अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त, दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारवाही हुन्छ : प्रमुख आयुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ५ गते, शुक्रबार ०३:५६

काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

घिमिरे प्रमुख आयुक्तमा बिहिबारै नियुक्त भएका हुन् । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा घिमिरेलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्त गरेकी हुन् ।

अख्तियारको प्रमुखमा सिफारिश घिमिरेलाई  संसदीय सुनुवाइ विशेष समितिले बिहिबार गरेको सुनुवाई पछि सर्वसम्मतिले अनुमोदन गरेको थियो । समितिको बिहिबारको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिले जनाएको थियो ।

गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो। प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो । नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहने व्यवस्था छ ।  राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख आयुक्त र आयुक्तको नियुक्ति गर्ने र उनीहरूको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुने व्यवस्था छ । संघीय कानून बमोजिम संसदीय सुनुवाई भएपछि सिफारिस भएका पदाधिकारी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा २९२ उपधारा १ मा संविधान बमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुने व्यवस्था छ ।

दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारवाही हुन्छ : प्रमुख आयुक्त
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले भने, ‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ ।’ आयोग कार्यालय टङ्गालमा आज पदबहालीपछि उनले भने, ‘भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।’

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे । राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै नवनियुक्त प्रमुख आयूक्त घिमिरेले सहयोगका लागि आग्रह गरे । आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उनको कथन थियो ।

प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनको भनाइ थियो । विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा कार्यरत घिमिरे बिहिबार मात्रै प्रमुख आयुक्तमा नियुक्त भएका हुन् । शपथ लिएलगत्तै आयोग कार्यालय पुगेका नवनियुक्त प्रमुख आयुक्त घिमिरेलाई आयोगका आयुक्तहरु, सचिव तथा आयोगमा कार्यरत कर्मचारीले स्वागत गर्दै सफल कार्याकालको कामना गरेका थिए । पदभार ग्रहणलगत्तै नवनियुक्त आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणमा इमान्दार भएर खट्न, अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका थिए । उनले जनताको अपेक्षाअनुसार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आयोगका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले इमान्दार प्रयत्न गर्नसमेत आग्रह गरेका थिए । संसदीय सुनुवाई समितिले आज मात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु