अबको ६ वर्षमा भारतीय रेल काठमाडौं आइपुग्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६ गते, सोमबार ०४:२५

काठमाडौं -नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण सम्पन्न गर्न पूर्वतयारीसमेत न्यूनतम ६ वर्ष लाग्ने भएको छ।रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार पूर्वतयारीलाई एक वर्षमा सम्पन्न गरी अगाडि बढ्दा पनि अबको ६ वर्षमा मात्र रक्सौल भएर गुड्ने भारतीय रेल काठमाडौंसम्म ल्याउन सकिनेछ।ठूला आयोजनाका लागि तयारीको काम गर्न लामो समय लाग्ने गरेको छ । सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन र ठेक्का लगाउने काम सम्पन्न गर्न नै दुई वर्ष लाग्ने अनुमान रहेकाे अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ।

‘निर्माण थालिएपछि छिटोमा पाँच वर्ष र अधिकतम आठ वर्ष लाग्न सक्छ,’ आचार्यले भने।शनिबार नेपाल/भारतबीच भएको सहमतिअनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको प्रारम्भिक सर्वेक्षण कार्य एक वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।नेपालले काठमाडौं–रक्सौल रेलमार्गको सम्भाव्यता अध्ययन गरिसकेको हुन्थ्यो भने तयारीको काम वर्ष दिन छिटो हुने थियो। ‘सम्भाव्यताको काम नै सुरु नभएकाले थप ढिलाइ हुनेछ,’ आचार्यले भने।

डीपीआरपछि लगानी मोडालिटी तय हुने

काठमाडौं रक्सौल विद्युतीय रेलमार्ग निर्माणको लागि तत्काल सम्भाव्यता अध्ययन गरिनेछ । त्यसपछि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरिनेछ। त्यसपछि मात्र दुई देशबीच लगानीको ‘मोडालिटी’ र कार्यान्वयनलाई अन्तिम रूप दिइनेछ।

उक्त कार्य आयोजनाको तयारी विस्तृत आयोजना प्रतिवेदनमा आधारित भएर गरिनेछ। भारतले रेलमार्ग निर्माणको लागि कति रकम दिने, ऋण दिने वा अनुदान दिने, कुन देशको निर्माण कम्पनीले काम गर्नेजस्ता विषय टुंग्याएपछि मात्र निर्माणको चरणमा प्रवेश गर्नेछ । उक्त रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिनेछ।

जयनगरदेखि बिजलपुरा रेल दसैँसम्म सञ्चालनमा

भारतीय सहयोगमा निर्माण भइरहेको भारतको जयनगरदेखि नेपालको बिजलपुरासम्म ५२ किलोमिटरमा रेल गुडाउने लक्ष्य छ। भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–बर्दिबास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजलपुरा (५२किमि) को ट्र्याक बेड तथा स्ट्रकचरको राख्ने काम अन्तिम चरणमा पुगेको रेल विभागको भनाइ छ। बिजलपुरादेखि बर्दिबास (१७ किमि) खण्डको पनि तयारीको काम भइरहेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतिअनुसार नेपाल–भारत जोड्ने जयनगर–जनकपुर–कुर्था र जोगबनीदेखि विराटनगर भन्सार कार्यालयसम्म जोड्ने रेलमार्गलाई सन् २०१८ भित्र सम्पन्न गर्ने प्रतिबद्धता दुवै देशले गरेका छन्। सन् २०१० मा सम्झौता भएका पाँचवटा अन्तरदेशीय रेलमार्ग निर्माणमध्ये यी दुवै पहिलो चरणमा निर्माण थालिएका रेलमार्ग हुन् ।

संयुक्त कार्यदल चाँडै गठन हुने

दुई देशबीच भएको सहमतिअनुसार नेपाल-भारत संयुक्त कार्यदल चाँडै गठन हुनेछ। त्यसले विषयलाई सहज बनाउन भूमिका खेल्ने रेल विभागका महानिर्देशक आचार्यको भनाइ छ। अहिलेसम्म रेल क्षेत्र हेर्ने गरी दुई देशबीच कार्यदल गठन गरिएको थिएन।

कार्यदल बैठकले रेलमार्ग निर्माण तथा अन्तरदेशीय रेल सञ्चालनमा देखिन सक्ने र देखिएका समस्या समाधान गर्नेछ। अन्तरदेशीय रेल सञ्चालनका लागि आवश्यक विषयको पहिचान गर्ने कामसमेत कार्यदलले गर्नेछ। त्यस्तै, दुईदेशीय रेल सञ्चालनका लागि मापदण्डसमेत छिटोभन्दा छिटो टुंगो लगाउनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु