५४ वर्षदेखि नाङ्गै तर्कबहादुरले खोरमै पाए नागरिकता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते, शुक्रबार ०८:१९

उदयपुर -जन्मदै बौद्धिक अपाङ्गताका कारण बाख्रा खोरमा थुनिएका उदयपुरका तर्कबहादुर खत्रीले खोरमै नागरिकता पाएका छन् ।बोल्न नसक्ने तथा कहिल्यै लुगा नलगाउने कटारी नगरपालिका १ कालीखोलाका खत्रीलाई ५४ वर्षको उमेरमा खोरमै नागरिमता प्रमाणपत्र दिइएको हो ।बिहीबार इलाका प्रशासन कार्यालय कटारीले उनलाई कालीखोलास्थित थुनिएको खोरमै गएर नागरिकता दिएको हो । खोटाङको साविक डिकुवा गाविस ७ मा जन्मेका उनी परिवार बसाईं सरेर कालीखोला आएपछि सँगै आएका थिए ।

बाल्यकालदेखि बोल्न नसक्ने, सँधै नाङ्गै बस्ने उनको बारेमा खबर पाएपछि इप्रका प्रमुख सुनिल पौडेलले घरमै पुगेर नागरिकता दिएका हुन् । खत्रीलाई नागरिकता दिलाउन भाञ्जा नाता पर्ने महेश बस्नेतले केही दिनअघि इलाका प्रशासन कार्यालय प्रमुख पौडेलसँग आग्रह गरेका थिए ।‘बोल्न नसक्ने, कपडाबिनै बस्ने बौद्धिक अपाङ्गले नागरिकता नपाएको खबर आएपछि घरमै गएर नागरिकता दिएको हुँ’ पौडेलले भने ‘उनलाई पहिलो पटक देख्दा अचम्म लाग्यो । मान्छे कस्तोसम्म भएर बस्दा रहेछन्, भन्ने लाग्यो ।’

कार्यालय सहयोगी महेन्द्र आचार्यसहित त्यहाँ पुगेका बेला तर्कबहादुर खसी बाख्रासँगै खोरमा थुनेर राखिएका थिए । भाइको परिवारसँग बस्दै आएका उनलाई गाउँघरमा जथाभावी विगार गर्ने गरेका कारण थुनेर राख्नुपरेको जवाफ पाएको पौडेलले बताए ।तर्कबहादुरकी दिदी इन्द्रकुमारी कार्कीका अनुसार उनी सानैदेखि बोल्दैनथे, कपडा लगाउँदैनथे, ठूलो भएपछि पनि कपडा लगाइदिए खोलेर फालिदिन्थे । युवावयमा पुगे पनि सँधै नाङ्गो बस्न थालेपछि परिवारले बाध्य भएर उनलाई खोरमा राख्नुपरेको इन्द्रकुमारीको भनाइ छ ।

२०२० साल माघ २ गते जन्मेका उनका बाबु २०६४ र आमा २०६७ मा बितेपछि उनको पालनपोषण भाइ चेवनबहादुर खत्रीले गर्दै आएका छन् । ३ दाजुभाइमध्ये उनी जेठा हुन् ।खत्री परिवार सामान्य खेती किसान गरेर गुजारा गर्दै आएको छ । खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने तर्कबहादुरलाई भाइ चेवनले बेलाबेलामा खोरमै गएर सफा गरिदिने गरेको बताए ।५४ वर्ष पुगेका तर्कबहादुरले अपाङ्ग भत्ता पाउने आशमा नागरिकता बनाउन भाञ्जा महेशले पहल गरेका थिए ।

‘आमा-बाबु बितेपछि कान नसुन्ने कान्छो भाइको सहारामा बिजोग भएर बसेको छ’ दिदी इन्ऽकुमारीले भनिन् ‘कता अपाङ्गले भत्ता पाउँछन् रे भन्ने सुनेर छोरोलाई मामाको नागरिकता बनाइदिन लगाएँ ।’इन्द्रकुमारीले दिदी-बहिनी मिलेर उनलाई सानो घर बनाइदिएको भए पनि तर्कबहादुर खोरमै बस्नु परेको गुनासो गरिन् । भाइको यस्तो अवस्था देख्दा दुःख लाग्ने गरेको भन्दै इन्द्रकुमारीले अब नागरिकता बनेपछि नगरपालिका र सरकारले उनलाई सहयोग गर्ला कि भन्ने आशा पलाएको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु