मृत्यु संस्कारले उब्जाएका केही सवालहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र १० गते, आईतवार ०७:३७

डा. हरिकुमार श्रेष्ठ
नगार्जुन १०, स्युचाटार, काठमाडौँ

पृष्टमूमी : कुनै पनि जीवको जन्मपछि मृत्यु प्राकृतिक नियम नै हो । फरक यतिमात्र हो कि कसैको मृत्यु अत्पकालमै हुन्छ भने कसैको मृत्यु आफ्नो समयावधि पुगेपछि हुन्छ । विभिन्न जातजाति, धर्मका मानिसहरुमा जन्मेदेखि मृत्यु हुँदासम्म र मृत्यु पाश्चात आफ्नै परम्परा र रिति रिवाज, पद्धति र संस्कार अनुसार न्वारान, भात खुवाई (पास्नी), व्रतवन्ध, विवाह, बेल बिबाह (ईही), गुफा राख्ने (बारा), चौरासी पूजा (भीमरथ वा जङ्कु), अन्त्येष्ठी र श्राद्ध सञ्चालन गर्दै आएका छन् । मृत्यु संस्कार मानिसको मृत्यु पश्चात गरिने संस्कार हो । कतिपय धर्म र संस्कृतिमा यी संस्कारहरु अनिवार्य शर्त छन् भने कतिपयमा आफ्नो ईच्छा अनुसार गरिन्छ । यो कुनै बेला १३ वर्षको हुन्थ्यो भने पछि १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा जारी भएको पाईन्छ । कतिपयले त १३ दिनपछि वर्ष दिनसम्म बरखी बार्ने प्रथा पनि कायम राख्छन् । १९९३ सालमा ७९ वर्षदेखि चल्दै आएको ४५ दिने मृत्यु संस्कारलाई १३ दिनमा ल्याईयो । अहिले ८१ वर्षको अवधि पार गरेपछि यस बारेमा बहस सुरु भएको छ । यसमा कसैले १ दिन त कसैले ३ दिन वा ५ दिनमा सक्नुपर्ने आवाजहरु उठाउँदै व्यवहारमा पनि उतार्न थालेका छन् तापनि हाम्रो समाजमा मृत्यु संस्कार पुरातन, परम्परावादी र कष्टकर नै छ ।

खास गरेर, हिन्दु परम्परा अनुसार मृत्यु संस्कार १३ दिनसम्म चल्नाले कतिमा आर्थिक समस्या, स्वास्थ्य समस्या, मानसिक विचलन तथा मृत्युको कारकतत्व पनि बनेकाले विभिन्न समय र कालखण्डमा यो संस्कारले निकै नै पश्नहरु उब्जाएको छ । मलाई यस सुन्दर धर्तिमा जन्म दिने मेरी ममतामयी माताले मिति फाल्गुण २४, २०७४ मा छाडेर जानुभएको छ । यो घडी मेरो लागि मर्माहत र पीडा एवम् गहिरो शोकको मात्र होइन उहाँप्रति सच्चा श्रद्धान्जली र उहाँमा समर्पण गर्न योग्य कुनै सत्कर्ममा उत्प्रेरित हुने समय पनि हो । यद्यपि, फाल्गुण ६, २०७४ का दिन मेरी आमाको मृत्यु संस्कार १२ दिनमा सम्पन गर्दा त्यहाँ वरिपरि र आफ्नै वातावरणमा प्रत्येक्ष रुपमा केही अनुभूति गर्ने मौका मिल्यो । आफ्नी ममतामयी आमाको मृत्युको पीडाको सागरमा डुबेको अवस्थामा मैले त्यसै सेरोफेरोमा आफूले प्रत्येक्ष देखे भोगेका केही सवालहरु र हालसम्म गरिएका सुधारका प्रयासहरु केलाउने प्रयास गर्दै अन्त्यमा केही सुझावहरु प्रस्तुत गरिएको छ, जसले यी विद्यमान सवालहरु सुधारको लागि गोरेटो कोर्न सहयोग पुग्नेछ भन्ने लागेको छ ।

सवालहरु:

