएन र मैथिली भाषाले पनि इज्जत पाएन भने त्यो आन्दोलनको के उपलब्धि भयो ?

    मिथिलाको शक्ति

    स्थानीय तह भनेको मूलतः जनतालाई विकास दिने र सेवा प्रदायक तह हो । एउटा निश्चित क्षेत्रभित्र सांस्कृतिक र भाषिक अधिकार पनि दिनुपर्छ । भलै त्यो ठूलै प्रभावकारी होला भन्न सकिन्न । त्यसको लागि भोलि केन्द्र सरकार वा संघीय सरकारले मुख्य भूमिकामा रहेर निक्र्यौल गर्ला ।

    मिथिलाको मुख्यतया धार्मिक र ऐतिहासिक नै सबैभन्दा सबल पाटो हुन् । दोस्रो, ऊसँग रहेको उर्वर जमिन हो । जसलाई खेती, पशुपालन आदिमा उपयोग गर्न सकिन्छ, जसले आर्थिक परिवर्तनमा राम्रो भूमिका खेल्न सक्छ ।

    तर, यो तहको निर्वाचनमा स्थानीय स्तरमा स्रोत–साधन के छन्, त्यहाँका बलिया पक्षहरु के छन् आदिको निक्र्योल गर्न सक्ने क्षमता भएको जनप्रतिनिधिको छनोट हुनु आवश्यक छ । त्यसो भयो भने स्वाभाविक रुपमा मिथिला क्षेत्र समृद्धितिर लम्कन्छ । समृद्धिले सम्पूर्ण मानवीय सूचकांक माथिल्लो स्थानमा उकास्छ ।

    मिथिलाको मुख्यतया धार्मिक र ऐतिहासिक नै सबैभन्दा सबल पाटो हुन् । दोस्रो, ऊसँग रहेको उर्वर जमिन हो । जसलाई खेती, पशुपालन आदिमा उपयोग गर्न सकिन्छ, जसले आर्थिक परिवर्तनमा राम्रो भूमिका खेल्न सक्छ । तेस्रो हो, मानवीय संशाधन । मिथिला क्षेत्रमा युवा जनसंख्या धेरै ठूलो छ । प्रदेश नम्बर २ का आठ जिल्लामा युवाको संख्या शक्तिशाली छ । अहिले नेपालबाट जति पनि वैदेशिक रोजगारीमा गएका छन्, सबभन्दा बढी मिथिला क्षेत्रका गएका छन् । जसलाई हामीले फर्काउन सक्यौं भने यो देशको कायापलट हुन सक्छ ।

    अर्को, हामीसँग सिंचाइका लागि पर्याप्त नदीहरु छन् । अहिले पनि सुनकोशी, कमला डाइभर्सन लगायत हेर्‍यौं भने सिंचाइको ठूलो सम्भावना देखिन्छ । यहाँ आरक्षहरु छन् । तालतलैया छन् । जंगल क्षेत्र पर्याप्त छ । जनकपुर, गढीमाई र राजविराजको छिन्नमस्ता देवी र सहलेश फूलबारी जस्तो धार्मिक तथा पर्यटकीय स्थल छ ।

    यस्ता ठाउँहरु हेर्दा सम्पूर्ण विकासको सम्भावना छ । यी सबल पाटोलाई हामीले कसरी उपयोग गर्ने भन्ने अबको चुनौती हो ।

    उर्वर जग्गा, विविध प्रकारका जनशक्ति लगायत हुँदाहुँदै पनि मानवीय सूचकांकमा मिथिला किन कमजोर छ ? शैक्षिक अवस्था किन खस्किएको छ ? यसको मुख्य कारण राज्यले अवहेलना गर्नु र स्थानीय जनप्रतिनिधिले स्थानीय समस्याहरु पत्ता लगाएर गम्भीरतासहित समाधानतिर लैजान नसक्नु नै हो ।

    स्थानीय निकायबाट अपेक्षा

    जुनसुकै क्षेत्रमा समस्या हुन्छ नै । तर, सबै क्षेत्रमा एकै प्रकारको समस्या हुन्छ भन्ने हुँदैन र सबै समस्याको एकै प्रकारको समाधान हुन्छ भन्ने पनि हुँदैन । स्थानीय तहको चुनावबाट स्थानीय निकाय नगर र गाउँहरुमा आउँदै छ । स्थानीय निकायप्रति जनता उत्साहित पनि देखिइरहेका छन् ।

    जनतालाई केही विकास र समृद्धि चाहिएको छ । समृद्धि नै सबैको आकांक्षा हुन्छ । जतिबेला राजनीतिक तथा अधिकारको आन्दोलन चलिरहेको हुन्छ, त्यतिबेला ठूल्ठूला मुद्दाको छायामा पारेर नेताहरुले विकास र जनअपेक्षाका कुरालाई गौण पनि गराउन सक्छन् । यी कुरा केही पनि हैनन्, यो चाहिँ महत्वपूर्ण हो भनेर ।

    तराई–मधेसमा क्रियाशील सबै राजनीतिक दलहरुको दायित्व के हो भने नकारात्मकतालाई समाप्त पार्दै सकारात्मक सोचको विकास गर्ने समन्वयात्मक रुपमा कसरी अगाडि बढ्ने भन्ने चुनौती त्यहाँ छ ।

    तराईको सम्भावना के हो ?

    सबै ठाउँको फरक–फरक विशेषता हुन्छ । पहाडमा जलस्रोत आजको दिनमा ठूलो रिसोर्स बन्दै छ । त्यहाँ कृषि क्रान्ति गरेर अत्यन्त समृद्धि भित्र्याउन सकिन्छ भनेर हाम्रा नेताहरु भन्छन् ।

    भारतमा सबभन्दा बढी अहिले आर्थिक समृद्धि पञ्जाव र हरियाणामा देखिन्छ । तर, दुवै राज्यमा जलविद्युत् छैन । जलविद्युत् नभएर पनि ती राज्य समृद्ध छन् । यसो भन्नुको अर्थ हाम्रो देश तथा प्रदेश के हो ? यसको सबल पाटो के हो ? यो देश/प्रदेशलाई चिन्न सकियो भने हाम्रो मिथिला समृद्ध हुन्छ ।

    मिथिला क्षेत्रलाई हामी पर्याप्त सम्भावना भएको क्षेत्र भनेर हामी हेर्छौैं । तर, यो सबभन्दा समस्याग्रस्त क्षेत्र पनि हो । यो समस्याबाट कसरी निकाल्ने, हामी सबैको दायित्व पनि हो ।

    पूरै नेपालको कुरा गर्ने हो भने हामीसँग चार वटा चिज छन्, सगरमाथा, पशुपतिनाथ, जनकपुर र लुम्बिनी । यी चार चिजलाई व्यवस्थित गर्न सकियो भने नेपाल समृद्ध हुन्छ । चार चिजमध्ये मिथिलामा एउटा क्षेत्र पर्छ । त्यस्तो सम्भावना छ ।

    यो सम्भावनालाई प्रयोगमा ल्याइयो भने मात्र हुन्छ । हेरेर, चर्चा गरेर अनि काल्पनिक कुरो गरेर हुँदैन । सम्पदा छ भनेर मात्र हुँदैन, त्यसको मार्केटिङ गर्न सक्ने क्षमता पनि हुनुपर्‍यो । त्यो ठाउँमा राजनीतिक दलको भूमिका कस्तो छ, नेतृत्वसँग कस्तो भिजन छ, दीर्घकालीन रुपमा कस्ता योजनाहरु बनाउँछ, त्यसैमा भर पर्ने कुरा हो ।

    मिथिला क्षेत्रलाई हामी पर्याप्त सम्भावना भएको क्षेत्र भनेर हामी हेर्छौैं । तर, यो सबभन्दा समस्याग्रस्त क्षेत्र पनि हो । यो समस्याबाट कसरी निकाल्ने, हामी सबैको दायित्व पनि हो ।

    प्राचीन गरिमा बचाउने कि आधुनिकता पनि भित्र्याउने ?

    मिथिलासँग परम्परा र संस्कृति छ । ती सबै कुरा आजको दिनमा मार्केटिङ गर्न सक्ने आधारहरु हुन् । संसारमा यस्ता जीवन्त सम्पदा र अमूर्त संस्कृति छैन । त्यसलाई पनि मार्केटिङ कसरी गर्ने, हेर्न योग्य कसरी बनाउने, संसारका मान्छेलाई कसरी आकर्षित गर्ने ? कुना–कुनाबाट रिसर्चको लागि आउन सक्ने अवस्था कसरी निर्माण गर्ने ? एकातिर यो सांस्कृतिक पाटो छ भने आधुनिकीकरणको हिसाबलेसमयलाई पछ्याउन सकेनौं भने हामी त छुट्छौं ।

    आम मान्छेको सोच बदल्नुपर्छ भन्ने कुरामा हाम्रो योजना आयोगमा बसेका मान्छेहरुले समेत सोचेका हुँदैनन् । उनीहरुको सोचमा संरचना मात्र हुन्छ । कुनै पुलको बारेमा प्रतिवेदन तयार गर्दा यो पुलबाट वर्षमा ५० हजार मान्छे र १० हजार गाडी आवतजावत हुन्छ भनेर लेख्छन् ।

    आज मिथिलामा उद्योगधन्दाको पनि नराम्रो अवस्था छैन । तर, उद्योगधन्दाले मात्र सबथोक हुँदैन । अहिले जुन परिवर्तित रुपमा प्रविधिहरु आइरहेको छ, त्यो प्रविधिसँग कसरी अभ्यस्त हुने भन्ने पनि महत्वपूर्ण हुन्छ । त्यसमा सर्वसाधारणको पहुँच कसरी बढाउने भनेर सरकारको पनि दायित्व हुन्छ ।

    शिक्षा क्षेत्रको कुरा गर्दा पूरै अस्तव्यस्त छ । सरकारी शिक्षा सम्पूर्ण रुपमा ध्वस्त नै छ । यद्यपि मिथिलामा स्कूलिङको परम्परा निकै पुरानो हो । संसारका विभिन्न ठाउँका मान्छे त्यहाँ पढ्न आउँथे ।

    त्यहाँका मान्छे पढ्नमा कमजोर छन् भन्ने कुरा पनि हैन । एकसे एक बौद्धिक मान्छे र हरेक क्षेत्रमा उँचाइ प्राप्त गरेका मान्छे पनि छन् । तर, त्यो केही सीमित संख्यामा भएर हुँदैन । आम मानिसलाई शिक्षा, अवसर र आधुनिक सुविधा सम्पूर्ण रुपमा जबसम्म उपलब्ध गराइँदैन, तबसम्म परिवर्तन देखिँदैन ।

    अर्कोतिर, सोचको स्तरमा पनि परिवर्तन चाहिन्छ । सोचको स्तरमा परिवर्तन नहुँदासम्म संकीर्ण चेतनाले हामीलाई समातिराखेको हुन्छ । संरचनाले मात्र आधुनिकीकरण भयो, धेरै राम्रो बाटो बन्यो, बिजुली झिलीमिली भयो, सर्वत्र इन्टरनेटको सुविधा भयो भन्दैमा अब विकास भयो भन्ने हुँदैन । हाम्रो सोचमा के छ त ? त्यो परिवर्तनको स्तरमा अब काम गर्नु आवश्यक छ । त्यो महत्वपूर्ण पाटोलाई बिर्सेर अहिलेसम्म हामी विकास र समृद्धिको गफ गरिरहेका छौं ।

    आम मान्छेको सोच बदल्नुपर्छ भन्ने कुरामा हाम्रो योजना आयोगमा बसेका मान्छेहरुले समेत सोचेका हुँदैनन् । उनीहरुको सोचमा संरचना मात्र हुन्छ । कुनै पुलको बारेमा प्रतिवेदन तयार गर्दा यो पुलबाट वर्षमा ५० हजार मान्छे र १० हजार गाडी आवतजावत हुन्छ भनेर लेख्छन् । त्यो मात्र पाटो अपूर्ण हुन जान्छ । मनोवैज्ञानिक प्रभाव के छ भन्ने पनि विचार्नुपर्छ ।

    भव्यतम संरचना बनेर मात्र हुँदैन, मनोवैज्ञानिक रुपमा पनि परिवर्तनको लहर चल्नुपर्‍यो । ठूलो शहर भएकाले जनकपुरलाई प्रदेश नम्बर २ को सम्भावित राजधानीको रुपमा पनि हेरिँदैछ । भोलि मानौं जनकपुर प्रादेशिक राजधानी बन्ला, हामी राजधानीवासीको नाताले त्यस्तै सोच हामीभित्र हुनु जरुरी हुन्छ ।

    सबैलाई स्वीकार गर्न सक्ने मनोविज्ञान बनाउने, सबैको स्विकारोक्तिको संस्कार विकास गर्ने र एउटा नयाँ समाज, नयाँ सोच र नयाँ जीवनशैलीको विकासमा भूमिका खेल्न सबैले आफ्नो तर्फबाट योगदान गर्नु आवश्यक छ । यस क्रममा धेरै संरचना भत्काउनुपर्छ, धेरै बनाउनुपर्छ । त्यसको लागि सहज स्थिति निर्माण गर्दै मिथिलाले आफूलाई तयार राखिराख्नुपर्छ ।

    सोचको स्तरमा परिवर्तन ल्याउने गरी हाम्रो शिक्षा व्यवस्था, सेलेबस आदिमा परिवर्तन चाहिन्छ । त्यो परिवर्तनको सोच राज्य सञ्चालन गर्ने मान्छेहरुमा छ कि छैन ? स्थानीय तहको कायापलटको परिकल्पना गरिरहँदा यो प्रश्न गर्दै हामी अघि बढौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु