रेशम न्यौपाने
प्रमुख कार्यकारी अधिकृत
साधना लघुवित्त वित्तीय संस्था लि.
साधनाको चिनारी
साधना लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत मितिः २०७४ जेष्ठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मितिः २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी मितिः २०७४ मंसिर २२ गतेबाट वित्तीय कारोबार सुरु गरेको लघुवित्त वित्तीय संस्था हो । गोरखा नगरपालिका, वडा नं. ६, हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस साधना लघुवित्त वित्तीय संस्था लिमिटेड अहिलेसम्मकै कान्छो लघुवित्त वित्तीय संस्था हो ।
साधनाको वित्तीय अवस्था
केन्द्रीय कार्यालय शुभारम्भ गरे सँगैं यस वित्तीय संस्थाले कार्तिक २७ गते वाट वित्तीय कारोबार सुरु गरेको हो । कारोबारको हामीले अहिलेसम्म वित्तीय सेवाको पहुँच बाहिर रहेका स्थानहरुमा शाखा विस्तार गरेका छौं भने त्यहींका स्थानीय जो वित्तीय पहुँच बाहिर छन्, उनीहरुलाई लघुवित्त कार्यक्रममार्फत वित्तीय सेवा पुर्याइरहेका छौं । हालसम्म गोरखा र धादिङ जिल्लामा गरी ६ वटा शाखा विस्तार गरेका छौं । र, हामी अब वित्तीय पहुँच नपुगेका ठाँउहरुमा तत्कालै शाखा विस्तार गर्दैछौं । जसबाट यस आर्थिक वर्षमा हाम्रो शाखा संजाल १५ पुग्नेछ र हामी १५ वटा शाखाबाट वित्तीय साक्षरता सहित पहुँच विस्तार गर्नेछौं र व्यवसायिक रुपमा पनि उपलब्धि हासिल गर्दै जानेछौं ।
कर्जा तथा बचत सुविधाहरु
साधना लघुवित्तले पारम्परिक रुपमा बिनाधितो कर्जा र धितो कर्जा मात्र नभनीकन हामीले कर्जामा पनि अलिक विविधिकरण ल्याएका छौं । बिनाधितो कर्जा अन्तर्गत साधारण कर्जा, आकस्मिक कर्जा, बैदेशिक रोजगार कर्जा, जलविद्युत शेयर कर्जा र अनुशाशन कर्जा मा लगानी गरेका छौं भने धितो कर्जा अन्तर्गत लघुउद्यम कर्जा, घरघडेरी कर्जा, शैक्षिक कर्जा र हायर पर्चेज कर्जामा लगानी गर्ने गरको छौं । हामीले कर्जाका प्रकार अनुसार ब्याजदर पनि फरकफरक तय गरेका छौं । लघुवित्त व्यवसायमा एकै खाले कर्जा प्रवाह गर्नुको साटो विभिन्न शीर्षक अन्तर्गत फरकफरक सेवासुविधासहित कर्जा प्रवाह गर्ने लक्ष्य अनुरुप हामीले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्ने गरेका छौं ।
त्यस्तै समूह सदस्यहरुलाई ससानो रकम बचत गर्ने बानीको विकास गराउने उद्देश्यले विभिन्न किसिमका बचतका कार्यक्रमहरु पनि संचालन गरेका छौं । जस अन्तर्गत केन्द्रकोष बचत, व्यक्तिगत बचत, बिमा बचत र वाल बचत खाताहरु संचालनमा रहेका छन् । कर्जा र बचतको अलवा रेमिटान्स भुक्तानी सेवासहित सामाजिक सुरक्षा सेवा, कर्जा तथा बचत सुरक्षण सेवा र सीप तथा क्षमता विकासका लागि पनि अभिमुखीकरण कार्यक्रमहरु संचालन गरिनेछ ।
समग्रतामा लघुवित्तको अवस्था