१. आर्थिक समस्या : जसरी विवाह तथा व्रतवन्धजस्ता कार्यहरु महंगा र भड्किला बन्दैछन्, मृत्यु संस्कारमा पनि यसले नराम्रोसँग जरा गाड्न थालेको अवस्था छ । यजमान (पण्डित) नलगाई, श्राद्ध नगरी वा दानदक्षिणा नगरी मृत आत्माले शान्ति नपाउने र शुख सयलले स्वर्गमा बास नपाउने भन्ने जुन अन्धविश्वासले जरा गाडेर बसेको छ, हामीमा त्यसले गर्दा ऋण धन गरेर भए पनि मृत आत्माको चीर शान्तिको लागि श्रद्धाञ्जली गरिन्छ । यसले गर्दा आर्थिक अवस्था कमजोर भएका क्रियाकर्ताहरुको आर्थिक अवस्था झनै कमजोर बनाई थला पार्ने काम गर्दछ । कतिपय त मृत्यु संस्कारपछि आर्थिक बोझले मानसिक छट्पटिमा रुमल्लिएका पनि छन् । यसको साथै आडैमा कसैकोमा दान, दक्षिण धेरै हुँदा कमजोर अवस्थाको व्यक्तिमा मानसिक विचलन आउने रहेछ । हामीमा अझै पनि चेतनाको स्तर किन उक्सन नसकेको होला ? के वास्तवमै मृत्युपछि यजमाज (पण्डित) लाई चढाएको दान दक्षिणा, भेटी, धन, दौलतले हाम्रा पित्रीहरुको ऐश आरामका साथ स्वर्गमा वास हुन्छ त ? यो एक छलफलको विषय हो । यसमा यो पंक्तिकार भने कत्ति पनि सहमत छैन । बरु व्यक्ति जीवित छैदै जति सेवा र सुश्रुसा गर्न सकिन्छ गरेर बचुञ्जेल ऐश आरामले बिताउन वातावरण मिलाउन सकेमा त्यो नै महान कर्म, धर्म र पुण्य हो जस्तो लाग्छ । मृत्युपछिको दानदक्षिणाले पुण्य पाईन्छ भन्नु पीडाको सागरमा भएको व्यक्तिलाई चित्त बुझाउने एक काल्पनिक अस्त्रबाहेक अरु केही हुनै सक्दैन ।

२. खानपीन र स्वास्थ्य समस्या : मानिस स्वस्थ रहनको लागि उसलाई नियमित रुपमा स्वस्थकर भोजनको आवश्यकता पर्दछ । बितेर जानु भएको आफन्तप्रति कसलाई पो चिन्ता र पीडा हुँदैन र ? तर त्यसो भन्दैमा क्रियाकर्ममा रहेका व्यक्तिको स्वास्थ्यमा धेरै नै असर पर्ने गरी खानपीनमा बन्देज लगाउन पनि उचित हुन्छ जस्तो लाग्दैन । किनकि, मृत्यु संस्कारमा नुनको साथै धेरै खाने कुरा बार्न पर्ने अवस्थाले मधुमेह तथा ग्याष्टिकका बिरामीहरु र चिल्लो खान नसक्ने व्यक्तिहरुमा खानपीन वा जाडो मौसममा चिसोको कारणले स्वास्थ्यमा नकारात्मक समस्या पर्न गएको पाईन्छ । तेह्र दिनको मृत्यु संस्कारको प्रत्येक्ष असर बुढापाका र घाँटी, ढाड, कम्मर तथा घुँडाको बिरामीको साथै ग्याष्ट्रिकका बिरामीहरुमा पर्न जाने रहेछ । अझ निमोनियाका बिरामीमा चिसोको कारण जीवन झनै कष्टकर हुनेरहेछ । सुदिप श्रेष्ठले २०७४ मंसिर २० मा सेतोपाटीमा उल्लेख गरे अनुसार, कतिपय क्रियापुत्रीको किरिया बस्दाबस्दै मृत्यु भएको घट्नासमेत सुनिएको छ । जस्तैः तीन वर्ष अगाडि मोरङ्ग, ईन्द्रपुरकी ५५ वर्षीया मीना थापा र विराटनगर १३ का बालानाथ नेपालको किरिया बस्दाबस्दै मृत्यु भएको थियो । त्यसको अलावा, मृत्यु संस्कार सकिएपछि विस्तारै अनुहार तथा हातगोडा सुन्निने, शरिर बढी दुख्ने, ग्याष्ट्रिकको समस्या थपिने, आत्मबल कमजोर तथा बिरक्तिने स्थिति हुँदो रहेछ । कतिपय फलफूल पनि खानको लागि बर्जित गरिएको छ । उदाहरणको लागि काँचो केरा खान हुने तर पाकेपछि खान नहुने । यदि काँचो खान हुन्छ भने पाकेपछि किन खान नहुने ? खानपीनमा पनि यजमान (पण्डित) को बोली अनुसार विविधता पाईएकोले यसमा बन्देज लगाईनु हुन्न भन्ने मान्यतामा छु । मौर्य वंशको पतनपछि ईसापूर्व १८५ तिर भार्गभले लेखेको मनुस्मृतिमा गैँडाको मासु गर्न हुने लेखिएको छ र यसभन्दा अघि ब्राम्हणले मृत्यु संस्कारमा क्रियामा बस्दा खसी काटेर भोज खाने प्रचलन रहेकोमा पछि सुधार गर्दै मासुमा बर्जित गरिएको थियो, जुन कुरा भने सकारात्मक नै छ ।

