डा. हरिकुमार श्रेष्ठ/नगार्जुन १०, स्युचाटार, काठमाडौँ .हिजो नारायणगढदेखि बुटवल आउने क्रममा बुटवलकै स्थायी निवासी तथा हाल अर्थ मन्त्रालयका उपसचिव मित्र श्री खिमबहादुर कुँवरसँग बुटवल र बुटवलको हिलपार्कको बारेमा छोँटो जानकारी पाउने अवसर मिल्यो । वास्तवमा, बुटवल र भैरहवालाई रुपन्देहीको जुम्ल्याहा नगरको रुपमा लिईन्छ ।
बुटवल उपमहानगरपालिकाको बुटवल प्रदेश नं. ५ को अन्तरिम राजधानी हो । यो शहर तिलोत्तमा (तिनाउ) नदीको किनारमा अवस्थित छ, जसको उत्तरी खण्ड सिवालिक पहाडको फेदिमा पर्दछ । पहिलाको बटौली नामबाट बुटवल बन्न गएको हो । यो ठाउँ तराईमा पर्ने भए तापनि पहाड, तराई फाँट र नदीको संगम पर्ने भएकोले यसको मनोरम दृश्यले कसको पो मन चुम्दैन होला र । भौगोलिक रुपले बुटवल महेन्द्र र सिद्धार्थ राजमार्गहरुको संगम स्थल पनि हो । सिद्धार्थ राजमार्गले भारतको सुनौलीदेखि पाल्पा र पोखरा जोड्छ भने महेन्द्र राजमार्गले मेचीदेखि महाकालीसम्म जोड्नुको साथै काठमाडौँलाई पनि जोड्ने काम गर्छ । विगतमा पाँचपटकसम्म यो नगरले नेपालको उत्कृष्ट नगरको पहिचान पनि बनाईसकेको छ ।
यसै बुटवल महानगरको दिपनगरमा वि.सं. २०५७ मा स्थापित बुटवल हिलपार्क, जुन बुटवलबासीको चमक रहेछ । उहाँकै प्रस्ताव अनुसार आज बिहान सबेरै ४ बजेतिर घुम्न जाने सल्लाह भयो । त्यसमा मेरो पनि मञ्जुरी रह्यो । हिजो बेलुकी योजना आयोगका उपसचिव मित्र श्री महेश खरेलसँगको भेटघाट र स्वीकृतिले हामीमा अझै उर्जा थपिदियो ।हामी यात्राको दोस्रो दिन बिहान बुटवलमा अवस्थित सुन्दर पहाड तथा बुटवलको प्रमुख आकर्षण “बुटवल हिलपार्क” हेर्ने र साँढे आठबजे औपचारिक मेलामा सरिक हुने योजना थियो । हिजोको सल्लाहबमोजिम म बिहान ४ बजेभन्दा अगाडि नै उठिसकेको थिएँ । केही समयपछि करिब ४ बजेतिर खिमबहादुर कुँवरको फोन आयो ।
लौ म त त्यता आउँदैछु बुटवल हिलपार्क जान तपाईँहरु तयार रहनुहोला । त्यसपछि, म पनि बिहानीको नित्य कार्यपछि होटलको प्रतिक्षालय कोठामा झरेँ जहाँ मभन्दा अगाडि नै डा. महेश झरी हामीलाई नै पर्खेर बस्नुभएको रहेछ । केही समयपछि कुँवर पनि हस्याङफस्याङ गर्दै हामी कहाँ आईपुग्नुभयो । तर त्यतिखेरसम्म ४ बजेर ५० मिनेटजति गईसकेको थियो ।
हामी विस्तारै होटल डेनोभोबाट उत्तर पूर्व दिशातिर पूर्वपश्चिम राजमार्ग तथा बुटवल नगरलाई चिरेर बुटवल हिलपार्कतर्फ गयौँ । करिब करिब २० मिनेटको चर्को हिँडाईपछि हामी मनोरम पार्कको सुन्दर मुख्य प्रवेशद्वार पुगी भित्र प्रवेश गर्यौं । रिमरिमे उज्यालो थियो तर त्यहाँ पुग्दासम्म निकै मानिसहरुको चहलपहल थियो ।
मुख्य प्रवेश ढोकाबाट प्रवेश गरेपछि हिल पार्क जाने दुईवटा बाटो भएकोले हामीलाई गाडी हिँड्ने सजिलो बाटोभन्दा पनि उकालो चढेर माथि जाने र फर्कँदा गाडि चल्ने बाटो हिँडेर फर्कने कुँवरबाट सल्लाह भयो त्यसैले मूलद्वार प्रवेश गर्ने बित्तिकै बायाँतर्फको नाकै ठोकिने उकालो बाटोतिर अगाडि बढ्याँै । बाटो भने सिमेन्टेड सिँढी भएकोले सहज रुपमा हिँड्न सकिने थियो । वास्तवमा यो ठाउँ हाईकिङ, बिहानीको हिँडाई तथा कसरत, साथीभाइ, ईष्टमित्र तथा परिवारजनसँग घुम्न तथा स्कूल, कलेज तथा विभिन्न संघसंस्थाबाट वनभोजको लागि पनि मनमोहक क्षेत्र बनेको रहेछ । किनकि, केही समयको यात्रामा नै तराईको गर्मीले रापिएर ओल्सिएको शरिरले घट्दो तापक्रमको कारण राहत मिल्दो रहेछ । त्यसैले पनि बढीभन्दा बढी मानिसहरुको चाप पर्दो रहेछ यो पहाड चढ्न ।
मलाई त यो ठाउँमा जानुको उद्देश्य त्यहाँको बस्तुस्थिति मूल्यांकन गर्नु थियो ।बाटोमा केही व्यक्तिहरु फुत्तफुत्त ओरालो झर्दै थिए, केही भने खोच्याउँदै झर्दै थिए । तर त्यतिखेर अधिकांस भने उकालो चढ्ने नै थिए । हामी पनि विस्तारै उकालो चढ्दै गयौँ । जति उकालो चढ्दै गईन्थ्यो, नाकै ठोकिने उकालोको हिँडाईको कारण मुटुको धड्कन बेजोड्ले चलेको आभास हुन्थ्यो भने स्वासप्रस्वासमा पनि केही अवरोध भएजस्तो ।कतिपयलाई त स्वासप्रस्वासमा निकै नै समस्या भएकोले धिमेधिमे गतिमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै भए पनि उकालो जढ्दै जान्थे ।
जति माथि जान्थ्यौँ, हावा पनि सितलताले भरिपूर्ण थियो तर उकालोमा चर्को हिँडाईको कारण एकैछिनमा वर्षा यामको वर्षे भरीझैँ शरिरबाट पसिनाको वर्षा हुन थालिसकेकोले लुगा निथ्रुक्क भएको थियो । शरिरको कुनाकाप्चा कतै पनि बाँकी थिएन पसिनाको मूल फुट्न ।हामीमध्ये खिमबहादुर कुँवरको उमेरले पनि निकै नै कमजस्तो लाग्दथ्यो र उनको हिडाईँ पनि निकै नै हल्का र छिटो थियो । उनले हामीलाई पछाडि पार्दै छिटोछिटो सिँढी चढ्दै अगाडि बढ्नुुभयो । हिजोसम्मको यात्रामा हिँड्दा प्रायश अग्रस्थानमा हुन्थेँ भने यो पटक भने मैले हार खाएँ ।बाटोको वरिपरि केही जंगल पात झरेर खरिखुण्डा नाङ्किएर निर्वस्त्रजस्तै देखिन्थ्यो ।
कताकति सालको रुखहरुले भने बैँसका नयाँ पातहरु फेरिसकेको थियो । सालका रुखहरु मसिना, सुरिला र अग्ला देखिन्थे । अन्य विभिन्न किसिमका बोट बिरुवाहरु पनि बैँस पुट्पुटाउँदै मुस्कुराउँदो अवस्थामा थियो । तर डढेलोको कारण धेरैजसो रुख बिरुवाका स्वरुप कुरुप बन्नुको साथै बैँश त्यसै ओल्सिएको देखिन्थ्यो । जस्ले त्यस ठाउँको सुन्दरता तथा पहिचानमा पनि खोट लगाई राखेको थियो । नेपालको प्रदेश नं. ५ को काखैमा त डढेलोको समस्या बिकराल देखिन्थ्यो भने अन्य क्षेत्रका जङ्गलको अवस्था के होला भनेर सहजै अड्कल काट्न सकिन्थ्यो । यो मौसममा “जहाँ जानु बारी, कर्कलाको घारी” भनेजस्तै जताको जंगलमा गए पनि हालत यस्तै देखिन्थ्यो । तर समाधानको उपाय के त ? सधैँभरि प्रश्नवाचक चिन्ह बोकेर हिँडेको छ डढेलो लागेको बनले ।
बाटो हिँड्दै जाँदा नेपाली गीत र संगीतको भाकामा बाजागाजा बजेको आवाज पनि बढ्दै जाँदा मानिसहरुलाई त्यसले पनि आकर्षण गर्ने भएकोले जति उकालो भए पनि त्यसको कुनै पर्वाह थिएन । करिब २० मिनेटपछि पहिलो खण्ड उकालो सकियो । एकाबिहानै नेपाली गीतको धुन तथा बाजामा नाच्दै र कसरत गर्दै रमाउनेको जमात बाक्लै थियो । महिला, पुरुष, केटाकेटी, बुढाबुढी, युगल प्रेमिल जोडीहरु सबै सँगसँगै एकैठाउँमा नाचेका थिए । बाटोको छेउछाउमा कतिपय प्रेमिल जोडीहरु भने एकआपसमा अंकमाल गरेर हालको पश्चिमी सभ्यताको पहिचान दिएर बसेका हुन्थे ।
त्यतिखेर लाग्दथ्यो पश्चिमी देशकै कुनै भूभाग उठाएर ल्याईएको पो रहेछ कि भन्ने । वास्तवमा, नेपालीहरुमा पनि पश्चिमा संस्कृतिले विस्तारै प्रवेश गरेको अनुभूति भयो ।त्यहाँको नाचगानको मावलले हामी पनि अछुतो रहन सकेनौँ । किनकि, त्यहाँ हाम्रो भाषाको गीत, हाम्रो मौलिकता बोकेर बजेको बाद्यवाजाको स्वर र नृत्य थियो । हामी पनि एकैछिनमा त्यहाँ नाच्ने समुहभित्रकै सदस्य बन्न पुग्याँै । अहो मित्र कुँवरको व्यक्तित्व तथा नाचको प्रसंशा नगरी बस्नै सक्दिन । उनी सरल, मिजासिला, सहयोगी, फुर्तिला र मेहनति थिए ।
अर्का मित्र डा. महेश भने गम्दारी, भावनामा बग्ने, उत्तिकै मिजासिला, सरल र सहयोगी थिए । उनी भने आफू नृत्य गर्नभन्दा पनि दर्शकदीर्घा बनेर बस्न रमाउने रहेछन् । करिब ४। ५ मिनेटको उफ्रिने कार्यपछि हामी अझै उकालोतिर लम्कँदै पहाडको टुप्पामा पुगेर फर्कने निधो ग¥यौँ र विस्तारै उकालोतिर हान्नियौँ ।उकालो बाटोभरि कतै त कमिलाको ताँतीजस्तै मानिसहरुको ताँती थियो । बाटोको दायाँबायाँ ठाउँठाउँमा प्रतिक्षालयहरु थिए र पो मानिसहरु विश्राम पनि गरिराखेका हुन्थे । कतिपय बाटोको दायाँबायाँ योगा तथा अन्य प्रकारका कसरत पनि गरिराखेका हुन्थे । त्यसैले मानिसहरुलाई त्यो सानो पहाडले उर्जा दिईरहेको हुन्थ्यो । त्यसैले बुटवलवासीहरु निकै नै चलाख, पौरखी, मेहनतिको साथै ईमान्दारी पनि देखिन्थे । यसको उपमा हामीसँगै जाने बुटवलबासी मित्र कुँवरलाई लिन सकिन्छ ।
