काठमाडौँ – २०७२ वैशाख १२ गते गएको भूकम्पले ३२ जिल्लालाई प्रत्यक्ष प्रभाव पार्यो । त्यसमध्ये पनि १४ वटा जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा अति प्रभावित भए । बाँकी १८ जिल्लाहरू म्याग्दी, बागलुङ, अर्घाखाँची, गुल्मी, पाल्पा, पर्वत, कास्की, स्याङ्जा, लमजुङ, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, खोटाङ, चितवन, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, धनकुटा कम प्रभावित भए ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि भूकम्प पीडितहरूले घर बनाउन भने सकेका छैनन् । सरकारले भूकम्प पीडितहरूलाई आवास पुनर्निर्माणका लागि पहिलो, दोश्रो र तेश्रो गरी अनुदान दिने भने पनि २ लाख ९१ हजार ९ सय २ ले मात्र अहिले सम्म तेश्रो किस्ता प्राप्त गरेका छन् । ५ लाख भन्दा बढी घरहरू अझै पुनर्निर्माण हुन सकेको छैन् ।
अति प्रभावित जिल्लाहरूमा ८ लाख २३ हजार ४ सय ६० र कम प्रभावित जिल्लामा १ लाख ७३ हजार १ सय २२ गरी जम्मा ९ लाख ९६ हजार ५ सय ८२ घरमा क्षति पुगेको थियो। २ लाख ३७ हजार ८५ घरधुरी प्राधिकरणले गरेको सर्वेक्षणमा नपरेको भन्दै गुनासो आएपछि प्राधिकरणले पुनरावलोकन गर्दा अति प्रभावित जिल्लाहरूमा २ लाख ५ हजार ५ सय ८४ घरधुरी प्रभावित भएको देखिएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार अहिलेसम्म २ लाख ८५ हजार २ सय ९५ घरको निर्माण कार्य सम्पन्न भएको छ भने ५ लाख ४८ हजार ६ सय ३७ घर बन्ने क्रममा रहेका छन् । त्यस्तै अहिलेसम्म ७ लाख १४ हजार १ सय ८६ ले पहिलो किस्ता बापतको ५० हजार प्राप्त गरेका छन् । जसमा अति प्रभावित जिल्लाका ६ लाख २२ हजार ८ सय ७४ र कम प्रभावित जिल्लाका ९१ हजार ३ सय १२ रहेका छन् ।
त्यसैगरी ४ लाख ६९ हजार ४ सय ४८ ले दोश्रो किस्ताको रकम प्राप्त गरेका छन् जसमा अति प्रभावित १४ जिल्लाका ४ लाख ४९ हजार ५७ छन् भने कम प्रभावित १८ जिल्लामा २० हजार ३ सय ९१ रहेका छन् । त्यस्तै अति प्रभावितको २ लाख ५७ हजार ५ सय ३४ र कम प्रभावितको एक हजार ६५ गरी २ लाख २८ हजार ५ सय ९९ ले मात्र तेश्रो किस्ता पाएका छन् ।
यो बाहेक प्राधिकरणले छुट सर्वेक्षण तथा पुनः जाँच गर्दा १ लाख २९ हजार ४ सय ८ घरधुरी पनि प्रभावित देखिएको थियो तर पछिल्लो सर्वेक्षणमा परेका पीडितहरूले भने पहिलो किस्ता पनि प्राप्त गरेका छैनन् । प्राधिकरणका सह प्रवक्ता तथा सूचना अधिकारी मनोहर घिमिरे भने सम्झौता हुने क्रममा भएकाले पहिलो किस्ता प्राप्त गर्न नसकेको बताउँछन् । ‘हामीले छुट सर्वेक्षण गर्दा १ लाख भन्दा बढी गुनासा आएका थिए र त्यसमा छानबिन गरिरहेका छौँ,’ उनले भने, ‘केहीसँग सम्झौता भइसक्यो र उहाँहरूले पहिलो किस्ता पनि पाइसक्नुभयो तर प्रायको सम्झौता हुने क्रममा नै रहेकाले केही समय अझै लाग्ने देखिन्छ ।