संविधान कार्यान्वनको मुख्य खुट्किलोको रुपमा रहेको दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन यही मंसीर २१ गते हुँदैछ । दोस्रो चरण चुनावमा खटिने कर्मचारीहरुलाई आइतबार पनि निर्वाचन सामग्री हस्तान्तरण भइरहेको छ । मंगलबारदेखि मतदान स्थल निर्माणको काम शुरु हुनेछ । ४५ जिल्लामा हुने निर्वाचनका लागि सात हजार सात सय ५२ मतदानस्थल र १५ हजार तीन सय ४४ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । हरेक मतदान केन्द्रमा सातदेखि नौ जना कर्मचारी खटाइएको छ ।
पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको निर्वाचनमा करिब ३२ लाख मतदाताले चार हजार चार सय ६५ मतदान स्थलबाट मतदान गरेका थिए ।
दोस्रो चरण निर्वाचनमा एक करोड २२ लाख ३५ हजार नौ सय ९० मतदाताले २१ गते मतदान गर्नेछन् ।
निर्वाचन नजिकिँदै गर्दा चुनाबको मूख्य प्रतिस्पर्धी ठानिएका बाम र लोकतान्त्रिक गठबन्धन एकअर्कोबिरुद्ध खनिएका छन । यही सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालसंग वैकुण्ठ ढकाल को कुराकानीः–
बाम र लोकतान्त्रिक गठबन्धन आफ्नो एजेण्डा राख्न भन्दा पनि एक अर्कोप्रति खनिन समय खर्चिरहेका छन नि ?
हामी आफ्नो एजेण्डामा केन्द्रीत छौं । विकास, निर्माण र सम्बृद्धिलाई केन्द्रबिन्दुमा राखेका छौं । सकारात्मकता विकास गरिरहेका छौं । बिपक्षीलाई अपमानित गर्ने घोचपेच गर्ने गरिरहेका छैनौं । उत्तेजित गरिरहेका छैनौं । प्रतिपक्षिहरुको तरिका अलि नसुहाउँदो देखिरहेको छ । सम्भबतः पराजित मानसिकताको उपज होला । त्यसरी उत्तेजित नहुन र नछटपटिन आग्रह गर्दछु । मुलुकमा एउटा ठूलो लोकतान्त्रिक अभ्यास भइरहेको छ । जनताले संविधान पाइसकेपछिको अभ्यास गर्ने क्रममा लामो समय पश्चात या भनौं गणतन्त्रको स्थापना पश्चात पहिलो पटक संसदको निर्वाचन हुँदैछ । यस्तो अवस्थामा सवैले आफ्नो कुरालाई जनताको माझमा लैजाने कुरामा संयमता अपनाउनु पर्दछ । प्रतिपक्षिसंग पनि संयम व्यवहार अपनाउनु पर्दछ ।
देशको प्रधानमन्त्रीले नै कम्युनिष्ट शासन आउँदा रुन हास्न पाँइदैन भनिरहेका छन । चुनावी भाषणमा बुझेको कुरालाई पनि नबुझेको जस्तो गरेर गलत बोल्नु पर्दोरहेछ है ?
अब…., नेपाली कांग्रेस जहिले पनि झुटको खेती गर्दो रहेछ । पहिले पनि कम्युनिष्ट पार्टीको शासन आयो भने बूढापाकालाई मारिदिन्छ, छोरीहरु हेर्न पाँईदैन, सवै सम्पत्ति राष्ट्रियकरण गरिदिन्छ भनेर प्रचार गथ्र्यो, उद्योगधन्दा पनि राष्ट्रियकरण हुन्छ भनेर प्रचार गथ्र्यो । अहिले पनि ‘गोयबल्स’ शैली अपनाएर जनतालाई तर्साउन खोजिरहे जस्तो देखिन्छ । यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिष्टहरु लोकतन्त्रमा विश्वास गर्छन । त्यत्ति मात्रै हैन, लोकतन्त्र ल्याउने प्रमुख कारक तत्व हुन । कम्युनिष्टकै नेतृत्वमा लोकतन्त्र आएको हो । विगतमा कम्युनिष्टकै सक्रियतामा प्रजातन्त्र आयो । कम्युनिष्टकै नेतृत्वमा संघीयता र समावेशीता आयो । यस्तो अवस्थामा कम्युनिष्टवाट अधिकार खोसिन्छ, अधिनायकवाद आउँछ, बिदेशी साहयता आउँदैन, कूटनीतिक सम्बन्ध बिग्रन्छ भनेर अपवाह फैलाईदै छ यसमा कुनै सत्यता छैन । यो नेपाली कांग्रेसको हतासको उपज मात्रै हो । हतास, निराश हुन, बरबराउन थालेका छन । बर्बराउन छाडेर आफ्नो दिमागलाई आराम दिन नेपाली कांग्रेसलाई आग्रह गर्दछु ।
राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भनिन्छ । तर चुनावी सभाका भाषण सुन्दा त अब कांग्रेस र कम्युनिष्टबीच कहिल्यै सहकार्य हुँदैन जस्तो भान हुन्छ । यथार्थ त्यस्तै हो र ?
हैन, कसले त्यसो भन्यो र ? हामीले कहिल्यै त्यसो भनेका छैन । हामीले शालिनताका साथ कुरा राखिरहेका छौं । नआत्तिनका लागि भनिरहेका छौं । रचनात्मक प्रतिपक्षिका रुपमा बस्न मानसिकताका साथ अघि बढ्न भनिरहेका छौं । निराश नहुन भनिरहेका छौं । भबिष्यका लागि सजग हुन भनिरहेका छौं । लोकतन्त्रमा दाग लाग्ने काम नगर्न भनिरहेका छौं । राजनीतिलाई फोहोरी खेल नबनाउन भनिरहेका छौं । जनता प्रतिकूल हुने काम गर्दैनन । जनताको हैन, फोहोरी राजनीति गर्नेले, पैसाको राजनीति गर्नेले अनुचित काम गर्नेले, राज्यको दुरुपयोग गर्नेले खराब काम गर्छन । त्यस्तो काम नगर्न हामी फेरी आग्रह गर्दछौं ।
निर्वाचन एकदम खर्चिलो र भड्किलो बनिरहेको छ, निष्ठा र नीतिले चुनाव लड्ने स्थिति रहेन, बाहुबली र पैसाले मात्र काम गर्ने भयो भनेर निष्ठाको राजनीति गर्नेहरुको चित्त दुखाई छ नि ?
त्यो पनि सुन्नमा आएको छ । यो अत्यन्तै फोहोरी तरिका हो । यसलाई कसरी नियन्त्रण गर्ने हो ? यस्ता कुरालाई कुनै पनि हालतमा छुट दिनुहुँदैन । यसले राजनीतिलाई दुर्गन्धित बनाउँछ, त्यसो हुनाले पनि यस्ता काम नगर्न अनुरोध छ । हामी त गर्दैनौँ । हामी जनताको पक्षमा, जनताको राजनीतिक गर्न चाहान्छौँ । जनचेतना जगाएर जनतालाई आफ्नो भाग्य र भविष्यको निर्वाध रुपमा फैसला गर्नलाई अभिप्रेरित गर्न चाहन्छौँ ।
निर्वाचन हुन लागेकोचाहिं नीति निर्माणको लागि हो । तर, तपाँईहरु विकासे योजना बाँड्दै हिड्नुभा’छ । यो काम त अब स्थानीय तहले गर्ने भनेर संविधानले भनेको छ । अलि अलि झुठको खेती गरेको हो उम्मेदवारहरुले ?
अहिलेको निर्वाचन दुई वटा कुराका लागि हो । पहिलो त, नीति निर्माणमा भूमिका खेल्न । दोस्रो, स्थानीय जतनाको विकासको चाहना र आकांक्षालाई पूरा गर्ने । यो दुई वटै कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । हामी त्यही अनुसार अघि बढेका छौँ ।