बुटवलः अहिले बुटवल सहर भएको ठाउँ बगर थियो । सहर हैन बस्ती बस्ने सम्भावना पनि देखिँदैनथ्यो । तिनाउ नदीपारी बटौलीमा बजार लाग्थ्यो । भारतबाट बेथरी हुँदै बटौलीमा सामान आउँथ्यो । नुन, लत्ताकपडा बाहिरै फिँजाएर राखिएको हुन्थ्यो । पहाडबाट घिउको भारी बोकेर बटौली झर्थे । घिउ बेचेको पैसाले नुन/लत्ताकपडा आदि वस्तु बोकेर पहाड उक्लिन्थे । दिनमा मात्र होइन, रातमा समेत बटौली व्यस्त हुन्थ्यो ।
पहाडी भेगमा सडक पुगेको थिएन, हिँडेरै बटौली आउनुपथ्र्यो । पश्चिम पहाडी जिल्लाबाट धेरै दिन हिँडेर बटौली आउँथे । मध्य पश्चिमसम्म पहाडका पनि किनमेल गर्न आउँथे । पहाडी साहुजीहरू भरिया लिएर समान लिन बटौली झर्थे ।
घिउ त थियो नै, गाँजा/चरेस पनि बटौलीमा बेच्थे । २०२२ सालमा सिद्धार्थ राजमार्ग निर्माण सुरु भयो । बटौलीमा नुन किन्न हिँडेर गएको कथा सुनाउने बुढापाका अहिलेप नि भेटिन्छन् ।
तिनाउ वारीको अहिलेको बुटवल ‘खस्यौली’ ठूलाठूला ढुंगा र बालुवाको बगर थियो । ८३ वर्षीय गणेशमान सैंजुले २०१० सालमा पाल्पाबाट बटौली आउँदा खस्यौलीमा बगरमात्र देखेका थिए । एक/दुई घर थिए । खस्यौली धेरै पछिसम्म निर्जन थियो । न्यू होराइजन स्कुलका प्रिन्सिपल लोकनाथ उपाध्यायले २०२० सालतिर भारत पढ्न जाँदा खस्यौलीमा बगरमात्र देखेका थिए ।
बटौलीमा रहेको घिउ तताउने कराई
झन्डै डेढ सय वर्षअघि खस्यौलीमा तिनाउ नदी बग्थ्यो । नदी बग्न छाडेपनि बगर रहयो । विस्तारै तिनाउ भसिँदै गएपछि वस्तीयोग्य बनेको थियो । उपाध्यायका अनुसार बटौली गुल्जार हुँदा खस्यौलीचाहिँ दिउँसै जान डर लाग्ने अवस्थामा थियो । सिद्धार्थ र पूर्वपश्चिम राजमार्ग बनेपछि खस्यौलीमा घर बन्न थालेका हुन् ।
ढुंगा पन्छाएर सडक बनाइयो, त्यसैको दायाँबायाँ घर ठडिन थाले । बटौली साँघुरो थियो । बटौलीको व्यावसायिक चहलपहल खस्यौली सर्न थाल्यो । विस्तारै खस्यौली अर्थात बुटवल गुल्जार बन्यो, बटौली सुक्यो । बुटवल मुलुककै व्यवस्थित आवासीय सहर र व्यापारिक केन्द्र बनेको छ ।
पहाडबाट बटौलीमा आउने घिउ संकलन गर्ने ठेकेदार हुन्थे । तिनले घिउ मारबाडीलाई बिक्री गर्थे । ‘मारबाडीले ठूलो कराईमा तताएर कालिपारे घिउ लेखेको टिनमा राखेर बनारस पुर्याउँथे’ सैंजु भन्छन्, ‘कालिपारे घिउ बनारसमा चर्चित थियो ।’ दिनमा २/३ ट्रक घिउ भारत जान्थ्यो । २०२० सम्म पहाडबाट प्रशस्तै घिउ बटौली आउने गरेको उनी बताउँछन् ।
गणेशमान सैंजु, समाजसेवी
पाल्पाली सैंजुका व्यापार गर्न बटौली झर्थे । बटौलीमा मंसिरदेखि फागुनसम्म बजार लाग्थ्यो । उनको परिवार २०१० मा बटौलीमा बसाइ सर्यो । बटौलीको व्यापारमा मारबाडी साहूजी जमेका थिए । पछि सानो काजी, गोबिन्द वैद्य, रामलाललगायतका व्यापारी पनि बटौली झरे । ‘बुटवलमा पनि सुरुमा मारवाडी जमेका थिए’, सैंजु भन्छन्, ‘तर क्रमशः अरु समुदायका जमे ।’ २०१० सालतिरको कुरा हो, खस्यौलीमा (अहिले बीपीको सालिकनेर) रणसिंह मास्टरले मिठो चिया बनाउँथे ।
‘चिया गरम’ भन्दै अरु मधेसी पनि आउँथे । रणसिंह मास्टर चार पैसामा चिया खुवाउँथे, मधेसीकोमा दुई पैसामा पाइन्थ्यो । बाघ आउने डरले चिया छिटो खाएर बटौली फर्किएको सैंजुलाई हिजोजस्तै लाग्छ । त्यही बेला धिरेन सरदारको जहानलाई बाघले खाएको थियो । अहिलेको अमरपथ चार/पाँच घर थिए । ‘बटुवल यस्तो होला भन्ने लागेकै थिएन, आँखै अगाडि एकपछि अर्को घर थपिँदै गयो, पहाडबाट झर्नेहरुको ताँती लाग्यो, तिनाउ बगर सुन्दर बस्तीमा परिणत भयो’, उनी भन्छन् ।
सैंजुले २०२० सालमा खस्यौलीमा दुई हजार हालेर जग्गा लिएका थिए । बगरमा जग्गा किन्नु जोखिमपूर्ण लागेको थियो । तत्कालीन अञ्चलाधिश मनमोहन मि श्रले डोजर लगाएर ढुंगा पन्छाइ मान्छे हिँड्ने बाटो बनाउन लगाए । विस्तारै सडक बन्दै गयो । त्यति नै बेला तानसेन जाने बाटो खुल्यो । खस्यौली (बटौली)मा जग्गा किन्ने बढ्न थाले । बाटो खोलेपछि जग्गाको भाउ पनि बढ्दै गयो ।
सैंजु २०२४ मा घर बनाई बटौलीबाट व्यापार गर्न खस्यौली सरे । अरु पनि खस्यौली सर्न थाले । पहाडतिरका व्यापारी पनि खस्यौली झर्न थाले । खस्यौलीमा पुलचोक, अमरपथ, रामपथ, बीपी पथ बन्दै गए, घरले भरिन थाल्यो । २०२८ सालमा ‘रुमाले साहू’ ले राम मन्दिर बनाएपछि रामपथ बन्यो । खस्यौली बजारलाई बुटवल भन्न थालियो । अहिले पनि बुटवलको कोर एरिया यही हो । जहाँ काठमाडौंको न्यूरोडमा झैं व्यापारी र ग्राहकको भीडभाड हुन्छ ।
२०३६ सालमा बुटवलको पुल्चोकमा बजार बसिसकेको बताउँछन्, उद्योग वाणिज्य संघ बुटवलका कार्यकारिणी सदस्य बसन्तप्रसाद ढकाल । अमरपथ पनि बजार बनिसकेको थियो । बुटवलमा बसाइँ सर्नेहरु २०३६ सालदेखि बाक्लिएका हुन् । ढकालका अनुसार तीसको दशकभरी बटौली (पारी बुटवलमा) चहलपहल थियो । बटौलीमा रहेको नगरपालिका कार्यालय २०३४ मा खस्यौली (बुटवल) सर्यो । अनि बटौलीको दिनदशा बिग्रिन सुरु भयो, बटौली सुक्दै जान थाल्यो ।
बन्द व्यापार तथा सुखी जीवन यापनका लागि बुटवल झर्नेहरू बाक्लिँदै गएपछि बुटवल उछालिँदै गयो । चालिसको दशक सुरु हुँदा ट्राफिक चोक र बुटवल टेक्निकल इन्स्टच्यूट (बीटीआई) क्षेत्रतिर बस्ती बढ्यो । हाटबजार तीसको दशकमै सुरु भएको थियो । विस्तारै नेपालगन्ज रोड, हस्पिटल लाइनतिर बस्ती विस्तार भयो । सँगै मिलनचोकतिर पनि बस्ती बढ्न थाल्यो । माथि गोलपार्क, चिडियाखोलातिर पनि बस्ती बस्यो । ‘२०४६ आन्दोलनतिर मिलनचोकमा बजार बनिसकेको थियो, सुख्खानगर भने खाली नै थियो’, ढकाल भन्छन् ।
२०४६ को राजनीतिक परिवर्तनपछि बँसाइसराइ तीव्र भयो । लगत्तै राजमार्ग चौराहा, मिलनचोकमा घर बाक्लिन थाले । पचासको दशकमा सुख्खानगर, दीपनगर, कालिकानगरतिर बस्ती बढ्यो । २०५२ सालमा माओवादी सशस्त्र द्वन्द्व सुरु भयो ।
माओवादीको निसानामा साहू महाजन पर्न थालेपछि सहरमा बसाइँसराइ सुरु भयो । द्वन्द्वका क्रममा देवीनगर, होराइजन चोक, योगीकुटी, देवीनगर, जानकीनगरमा बस्ती बस्यो ।
२०६२/६३ को जनआन्दोलनपछि बुटवल झर्ने लहड चल्यो । जानकीनगर, दीपनगर, मणिग्राम, शंकरनगर, भलवारी, मंगलपुर हुँदै भैरहवासम्म बस्ती बस्यो । पछिल्ला वर्षमा बुटवल आसपासका सेमलार, मोतिपुर, तामनगर, तिलोत्तमा, बेलबास, नयाँगाउँ, शंकरनगर लगायतका ठाउँमा बस्ती बढिरहेको छ । भैरहवामा पनि पहाडी मानिसले भरिन थालेको छ ।
बुटवलमा पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, बागलुङ, प्युठान, पोखरा, म्याग्दी, प्युठान लगायतका जिल्लाबाट बसाइँसराइ भएको छ । ‘ ५७ जिल्लाका मान्छेको घर बुटवलमा फेला पार्न सकिन्छ’, गणेशमान सैंजु सुनाउँछन् । जनघनत्व बढेपछि रूपन्देहीमा खेतीयोग्य जमिन घटेर ७३ हजार हेक्टरबाट ५७ हजार हेक्टरमा झरेको जिल्ला कृषि कार्यालयका वरिष्ठ अधिकृत नारायण सापकोटा बताउँछन् । अहिले बुटवल र भैरहवा समेटेर महानगरपालिका बनाउने बहस चलिरहेको छ ।
बुटवलमा फराकिला सडक छन् । दायाँबायाँ सुन्दर घरहरू । सहर पनि व्यवस्थित छ । भित्री सडक पनि फराकिला छन् । प्रत्येक घरमा बाइक तथा कार राखेको देखिन्छ । स्तरीय रेस्टुरेन्ट र होटेल खुलेका छन् । बुटवलका बासिन्दाको जीवनस्तर उच्च खालको छ । विकेन्डमा बाहिर खाने, घुम्न जाने संस्कृति विकास भइसकेको छ । पार्टीभन्दा माथि उठेर लड्ने नेता छन् । ‘बुटवल शान्त ठाउँ हो, यहाँका बासिन्दामा प्रेम भाव छ’, सैंजु ठोकुवा गर्छन्, ‘मानव विकास सूचकांकमा बुटवल धेरै अगाडि छ ।’
किनमेल गर्न सपिङ मल छन् । मल्टिप्लेक्स सञ्चालनमा छ । थप मल्टिप्लेक्स खुल्दैछन् । बुटवलमा मल्टिप्लेक्स खोल्न लागेको क्यूएफएक्स सिनेमाका सञ्चालक नकिम उद्दिन बताउँछन् । घुम्नका लागि पार्क बनेका छन् । स्तरीय स्कुल, कलेज, अस्पताल खुल्ने क्रम जारी छ । विद्यालय स्तरको पढाइमा राजधानीपछि बुटवल अग्रपंक्तीमा आउँछ ।
पछिल्ला वर्ष बुटवलमा पढ्ने विद्यार्थी लगातार एसएलसी टपिरहेका छन् । न्यू होराइजन, एभरेस्ट, प्यारामाउन्ट, सिद्धार्थ, तिलोत्तमा, मणिमुकुन्द, आदर्श विद्यामन्दिर स्तरीय बर्डिङ स्कुल हुन् । जहाँ मध्यपश्चिमका समेत विद्यार्थी होस्टेल बसेर पढ्छन् ।
बुटवल क्षेत्रमा चार सयको हाराहारीमा बोर्डिङ रहेको उपाध्याय बताउँछन् । उच्च शिक्षाका लागि पनि प्रशस्त कलेज खुलिसकेका छन् । साइन्स, व्यवस्थापन (बीबीए, बीबीएस), नर्सिङ, इन्जिनियरिङ, एमबीबीएस पढाउने कलेज पनि प्रशस्त छन् । डाक्टर पढ्नका लागि भैरहवामा युनिभर्सल मेलिकल कलेज, बुटवलमा देवदह मेडिकल कलेज र पाल्पामा लुम्बिनी मेडिकल कलेज सञ्चानमा छन् ।
भारतीय नाकाबन्दी र तराई बन्दमा बुटवल, भैरहवा शान्त रह्यो । यसले पनि बुटवल भैरहवाको महिमा बढ्न गयो । व्यापार गर्न र बसोबासका लागि बुटवल भैरहवा पहिलो रोजाइमा परेको छ । पछिल्ला दिनमा बुटवल भैरहवामा जग्गा खरिद बिक्री ह्वात्तै बढेको छ ।
बुटवल प्रवेश गर्ने वित्तीकै विश्वकै व्यवस्थित र शान्त आवसीय सहरको महशुस हुन्छ । बसोबासका लागि बुटवल रोजाइमा छ । यहाँ धमाधम आधुनिक घर बनिरहेका छन् । बुटवल आसपासको सम्पूण जग्गा प्लटिङ भइसकेको छ । उद्योग कलकारखाना सञ्चालन गर्न भैरहवा रोजाइमा छ । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध विमानस्थल यहाँको अर्को आकर्षण हो ।
वीरगञ्ज अशान्त भएपछि उद्योगीको आकर्षण भैरहवामा छ । भैरहवामा धमाधम उद्योग खुल्ने क्रम जारी छ । उद्योगी चलाउन भैरहवा पहिलो रोजाइमा पर्न थालेको छ । भैरहवा सिमेन्टको हव भइसकेको छ । तराई आन्दोलनसँगै सुनौली भन्सार व्यस्त भएको छ । भैरहवामा मुलुकको पहिलो विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउँदैछ ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै छ । लुम्बिनी र निर्माणाधीन विमानस्थलका कारण तारे होटेल खोल्ने होडबाजी छ । आगामी तीन वर्षभित्र चारवटा पाँचतारे होटेल सञ्चालनमा आउँदैछन् । दर्जन होटेल निर्माणको चरणमा छन् । पर्यटकको ओइरो लाग्ने लख काटिएको छ । यहाँ खर्बौं लगानी हुँदैछ ।
भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण २५ प्रतिशत काम सकिएको छ । सन् २०१८ देखि उडान सुरु गर्ने लक्ष्य छ । जहाँ दैनिक ६० वटासम्म उडान हुने छन् । एसियाली विकास बैंक (एडीबी)ले वार्षिक १० लाख पर्यटक भित्र्याउने गरी भौतिक संरचनामा लगानी गरिरहेको छ । बुटवल-भैरहवासम्म ६ लेनको सडक बन्दैछ ।
बुटवलको चौराहादेखि चिडियाखोलासम्म छ अर्ब रुपैयाँको लागतमा ६ लेनको सडक बन्नेछ । सहरभरी फुटपाथमा मार्बल बिच्छाइनेछ । ठाउँठाउँमा आकाशे पुल हुनेछन् । सडकमा रंगरोगन, लाइटिङ, बीचमा दुवो, फूल र रुख रोपेर सुन्दरीकरण गरिनेछ ।
सहरको मुख्य भागमा सौर्य लाइट जडान भइरहेको बुटवल उपमहानगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठले बताए । साथै, भित्री सडक पनि फुटपाथसहित दुई लेनको बनाउने कार्य हुँदैछ । बुटवल मण्डपमा एक हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने काम सुरु भइसकेको छ ।
- बुटवलमा पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, बागलुङ, प्युठान, पोखरा, म्याग्दी, प्युठान लगायतका जिल्लाबाट बसाइँसराइ भएको छ ।
- बढ्दो जनघनत्व यहाँको समस्या हो । जनघनत्वसँगै खानेपानी र स्वास्थ्य सुविधा चुस्त हुन सकेको छैन ।
- भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण २५ प्रतिशत काम सकिएको छ । सन् २०१८ देखि उडान सुरु गर्ने लक्ष्य छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पहिरोको जोखिम कम गर्न सडकमाथि छाने बनाउने काम यही वर्षदेखि सुरु हुँदैछ । एडीबीको सहयोगमा भैरहवादेखि लुम्बिनीसम्मको सडक स्तरोन्नति गरेर चार लेनको बनाउने योजना छ । लुम्बिनी, देवदह, तिलौराकोट लगायत जोडेर वृहत्तर लुम्बिनी चक्रपथ बनाउने योजना छ । यसले लुम्बिनीमा आएका पर्यटक बुटवलसम्म पुग्नेछन् । यस्तै, लुम्बिनीलाई केन्द्र बिन्दू बनाएर बुद्ध सर्किट बनाउन लागिएको छ । बुटवलबाट नुवाकोट डाँडासम्म केवलकार सञ्चालन गर्ने चर्चा पनि चलेको छ ।
सहरमा खानेपानी र ढल निकास व्यवस्थित बनाइँदैछ । उपमहानगरले मैना बगरमा अटो भिलेज खोलेको छ । जहाँ गाडीका सम्पूर्ण सेवा एकै ठाउँमा उपलब्ध हुनेछन् । अहिले भइरहेको बसपार्कलाई सहरबाहिर स्थानान्तरण गर्ने बहस चलेको छ ।
चीनले सिमाना केरुङसम्म ल्याउने रेल लुम्बिनीसम्म पुर्याउने योजना सर्भेका लागि प्रतिवद्धता जनाइसकेको छ । यता भारतले पनि सीमानाका नौतुनवामा आइपुगेको रेलमार्ग विस्तार गरेर भैरहवा बुटवल जोड्ने योजना बनाएको छ । चीन र भारतको रेलमार्गले जोडिएमा लुम्बिनी भैरहवा क्षेत्रको मुहार परिवर्तन हुने विश्वास गरिएको छ । बुटवल भैरहवालाई मुलुककै सुन्दर, व्यवस्थित आवासीय तथा व्यवसायिक सहरका बन्दैछ ।
बढ्दो जनघनत्व यहाँको समस्या हो । जनघनत्वसँगै खानेपानी र स्वास्थ्य सुविधा चुस्त हुन सकेको छैन । भविष्यमा पाल्पासँग मिलेर बहुप्रयोजनका लागि गण्डकीको पानी बुटवल झार्ने योजना बनाइएको छ । तर, यो अति नै महत्वाकांक्षी योजना हो ।
बुटवलको कोर व्यापारिक क्षेत्र अमरपथ, राममन्दिर लगायतका ठाउँमा पार्किङ समस्या देखिएको छ । भोलिका दिनमा काठमाडौंको न्यूरोडमा जस्तै पार्किङ समस्या आउने निश्चित छ । उपमहानगरका योजना प्रमुख श्रेष्ठ पार्किङका लागि खाली ठाउँको अभाव रहेको बताउँछन् । बुटवल भैरहवामा ठूलाठूला परियोजना भए पनि समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् ।
आउने असारभित्र सकिनुपर्ने बुटवल भैरहवा ६ लेनको सडक निर्माण अहिलेसम्म २८ प्रतिशतमात्र सम्पन्न भएको छ । भैरहवा विमानस्थलमा पनि निर्माण सामग्रीको अभाव भएको परियोजना प्रमुख ओम शर्मा बताउँछन् । स्थानिय प्रशासनले निर्माण सामग्री नदिँदा समस्या परेको हो ।
उच्च शिक्षा र ठूलो विरामी हुँदा भारत वा काठमाडौं नै धाउनुपर्छ । अस्पताल धेरै बने पनि राम्रो सेवा दिन नसकेको उपाध्याय बताएछन् । ‘कलेज र अस्पतालको पूर्वाधार तयार भइसकेको छ, अझै पनि उच्च शिक्षा र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ’, उनले भने, ‘अस्पताल र कलेजको सेवाको गुणस्तर सुधार गर्नुपर्ने देखिन्छ ।’
यहाँको प्रमुख समस्या बन्ने गरेको छ, तिनाउ नदी । वर्षामा यो नदीले बुटवलमा आतंक फैलाउँछ । सुरुमा बगरका रूपमा रहेको बुटवल पुनः बगरमै परिणत त हुने होइन भन्ने आशंका जन्माएको छ । तिनाउले धेरै धनजनको क्षति पुर्याउँदै आएको छ । तर, यसको रोकथाममा प्रभावकारी काम गरेको देखिदैन ।
रामेश्वर खनाल, अर्थशास्त्री
भारत-चीन व्यापारको रुट थियो, सुनौली-बटौली-पहाड-तिब्बत । कोलकाता-पटना-वीरगन्ज-चित्लाङ-काठमाडौं-केरुङजति यो रुट चलेन । तैपनि बटौली ऊ बेलादेखिको बजार हो । अमरसिंह थापा पश्चिम एकीकरणमा जाँदा यहाँ बसेको इतिहास छ ।
