हिन्दु धर्मममा कृष्ण भगवानको भुमिका न्यायका लागि प्रचलित छ । ग्रन्थहरूले महाभारतजस्तो राजनीतिक दाउपेचको युद्धमा कृष्णको भुमिकाको सारलाई सरल देखाएको मात्र छैन, न्यायका पक्षमा उभिनुपर्छ भन्ने सन्देश पनि दिएको छ । धेरैले भन्छन्– अहिले कलियुग हो । युगको विश्लेषण जसले जे गरेपनि यहाँ नेपाली राजनीतिमा ‘कृष्ण’को खोजी भइरहेको छ । यस्ता कृष्ण जसले कहिले पनि अन्यायको पक्षमा उभिने प्रलोभन देखेनन् र न्यायका लागि सँधै साधुवाद राजनीतिलाई हातमा लिए । कतिपय व्यक्ति अगाडी हुँदापनि नदेख्ने परम्परा नेपाली राजनीतिमा जीवित छ । हो, यस्तै व्यक्तित्व नेपाली सडकमा अहिले पनि जीवित यात्रामा निरन्तर अघि बढिरहेका छन् ।
००७ सालको क्रान्तिलाई सफल बनाउने प्रायः सवै नेतासँग उनको संगत थियो । पुष्पलाल श्रेष्ठसँग ०२५ सालमा भएको भेटपछि उनी पुष्पलाल अनुयायीका रूपमा नेपाली कम्युनिष्ट राजनीतिमा लागे । पुष्पलालको राजनीतिक विचारबाट प्रभावित भए । अहिले पुष्पलाल अध्ययन समाजमा छन्, लोककृष्ण भट्टराई । पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष र अष्ट ‘ज’ अभियान नेपालका अध्यक्ष पनि हुन् ।
राजनीतिक साधगी उनको चिन्तनमा छ । त्यसैले देशमा मुर्धन्य नेताहरूसँगको संगत, मित्रता र अनुनयले पनि उनलाई व्यक्तिगत महत्वकांक्षामुखि बनाएन । हातमा छाता, टाउकोमा उही नेपाली टोपी, झुस्स दाह्रीसँगै काठमाडौंका गल्ली सडकका एक पैदलयात्री हुन् उनी, अहिलेपनि । लोकसम्म पुग्नका लागि आजभोली सामाजिक सञ्जालमा निक्कै सक्रिय छन् । केहीदिनअघिमात्र उनले एमाले अध्यक्ष केपी ओलीसँगको सेल्फी फेसबुकमा राखे ।
निक्कै पछि राजनीतिमा लागेर काठमाडौंमा महल ठड्याउनेसँग कुनै द्वेष छैन । त्यस्ता राजनीतिक नेता देखेर उनलाई दिक्क लाग्न थालेको छ । ‘जो व्यक्तिगत मुनाफामा राजनीतिलाई व्यापार बनाइरहेका छन्, उनको के टिप्पणी गर्नु र ?’, भन्छन्,‘म त ००७ सालका नेताहरूसँग संगत गरेको मान्छे रत अहिलेसम्म उनीहरूको साधगीको ‘ह्याङओभर’मा बाँचीरहेको छु ।’
चार दशकअघिको आफ्नो यौवन र राजनीतिक जीवनमा बन्दि हुँदा विताएका समयलाई उनले बेलामौका सम्झिने गरेका छन् । १८ वर्षका थिए उनी, जव राजनीतिक बन्दिका रूपमा जेल सजाय भोगेका थिए । अहिलेका युवापुस्ताले चलाउने ग्याजेट, इन्टरनेटका गतिलो अवसर र सुचना आदानप्रदानका कुनै साधनहरू थिएनन् । एउटा फरक इतिहाँसको पाटोमा अल्झिएका थिए । तर उनी गर्व गर्छन् त्यो इतिहाँसमाथि जसबाट उनले स्व. वामपन्थी नेता पुष्पलाल श्रेष्ठ, जननायक वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता ऐतिहाँसिक हस्तीसँग संगत गर्न पाए । ‘सात वर्षको जेल जीवनले अति घनिष्ठ सम्बन्ध भयो । त्यसमध्ये किसुनजीसँगको रमाइला क्षणहरू सम्झनाका रूपमा अहिलेपनि गुञ्जिरहन्छन्, जव युवापुस्ताको हाँसोलाई देख्दछु म ।’
जेलजीवनदेखि राजनीतिक क्षेत्रमा उनले अन्तरंगमित्रका रूपमा लिएका व्यक्ति थिए किसुनजी । राजनीतिक दर्शनमा केही भिन्नता भएपनि साझा लक्ष्यचाँही उन्नत मुलुक थियो, त्यसैलेपनि किसुनजीसँगको संगतले उनलाई कम खुसी बनाएको थिएन । भन्छन्,‘किसुनजी, मनमोहन अधिकारी, सिद्धिलाल सिंह, विश्वकान्त मैनाली, सीपी गजुरेल सहित हामीहरू जेलमा थियौं । जेलमा रमाइलो गरेर दिन काट्ने एउटा गज्जवका पात्र थिए किसुनजी । किसुनजीको जोक्समा हामी ठूलो हाँसो छाड्थ्यौं, मनमोहनजी मुसुक्क हाँस्नुहुन्थ्यो । मनमोहनको हाँसोमा धेरै उत्ताउलोपन थिएन तर रमाइलो गर्ने बानी थियो ।’
क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिनुपर्छ भन्ने तत्कालिन पञ्चायती सरकारको विरोधमा आन्दोलनमा जुटेका थिए लोककृष्ण । सोही अभियोगमा तत्कालिन सरकारले उनलाई १० वर्षको जेल सजाय तोकेको थियो । ०२७ सालमा विराटनगरमा पक्राउ परे उनी । ०३० सालमा राजकाजको अपराधमा ओखलढुंगा हुँदै काठमाडौं जेलमा पु¥याइएको थियो । सात वर्ष जेलजीवन विताएपछि तत्कालिन राजा वीरेन्द्रको आम माफी घोषणामा जेलबाट छुटेका थिए ।
अहिले नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल, एमाले अध्यक्ष केपी ओली, राधाकृष्ण मैनाली, खुमबहादुर खड्का, दमननाथ ढुंगानासँगै जेल बसेका थिए उनी । जेल बस्दा तीन मोहरमा पाउने राँगाका खुट्टाको सुप, सिद्धिलाल सिंह, विश्वकान्त मैनालीका बाबा आमाले दशैंको मौकामा जेलमा पु¥याइदिएको लोकल रक्सीको स्वादलाई विर्सन सक्तैनन् । मुलुकलाई निरङ्कुशताबाट प्रजातान्त्रिक आन्दोलनका सुरूआती दिनहरूमा जेलमा विताएका चाडवाडका दिन कसरी विर्सन सक्थे र ? त्यही रक्सीको मन्द नशामा उनीहरू रमाइला जोक्स छाड््थे । सम्झिन्छन्,‘किसुनजी निक्कै गजवका मानिस थिए । उनी जेलमा रहँदापनि हामी सवैलाई विभिन्न प्रकारका जोक्सहरू सुनाउँथे । राजनीतिक बन्दिका रूपमा रहेका हामीलाई जेलमा ‘ननभेज’ जोक्समा उन्माद हँसाउने अरू कोही नभएर किसुनजी नै थिए ।’
जेलबाट छुटेपछिपनि वामपन्थी राजनीतिमा सक्रिय उनले कांग्रेस र कम्युनिष्टको एकता आन्दोलनको संयोजनका लागि ‘दुत’को काम पनि गरेका थिए । लौह पुरूष गणेशमान सिंह र मदन भण्डारीको भेट महिपी स्थित देवनारायण महर्जनको घरमा उनैले गराएका थिए । ‘त्यो भेट गराउने जिम्मा मैले पाएको थिएँ । महर्जनको घरमा बनेको ‘पियोर तीनपाने’ को चुस्कीको मजासँगै सिंह र भण्डारीबीच बहुदलीय जनवादमा जाने सहमति भएको थियो ।’ उनले विगत कोट्याए,‘चारघन्टाको त्यो बसाई दुई फरक धारका राजनीतिक शक्तिको साझा सहकार्यमात्र थिएन, राजनीतिक धुरून्दर खेलाडीहरूको मित्रतालाई गाढा बनाउने अवसर पनि बनेको थियो ।’
वागबजारमा रहेको वाङ्दी लामाको रेष्टुरेन्टमा मःमः खाएर भ्रष्टाचार विरोधी आन्दोलनका लागि पुष्पलाल र वीपीको विचारमा अडिग रहने साझा संकल्प अहिलेपनि उनले विर्सेका छैनन् । त्यो मःमः पसलमा निक्कै राजनीतिक छलफल भएको थियो । ‘त्योपनि हाम्रो एक सेल्टरजस्तै थियो । आन्दोलनका चर्चाहरू त्यहि होटलमा बसेर हामीले निक्कै ग¥यौं । धनकुटेली मःमः सेन्टर अहिलेपनि उनले सम्झिरहेका छन् ।
०४६ साल आन्दोलनको तयारीका लागि गणेशमान सिंह, मोहनविक्रम सिंह देखि मदन भण्डारीसम्मलाई एकै ठाउँमा भेट गराउने काममा सक्रिय भएका थिए लोककृष्ण । ‘आन्दोलन सफल भयो, किसुनजी प्रधानमन्त्री भए । त्यसबेलापनि वामपन्थी भन्नेहरू इश्वरका नाममा नभई, जनता र सत्यनिष्ठाका नाममा सपथ खान्थे ।’ उनले सम्झिए,‘माओवादीले पनि पहिलो पटक त्यसै गरेको थियो । अवस्था उही त भयो । परवर्तन के पायौं र ?’
