काठमाडौं – प्रत्येक स्थानीयमा कम्तिमा एउटा हेलिप्याड बनाउने गरी सरकारले ल्याएको योजना कार्यान्यवनका लागि तयारी तीव्र पारिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यसका लागि हेलिप्याडको डिजाइन गरिरहेको छ ।सरकारले बजेटमाफत नै प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने कार्यक्रम ल्याएको थियो । यसमा लागि झण्डै २० अर्ब बजेट विनियोजन भएको छ ।विभिन्न समयमा हेलिकोप्टरमार्फत घाइते, बिरामी, गर्भवती लगायतको उद्दार गर्न तथा विपदका समयमा राहत वितरणका लागि पुग्न अहिले कठीन हुने गरेको छ ।त्यसैकारण सरकारले सबै स्थानीय तहमा कम्तिमा एउटा हेलिप्याड बनाउने गरी नीति ल्याएको छ ।
यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने विश्वास गरिएको छ ।प्राधिकरणको महानिर्देशक सञ्जीव गौतमले हेलिप्याडहरु निर्माणको डिजाइन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए ।‘हामीले हेलिप्याड कस्तो बनाउने भनेर डिजाइन गरेका छौं। मापदण्डहरु त्यसबाटै निर्धारण हुन्छ,’ गौतमले भने,’यो फाइनल भएपछि हामी संघीय मामिला मन्त्रालयमा पठाउँछौं ।’हेलिप्याड निर्माणका खुला स्थान आवश्यक पर्छ भने करिब कम्तिमा ४० मिटरको बर्गाकार जमीन चाहिन्छ ।
सहज रूपमा हेलिकोप्टेर बस्न सक्ने बनाउन ढलान गर्न आवश्यक हुन्छ । एउटा हेलिप्याड बनाउन अधिकतम् ३० लाखसम्म खर्च हुन्छ ।सुरक्षित स्थान छनोट गरेर हेलिप्याड बनाउने योजनामा सरकार छ । तर, एकै वर्षमा सबै गाउँपालिकाहरुमा हेलिप्याड बनाउन सहज नरहेको उड्डयन अधिकारी बताउँछन् ।कतिपय हिमाली गाउँपालिकाहरुमा अहिले पनि हेलिप्याडहरु छन् । तर, तिनीहरुको आवश्यक व्यवस्थापन नगरिँदा स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।यातायात नपुगेका दुगर्म पहाडी तथा हिमाली क्षेत्रमा खाद्यान्न र औषधि लगायतका सेवा पर्याउन पनि यसले सहज हुनेछ । विकट क्षेत्रमा बिरामी भएकाहरूलाई दुई दिनसम्म बोकेर सदरमुकामबाट हेलिकोप्टेरमार्फत् ल्याउनुपर्ने बाध्यतालाई चिर्न पनि यो योजना फलदायी हुनेछ ।नेपाल वायुसेवा सञ्चालक संघले पनि हरेक स्थानीय तहमा हेलिप्याण्ड निर्माण गर्ने कार्यक्रम सकारात्मक भएको बताएको छ ।हाल सिम्रिक, मनाङ, कैलाश, माउन्टेन हेलिकोप्टर, अल्टिच्यूड हेलिकोप्टर, श्री एयर, फिस्टेल एयर, हेली एभरेस्ट, एयर डाइनेस्टी र प्रभु हेलिकोप्टर लगायतले सेवा दिइरहेका छन् ।