त्यहाँबाट करिब २० मिनेटको हिँडाईपछि हामी पहाडको टुप्पामा पुग्यौँ । त्यहाँ पनि मानिसहरु बाटो र जंगलभरी छरिएर रहेका थिए । बाटोमा खाने पानीको सुविधा नभएकोले मुख ट्यापट्याप सुक्न लागेको थियो । कतिपय मानिसहरु उकालोको कारण धम्कि लागेको पशुपन्छी सुसाएजस्तै सुसाएका हुन्थे । हामी जति माथि जान्थ्यौँ पहाड त्यति नै नग्न हुन्थ्यो भने डढेलोको मार पनि बढी नै देखिन्थ्यो । त्यसैले जंगल निरस देखिन्थ्यो ।डाँडाको टुप्पामा देउराली जस्तै लाग्थ्यो ढुंगाहरु थुपारिएर राखिएको आकृति देख्दा । मानिसहरु त्यसको छेउछाउ बसेर बिश्राम गरिराखेका हुन्थे भने कतिपय भने फोटो खिच्दथे त्यहाँ । हामी पनि अरु मानिसहरु त्यहाँबाट अन्यत्र सरेपछि फोटो खिच्ने कार्य सम्पन्न ग¥यौँ ।
त्यहाँबाट बुटवलको अधिकाँस दृश्यलाई यी दुई खोविल्टे नयनहरुले निरन्तर कैद गरिराखेका हुन्थे । पहाडको फेदीमा समथर भूभाग देखिनु त्यहाँको अर्कै पहिचान थियो । उत्तरतिर अलि हरियो घना जंगल देखिन्थ्यो । त्यहाँभित्र पनि नेपाली बाजागाजा र लोक भाकाका गीतहरु गुञ्जिएको हुनाले त्यतातिर पनि यत्तिकै ठूलो जमात होला भन्ने अड्कल काटेको थिएँ ।हामी पनि केही समय त्यहिँ नै बसेर थकाई मार्दै वरिपरिको दृश्यहरु अवलोकन गरेर बस्याँै । समयको चापले गर्दा त्यहाँ बस्ने मनको धोको नमेटिए पनि ओरालो झर्न वाद्य भयौँ ।
किनकि हामी बिहान साँढे आठबजे लुम्बिनी बीउबिजन कम्पनीमा मेला जानु थियो । त्यसैले विभिन्न व्यक्तिहरुसँग पनि अन्तरक्रिया गर्दै ओराली झर्दै गयौँ । कतिपय व्यक्तिहरु नियमित नै आउने रहेछन् भने कतिपय भने एकदुई दिन बिराएर आउने । कतिपयको मनमस्तिष्कले आँटे पनि समयको अभावले आउन नसक्ने रहेछन् ।यसको अर्को विशेषता भनेको त्यहाँ निर्मित वा निर्माणधिन मन्दिर, चैतन्य, गुम्बा, मस्जिदको कारण त्यहाँ धार्मिक सहिष्णुताको ध्वतकको रुपमा ठडिएको आभाष हुन्थ्यो । यसको अलावा केही साना स्थानीय व्यापारीहरु चिया, कफी, जौ तथा घिउकुमारीको रसको व्यापार गरिराखेका हुन्थे । केटाकेटीहरुको लागि बालबाटिका पनि थियो निकै नै खेल सामग्रीहरुका साथ । त्यस्तै गरेर फलफूल बगैँचा सानै भए पनि ठाउँ ठाउँमा लटरम्म रंगीचंगी फूलहरु फुलेर सुगन्धित वास्ना छर्दै आगन्तुकको स्वागत तथा विदाई गरिराखेको हुन्थ्यो । यसको साथै बाटोका विभिन्न आकृतिका ढुंगाका मूर्तिहरु तथा सकारात्मक सन्देशमुलक वाणी तथा वाक्यहरु जस्तै “स्वच्छ भए वातावरण स्वच्छ हुन्छ मन” ले सडकको शोभा बढाउनुको साथै पर्यटकको मन मथिंगल चुमिरहेको हुन्थ्यो ।
ओरालो झर्ने क्रममा त्यहाँको नृत्य स्थल गरमा गरम भएको थियो ।
हामी भने एकछिन फेरी त्यहाँ बसी ओरालो झर्दै गर्दा साथीहरुको साथीहरु पनि भेटिए । केही समय भलाकुसारी गर्दै आफ्नो यात्रालाई निरन्तर अगाडि बढायाँै र ठ्याक्कै दुई घण्डाको यात्रापछि होटलमा पुग्यौँ । शरिर केही थाकेजस्तो देखिए पनि मन मथिंगलमा नयाँ उर्जा थपेर ल्याएका थियाँै र पो चंग, छंग र उर्जावान थियो तन मन । त्यसैले, बुटवल टेक्ने यात्री वा पाहुनाले यो स्थानमा पाईला टेक्न सल्लाह पनि दिन्छु ।यो ठाउँले वास्तवमा बुटवलबासीहरुलाई बिहानै निरन्तर उर्जा थपिदिने भएकोले यसलाई बुटवलबासीको उर्जा थलोको रुपमा लिईदा पनि हुनेजस्तो लाग्यो । यसको अलावा गर्मी याममा शितल हावा खान पाईने ठाउँको कारण स्थानीय पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने राम्रो अवसर देखियो । वास्तवमै त्यहाँ निर्माण गर्न लागिएको संरचनाहरुले पनि यो कुराको संकेत दिईरहेको थियो । बिहान मात्रै करिब हजारजनाभन्दा बढीको सहभागी देखिन्थ्यो त्यहाँ ।
त्यस्तै दिउँसो त प्रवेश शुल्क तिरेर जानेको भीड पनि त्यत्तिकै हुन्छ रे । सुन्नमा आए अनुसार कतिपय स्कुल तथा कलेजका विद्यार्थीहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरुले त्यस स्थानलाई वनभोज गर्ने स्थलको रुपमा पनि प्रयोग गर्ने गरिएको पाईयो ।यो पार्कको पूर्वाधारको विकास भईरहे तापनि अझै परिस्कृत रुपमा विकास हुन जरुरी छ । त्यति धेरै मानिसहरुको हिडडुल हुने स्थानमा पानी, ट्वाईलेट, बगैँचा उचित प्रवन्ध गरिनुको साथै डढेलो कुनै न कुनै उपायले बन्द गरिनुपर्ने देखिन्छ । सकिन्छ भने कुनै क्षेत्रलाई चिडियाखानाको रुपमा पनि विकास गर्न जरुरी छ ।
बाटो ठाडै उकालो तथा ओरालो भएकोले यसको दुबैतिर फलामे डण्डीको बार राख्दा बृद्धाहरुको लागि समाउने आधार बन्न सक्छ । यसको अलावा, नयाँ प्रदेशले यो पहाडलाई लुम्बिनीसँग जोडेर प्याकेजमा अगाडि बढाउन जरुरी छ जस्ले गर्दा पर्यटकको आवागमनमा वृद्धि गरी त्यस बुटवलबासीको रोजगारी तथा आयआर्जनमा पनि वृद्धि हुने प्रचुर सम्भावना छ ।
डा. हरिकुमार श्रेष्ठ/नगार्जुन १०, स्युचाटार, काठमाडौँ