हाल नेपालमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरु ५५ वटा रहेका छन् । त्यसको अलवा केही गैरसरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम संचालन गरिरहेका छन् भने गाउँघरमा स्थानीय रुपमा संचालित सहकारीहरुले पनि लघुवित्त सेवा प्रवाह गरिरहेका छन् । खासगरी गाउँघरका गरिब र विपन्न परिवारका मानिसहरुलाई बिना धितो सामुहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य लघुवित्तको रहेको हुन्छ ।
अहिले भर्खरै संचालनमा आएका केही लघुवित्तहरु बाहेक सबैजसो लघुवित्त वित्तीय संस्थाहरुले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । अनि शेयरधनीहरुलाई पर्याप्त मात्रामा लाभांश पनि बाँडिरहेकै छन् । यसरी हेर्दा लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक अवस्था पनि मजबुद् नै देखिन्छ । अनि लगानीकर्ताहरुको प्रतिफल पनि सुनिश्चित भएकोले उनीहरु लघुवित्त कम्पनीहरुप्रति आकर्षित देखिन्छन् । फलस्वरुप बजारमा लघुवित्तलाई लगानीको प्रतिफल सुनिश्चित हुने क्षेत्रकै रुपमा पनि लिने गरेको देखिन्छ । शेयर बजारमा लघुवित्त कम्पनीको शेयरमा सबैको आकर्षण पनि बढेको देखिन्छ । शायद त्यही आकर्षणकै कारण पूँजी बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयर विक्री आवेदन खुल्ला हुँदा सयौं गुणा आवेदन पर्ने पनि गरेको छ । अब लघुवित्तले मुनाफा केन्द्रीत भन्दा पनि लक्षितसमूह केन्द्रीत व्यवसाय गर्नुपर्छ । अनि त्यसरी गरिने व्यवसाय नै दीगो हुन्छ ।
अब लघुवित्तले के गर्नुपर्छ ?
अहिलेसम्मको अभ्यास हेर्दा लघुवित्त वित्तीय संस्थाहरु सहरबजार केन्द्रीत देखिन्छन् । बजारउन्मुख गाउँहरु नै लघुवित्तको मुख्य बजार बनेको देखिन्छ । अब लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो लगानीलाई गाउँकेन्द्रीत गरेर केही न केही उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नैपर्छ । अनि लघुवित्तकोे खास मर्म र भावना अनुसार वित्तीय पहुँच विस्तार गर्नुपर्छ । बजारउन्मुख क्षेत्रमा कर्जा प्रवाहको क्षेत्र खासगरी व्यापार र उपभोग देखिएको छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो त हुन्छ तर, दीर्घकालमा त्यो निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्तहरु साँच्चिकै नयाँ ठाउँमा गएर संभावनाको खोजी गर्नु जरुरी छ । यदि आजैदेखि हामी दिगोपनाको खोजीमा क्रियाशील भएर लाग्यौं भने भोलिका दिनमा समस्या आउँदैन ।
लघुवित्तको ब्याजदर महंगो होइन
पछिल्लो समयमा लघुवित्त बैंकहरुले कर्जामा लिने गरेको व्याजदर महंगो भएको कुराहरु आएका छन् । कतिपय अखबारहरुले ब्याजदर महंगो भएकोले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘नयाँ शोषक’ कै संज्ञा दिएर समाचारहरु लेखेको पनि देखियो । तर, यथार्थ त्यस्तो होइन । लघुवित्तहरुले लिने ब्याज किन महंगो हुन्छ ? भन्ने यथार्थ बुझ्नुपर्छ । बैंकले पर्याप्त धितो लिएर कर्जा लगानी गर्छ तर हामी बिना धितो कर्जा दिन्छौं । अन्य बैंकहरुसँग लघुवित्तलाई तुलना गरेर यसको ब्याज महंगो भयो भन्नु सहि होइन । किनकि हामीले सबैभन्दा पहिले लघुवित्त वित्तीय संस्था र अन्य बैंकहरुबीचको कार्यगत भिन्नता बुझ्नु जरुरी हुन्छ । लघुवित्त संस्थाहरुले पुर्याउने वित्तीय सेवा र अन्य बैंकहरुबाट प्राप्त गर्ने वित्तीय सेवामा निकै भिन्नता छ । हामी गाउँगाउँमा गएर सेवा पुर्याउँछौं । हाम्रो सेवा पाउनका लागि ग्राहक कार्यालयसम्म आउनुपर्दैन । हामी उनीहरुकै घरदैलोमा पुगेर सेवा दिन्छौं । यसो गर्दा जो श्रम गरेरै आफ्नो गुजारा चलाउँछ, त्यो व्यक्ति आफ्नो श्रम गर्ने समय खर्च गरेर बैंक धाउनु पर्दैन ।
हामी उनीहरुको घरदैलोमै पुगेर सेवा दिन्छौं ।
अनि अर्को कुरा हामी ससानो लगानीमै केन्द्रीत हुन्छौं । बैंकसम्म गएर कारोबार गर्न पहुँच नभएका मानिसहरु हाम्रा ग्राहक हुन्छन् । हामी उनीहरुलाई समूहमा आवद्ध गराउँछौं र घरदैलोमै पुगेर वित्तीय सेवा दिन्छौं । यसर्थ, ठूला बैंकसम्म पुग्न नसक्ने, अथवा बैंकमा धितो राखेर कर्जा लिन नसक्ने मानिसहरुलाई हामी बिनाधितो विश्वासका आधारमा समूह जमानीमा कर्जा दिन्छौं । अनि हाम्रो लगानी गाउँघरतिर छरिएर रहेको हुन्छ । कर्जा लगानीमा भौगोलिक रुपले पनि दूरी बढी हुने भएकोले संचालन लागत बढ्न जान्छ, त्यसैले अन्य बैंकहरुको तुलनामा लघुवित्तको ब्याजदर केही बढी हुन पुग्छ । तथापि लघुवित्त वित्तीय संस्थाहरुले पनि अब प्रतिस्पर्धी रुपले लागत घटाउँदै सर्वसुलभ लगानीका लागि विकल्पहरुको खोजी गर्नुपर्ने बेला आइसकेको छ ।
लघुवित्तको उद्देश्य आर्थिक सशक्तिकरण नै हो
लघुवित्तको मुख्य उद्देश्य गाउँघरमा वित्तीय साक्षरता अभियान संचालन गर्नु पनि हो । अनि ती ग्रामीण महिलाहरु जो चुलोचौकामै सीमित हुन्छन्, जसले आफ्ना पारिवारिक आवश्यकताहरु पूरा गर्नका लागि आफ्ना श्रीमान्कै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नै उनीहरुलाई सामाजिक र आर्थिक रुपले सशक्तिकरण गर्नु पनि हो । यसर्थ, लघुवित्तले जसरी वित्तीय स्रोतको उपलब्धताको लागि काम गर्छ, त्यसैगरी स्थानीय स्तरमा स्वरोजगारका अवसरहरु देखाउने काम पनि गर्छ ।
अझ साँच्चिकै भन्नुपर्दा अबको लघुवित्तलाई केवल वित्तीय स्रोत उपलब्ध गराउने संस्थाको रुपमा मात्र नभई यसबाट प्रवाह गरिने सेवालाई विविधिकरण गर्नु जरुरी हुन्छ । लघुवित्तको दीगो विकास र सम्बद्र्धनका लागि वित्तीय सेवाको अलवा यसले स्वरोजगारको सवालमा सीप र दक्षता अभिवृद्धि गर्ने खालका अभिमुखीकरण कार्यक्रमहरुलाई पनि सँगसँगै लैजानुपर्ने आवश्यकता देखिन्छ । त्यसो हुन सक्यो भने सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको विकास हुनेछ । अब लघुवित्तहरु पनि सेवा प्रवाहमा विविधिकृत हुनुपर्छ ।