नेपाल र भारतको धार्मिक सांस्कृतिक र वैवाहिक सम्बन्ध सदिऔँ देखि चल्दै आएको कुरा बताइरहन पर्दैन । अर्थात नेपाल र भारतकाबीचमा धार्मिक सांस्कृतिका साथै रोटी र बेटीको गहिरो सम्बन्ध सदिऔँ देखि रहँदै आएको यथार्थ हो । भारतमा बेलायती उपनिवेशिक शाासन प्रणाली हुँदा देखि नै अर्थात इष्ट इण्डिया कम्पनी छँदै अंग्रेजहरूले नेपालका साँधसीमाना मिच्ने, अतिक्रमण गर्ने, जंगे पिल्लरहरु सार्ने काम गरेको देखिदैन ।
अग्रेजहरूले भारतमाथिको आफ्नो शासनसत्ता छोडेर भारतीयहरूलाई नै शासनसत्ताको साँचो जिम्मा लगाइ बेलायत फर्के पछि र भारतमा जवाहरलाल नेहरूको उदय क्रमसंगै नेपालको पूर्व इलामको पशुपतिनगर झापाको महेशपुर देखि तराईको भारतसँग जोडिएका सबैजसो सीमाना हुँदै पश्चिमको दार्चुलाको कालापानीसम्मको ९५ ठाँउमा सीमानमा रहेका जंगेपिल्लरहरू हराएर नक्कली पिल्लर खडा गर्ने, सीमानामा तटबन्ध निर्माण गर्ने बाटो बनाउने तथा तराईका धेरै फाँट मैदानहरु मिच्ने काम तीब्र रुपमा हुँदै आएको छ ।
सामान्य भाषामा भन्नु पर्दा भारतले नेपाललाई ठूलो दाइले साँनो भाइलाई हेप्ने चेप्ने गरे झैं व्यवहार गर्दै आएको सम्पूर्ण नेपालीले भोग्दै आएको हो । हाम्रो वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको भारत भ्रमणलाई अत्यन्तै सफल भएको भनेर व्यापक प्रचार प्रसार गरिएको थियो । सो भ्रमणको अवसरमा भारतले हाम्रो उक्त मिचिएका साँध सीमानाबाट पछि हटाउने विषयमा दुई मुलुक बीचमा छलफल भयो नै होला भन्ने नेपाली जनताले विश्वास गरेका छन् ।
कोशी संझौताले नेपालको पूर्वी भेगका घरविहीन जनता उक्त कोशीबाँध बाट उत्पीडनमा परेको विषयमा हाम्रो प्रधानमन्त्री ज्यूले भारतसंग कुरा राख्नु भयो होला भन्ने सबै नेपालीको आम चासोको विषय बनेको छ । गण्डक नहरबाट नेपालको भूभाग सुख्खाहुने तर नहर फुट्दा चुर्लुम्म डुब्ने र बगाउने विषयमा पनि छलफल भएकै हुनुपर्छ ।
टनकपुर बाँधबाट नेपाल तर्फको डुबान र सो बाँधबाट उत्पादित बिजुलीले हाम्रो सो भेगका गाउँघरहरु उज्यालोले झलमल्ल भएका छन् त ?
टनकपुर बाँधको वरपर हाम्रो नेपाली दाजुभाई दिदिबहिनीहरु आवत जावत गर्न सम्म पनि नपाउने बारेमा हाम्रो प्रधानमन्त्रीज्यूले सो भ्रमणको समयमा कुरा उठाएकै हुनुपर्छ । वर्तमान प्रधानमन्त्री ओलीजीले महाकाली सन्घी हुँदाका बखत अर्थात महाकाली नदी भारतलाई दिनको लागि नेपालको संसदमा छलफल हुँदा रातको १२ बजे दुईतिहाई बहुमतले पास गराउँदा नेपाललाई २१ खर्ब २० अर्ब रुपैयाँ नेपालले वार्षिक रुपमा आम्दानी गर्छ अर्थात भारलले नेपाललाई बुझाउँछ भनेर भन्नु भएको थियो । सो रकमको हिसाब किताबको कुरापनि उहाँले उक्त भ्रमणमा दौरानमा भारतीय समकक्षीसँग राख्नु नै भयो होला भन्ने विश्वास छ ।
भैरहवादेखि नेपालगञ्ज, धनगढी, महेन्द्रनगरसम्मका विभिन्न नदीमा भरतले कतै सिंचाई, कतै बाटो बनाएर खोला छेक्ने र नेपालतर्फको गाउँवस्ती जग्गा जमिन डुबाउने काम भएको मा त्यो हटाउने विषयमा पनि कुरा उठाउन भयो नै होला भन्ने लाग्दछ । पानीजहाज नेपाल ल्याउने, भारतबाट रेल नेपालको राजधानी काठमाण्डौ ल्याउने अनि भूपरिवेष्टित देश नेपाल अब कनेक्टिभिटी भयो भन्ने कुरा आएको थियो । कोशी उच्च बाँधको कुरा पनि भारतको तर्फबाट जोडतोडले उठेको थियो । त्यो विषयमा पनि हाम्रा प्रधानमन्त्रीज्यूले उठाएकै हुनुपर्छ भन्ने लाग्छ । बुढीगण्डकी जलविद्युतको बारेमा भारतको चासो नै होला । गिरिजाप्रसाद कोइरालाले टनकपुरको सम्झौता गरेको हैन केवल समझदारी मात्र गरेको हो भनेर सम्झौतालाई गोप्य राख्नु भएको थियो । तर सर्वाेच्च अदालतले समझदारी नभई सम्झौता नै गरेको हो भनेर प्रमाणिकरण गरिदिएपछि गोप्य सम्झौताको पर्दाफास भई नेपाली जनता सुसूचित भएका थिए ।
त्यस्तै वर्तमान प्रधानमन्त्री ओलीजीले पनि गोप्यरुपमा राष्ट्रघाती संझौता गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट ठूलो सम्मान लिएर फर्कनु भएको हो भन्ने कुरा आम नेपालीको मनमा शंका उठेको महसुस गरिएको छ । मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री हुँदा कोशी सम्झौता गरेर भारतलाई सुम्पिदिएर भारतको माग त पुरा गर्नुभयो तर उहाँले त्यो धर्तीबाट बिदालिनुभन्दा केही समय पूर्व कुनै पत्रकारले उहाँलाई तपाई प्रधानमन्त्री हुँदा कुनै राष्ट्रघात गरेको छु भन्ने लागेको छ भनेर प्रश्न गर्दा उहाँले कोशी सम्झौता चाँहि राष्ट्रघाती नै हो भनेर जवाफ दिई प्रायश्चित गर्नुभएको थियो ।
वर्तमान प्रधानमन्त्री ओलीज्यूले पनि त्यस प्रकारको प्रायश्चित गर्नु नपरोस भन्ने कामना गर्दछु ।
धन्यवाद राम प्रसाद ढुङ्गाना (कपिल) नुवाकोट