नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

एनआरएनए मध्यपूर्व सम्मेलन अभुतपुर्व सफलताका साथ सम्पन्न भयो : रमेश श्रेष्ठ, अध्यक्ष एनआरएन यूएई एनसिसी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १२ गते, शुक्रबार ०७:२३

रमेश श्रेष्ठ, अध्यक्ष
एनआरएन , यूएई एनसिसी

प्रवासमा रहेका नेपालीहरूका लागि ठुलै उत्सवको रूपमा लिइएको गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा कतार, युएई, बहराईन, ओमान, साउदी अरेबिया, कुवेत, इराक, लेबनान, जोर्डन, इजिप्ट र यमनका गैर आवासीय नेपाली (एनआरएनए)हरु सहभागी भएका थिए । यूएईमा भएको उक्त सम्मेलनमा नेपालीको बाक्लो उपस्थिती रहेको थियो ।  एनआरएनए यूएई त्यसको आयोजक भएकाले पनि एनआरएन युएई त्यसको ब्यवस्थापनमा ब्यस्त रहेको थियो । युएई एनसिसीका सम्पूर्ण पदाधिकारीहरू समेत उपस्थित उक्त सम्मेलन सभ्य र भव्य रूपमा गत अगस्ट २३, २४ र २५ मा दुबईको ग्राण्ड एक्सिलर होटेलमा सम्पन्न भएको थियो । सोही सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर आफ्नो जिम्मेवारी सम्पन्नको खुशियाली बाँडिरहेका एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठसँग सममेलनकै सन्दर्भमा जनसवाल दैनिकले विविध विषयमा गरेको कुराकानीको सारसंक्षेप  ः

युएईमा भएको गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलन कसरी सम्पन्न भयो ?
यो हाम्रो सम्मेलन अन्य विभिन्न मुलुकहरूमा भन्दा ऐतिहासिक, सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको हामीले महसुस गरेका छौं । आइसीसीबाट सम्पूर्ण समूह नै आउनुभएको थियो । मध्यपूर्वमा रहेको सम्पूर्ण समस्याहरूलाई समेटेर सोह्रबूँदे घोषणापत्र समेत हामीले जारी गर्यौं ।

मध्यपूर्वका समस्या र गुनासाहरू सुनुवाई र सम्बोधन अवस्था कस्तो छ ?
मध्यपूर्वमा अझै पनि प्रशस्त गुनासा र समस्याहरू रहेका छन । हामीले त्यस्ता विविध समस्या र गुनासाहरूलाई सुनेर त्यसको सम्बोधन र समाधानको निम्ति नै सरकारको प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गरेका थियौं । बिस्तारै सबै समस्याहरूको समाधान हुँदै पनि छ ।

युएईको सुनकाण्डलगायत विभिन्न अवैध क्रियाकलापहरूले गर्दा नेपालमा तहल्कै मच्चिएको छ । यहाँ बस्ने गैर आवासीय नैपालीहरुमा त्यसबारे के कस्तो धारणा रहेको पाइन्छ ?
युएई विश्वब्यापारको हिसाबले एउटा व्यापारिक केन्द्र नै रहेको कुरा मैले भनिरहन पर्दैन । त्यसैले गर्दा पनि विश्वकै सबैभन्दा बढी राष्ट्रका जनताहरू बस्ने देश युएई नै हो । त्यस्ता विविध अवैध क्रियाकलापहरू सरकारी व्यक्तिहरूकै मिलेमतोमा हुने गरेको हो जस्तो लाग्छ मलाई । त्यस्ता गतिविधिले गर्दा गैर आवासीय नेपालीहरू पनि लजास्पद हुनुपर्ने अवस्था सृजना भएको छ ।

