दशैं (विजया दशमी): सन्तोष बजगाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ०३:१९

दशैं, आपसी जमघट, सामिप्यता, आदार÷सत्कार, सम्झना र भेटघाट तथा दुःख सुख साटासाट गरेर सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्दुहरुको एक विषेश र महत्वपूर्ण चाड हो । दशहरा, विजया दशमी, नवरात्र आयुध–पूजा आदि उपनामहरुले समेत परिचित नेपालीहरूको प्रमुख चाड दशैं राष्ट्रिय चाडको रुपमा रहेको छ । दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन अर्थात दशमीका दिन टीका–प्रसाद ग्रहण गरि विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्दछन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा गहुँ जौं जस्ता अन्नवालिको जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै चण्डी पाठगरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।
विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने प्रचलन रहेको छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो र दशैंलाई असत्यमाथि सत्यको जित भएको र विजयको प्रतिकको रुपमा मनाउने प्रचलन रहँदै आएको छ ।

आफ्ना नाता कुटुम्ब ठुलाबडा र मान्यजन तथा राष्ट्रप्रमुखको हातबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ÷नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने÷खुवाउने, घर आँगन, बाटोघाटो, गाँउबस्ती सफासुग्गर राख्ने, आपसमा मिलेर पिङ हाल्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यो परम्परामा आजभोली विभिन्न कार्यक्रमहरुको आयोजना गरि शुभकामना आदान–प्रदान, गीत तथा नृत्य प्रस्तुत साथिभाइ बीच जमघट आदि गरि अझ हषोल्लासको साथमा मनाउने परम्पराको समेत विकास भएको छ । गाउँबाट जागिर तथा उच्च शिक्षाको लागि विदेश तथा सहर बजारमा पुगेकाहरु यस पर्वमा घर परिवार र आफन्तको सम्झनामा छुट्टी मिलायर घर आउने गर्छन् ।

पेशा, व्यवसाय, जागिर, व्यापार वा उच्च शिक्षाका लागि घरबाट टाढिएकाहरुलाई एकै थलोमा ल्याई दुःख सुख साटासाट गराउने सेतुको रुपमा दशैंले नेपाली समाजमा अहम भूमिका निर्वाह गरेको पाईन्छ । यस पर्वमा विषेशगरि राष्ट्रसेवामा लगेकाहरु सेना, प्रहरीहरुलाई घरपरिवार र आफन्तसंग भेटघाटको संयोग कमै मात्रामा प्राप्त हुन्छ । तैपनि उनिहरु आफु रहेकै स्थानमा परम्परालाई धान्दै पर्व मनाएर खुसी साट्छन् । के धनी के गरिव, के सानो के ठूलो, के सानो जात के ठूलो जात यस पर्वले सबैलाई उत्तिकै छुन्छ र सबैले मनाउँछन् ।
विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैका रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव सुरु भएको हो । दसैँ पर्वले दश प्रकारका पापहरू जस्तैः काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) प्रेरणा प्राप्त हुन्छ ।

 

दशैंमा दिने आशिष (मन्त्र)
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आर्शीवचन लिइन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । दशैंमा मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

नेपाली समाजमा दशैं
नेपाल कृषि प्रधान देश हो । जब कृषक आफ्नो खेतमा सुनौलो विज उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवं उमंगको सीमा हुँदैन । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ’विजया दशमी’ का नामले पनि चिनिन्छ । दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी, र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।

यसरी एक परापूर्व कालदेखि आज पर्यन्त उतिकै महत्वका साथ मनाईने यस पर्वले हिदुत्व, मानवता, शान्ति र आपसी जमघटलाई अझ प्रघाट बनाउँदै लगेको छ । मान्छेलाई एकताको सन्देश प्रवाहगरि सह–अस्तित्वको सम्मानमा यस्ता चाडपर्वले हिजो जस्तै आगामी दिनहरुमापनि उतिकै प्रभाव बनाउँदै जाओस् । सत्य, न्याय, शान्ति र समृद्धि सदैव कायम रहोस् । सम्पूर्ण देशबासीको सु–स्वास्थ्य र दिर्घायूको कामना गर्दै, सम्पुर्ण मानवजातिमा विजया दशमीको शुभकामना ।

सन्तोष बजगाई
बेलकोटगढी नगरपालिका–९, नुवाकोट ।
९८६०६१३९८८

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु