रमेशप्रसाद कोइराला
कतारका लागि नेपाली राजदूत
पछिल्लो समय कतारमा रहेका नेपालीहरुको समस्यामा नेपाली राजदूतावास कतार निकै सहयोगी बनेको कतारमा रहेका नेपालीहरु बताउँछन् । यसको श्रेय जान्छ– कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई । जसले पछिल्लो समय कतारमा नेपाली राजदूतको जिम्मेवारी सम्हालेसँगै कतारको नेपाली राजदूतावास धेरै नेपालीका लागि कतारमा सहारा बनेको छ । नेपाली कामदारका लागि प्रमुख गन्तब्यका रुपमा रहेको कतारमा रहेका श्रमिक समस्या तथा अन्य समस्यामा कोइराला सक्रिय भएर लागेका छन् । जसका कारण धेरै समस्या हल भएका छन् । नेपालीका जस्तोसुकै समस्यामा पनि समन्वय गर्न आफै कस्सिने, सरल व्यवहार र सुझबुझपूर्ण नेत्तृत्वका कारण कोइरालाको कार्यकाल एकदमै महत्वपूर्ण बनिरहेको छ । कामदारको समस्यादेखि नेपाल–कतार सम्बन्धका विभिन्न पक्षहरुमा जिम्मेवारीपूर्व काम गरिरहेका कोइराला नेपाल कतारको सम्बन्ध अब थप फराकिलो र व्यवसायिक बनाएर अगाडि बढाउनुपर्ने बताउँछन् । यसका लागि नेपाल र कतारबीच आवश्यक सम्झौताहरु तत्काल गर्ने, नेपालले कतारका व्यवसायीलाई लगानी गर्ने वातावरण खडा गर्ने तथा कतारमा नेपालले पाउने अवसरलाई सदुपयोग गर्न नेपाल अघि सर्नुपर्ने र नेपालले चहे कतारबाट नेपालले फाइदै–फाइदा लिन सक्ने कोइराला बताउँछन् । कतारमा नेपाल र नेपालीको हितका मुद्दामा दत्तचित्त भएर काम गरिरहेका कोइरालासँग नेपाल कतार सम्बन्ध, नेपाली श्रमिकको अवस्था र अवसरहरु तथा विविध पक्षहरुमा केन्द्रित रहेर जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :
कतारमा रहेको नेपाली राजदूतावासले के–के काम गर्ने गरेको छ ?
यहाँको नेपाली राजदूतावासले तीन किसिमको काम गर्दै आएको छ । राजदूतावासको पहिलो काम भनेको यहाँ रहेका श्रमिकको समस्या समाधान गर्नु हो । कतारमा करिब ४ लाख जति नेपाली श्रमिकहरू रहेका छन् । उनीहरूलाई आवश्यक परेको विभिन्न प्रकारको सेवा, सुविधा उपलब्ध गराउने दूतावासको पहिलो कर्तव्य पनि हो । दोस्रो कुरा, आर्थिक कूटनीतिमा पनि दूतावासले काम गर्दै आएको छ । मध्यपूर्वमा कतार सबैभन्दा धनी सुविधा सम्पन्न देश हो । कतारीहरूसँग प्रशस्त मात्रामा पुँजी रहेको छ र विश्वका धेरै देशमा यिनीहरूले लगानी गरिरहेका छन् । यस्तो लगानीलाई नेपालमा समेत लैजानलाई दूतावासले प्रयास गरिरहेको छ । तेस्रो कुरा, हामीले यहाँ भएको नेपाली समुदायको कल्याण (वेलफेयर) को काम गर्दै आएका छौँ । यहाँ रहेका नेपाली समुदायमा नेपाली कला संस्कृति र चाडपर्वमा जमघट बनाएर मनाउने काममा दूतावासले सहयोग गर्दै आएको छ ।
राजदूतावासमा दिने सेवा सुविधाको अवस्था कस्तो छ ?
हामीले राजदूतावासमा एउटा संयन्त्र बनाएर वैज्ञानिक ढङ्गबाट सेवा, सुविधा उपलब्ध गराउँदै आएको छ । यहाँको राजदूतावासमा सेवा लिन आउने जो कोही (श्रमिक समेतले) ले आधा घण्टा भित्रमा यहाँको सेवा पाउने वातावरण बनेको छ । हामीले सेवाग्राहीलाई सजिलो होस् भन्ने हेतुले काउण्टरबाट टोकन नम्बर उपलब्ध गराउने गरेका छौँ र त्यही टोकन नम्बरको आधारमा पालै पालो सेवा प्रदान गरेका छौँ । यस्तै, सेवा सुविधा छिटो र छरितो होस् भनेर हामीले विभिन्न शाखाहरू समेत निर्माण गरेका छौँ । दूतावासमा दैनिक २०० को हाराहारीमा सेवा लिन आउने गरेका छन् ।
त्यस्तै, राजदूतावासले कतारको गृह मन्त्रालय, प्रहरी, अध्यागमन विभाग र स्वास्थ्य विभागमा एउटा सञ्जाल निर्माण गरेका छौँ । यस्तै, हामीले श्रमिकको सेवा सुविधाको लागि समिति निर्माण गरेका छौँ । कुनै समस्या परेको बेला तुरुन्तै यो समितिले काम गर्ने गरेको छ । यस्तै, राजदूतावासले दोभासेको सेवा पनि दिँदै आएको छ । यस्तै, जनचेतनाको काम पनि हामीले नेपाली भाषामा प्रदान गर्दै आएका छौँ । हामीले यहाँको ट्राफिक नियम, स्वास्थ्य, कानुन, संस्कृति, रितिरिवाज, जात र धर्म आदिको बारेमा जानकारी प्रदान गर्दै आएका छौँ । यस्तै, हामीले प्रत्येक महिनाको अन्तिम शुक्रवार ‘हेयरिङ एण्ड सेयरिङ’ भन्ने कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ । यो कार्यक्रममा नेपाली श्रमिक, नेपाली समुदाय लगायतका व्यक्तिहरू आउने गर्नुभएको छ । उनीहरूले यो कार्यक्रममा आएर आफ्ना समस्याहरू राख्ने गरेका छन् र तर हामी यहाँ आएका समस्याको जति सक्दो चाँडो समाधान खोज्ने प्रयास गर्ने गरेका छौँ । सोही कार्यक्रम मार्फत नै राजदूतावासले महिना दिन भरी गरेका कार्यको पनि जानकारी गराउने गरेको छ । साथै, नेपाली श्रम सम्बन्धित आउने समस्यालाई चाहिँ हामीले प्राथमिकतामा राखेर समाधान तत्कालै समाधान गर्ने गरेका छौँ । कानुनी रूपमा जटिलता भएका समस्यालाई अदालतमा पठाउने गरेका छौँ भने अन्य मन्त्रालय, विभाग र कार्यालयबाट रोकिएका काम पनि हामीले समन्वय गरेर समाधान गर्दै आएका छौँ ।
नेपालको आर्थिक विकासको लागि राजदूतावासले के काम गर्दै आएको छ ?
कतार विश्वमै प्रति व्यक्ति आय बढी भएको देश हो । सोहीकारण कतारीहरूले अन्य देशमा पनि लगानी गर्दै आएका छन् । दूतावासले कतारीहरूको लगानी नेपालमा कुन कुन क्षेत्रमा भित्र्याउन सकिन्छ भनेर कार्य योजनाका साथ काम अघि बढाएको छ । यसको लागि सम्बन्धित क्षेत्र एवं मन्त्रालयसँग हामीले छलफल गरी रहेका छौँ र छलफलबाट हामीले सकारात्मक प्रतिक्रिया पनि पाएका छौँ । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न कतारका नागरिकहरू इच्छा व्यक्त गरेका छन् । नेपालको कानुन, बजार व्यवस्थापन र मानव संसाधनको कुरामा पनि उनीहरू ‘कन्भिस’ भई सक्नु भएको छ । यस्तै, नेपालको एयरपोर्ट बनाउनको लागि समेत कतार एयरवेजका अधिकारीहरूले इच्छा व्यक्त गर्नुका साथसाथै नेपालमा पानी उद्योगमा पनि लगानी गर्न उनीहरूले इच्छा देखाएका छन् । तर उनीहरूले जिसीसी स्टान्डर्डको पानी हुनुपर्ने माग भएकाले यसको लागि पानीको परीक्षण पनि भइरहेको छ । साथै भविष्यमा पानीको ल्याब परीक्षणको लागि उनिहरु नेपाल आउने सम्भावना रहेको छ । कतारको सबैभन्दा ठुलो बैङ्क दोहा बैङ्कले नेपालमा शाखा विस्तार गरेको छ । यो बैङ्क नेपालमा स्थापना गर्नुको मुख्य उद्देश्य नेपालमा लगानी बैङ्किङ प्रक्रिया बाटै होस् भन्ने उनीहरूको इच्छा हो ।
कतारमा नेपालीको अवस्था कस्तो छ ?
कतारमा करिब ४ लाख नेपालीहरू रहेका छन् । यी मध्ये पनि १० हजार भन्दा बढी परिवारसहित यहाँ बस्दै आएका छन् । यस्तै, नेपालीका बाल बच्चा पढ्नको लागि यहाँ नेपाली विद्यालयको खाँचो छ । यसको लागि मैले यहाँको सम्बन्धित निकायसँग छलफल अघि बढाएको छु । यहाँ नेपाली स्कुलको लागि निजी क्षेत्रले चासो देखाएको छ । यहाँ हरेक हप्ता÷महिनामा धेरै कार्यक्रमहरू हुने गरेका छन् । यी कार्यक्रम आयोजना गर्ने विशेष स्थान नभएकाले ‘नेपाल हाउस’ भन्ने सभा गृहको निर्माणको लागि पहल गरेको छु । यो निर्माण भएपछि यसलाई हलको रूपमा प्रयोग गर्न सकिन्छ भने नेपाली सामानको प्रदर्शन र बिक्री कक्ष पनि स्थापना गर्न सकिनेछ । यसको लागि पनि कतार सरकार र निजी क्षेत्र दुबै सकारात्मक देखिएका छन् । यस्तै, नेपाली समुदायको लागि एफएम सञ्चालनको तयारी पनि गरेका छाँै । यसको लागि निजी क्षेत्रले संचालन गर्छ भने इजाजत दिने सरकारले पनि प्रतिबद्धता जनाएको छ । नेपालबाट र यहाँ बस्ने नेपालीहरूले रुचिको साथ यस काम अघि बढाउनु भएको छ ।
कताररमा नेपालीको लागि सम्भावना र चुनौती के के छन् ?
कतारमा सन् २०२२ मा विश्वकप हुँदैछ । अहिले कतारका होटेलमा २५ हजारको हाराहारीमा ‘रुम’ रहेका छन् । विश्वकपको दौरान ६५ हजार रुमहरू आवश्यक पर्छन् । ६५ हजार रुमहरू सञ्चालन गर्नको लागि त्यति नै मात्रामा जनशक्तिको आवश्यक पर्दछ । कतारमा नेपालीलाई होटेल र हस्पिटल क्षेत्रमा राम्रो मानिन्छ । त्यस्तै, कतारीहरूले नेपालीको लागि ओजिटी (अन जब टे«निङको प्रस्ताव) गरेका छन् । यसको स्वीकृतिको लागि राजदूतावासले फाइल मन्त्रालयमा पठाइसकेको छ । यो प्रस्ताव पास भएर आएमा धेरै नेपालीको लागि रोजगारीको सुवर्ण अवसर हुन सक्दछ । नेपालको आर्थिक विकासको एउटा मेरुदण्ड पर्यटन व्यवावसाय हो । नेपालमा चाहिने होटेल र हस्पिटल क्षेत्रमा आवश्यक जनशक्ति ५ वर्ष भित्र यहाँ उत्पादन भई नेपालले उपयोग गर्न सक्छ ।
कतारमा वैदेशिक रोजगारमा आएका कामदारहरूको समस्या के के छन् ?
कतार आउने कतिपय कामदारलाई कतारको नियम, कानुन र कामको बारेमा खासै जानकार हुने गरेका छैनन् । यस्तै, नेपालीले कतार जानु अघि ठुलो अपेक्षा लिएर आउने र यहाँ आएर त्यो अपेक्षा अनुसारको काम, तलब लगायत अन्य सेवा सुविधा नहुँदा समस्या देखिने गरेको छ । यहाँ आउने अघि मेनपावर कम्पनीले पनि यहाँको ऐन नियम, कानुन, भाषा, धर्म, संस्कृति र कामको विषयमा अभिमुखिकरण र जनचेतना दिनु पर्ने हुन्छ । यस्तै, यहाँ आउने नेपालीलाई दूतावासले नै जनचेतना र अभिमुखिकरणको कार्यक्रम सञ्चालन गर्ने तयारी भई रहेको छ । त्यस्तै, यहाँ आउँदा कम्तीमा अर्ध दक्ष भएर आउँदा धेरै राम्रो हुन्छ । कतार आउँदा नेपाली कामदारहरु तालिम लिएर आउँदा उत्तम हुन्छ ।
कतारमा रहेका नेपाली व्यवसायीको अवस्था कस्तो छ ?
कतारमा रहेका नेपाली व्यवसायीको अवस्था राम्रो छ । यहाँ रहेका नेपाली व्यवसायीले प्रायजसो निर्माण र सप्लाई उद्योग, होटेल, रेस्टुरेन्ट लगायतका व्यवसाय सञ्चालन गरेका छन् । नेपालीहरूले उत्पादन गरेका बस्तुहरुकोे टे«ड फेयर आयोजना गर्न यहाँका व्यवसायीहरूको संस्थाले गर्ने इच्छा पनि देखाएका छन् । नेपाल र कतारको कूटनीतिक सबन्ध भएको ४० वर्षको उपलक्षमा विभिन्न कार्यक्रमको साथ यो कार्यक्रम पनि आयोजना हुँदैछ भने नेपाल च्याम्बर अफ कर्मश र कतार च्याम्बर अफ कर्मशको बिचमा पनि सम्झौता हुँदैछ ।
अन्त्यमा ?
नेपाली कामदार कतारमा रोजगारीको लागि आउँदा दक्ष भएर आउनको लागि आग्रह गर्दछु । कतारको कानुन, धर्म र ट्राफिक नियम पनि बुझेर आउन आग्रह गर्दछु । रोजगारीकोलागि नेपालीलाई बढी रुचाइनुको कारणले पनि यहाँ नेपालीहरुलाई सहज वातावरण रहेको छ ।
श्राेतः janasawal.com