तीज नेपाली समाजमा हिन्दु महिलाहरूद्वारा मनाइने एउटा विषेश सांस्कृतिक पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा र संस्कारको निरन्तरता हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तिज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु महिलाहरुको एक छुट्टै बिशेष पर्व हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र, साथिसंगी र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा यस पर्वलाई लिने गरिन्छ र यसै कारण तीज पर्वको गहन महत्व रहँदै आएको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी र तनावका साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन पूर्विय सभ्यतामा रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ त्यसैले यो व्रत अन्य व्रतहरु भन्दा केहि कठोर व्रतको रुपमापनि लिईन्छ । तर आजभोली कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतिपातिमा व्यस्त रहेका दिदि बहिनिहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् ।
हिन्दू धर्मको ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दापनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानीपनि नपिईकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस भनी आशिर्वाद दिए र पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन देखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् । तर पछिल्लो पुस्ताका दिदि बहिनिहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी यस पर्वलाई मनाई रहेका छन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दो क्रममा रहेको छ ।
तीज भनेको बिशेषगरि एक सांस्कृतिक पर्व हो । यस पर्वमा आपसमा दिदि वहिनिहरुले आफ्नो दुख तथा बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यबहार अनि माईति घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदिबैनिलाई सम्झिएर गीत मार्फत ब्यक्त गर्दथे । तर हाल त्यो प्रचलनमा गिरावट आई तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । समाज परिवर्तन भयो, पहिलेजस्तो सासु बुहारीको विचमा हुन्न भन्ने आधार हिन तर्क सहित आधुनिकताको नाममा तीज संस्कृतिमाथि अत्याचार भईरहेको तितो यर्थाथ कसैले नकार्न सकिन्न ।
तीजको अर्को महत्वपुर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माईति घरमा गएका चेलिबेटिहरुले आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानु लाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहिआएको छ ताकी त्यो दरको आडले भोलिपल्टको व्रतमा पानीपनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकुँन । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यैबाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज संकृति नभई विकृतिको रुपमा समाजमा विकास हुने र यस्ता गतिविधिले आपसी बैमनस्यता र झैझगडाको स्थिति सिर्जना गर्नेकुरा निश्चित छ । तिजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिनप्रतिदिन बढिरहेको कुराले सबैको मनमा तरङ्ग पैदा गरिरहेको छ ।
त्यतिमात्र हैन तीज भनेको नाचगानको पनि पर्व हो । सासुले गरेको ब्यबहार कर्मघरको दुख र नारीको बेदनालाई उजागर गरेर गीत गाउने तथा नाच्ने प्रचलन चलिआएको छ । रातो सारी तीजको बिशेष पहिरन हो । तीजको लागी श्रीमतीलाई रातो सारी र गरगहना किनिदिन पुरुषले पर्देशमा समेत गएर कमाएर आफ्नी संगिनिलाई खुसि बनाउने गरिन्छ । त्यसरी ज्यादै रमाईलो यो पर्व हाल आएर सांस्कृतिक विचलनको कारण खस्किदै गइरहेको छ । तीज गीतको नाममा परिवारसंग, चेलिबेटिहरुसंग समेत संगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै कमाईको लागी युट्युबमा हाल्ने परम्पराले त झन यस पर्वको खिल्लि उडाईरहेको मात्र हैन संस्कृतिलाई नै कुरिकुरि गरिरहेको छ ।
तीजको गीत भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पीर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । दुई चार जना भाईरसहरु धनको दम्बमा आफुलाई आम नारीको प्रतिनिधि मानि आम नेपाली नारीहरुको मनमा चोट पु¥याउने काममा तल्लिन छन् यसलाई राज्यलेपनि रोक्न सकेको छैन । तीजका गीत तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज पर्वको भविष्य कमजोर बन्दै गएको छ । यसतर्फ राज्यले ध्यान दिनु अति जरुरी छ र यो काम गर्न अव ढिला भैसकेको छ ।
कट्टु लगाएर नाचेको गीतलाई तीज गीत भनेर बजारमा ल्याउने चलनले गर्दा तीजको गरिमा दिन प्रतिदिन घटिरहेको हो । तीजलाई कमाईको भाँडो सम्झीने कलाकारहरु कुन समाजमा के को लागी म जिउँदै छु सचेत भएर सोचुन, र तीजलाई तीजकै रुपमा मनाउन पाईयोस । दिउँसै जाँड खाएर दर भन्दै हल्लिएर हिड्ने नारीले पनि सोचोस भावि पुस्तालाई हामिले हाम्रो संस्कृति र परम्पराबारे जानकारी गराई उनिहरुलाई सभ्य बनाउनु पर्छ भनेर । र एक दिन हाम्री हजुरआमा, आमाहरुले मनाए जस्तै तीज होस, चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र बुझेका भनेकाहरुले सोचुन ।
यो बर्षको तीजले सम्पुर्ण नारी जगतको कल्याण होस चाँडै सतबुद्धि प्राप्त होस सबैमा । त्यसो हुन सके नारीलाई लक्ष्मिको रुपमा सम्मान गर्न सकिन्छ । तीजको सबैमा यहि शुभकामना ।
सन्तोष बजगाई
कलाकार तथा पत्रकार
बेलकोटगढी ९, नुवाकोट ।
९८६०६१३९८८
iamsantoshbajagain@gmail.com