रुपन्देही – गौतमबुद्धको जन्मस्थल तथा विश्व शान्तिको मुहान लुम्बिनीसमेत पर्ने प्रदेश ५ कृषि, पर्यटन र औद्योगिक क्षेत्रको राम्रो सम्भावना बोकेको प्रदेश हो । कृषि, पर्यटन र औद्योगिक सम्भावनाका कारण आर्थिक संकट व्यहोर्नु नपर्ने विश्वास गरिएको प्रदेश ५ को क्षेत्रफल १७ हजार ८ सय ५२ वर्गकिलोमिटर छ । मगर, थारु, क्षत्री, बाहुन लगायत जातजातिको बाहुल्य रहेको प्रदेश ५ मा राष्ट्रिय गौरवका आयोजनाहरु पनि सञ्चालनमा छन् ।
प्राकृतिक स्रोत–साधनसहित अन्नको भन्डार भएको प्रदेशका रुपमा परिचित भएपनि स्रोत–साधनको उचित व्यवस्थापन नहुँदा यस प्रदेशमा गरिबी दर भने उच्च छ । राष्ट्रिय योजना आयोगका अनुसार गरिबी दरको आधारमा यो प्रदेश चौथो नम्बरमा पर्छ भने मानव विकास सूचकांकका आधारमा पनि चौथो नम्बरमै पर्छ । यस प्रदेशका नागरिकको प्रतिव्यक्ति वार्षिक आम्दानी ९ सय ४३ डलर रहेको जनाइएको छ ।
अन्य प्रदेशजस्तो जलविद्युतमा धेरै सम्भावना नभए पनि नौमुरे, शारदा, झिमरुक, रिडीलगायतका मध्यम खालका विद्युत् परियोजना यस प्रदेशमा छन् । जसले प्रदेश सञ्चलनका लागि महत्वपूर्ण टेवा पुर्याउने विज्ञहरुको बुझाइ छ । विज्ञहरुका अनुसार विश्व शान्तिको मुहान गौतमबुद्धको जन्मस्थल लुम्बिनी यो प्रदेशमा पर्नुले धेरै सम्भावनाको ढोका खोलेको छ । धार्मिक र सांस्कृतिक पर्यटन र अन्नको भन्डार यस प्रदेशको मुख्य आर्थिक स्रोत हो भने प्रदेश ५ मा सञ्चालित राष्ट्रिय स्तरका उद्योग कलकारखानाले पनि यस क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउनेछन् ।
लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, स्वर्गद्वारी, तानसेन, रानीमहल, रेसुङ्गा, रिडी, सुपादेउराली लगायत यस प्रदेशका मुख्य पर्यटकीय क्षेत्र हुन् । यी स्थान पर्यटकका लागि राम्रा गन्तव्य हुन् । संस्कृतिविद् प्राडा गितु गिरी यस प्रदेशलाई पर्यटनसहित हिन्दू, बौद्ध एवं मुस्लिम धर्मको तीर्थस्थलका रुपमा अगाडि बढाउन सकिने बताउँछन्। उनले यस प्रदेशभित्र रहेका धार्मिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्रको दीर्घकालीन रुपमा विकास गर्न सके यो प्रदेश नेपालकै अब्बल प्रदेशका रुपमा चित्रित गर्न सकिने दाबी गरे। उनी भन्छन्, ‘राजनीतिक नेतृत्वले प्रदेशमा रहेका संरचना सञ्चालनका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर नीति बनाउँदै काम गर्न सके राम्रोसँग प्रदेश सञ्चालन गर्न सकिन्छ।’
उनले थपे, ‘हाम्रालाई भन्दा राम्रालाई अवसर दिन सके विकासले गति लिन्छ । यो प्रदेशले कृषिको आधुनिकीकरण सहित पर्यटनलाई प्रोत्साहन गर्नुपर्छ।’
प्युठानको स्वर्गद्वारी, नेपालगन्जको बागेश्वरी तथा जुंगे महादेव, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपा देउराली, पाल्पाको तानसेन र रानीमहलले पनि पर्यटनमार्फत राम्रो आम्दानी गर्नसक्ने प्राडा गिरीको बुझाइ छ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालगन्ज क्षेत्रीय विमानस्थल, रुकुम–सल्ले विमानस्थल र तुलसीपुर विमानस्थलले यस प्रदेशलाई हवाइमार्गमा जोडेको छ। मुलुकको अर्थतन्त्रलाई प्रभाव पार्नसक्ने ठूला आयोजना पनि यो प्रदेशमा पर्छन्।
राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिँचाइ, बबई र भेरी–बबई डाइभर्सन आयोजना निर्माणाधीन छन् भने नारायणी, राप्ती, बबई र कर्णालीबाट सिँचाइ नहरहरु विस्तार भइरहेकाले कृषि उत्पादन दोब्बर हुने यस क्षेत्रका विज्ञहरु बताउँछन्। त्यसैगरी ६ लेनको बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजना, भैरहवामा नै सञ्चालनमा आउन लागको विशेष आर्थिक क्षेत्र (सेज), भैरहवादेखि लुम्बिनीसम्मको चार लेन सडक एवं लुम्बिनीदेखि तौलिहवासम्म २ लेनको सडक निर्माण हुँदैछ। जसले गर्दा बुद्ध जन्मस्थल लुम्बनी एवं तौलिहवा पुग्ने पर्यटकलाई निकै सहज हुनेछ।
कृषिमा आधारित उद्योगधन्दा बढ्ने र औद्योगिक सहरको विकासले अर्थतन्त्र बलियो हुने अपेक्षा यस प्रदेशका नागरिकको छ। प्रदेश ५ को समथर भू–भाग रहेका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई अन्नको भन्डारका रुपमा विकास गर्न सकिने विज्ञहरु सुझाउँछन्। दाङको कोइलाखानी तथा अर्घाखाँची र पाल्पामा चुनढुंगा खानी प्राकृतिक स्रोतका रुपमा रहेका छन्। रुपन्देहीको भैरहवा, बुटवल, धकधई, नवलपरासी, दाङ र नेपालगन्ज औद्योगिक सहरका रुपमा परिचित छन्।
प्रदेश ५ को भैरहवा र नेपालगन्जमा मुख्य भन्सार नाका छन्। नेपालको आर्थिक गतिविधिलाई यी भन्सार नाकाले ठूलो योगदान पु¥याएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले बताए। उनले सांस्कृतिक, पर्यटन एवं औद्योगिक क्षेत्र यस प्रदेशको अवसर रहेको बताउँदै सबै आयामलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका छन्।
आर्थिक रुपमा सक्षम बनाउनका लागि यस प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्नुपर्ने र नयाँ–नयाँ आर्थिक गतिविधि बढाउनुपर्ने उनको सुझाव छ।
प्रदेश ५ को समृद्धिका लागि अथाह सम्भावना भए पनि स्थानीयहरुमा राज्य सञ्चालनको नयाँ अभ्यास कसरी अघि बढ्छ भन्ने अन्योल भने कायमै छ ।