काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि थप आर्थिक श्रोत जुटाउन गृहकार्य थालेको छ।
भूकम्प गएको तीन वर्ष वित्दा समेत पुनर्निर्माणको काम २५ प्रतिशत मात्र भएकोमा अब थप करीब ६ खर्ब आवश्यक पर्ने देखिएपछि प्राधिकरण कसरी स्रोत जुटाउने भनेर आन्तरिक छलफलमा छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार थप आर्थिक श्रोत कसरी जुटाउने विषयमाअ अर्थ मन्त्रालय, प्राधिकरण र दातृ निकायहरूबीच छलफल भइरहेको छ।
‘हालसम्मको कार्यप्रगतिको पञ्च वर्षे योजनाको समीक्षामा छौँ। पुनर्निर्माणकाको बाँकी कामका लागि कहाँबाट श्रोत जुटाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ उनले भने।
३१ भदौमा ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनका बाँकी काम सम्पन्न गर्न करीब ६ खर्ब रुपैयाँ लाग्ने बताएका थिए। विगतको पञ्च वर्षे योजनाको आधारमा उक्त रकम आवश्यक देखिएको उनको भनाइ छ। ‘उक्त रकम सरकारी तथा गैरसरकारी निकायबाट लगानी गर्ने फिगर हो। विगतको पञ्च वर्षे योजनाको आधारमा यो रकम देखिएको हो,’ उनले भने।
तर, निवर्तमान सीईओ युवराज भुसाल प्राधिकरणलाई पुनर्निर्माणका लागि पैसाको अभाव नभएको दाबी गर्छन। साथै ५ खर्बको बजेटले नै पुनर्निर्माणका सबै काम सकिने उनले हाकाहाकीलाई बताए।
नेपालले भूकम्पपछिको पुनर्निर्माणका लागि रकम जुटाउन १५ जुन २०१५ मा दाता सम्मेलन गरेको थियो। जसबाट ३ खर्ब ४३ अर्ब सहयोग गर्ने प्रतिबद्धता भएकोमा डेढ खर्ब नेपाल सरकारले व्यहोर्ने सहमति भएको थियाे। तर, दाताबाट प्रतिवद्धता भएकोमध्ये केही रकम अझै नआएको प्राधिकरणले जनाएको छ। सीईओ ज्ञवालीका अनुसार दाताबाट प्रतिवद्धता भएकोमध्ये २ खर्ब ६२ अर्बको सम्झौता भइसकेको छ।
तत्कालीन सीईओ भुसाल आफ्नो कार्यकालमा दातृ निकायसँग दुई खर्ब ६२ अर्ब सहयोग रकमको सम्झौता भइसकेको बताउँछन्। ‘८१ अर्बको सम्झौता हुन बाँकी थियो । र, सरकारले दिने डेढ खर्ब पनि बाँकी नै थियो,’ भुसालले भने, ‘यदि प्राधिकरणले बाँकी सम्झौता गर्ने र सकारको डेढ खर्ब रकमको प्रयोग गर्ने हो भने पुनर्निर्माणका लागि रकम पर्याप्त हुन्छ ।’
प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको जनाएको छ। पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
१२ वैशाख २०७२ मा गएको भूकम्पले ३२ जिल्लालाई प्रत्यक्ष असर गरेको थियो। जसमध्ये अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छन् ।
अति प्रभावित जिल्लामा ८ लाख २३ हजार ४ सय ६० र कम प्रभावित जिल्लामा १ लाख ७३ हजार १ सय २२ गरी जम्मा ९ लाख ९६ हजार ५ सय ८२ घरमा क्षतिपुगेको थियो। त्यसमध्ये २ लाख ९१ हजार ९ सय २ पीडितले मात्र अहिले सम्म तेश्रो किस्ता प्राप्त गरेका छन्। ५ लाखभन्दा बढी घर अझै पुनर्निर्माण हुन बाँकी छ।
प्राधिकरणको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ८५ हजार २ सय ९५ घरको निर्माण सम्पन्न भएको छ, भने ५ लाख ४८ हजार ६ सय ३७ घर बन्ने क्रममा छन्। त्यस्तै अहिलेसम्म ७ लाख १४ हजार १ सय ८६ ले पहिलो किस्ताबापतको ५० हजार प्राप्त गरेका छन्। जसमा अति प्रभावित जिल्लाका ६ लाख २२ हजार ८ सय ७४ र कम प्रभावित जिल्लाका ९१ हजार ३ सय १२ रहेका छन्।
त्यसैगरी, ४ लाख ६९ हजार ४ सय ४८ ले दोश्रो किस्ताको रकम प्राप्त गरेका छन्। जसमा अति प्रभावित १४ जिल्लाका ४ लाख ४९ हजार ५७ छन्, भने कम प्रभावित १८ जिल्लामा २० हजार ३ सय ९१ रहेका छन्।
त्यस्तै अति प्रभावितको २ लाख ५७ हजार ५ सय ३४ र कम प्रभावितको एक हजार ६५ गरी २ लाख २८ हजार ५ सय ९९ ले मात्र तेश्रो किस्ता पाएका छन्।
श्राेतः hakahakionline.com