मनमोहन अधिकारीसँ उनको संगत लामो भयो । मनमोहनले उनलाई निक्कै नै नजिकबाट बुझेका थिए । भने,‘मनमोहन जव दरबारमा पुग्थे, राजासँगको कुराकानीमा रानी ऐश्वर्यले आफैंले ड्रिङ्क्स सर्भ गरेकाबारेमा मलाई सुनाउँथे ।’
००७ सालले उभ्याएका हरेक राजनीतिक दलका नेतासँगको उनको लामो संगत थियो । दुखको समयमा पनि रमाइला समय विताउने र सुखका वेलापनि रमाइलो गर्ने उनीहरूको बानीले नै क्रान्तिका लागि सहकार्यको सहजता भयो । ‘मोहनचन्द्र अधिकारीको विवाह थियो । त्यो विवाहमा गणेशमान प्रमुख अतिथि थिए । किसुनजी, म सवै सँगै थियौं ।’ उनले भने,‘मोहनचन्द्रको विवाहको कार्यक्रममा किसुनजीले ठट्टा गर्दै भने–मेरो विवाह कहिले ? प्रत्युत्तरमा गणेशमानले किसुनजीको एक थरूनीसँग विवाह गर्नुपर्छ, केटी खोज्ने जिम्मा लोककृष्णको है ?’ तत्कालिन राजनीतिकै समयमा राजा वीरेन्द्रले उनलाई मन्त्रीपरिषद्को सदस्यका लागि बोलाएका पनि थिए । तर, मुर्धन्य नेताहरूको संगत, पुष्पलालका अनुयायी लोककृष्ण उन्नत प्रजातन्त्रलाई देख्न चाहन्थे । दरबारको अफरलाई उनले स्वीकार गरेनन् । भन्छन्,‘मैले २०३८ साल माघ ११ गते विवाह गरेको हो । मेरो विवाहमा वीपी कोइराला, मनमोहन अधिकारी, निर्मल लामा, गणेशमान, किसुनजी सवै आएका थिए । यस्ता नेताहरूको सम्मानलाई छाडेर दरबारसँग नजिक हुने प्रलोभन मलाई पलाएन ।’ ०६० माघ १९ मा ज्ञानेन्द्र शाहले पनि उनलाई मन्त्रीपरिषदका लागि बोलाएका थिए । तर, त्यसलाई पनि उनले नकारेका थिए । द्वन्द्वका समयमा तत्कालिन नेकपा माओवादी र सरकारसँगको बारम्बारको संवादका लागिपनि उनले सेतुको भुमिका निर्वाह गरेका थिए । राजनीति एक हिसावले परिवर्तनतिर लम्कँदै जाँदा जनआन्दोलन ०६२/६३ मा पनि उनी सक्रिय नै भए । अहिलेको राजनीतिक परिस्थितिबारे उनीपनि दिक्क छन् अरूजस्तै । भन्छन्,‘००७ साल अघिका नेताहरू सवै देशभक्त थिए । मदन भण्डारी देशभक्त भएकै कारण विदेशीले मारेका हुन् । अहिलेका नेतामा देशभक्तिको कुनै लक्षण देखा परेको छैन । सवै विदेशीको गुहार गर्छन् ।’
०४६ सालपछि पनि भ्रष्टाचारले मुलुक खाएको थियो । माओवादीहरू माग बुझाएर आन्दोलनमा जाने क्रममा मैले खुमबहादुरलाई भनेको थिएँ–‘तीन बुँदा छाडेर ३७ बुँदा पुरा गर ।’ तर त्यसो हुन सकेन । जसका कारण माओवादी आन्दोलनको जन्म भएको थियो ।’
सत्तामा पुगेपछि भ्रष्ट हुने संस्कार बढेका कारण मुलुकमा अहिलेपनि आन्दोलन, विरोध र अन्य राजनीतिक कामहरू भइरहेको उनको टिप्पणी छ । फ्रान्समा पाँच पटकसम्म आन्दोलन भएपछि विकासको गति लिएको दृष्टान्त उनी सम्झन्छन् । उनी थप्छन्,‘जीवनका चार दशक मेरो राजनीतिमा नै वित्यो, अहिले उत्पादनशिलयात्रामा लाग्नुपर्छ भन्ने अभियानमा सक्रिय छु ।’
साभार :हिमाल पारीडटकम