३. छोईछिटो तथा छुवाछुत प्रथा : किरिया बस्दा छोईछिटो पनि नराम्रोसँग जकडिएको एक कुप्रथा रहेछ जहाँ क्रियापुत्री तथा उसकी श्रीमतिलाई अन्य व्यक्तिले, र श्रीमान र श्रीमतिबीच पनि छोइछिटो बार्ने प्रथा रहेछ । अर्को हास्यास्पद कुरा त खाने कुरा तथा पानी भरखरै अरु व्यक्तिले बोकेर ल्याईदिन्छन् तर क्रियापुत्री तथा उसकी श्रीमतिलाई बुझाएपछि ती बस्तु बिटुलिनुको साथै बोकेर ल्याउने व्यक्ति वा अन्य कुरुवाले पुन छोएमा ती बस्तु नचल्ने भएकोले फाल्न पर्ने अवस्था हुँदोरहेछ । हिन्दु धर्ममा यो प्रथाले पनि जरा गाडेको पाईयो जसरी पानी चल्ने र नचल्ने जातहरु बीच छुवाछुत प्रथा कायम छ । अर्को कुरा, बिहान अनिवार्य रुपमा क्रियापुत्रीले नै भात पकाउनु पर्ने र अरुले पकाएको वा छोएको खान नहुने तर श्रीमतिले पकाएर दिएको तरकारी, चिया, मिश्री काँडापानी, भने चल्ने । त्यही खाने कुरा क्रियापुत्रीले छोई हालेमा श्रीमतिलाई नचल्ने । बेलुकीको सम्पूर्ण खाना जस्तै रोटी, उसिनाको मकै, सागको तरकारी, ई. भने श्रीमतिले पकाएको चल्ने । यस्तो अवस्थामा पनि पुरुषले महिलाको शोषण गरेको देखिन्छ । यी नियम कानून पनि यजमान (पण्डित) अनुसार फरक पर्ने । त्यहाँ त पण्डितको बोली नै नियम कानून बन्दो रहेछ । यसले कष्टदायी जीवनलाई झनै कष्टपूर्ण बनाईदिँदो रहेछ । त्यसैले, जीवन यापन सहजताको लागि क्रियापुत्री र उनीहरुको परिवारबीचको छुवाछुतजस्तो पुरातन सोँचको पनि अन्त्य गरिनुपर्दछ ।

४. सन्चार विच्छेद :आजको यो युगमा पनि क्रियापुत्रीलाई सञ्चार बिच्छेद गराउन खोजिँदो रहेछ । मैले पनि क्रियापुत्रीको समयमा ती कुराको अनुभूति गरे तापनि कार्यान्यवनमा भने ल्याइन । पढ्ने र लेख्ने दुबै काम गरियो । यसबाट आफन्तको मन चिसिएको अनुभूति पनि गरेँ । त्यसैले, क्रियापुत्रीलाई सन्चार विच्छेद गराईँदा मनोटोनस हुने र झनै चिन्ता र पीडा थपिने भएकोले उसको मन भुलाउन सन्चार प्रवाहमा रोक लगाईनु हुन्न भन्ने मेरो मान्यता छ । हुन त अन्य सञ्चार साधनको प्रयोग नगरिए तापनि आजको मोवाईल युगमा सबैले मोवाईलको प्रयोग गरेको भने पाईयो जसलाई सकारात्मक प्रगतिको रुपमा लिन सकिन्छ ।

५. महिला र पुरुषबीच चरम भेदभाव : मृत्यु संस्कारमा पनि महिला र पुरुषबीच निकै ठूलो भेदभाव छ । श्रीमान् बित्नेहरु सिन्दुर, पोते, टीका, चुरा, लगाएको कपडा, गरगहना सबै हटाएर सेतो कपडाको पहिरनमा क्रियापुत्री सरह १३ दिन पुरै बिताएर निस्कनु पर्ने तर श्रीमति बित्दा भने उसको श्रीमान्ले कुनै कुरा बार्नु नपर्ने । यदि श्रीमति बित्दा श्रीमान्ले काजक्रिया गर्नुपर्दैन भने, श्रीमतिलाई पनि उसको श्रीमान् बित्दा सोही कुरा लागु हुनुपर्दछ । अर्को कुरा, नेवार समुदायमा बेल बिबाह भएदेखि नै सिउँदोमा सिँदुर लगाउन सुरु गरिन्छ । तर यी समुदाय बाहेक अन्य समुदायमा भने बिबाहमा मात्र श्रीमान्बाट सिउँदोमा सिन्दुर रेखा थपिन्छ । त्यसैले, कुनै पनि महिलाले श्रीमान्बाट पाएको अमूल्य उपहार “सिन्दुर” हटाउन आवश्यक देख्दिन । मैले मेरी श्रीमतिलाई स्पष्ठ रुपमा बिबाहपछि २०३६ सालतिर यो कुरा बताईसकेको छु र यदि मेरो मृत्यु उनको भन्दा अगाडि भएमा उनलाई यी नियमित रुपमा लगाउने लुगा, गरगहना, सिँदुरजस्ता सबै कुराहरु यथावत राख्न सल्लाह दिएको छु । हाल महिलाहरुमा केही परिवर्तनको लहर नआएको पनि हैन, तर कतिपय अवस्थामा यो अझै पनि एक कुरितिको अवस्थामै चलायमान छ । त्यसैले, यसको अन्त्य हुन पनि जरुरी छ । आजको समाचार डक कमले २०७३ मा उल्लेख गरे अनुसार, किरिया बस्दा लगाउने सेतो लुगाको प्रथा चिनीया बुद्धिष्टहरुबाट नेपालीले सिकेर प्रयोग गरेको हो भनेको हुनाले लुगा पनि सेतै लगाउनुपर्छ भन्ने छैन, तर सफा हुन भने जरुरी छ ।

६. फलफूल कुहिने समस्या : क्रियापुत्री भेटघाटमा आउने अधिकाँश व्यक्तिहरुले फलफूल ल्याउने चलन भएकोले खाएर नसकिएर खेर जाने रहेछ । यस्तो अवस्थामा भेटघाटमा आउने व्यक्तिले दिएका बस्तु सहि सदुपयोग हुन पाउँदैन र आर्थिक क्षति मात्र हुन्छ । त्यसैले, फलफूलको सट्ठा सडेर नजाने खाद्य बस्तु दिने, यदि हैन भने, नगद दिने प्रथाको विकास गर्न सकेमा त्यहाँ आवश्यक पर्ने बस्तु खरीद गर्न सहज हुन्छ । त्यसैले, यो कुरामा पनि सुधार हुन जरुरी देखिएको छ ।

७. पुरुष पण्डित : मैले आफ्नो बाल्यकालदेखि हालसम्म जहाँ पनि पुरुष पण्डित मात्र देखेको छु । यो कुरा मृत्यु संस्कारमा पनि लागु हुने रहेछ । के महिलाहरु पण्डित बनेर यो कार्य गर्नको लागि योग्य हुन सक्दैनन् र? यसमा महिला अधिकारकर्मीहरुको विचार के होला? यसमा निकै नै कौतुहलता जागेको छ । यो मेरो लागि एक अध्ययनको विषयमै सीमित छ तापनि महिलाहरुले पनि यस विषयलाई चिर्न आवश्यक छ जस्तो पनि लागेको छ ।