अफगानिस्तामा लड्न अंग्रेजले लाहोरमा ‘क्यान्टोन्मेन्ट’ राखे । लाहुरे फर्किने एउटै रुट बन्यो, सुनौली-भैरहवा-बुटवल । बुटवलको उदय सिद्धार्थ राजमार्ग (सुनौली-पोखरा) राजमार्गको निर्माण सुरु भएपछि भयो । २०२२ सालमा राजमार्ग निर्माण सुरु भएदेखि नै स्याङजा र पाल्पाका नेवार साहूले थोक व्यापार बुटवलमा सार्न थाले । नेवार साहूजीको माइग्रेसन महत्वपूर्ण टर्निङ प्वाइन्ट थियो । बुटवलमा अहिले पनि स्याङ्जालीको बर्चश्व छ ।
राजमार्गको निर्माण २०२७ मा सिद्धार्थ राजमार्गको निर्माण सम्पन्न भयो । गुल्मी र स्याङजाका बाहुन क्षेत्री २०३२ पछि बुटवलमा बसाइँ सर्न थाले । थातथलो छाडेपछि श्रम गर्न लाज हुन्न । गाउँमा ठालु पनि खाडी पुगेपछि शौचालय सफा गर्न सक्छ । बुटवलमा पनि यस्तै भयो । थातथलो छाडेर आएका बाउन क्षेत्रीले श्रम गर्न लाज मानेनन् । गच्छेअनुसार जागिर, व्यवसायमा लागे ।
अहिले बुटवलको सेवा व्यवसाय बाउन क्षेत्रीले सम्हालेका छन् । बाऊन क्षेत्रीपछि गुरुङको बसाइँसराइ पनि बुटवलमै भयो । धेरैपछि सम्म बुटवलका मान्छे गहना बनाउन परे बाणा खोज्दै पाल्पा उक्लिन्थे । पछि त, सुनारपनि बुटवल सरे । सेवा व्यवसाय यसरी फस्टाएको छ, गुणस्तरीय शिक्षाका लागि बुटवलका मान्छे काठमाडौं आउन पर्दैन ।
रेस्टुरेन्ट, डान्सबार, गजल सब चीज उपलब्ध छ । अझ सकारात्मक कुरा, सबैतिरका मान्छे बसेका छन् ‘कस्मोपोलिटन लाइफ’ छ । एउटा क्लास छ । सहरीकरणका लागि शिक्षा, स्वास्थ्य प्राथमिक हुन, त्यो बुटवलमा छ । प्रविधिको कुरै भएन ।
हरि शर्मा, समाज विश्लेषक
बटौली पुरानो बजार हो, खसौली (बुटवल) नयाँ बजार । बसाइँ सरेर बनेका बस्ती यसैपनि राम्रा हुन्छन् । बसाइँ सर्ने (माइग्रेन्ट) मेहनती/प्रगतिशील हुन्छन् । बुटवलमा बसाइँ सर्नेमा नेवारले व्यापार गर्ने, बाउनले पुरेत्याइँ गर्ने भन्ने परम्परा तोडे । धेरै व्यापारमा लागे । बुटवलको व्यापारमा ‘बर्मिज कनेक्सन’ छुटाउन हुन्न । बर्माबाट फर्किएका व्यापारमा पोख्त थिए ।
बर्मामा नेपालीले रत्नको खानीमा काम गरे । पशुपालन गरे । बुद्धिस्टलाई मासु खानपर्ने, काटमार नगर्ने । बगरे काम गर्ने नेपालीनै भए । आसाममा त पशुपालन सिकाउने नेपाली थिए । फेरि, लुम्बिनीको पहाडबाट बर्मा/असम पुग्ने कति अन्तरजातीय विवाह आदिक कारणले घर छाडेका थिए । तिनका ‘हाइब्रिड’ सन्तान पौरखी भए ।
त्यताबाट फर्किएकाले भैरहवा/बुटवलमा जमे । बुटवलको ट्रान्सपोर्टसम्बद्ध सबै व्यवसाय तिनैले सुरु गरे । असमबाट फर्केकाले दूधको व्यापार सुरु गरे । दुईवटा राजमार्ग क्रस गरेको ठाउँमा स्थानीय नै व्यवसायमा अग्रसर भएपछि बुटवल बन्यो । बुँदा-पहाडी साहुजीहरू भरिया लिएर समान लिन बटौली झर्थे । घिउ त थियो नै, गाँजा/चरेस पनि बटौलीमा बेच्थे ।
साभार :- अन्नपूर्ण पोस्ट