कुहिनामुनि दुवै हात छैनन् । जन्मँदै दुवै हात थिएनन् । दुवै हात नभएको बच्चा जन्मेको थाहा पाएपछि गाउँभरि हल्लाखल्ला चल्यो । गाउँकै एक ठालुले यस्तो बच्चा जन्मनु राम्रो होइन, बाँचिहाले पनि यस्तो बच्चाले केही गर्न सक्दैन, सालनाल नकाटी कसैले नदेख्ने ठाउँमा फालिदिनू भन्ने प्रतिक्रिया दिए । आमाको मन न हो । त्यसो गर्न कहाँ सक्थिन् । कसैले फालिदेलान्, मारिदेलान् भन्ने डरले आमाले उनलाई काखमै च्यापेर हुर्काइन् ।दुवै हात नभएकाले बाँचिहाले पनि केही गर्न सक्दैन भन्नेलाई गणेश राईले सवक सिकाएका छन् । कसैले नदेख्ने ठाउँमा फालिदिनू भन्नेले राईको प्रगति नदेखे पनि सुनेका छन् ।
साबिक काहुले–६ सालम्बु खोटाङ (हाल : जन्तेढुंगा गाउँपालिका–३) निवासी गणेश राई काठमाडौंको बबरमहलमा रहेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय प्रमुख वसन्तकुमार राईको पीए हुन् । उनले कार्यालयीय काम कम्प्युटरमै गर्छन् । लेख्नै परे पनि औंलाविहीन हातले लेख्न सक्छन् । फाइल पल्टाउने, दर्ता चलानी गर्न अरूको सहयोग चाहिँदैन । सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनुपर्छ भनेर उनी जानकार छन् । उनी कहिल्यै झर्कीफर्की गर्दैनन् । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय प्रमुख राईमात्रै होइन, मुस्कानसहितको सेवा पाउँदा सेवाग्राही गणेशसँग त्यत्तिकै प्रभावित छन् ।सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत उनी मिहिनेत गरे सफलताले पछ्याउँछ भन्नेमा ढुक्क छन् ।
करार सेवामा कार्यरत उनी लोकसेवा तयारीमा जुटेका छन् । निजामती कर्मचारी भएर राष्ट्रसेवक बन्ने सपना साकार पार्न सकिन्छ भन्नेमा द्विविधा छैन । नासु गणेश राईको आफ्नै आयस्रोतबाट आफूबाहेक तीन भाइलाई काठमाडौंमा पढाइरहेका छन् । सीमित आयस्रोतले आफूसहित चार भाइ टिक्क गाह्रो भए पनि आत्तिएका छैनन् । उनले भने, ‘सधैं सकारात्मक सोच्छु । सकारात्मक सोचियो भने आइपरेको समस्या समाधान गर्न हिम्मत बढ्छ । सकारात्मक सोच भनेको अचुक औषधि पनि हो ।’ भाइहरूलाई सम्भव भएसम्म लोकसेवा तयारी गर्न लगाउने उनले सुनाए ।भाइहरूसँग बसे पनि दैनिक जीवनमा मानिसलाई आइपर्ने सबै काम आफैं गर्छन् । खाना पकाउने, लुगा धुन, नुहाउन कसैलाई सहयोग माग्नुपर्दैन । उनले खुट्टाले लेख्न र खान पनि सक्छन् ।
‘अपांगता भएकालाई दयाको पात्र बनाइनुहुँदैन,’ दुवै हात नभएका गणेश राईको तर्क छ, ‘अपांगता भएकासँग पनि योग्यता, सीप र कला छ । त्यहीअनुसार अवसरचाहिँ दिनुपर्छ । अरू केही चाहिँदैन । त्यति भए अपांगता भएकाले गरिखान सक्छन् ।’समाजसेवामार्फत आफूजस्तै अपांगता भएकाको सेवा गर्ने लक्ष्य बनाएका उनले दुःखेसो पोखे, ‘अपांगता भएकाको नाममा छुट्याइएका सरकारी/गैरसरकारी सुविधा साङ्गले उपभोग गर्दै आएका छन् । त्यो रोकिनुपर्छ ।’ खोटाङ सेवा समाज हङकङले ४५ हजार रुपैयाँसहित सम्मान गरेकोबाहेक अपांगताको नाममा उनले आजसम्म केही सुविधा लिएका छैनन् ।कार्यालयीय समयबाहेकको समय उनले कसरी सदुपयोग गर्लान् ? ‘साहित्यमा अभिरुचि छ । लेख्थें पनि । बीचमा छुट्यो । पुनः साहित्यलेखनलाई निरन्तरता दिन्छु ।
अपांगता भएकाको जीवनी पढ्न मन लाग्छ । त्यस्तो किताब पढ्दा आफूलाई उत्प्रेरणा मिल्छ,’ उनले भने, ‘आफूजस्तैले संसार हल्लाएका छन् । उनीहरूले के÷के गरिरहेका छन् भनेर इन्टरनेटमा खोजी/खोजी पढ्छु ।’साइँला छोराको प्रगति देखेर गणेशका बुवा काजीमान राई, आमा जयकुमारी राई खुसी छन् । उनीसम्बद्ध कार्यालय पुगेका सेवाग्राही उनीदेखि त्यत्तिकै प्रभावित छन् । तपाईंबाट हामीले धेरै कुरा सिक्नुपर्छ भनेर सेवाग्राहीले प्रतिक्रिया दिँदा उनलाईं भविष्यमा केही गर्नैपर्छ भन्ने प्रेरणा मिल्दोरहेछ ।खोटाङको दिक्तेलमा सिकेको पहिले तीनमहिने आधारभूत र पछि एड्भान्स कम्प्युटर ट्रेनिङले कार्यालयीय काममा सघाएको छ । कम्प्युटर सिक्न प्रबन्ध मिलाइने खोटाङ विकास मञ्चले उनलाई ठूलो गुन लगाएको हो ।संवत् २०६६ मा दोस्रो श्रेणीमा एसएलसी गरेका उनले चिसापानी उच्च माध्यमिक विद्यालय चिसापानी खोटाङबाट १२ कक्षासम्मको पढाइ पार लगाएका हुन् । दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तह भर्ना भएका उनी बीचमै काठमाडौं पसे । उनलाई काठमाडौं ल्याउन स्व. मिलन राईले विशेष सहयोग गरेका थिए ।
समाजसेवी भैरव राईको उत्तिकै सहयोग थियो । झन्डै वर्ष दिन भैरवकै घरमा आश्रय लिए । घरबाट भाइहरू काठमाडौं आएपछि ललितपुरको लगनखेलमा बस्दै आएका छन् ।आफूलाई यहाँसम्म ल्याइपुर्याउने सांसद विशाल भट्टराई, गोपीकृष्ण खड्काको योगदानलाई कहिल्यै बिर्संदैनन् । कम्प्युटर सिक्न जाँदा तिमीले सक्दैनौ भन्नेहरूलाई पनि उनले सम्झेकै छन् । भन्छन्, ‘उनीहरूले त्यसो नभनेका भए कम्प्युटर सिक्न उत्साहित हुने थिइनँ कि ।’थाङ्का आर्टसम्बन्धी चार महिना तालिम गरेका उनले दुई कक्षा पढ्दासम्म खुट्टाले लेख्थे । विद्यालयमा बेन्च बसेर लेख्नुपर्ने बाध्यता भएपछि औंलाविहीन हातले लेख्न अभ्यास गरे । नभन्दै सफल भए । उनले औंलाविहीन हात र खुट्टाले लेख्ने र खानासमेत खान सक्छन् ।-रातोपाटी