लिस्बन -युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ ।बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो ।बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा बोल्न र लेख्न समस्या देखिएपछि बेल्जियम सरकारसँग स्वीकृति लिएर राजधानी ब्रसेल्समा नेपाली पाठशाला सञ्चालन गरिएको केन्द्रकी संयोजिका सिर्जना कार्की थापाले राससलाई जानकारी दिनुभयो ।
फ्रेन्च स्कूलको भवनको कोठा भाडामा लिएर सञ्चालन गरिएको यस केन्द्रमा १६ वर्षमुनिका ३५ जना नियमित नेपाली विद्यार्थी रहेका छन् । बेल्जियमको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको समयलाई ध्यानमा राखेर पाठशालामा साताको एक दिन शनिबार कक्षा सञ्चालन हुँदै आएको छ ।हाल चारजना नेपाली शिक्षकमार्फत नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली लोकसंस्कृतिसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाइएको संयोजक थापाले बताउनुभयो ।
पाठशालामा बालबालिकालाई तीन तहमा विभाजन गरेर नेपाली पाठ्यक्रमका आधारमा छुट्टाछुट्टै तीन वटा कक्षा सञ्चालन गरिएको छ । उनीहरुलाई कखरादेखि नेपाली शब्द र वाक्य लेखन तथा नेपाली बोल्न सिकाइएको छ ।बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकाले यहाँको भाषा डच र फ्रेन्च बोल्ने तर नेपाली भाषा बोल्न नसक्ने समस्या देखिएपछि बेल्जियमस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ बेल्जियमको समन्वयमा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताउनुभयो ।
स्थानीय विद्यालयमा डच भाषामा पढाइ, लेखाइ र बोल्ने बानी भएका कारणले नेपाली बालबालिकामा नेपाली भाषाको समस्या देखिएको थापाको भनाइ छ ।बेल्जियममा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृतिका बारेमा जानकारी रहोस् भन्ने हेतुले विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको केन्द्रका संस्थापक तथा एनआरएन बेल्जियमका पूर्व अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताउनुभयो ।
केन्द्रमा नेपाली भाषा बोल्न तथा लेख्न सिकाउने, नेपाली संस्कार र संस्कृतिका विषयमा जानकारी गराउने तथा नेपाली रहनसहन, नेपाली लोक नृत्यलगायतका विषयमा प्रशिक्षण दिने गरिएको श्रेष्ठले बताउनुभयो ।विदेशी भूमिमा रहेर पनि नेपाली भाषा र लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लाग्नु आफैँमा प्रशंसनीय कार्य भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले रासससँगको टेलिफोन संवादमा भन्नुभयो ।
बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जगाउन पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजदूत थापाको भनाइ छ ।“प्रवासमा नेपाली पाठशाला सञ्चालन गर्नु चुनौतीको कुरा हो । नेपाली समुदायले सञ्चालन गरेको यस अभियानको निरन्तरता र सफलताका लागि नेपाली दूतावासले समेत नैतिक र आर्थिक हिसाबले सहयोग गरेको छ” – राजदूत थापाले रासससँग भन्नुभयो ।
उक्त नेपाली पाठशालालाई बेल्जियम सरकारले समेत सहयोग गर्ने आश्वासन दिएकाले आगामी दिनमा थप व्यवस्थित ढंगबाट सञ्चालन गर्ने योजना रहेको पाठशालाकी संयोजिका थापाले बताउनुभयो । थापाका अनुसार पाठशाला सञ्चालनका लागि बेल्जियमस्थित रहेको नेपाली राजदूतावासले वार्षिक ४०० युरो सहयोग उपलब्ध गराउँदै आएको छ ।यसैबीच, बेल्जियमका लागि नेपाली राजदूत थापाले पाठशालाका लागि ३० वटा नेपाली पाठ्यक्रम सहयोगस्वरुप प्रदान गर्नुभएको छ ।पाठशालाको दोस्रो वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर राजदूत थापाले ती पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
-भरत प्रधान