८. धर्मको नाममा शोषण : धर्म कुनै पन्थ वा सम्प्रदाय होइन, अपितु एउटा जीवन दर्शन र जीवन प्रक्रिया हो । भ्रष्टाचारी, व्यभिचारी, दुराचारी, दुष्टाचारी एवम् आडम्बर र पाखण्डपनालाई निरुत्साहित गर्दै इमान्दारिता, मेहनत, सकारात्मक विचारको बिजारोपण गर्दै जीवन र जगतलाई बुझ्नु नै धर्म हो । त्यसैले धर्म त्यो हो जसले मानिसलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति तथा प्रगतितर्फ अग्रसर गराउँछ । यसको कुनै सीमा हँुदैन भनिन्छ । तर आज यो संसारमा धर्मको अपव्याख्या गरेर यसको सीमा रेखा कोरेर यसको अपव्याख्या गर्दै आफ्नो दुनो सोझ्याउने कार्य भईरहेको छ । कतिपय अवस्थामा मृत्यु संस्कारमा पनि यी कुराहरु लागु भएको पाईन्छ । कुनै पनि संस्कार तबमात्र सर्वमान्य हुन्छ, जबसम्म त्यसले कष्ट दिँदैन । तर १३ दिनसम्मको संस्कारले सबैलाई कष्ट दिँदैछ । सुदिप श्रेष्ठले मिति २०७४ मंसिर २० गते सेतोपाटीमा लेखेको लेखमा वेदमा पनि काजक्रिया ३ दिनमै पूरा हुने कुरा उल्लेख गरेका छन् । उनले यजुवेदमा आत्रेयले लेखेको यो कुरा पनि उल्लेख गरेका छन् कि “विधिपूर्वक अन्त्येष्ठि गरेर श्रद्धाञ्जली दिनुले नै किरिया सम्पन्न हुने” हुन्छ । तर कतिपयले वेदलाई आफ्नो स्वार्थ अनुसार अपव्याख्या गर्दै पण्डितहरुले जटिल बनाउँदै अतिकर्मकाण्डतिर धकेल्दै लगेका छन्, जुन आजको दिनमा पालना गर्न कठिन छ । तर कतिपयले यो कुरा गर्दा धर्म मास्न खोजेको आरोप पनि लगाएका छन् । तर मृत्यु संस्कारलाई जीवित राख्ने हो भने धर्मको नाममा भएका यस्ता कुरिति, कुप्रथा र शोषणका जालोहरु हटाई समय सापेक्ष बनाउन जरुरी छ, अन्यथा अधिकाँस नयाँ पुस्ताले यसलाई सजिलै ग्रहण गर्ने अवस्था देखिँदैन ।

हालसम्म सुधारका लागि भएका केही प्रयासहरु :

नेपालमा हाल भएको १३ दिने काज किरियालाई समय सापेक्ष बनाउन संस्थागत तथा व्यक्तिगत रुपमा समय समयमा केही छलफल गरि कार्यान्वयन हुन थाले तापनि नेपाल सरकारले भने यसलाई आधिकारिक रुपमा निर्णय गरेको पाईँदैन । अध्ययनको क्रममा पाईएका केही प्रयासहरु यस प्रकार प्रस्तुत गरिएको छ ।

  •  काभ्रे टाईम्स साप्ताहिक (२०६९ असार ११) मा उल्लेख गरे अनुसार, काभ्रे निवासी डा. बालकृष्ण थापाले दाह्री तथा कपाल नखौरी, खल्को नहाली, ढिकुरो नफुटाई र छोईछिटो नबारी आफ्नी आमाको काजकिरिया तीन दिनमै सम्पन्न गरेका छन् ।
  •  दैनिक नेपाल (२०७३ असोज ७) मा प्रकाशन भए अनुसार, नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा भएको मृत्यु संस्कार सुधारका सम्भावना विचार गोष्ठिमा पनि ३ देखि ५ दिनसम्म गर्नपर्नेमा जोड दिएको छ । त्यस्तै गरेर, किराँत, राई, तामाङ्ग तथा लामाले पनि मृत्यु संस्कारमा सुधार गरी तीन दिनमै झारिसकेको छ ।
  •  अझ भन्नुपर्दा, सन्सारन्युज डट कम (२०७३ माघ २९) मा उल्लेख भए अनुसार तत्कालिन सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पनि जन्म र मृत्यु संस्कारसम्बन्धी परम्परागत मान्यतामा सुधार गर्नुपर्ने कुरा व्यक्त गरिसक्नुभएको छ । त्यस्तैगरेर, ओखलढुङ्गाको माम्खाली मुडुला कार्की समाजले मृत्यु संस्कार (काजकिरिया) लाई पाँच दिनमा सीमित राख्न र सुतक पर्दा सम्बन्धित घरमा मात्र सुतक बार्ने परिस्कृत परम्पराको थालनी गर्ने निर्णय गरिसकेको छ । उक्त समाजका अध्यक्ष योरजङ्गध्वज कार्की र सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव किशोरजङ्ग कार्कीले तीन दिनमा पिण्डदान, चौथो दिनमा कोरा फुकाउने र पाँचौ दिनमा १३ दिनको काम गर्ने गरी आफ्ना परिवारका सदस्यले त्यसलाई कार्यान्वयन गर्ने गरी निर्णय गराएका छन् ।
  •  सेतोपाटि (२०७४ मंसिर २०) मा उल्लेख भए अनुसार नेकपा माओवादीका अध्यक्ष क. प्रचण्ड र उनकी परिवारले आफ्नो छोराको मृत्यु संस्कार एकै दिनमा सकेका छन् । त्यस्तै गरेर, सोहि पत्रिकामा मिति २०७१ पुष १ गते निधन भएका ब्रजमोहन पोख्रलेलको किरिया उनको छोरो तथा परराष्ट्रका सहसचिव ताराले पशुपतिको किरिया भवनमा बसे पाँचदिन विधिबाट गरिएको थियो ।

अन्तमा, मृत्यु संस्कारमा क्रियापुत्री तथा उसका घर परिवार शोकाकूल भएको अवस्थामा उसलाई सहज वातावरण बनाएर पहिलाकै अवस्थामा ल्याउन सहयोग गर्नुपर्दछ । त्यसैले मृत्यु संस्कार अपनाउँदा उसको आर्थिक अवस्था असर पुग्ने, महिला पुरुषबीच भेदभाव हुने, स्वास्थ्य र मानसिकतामा असर पार्ने गरी नियम कानून बनाईनु हुँदैन । यदि यो संस्कारलाई जीवित राख्ने हो भने समय परिस्थिति अनुसार यसलाई पनि परिस्कृत बनाउँदै लैजानुपर्दछ भनी डा. प्रेम खत्री र शंकरप्रसाद पोख्रलेलले पनि बताएका छन् । कतिपय कमजोर अवस्थाका व्यक्तिहरु मृत्यु संस्कार १३ दिनसम्म बस्नुपर्दा जाडोले कठ्याङ्ग्रिएर वा खानपानको समस्याले किरिया बस्दाबस्दै विरामी वा मृत्यु भएका घटनाहरु छन् ।

कतिपय त मृत्यु संस्कारपछि आर्थिक बोझले मानसिक छट्पटिमा रुमल्लिएका पनि छन् । त्यसैले, मृत्यु संस्कारमा नेपाल सरकारले काजक्रियाको खर्चको हद तोकिदिने र गरिबीको रेखामुनी रहेका घरपरिवारलाई क्रिया खर्च उपलव्ध गराउने, नारी पुरुषबीचको जुन भड्खारो छ त्यो घटाउने र समानता ल्याउने, सत्तरी वर्षभन्दा माथिका बृद्धाहरुको स्वास्थ्यको ख्याल गरी उनीहरुलाई काजक्रियामा संलग्न नगराउने ।

त्यसैले, हालको १३ दिने मृत्यु संस्कार वैज्ञानिक नभएकोले कसैलाई पनि आँच नपुग्ने गरी परम्परागत जटिलतालाई सपय सापेक्ष परिवर्तन गरी १३ दिनबाट घटाएर ३ देखि ५ दिनको बनाउन अत्यन्त आवश्यकता देखिन्छ । यसबारे समय समयमा छलफल नचलेको पनि हैन तर पनि हालसम्म अग्रगामी छलाङ्ग मार्न नसकेको अवस्थामा रहेकोले अहिलेको सरकारले माथि उल्लिखित सवालहरुमाथि गहन सोँचविचार गरी सार्थक दिशामा जाने छ भनी यो पंक्तिकार अपेक्षा पनि गर्दछ । यो विषयवस्तुमा यो पंक्तिकार र श्रीमतिले पनि आफ्ना भावी पुस्तालाई तीन दिनभन्दा कममै सम्पन्न गर्न स्वीकृति दिईसकेको छ ।

सन्दर्भ सामग्रीहरु :
श्रेष्ठ, सुदिप (२०७४ मंसिर २०) । किरिया तेह्र, पाँच कि तीन दिन? सेतोपाटी ।
काभ्रे टाईम्स साप्ताहिक (२०६९ असार ११) । आमाको काजकिरिया तीन दिनमा ।
आजको समाचार डक कम (२०७३) । अब मृत्यु संस्कार तीन दिनमै, १३ दिने संस्कार हट्दै ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु