काठमाडौँ–नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ । असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गनेृे शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको कार्यक्रम राखिएको समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
सुझाव सङ्कलनमा जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुनेछन् । आएका सुझाव सङ्कलन गरी तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ । विधान संशोधनको मस्यौदा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने जनाइएको छ । संयोजक खड्काले समितिअन्तर्गत गठन भएका तीनवटै उपसमितिले प्रारम्भिक प्रतिवेदन पेश गरेको सुनाए । उपसमितिका मस्यौदालाई एकीकृत गर्न सदस्य दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रारम्भिक मस्यौदा सर्वसम्मत रूपमा तयार भएको समितिले जनाएको छ । मस्यौदामा छलफलमा रहेका सबै विकल्प उल्लेख गरिएको जनाइएको छ । सातै प्रदेशमा हुने कार्यक्रममा मस्यौदामाथि दफावार सुझाव लिइनेछ ।
“संविधानको स्वरुपअनुसार पार्टीको विधान मिलाउने, अर्को निर्वाचनमा दललाई एक नं को बनाउन विधानमा आवश्यक व्यवस्था गरिनेछ, तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ”, उनले भने । संविधानमा आरक्षणको व्यवस्था गरिएका आठवटै समूहलाई पार्टी विधानमा ठाउँ दिइने काङ्ग्रेसको प्रतिबद्धता छ । १२ गते सबै प्रदेशमा अन्तिम छलफल भएलगत्तै १४ गतेसम्म राजधानी फर्किएर मस्यौदालाई अन्तिम रूप दिन काम थालिने समिति सदस्य रमेश लेखकले बताए ।
सात जनालाई ‘कृषि रत्न पुरस्कार’
काठमाडौँ(जस)–यस वर्षको ‘कृषि रत्न पुरस्कार’ विभिन्न क्षेत्रका सात जनालाई प्रदान गरिएको छ । एग्रो टाइम्स मासिक पत्रिकाको छैठौँ वर्ष पुगेको अवसरमा शनिबार रोहित थापा, घननाथ महत्तो, अम्बिकाप्रसाद अधिकारी, रीता बस्ताकोटी, अजय तामाङ, योगेन्द्रबहादुर खड्का र उमानाथ पौड्याललाई प्रदान गरिएको छ । प्रदेश नं ३ दोलखाकी सांसद रोशनी खड्काले उनहरूलाई सम्मान गर्दै कृषिको दिगो विकासले मुलुकको अर्थतन्त्र बलियो हुने बताए । कार्यक्रममा कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्कीले कृषि र कृषकका बीचमा पत्रिकाले पुलको काम गरेकोमा खुशी व्यक्त गरे ।
बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग
काठमाडौँ(जस)–शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गरे । विश्वमा शान्तिको सन्देश प्रवाह गर्नेे बुद्धलाई ब्रह्माण्डकै ज्योति घोषणा गरिनुपर्ने कार्यक्रमका वक्ताले जोड दिएका हुन् । कार्यक्रममा पूर्वराजदूत एवं परराष्ट्रविद् विष्णुहरि ‘नेपालले विश्व शान्ति स्थापनाका आधार’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि बहस गर्नुहुँदै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वमन्त्री चन्द्रदेव जोशी, कृष्णराज वर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, पत्रकार रामकृष्ण कर्माचार्य, डा शास्त्रदत्त पन्त, समाजका अध्यक्ष प्रा डा खेम बन्धु कोइराला लगायतले विश्व शान्ति सबैको चाहना हुने भएकाले व्यवहारमा नै त्यसअनुरुप काम गर्न आह्वान गरे ।
सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घकोे महासभाले आह्वान गरेअनुरुप सन् १९८२ देखि दिवस विश्वभर मनाउन शुरु गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘दिगो विकासका लक्ष्य ः शान्ति मुलभूत आधार’ भन्ने छ । संसारका अधिकांश मुलुकका जनतामा शान्तिको कामनासहित प्रारम्भ भएको दिवस नेपालमा भने विसं २०ज्ञ५ देखि मनाउन थालिएको हो । युद्ध, हंसा, हुलदङ्गा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र रहन पाउनु नै शान्तिको अधिकार हो । अहिले शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्ग बनेको छ । यसलाई नै आधार मानेर संयुक्त राष्ट्रसङ्घले बेलाबेलामा शान्ति र विश्वमा भइरहेका हिंसात्मक गतिविधिलगायत अधिकारलाई जोडेर घोषणापत्रसमेत जारी गर्दै आएको छ ।
ट्रक यातायात व्यवसायी महासङ्घमा नयाँ नेतृत्व
काठमाडौँ(जस)–नेपाल ट्रक यातायात व्यवसायी महासङ्घमा राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । असोज ४ र ५ गते राजधानीमा सम्पन्न छैटौँ अधिवेशनले अघिल्लो कार्यकालका महासचिव रहेका श्रेष्ठलाई अध्यक्षमा र महासचिवमा राजेन्द्र विक्रम बानियाँलाई निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीले भोग्दै आएका कानूनसम्मत भारवहन कार्यान्वयन, बीमा, ढुवानी व्यवस्थापन, भाडा व्यवस्थापन लगायतका विषयमा केही प्रगति भए पनि अझै पार्किङ तथा भारतीय सवारीको ओभरलोडको समस्या यथावत् रहेको भन्दै आफू यसप्रति जिम्मेवार भएर लाग्ने बताए ।
नवनिर्वाचित महासचिव बानियाँले भने व्यवसायी, मजदुर र सरकारबीचको त्रिपक्षीय सम्बन्ध धुमिल भइरहेको सन्दर्भमा नयाँ नेतृत्वले यसप्रति गम्भीर भएर लाग्ने बताए । उनले यसअघि महासङ्घले गरेका कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ र प्रभावकारी कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाए ।
महाधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा लोकराज पोखरेल, उपाध्यक्षमा कृष्णहरि जिसी र उपेन्द्र देवकोटा चयन भएका छन्
त्यस्तै उपमहासचिवमा दीपक पौडेल, सचिवमा जिवी खड्का, कोषाध्यक्षमा ओमकृष्ण कार्की र सहकोषाध्यक्षमा मेघराज पौडेल निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी प्रदेश १ देखि ७ सम्मको संयोजकमा क्रमशः विद्यापति उपाध्याय, राजन केसी, ताराबहादुर बराल, लीला बराल, यमप्रसाद पाण्डे, चेतनकुमार थानी र मेघराज भट्ट चुनिएका छन् ।
श्राेतः janasawal.com