अनि, एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ ?
हामीले हाम्रो काम निर्वाध रूपमा गरिरहेका छौँ । विगत १ वर्षमा हामीले विभिन्न सामाजिक गतिविधिलाई अगाडि बढाएका छौँ भने यहाँ बस्ने नेपालीको समस्याको समाधान, उनीहरूको हक, हित र अधिकारको लागि अहोरात्र आफ्नो कर्म र धर्म निभाउँदै आइरहेका छौँ । अर्थात, ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराको साथ स्थापना भएको यस संस्थाले आफ्नो मर्म अनुसार नै निरन्तर काम गरिरहेको छ । यसको साथै, पछिल्लो समय हामीले छैटौँ मध्य पूर्व सम्मेलन सभ्य र भब्यरुपमा सफलतापूर्वक सम्पन्न गर्न सफल हुनु हाम्रो लागि गर्वको कुरा हो ।

अझै पनि एनआरएनएलाई धनीको मात्रै संस्था भन्ने गरिन्छ यहाँको कार्यकालमा यहाँले मध्यपूर्व र मलेसियामा रहेका नेपाली कामदारको लागि के–के गर्नुभयो ?
एनआरएनलाई धनीको मात्रै संस्था भन्नु तार्किक सत्य हैन । यो विदेशमा बस्ने सबै नेपालीको साझा पवित्र संस्था हो । पहिले यो संस्था युरोप, अमेरिकामा लगायत राष्ट्रहरुमामात्र भएकाले यो आरोप लाग्ने गरेको थियो । यस संस्थामा अहिले व्यापारी देखि मजदुरसम्मका नेपालीहरुपनि आबद्ध भएकाले यसो भन्नु सत्य पुष्टि हुँदैन । त्यस्तै, यस संस्थामा धेरै नै व्यापारीहरू जोडिएका कारण पनि यो आरोप आएको हुनसक्छ । तर अहिलेको अवस्था त्यस्तो छैन । यस संस्थामा मजदुरहरूको बाक्लो उपस्थिति रहेको छ । र उनीहरूकै हक, हित, सुरक्षाको निम्ति हामीले निरन्तर काम गरिरहेका छौँ ।

यहाँ त एनआरएनएको अध्यक्ष जस्तो मान्छे, सरकार पछिको दोस्रो जिम्मेवार व्यक्ति, दुवैलाई सुन र हुन्डीको केन्द्र मानिनुको मुख्य कारण के हुनसक्छ ?
हजुरले भनेजस्तै सरकारपछिको दोस्रो जिम्मेवार संगठन भएको हैसियतले हामीले पनि यस्ता गतिविधिहरूको प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा वाच गरिरहेका छौ । मलाइ लाग्छ हजुरले भनेजस्तो– दुवै सुन र हुन्डीको मात्र व्यापारिक केन्द्र भने विल्कुलै होइन । दुवै विश्वबजारको सबै खाले उत्पादनहरूको केन्द्र हो । यसको मुख्य कारण भनेको यहाँको सरकारको न्यून ट्याक्स÷भ्याट नीति हो भने अर्को कारण– वैयक्ति स्वतन्त्रता हो । सोही कारण विभिन्न मुलुकबाट कामदारहरू एवं व्यावसायीहरु यहाँ आउन रुचाउँछन । जसले गर्दा विश्वबजारमा युएइ व्यापारिक हब बन्न पुगेको देखिन्छ । हामीले यस्ता अवैध सुन एवं हुन्डी क्रियाकलापलाई रोक्नको लागि राजदूतावाससँग सहकार्य गरेर विभिन्न पहलहरू समेत गरिराखेका पनि छौ ।

अहिले को टड्कारोरुपमा देखा परेको समस्या भनेको भिजिट भिजा, कसरी यसको नियन्त्रण गर्न सकिन्छ ?
हो यहाँले राम्रो विषयको उठान गर्नुभयो । वर्तमान अवस्थाको सबैभन्दा बढी देखिएको समस्या सत्य हो । वास्तवमा भिजिट भिजा भनेको घुम्ने प्रयोजनको लागि दिइने स्वीकृति मात्र हो । तर, यसको गलत प्रयोग गरी विभिन्न दलालहरूमार्फत भिजिट भिजामा आएर यही लुकेर काम खोजी यही काम गरेर बस्ने प्रवृत्ति बढ्दो छ । साथसाथै विभिन्न दलालहरूमार्फत भिजिटमा यहाँ आएर लुकेर बस्ने र पछि दुःख पाएर हामीले नै सहयोग गर्नुपर्ने अवस्था समेत प्रशस्त छन । यसलाई नियन्त्रण नगर्ने हो भने समस्या झन बढ्दो हुँदै जान्छ । त्यसर्थ, यसलाई नियन्त्रण गर्न यदि कोही त्यसरी भिजिट भिसामा आएर यही काम खोजेर बस्न चाहन्छ भने उसले निश्चित रकम धरौटी, दुबई बस्दै आउनुभएका आफ्ना नजिकैको आफन्तले पठाएको निम्ता र अन्य विभिन्न प्रक्रियाहरू पुरा गर्नुपर्नेजस्ता कानुनी प्रावधान बनाइयो भने यसको नियन्त्रण हुन सक्छ । यस्तो कानुनी प्रावधान जरुरी रहेको कुरा हामीले दूतावासमा समेत ज्ञापनपत्रमार्फत जानकारी गराईसकेका छौ ।

एनआरएन मध्यपूर्वका अहिलेका मुख्य मुद्दाहरू के के हुन ?
मध्य पूर्वको प्रमुख मुद्दा भनेको घरेलु कामदार हो । चोर बाटो वा अवैधानिक रूपमा आएर घरेलु कामदारको रूपमा काम गर्ने नेपाली महिलाहरू यस क्षेत्रमा धेरै नै छन् । उनीहरू अवैधानिक बाटो भएर यहाँ आई २–४ वर्ष काम गरी बिदामा घर गएर श्रम स्वीकृति नभएको कारण फेरी काममा फर्कन सक्दैनन् । त्यसर्थ, हामीले यो मध्यपूर्व सम्मेलनमा हामीले नेपाली महिलाहरू अवैधानिक रूपमा आए पनि श्रम स्वीकृति प्रदान गर्ने विशेष पहल गरेका छौँ ।

युएईमा भएका विभिन्न संघसंस्थाहरुमध्ये प्रमुख संस्था एनआरएनए नै हो, जसको अध्यक्ष जस्तो गरिमामय पदमा हजुर हुनुहुन्छ । र, एनआरएनएको पनि अभिभावक संस्थाकोरुपमा राजदूतावास छ । यस्ता संघ–संस्थाहरूबीच सहकार्यको अवस्था कस्तो रहेको छ ?
हामी यहाँ दुवैमा भएका विभिन्न संघसंस्थाहरुबीच राम्रै सहकार्य हुने गरेकै छ । अझ विशेष गरेर एनआरएनए र राजदूतावास त सधैँ निरन्तर सहयोग र सहकार्यमा विभिन्न कार्य सम्पादन एवं विभिन्न समस्या समाधानहरूमा जुटेकै छौ ।

वैदेशिक रोजगारीमा आउनुभएको कामदारहरूको गुनासाहरू वा उजुरीहरू छन कि छैनन ?
अवश्य छन । विशेष गरेर विभिन्न दलालहरूमार्फत एवं म्यानपावरहरुमार्फत यहाँ एउटा कामको लागि भनेर आउने तर यहाँ आएपछि अर्कै न्यूनस्तरको काममा परिएका विभिन्न त्यस्ता दुःखद गुनासाहरू हामीले पाइरहेका छौ । यस्तो जटिल समस्या समाधानको लागि निरन्तर राजदुतावासँग सहकार्य गरेर पीडित कामदारहरूलाई न्याय दिलाउने काम समेत हामीले गरिरहेका छौ ।

यहाँ एनआरएनएको अध्यक्ष हुनुभएपछि के कस्ता कामहरू गर्नुभयो ?
म अध्यक्ष भएदेखि नेपाली श्रमिकहरु हकहितको निम्ति निरन्तर अनन्त महत्वपूर्ण कामहरू गरिरहेको छु । जस्तै हाम्रो सदस्यता लिएको कोही नेपाली कामदारहरू दुर्घटना वा अन्य कारण दुःखत मृत्यु भएको खण्डमा तुरुन्तै नेपाली १ लाख ५० हजार उहाँको परिवारलाई दिने र यदि दुर्घटनामा परी घाइते भएमा तुरुन्तै नेपाली १ लाख उपचारार्थ दिने विपत कोष स्थापना गरेका थियौँ । साथसाथै, यहाँ विपतमा फसेर स्वदेश फर्कन चाहनेहरुकालागि सहयोग गरी स्वदेश फिर्ता गराउने ।
अवैधानिकरुपमा यहाँ ल्याइएका नेपाली चेलीहरूको उद्धार गरी सम्मानस्वरुप उहाँहरूलाई स्वदेश फिर्ता वा यहाँ सम्मानजनक काम दिलाउने । मुख्य काम त मैले दर्ता प्रक्रियालाई निरन्तर लागिपरेर अन्तिम चरणमा पुर्याएको छु । साथै, टोपबहादुर बचाउ अभियानमा ब्लडमनी रु ३० लाख हामीले ३० दिनभित्रै संकलन गरी उद्धार गर्न सफल भएको थियौ । यसका अलावा, युएईमा कन्सुलर अफिस खोल्नको लागि पनि पहल गरेका छौँ । साथै, यहाँका नेपालीले नेपालीमा लगानी गर्ने बाटो खोल्न मध्यपूर्व सम्मेलनमार्फत पहल गरेका छौ भने यहाँका जनतालाई नेपालमा पर्यटनको रूपमा घुम्न जानको लागि समेत व्यवस्थापन पहल गरेका छौ । र अर्को महत्वपूर्व काम– भर्खरै मध्यपूर्व सम्मेलन पनि मेरै कार्यकालमा सफलतापूर्वक सम्पन्न गर्न सफल भयौँ ।

आफ्नो व्यक्तिगत कामहरूलाई वास्ता नगरी यहाँ स्वयंसेवी ढंगले सामाजिक कार्यमा निरन्तर लागिरहँदा पनि यहाँ विभिन्न आलोचनाको सिकार हुनु भएको छ ? किन होला ?
वास्तवमा मलाइ व्यक्तिगतरुपमा आलोचना गर्नेहरूप्रति मेरो सद्भाव नै रहन्छ । म आलोचनालाई आत्मसात् गर्ने खाले व्यक्ति हुँ । आलोचना नहुनु भनेको केही पनि कार्यसम्पादन नगर्नु हो । मैले मेरो बुताले भ्याएसम्म सामाजिक अभियानमा जुटीरहेको छु त्यसर्थ आलोचित पनि छु होला । मलाइ अहिलेको कार्यसमितिले राम्रै साथ र सहयोग गरिनै रहेका छन । काम गर्ने सिलसिलामा कहीँ कतै त्रुटिहरू हुन्छन । सायद सोही कारण आलोचित भए होला ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यहाँहरूलाई धेरै–धेरै धन्यवाद । युएईका सामाजिक एवं अन्य विविध गतिविधिहरू तपाइमार्फत प्रस्तुत गर्न पाए । अहिलेको मध्यपूर्व घोषणापत्रलाई सबै सामु पुर्याउन यहाँहरूको महत्वपूर्व भूमिका रहने भएकोले यहाँहरूलाई हार्दिक अनुरोध समेत गर्दछु । अन्तमा, सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवादसहित उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु