हाम्रो परिवारको आगलागीबाट निधन भएको होईन, हत्या नै भएको हो: पीडित परिवार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ आश्विन २०७५, बिहीबार ११:२०

काठमाडौं, १८ असोज । मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरि भएको घट्ना नियोजित रुपमा भएको पीडित परिवारले आरोप लगाएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले गरेको पत्रकार सम्मेलनमा आगलागीको घट्ना भवितव्य नभई हत्या भएको दाबी गरेका छन् । घट्नाको अनुसन्धान राम्रोसंग नगरिएकै कारण आफुहरु अन्यायमा परेको गुनासो पोख्दै पीडित परिवारका सदस्यहरुले आफुहरुले न्यायको लागि हारगुहार मागेको बताएका छन ।

कार्यक्रममा बोल्दै मृतक गंगामाया राईकी छोरी इन्दिरा राईले प्रहरीले घट्नाको सूक्ष्म अनुसन्धान नगर्दा अपराधी खुलेआम घुमिरहेको बताएकी छिन् ।

राज्यले प्रभावकारी रुपमा आफ्नो पीडा नसुनेको बताउँदै उनले भनिन,‘घट्नाको बारेमा गलत जानकारी दिने मानिषमाथि अनुसन्धान नहुनु, प्रहरीलाई घरबाट भाग्ने ठाँउको अभावमा मरेको हुनसक्ने भ्रमपूर्ण जानकारी गराउनु, एक कठ्ठा जमिनको कारण चारजनाको ज्यान लिन्छ कसैले भनेर प्रहरी अनुसन्धानबाट किन पन्छिरहेको छ ।’ घट्नामा शंका गर्ने आधारहरु धेरै रहेपनि यथेष्ट प्रमाणको अभावमा किटानका साथ अघि बढ्न नसकेको उनले जनाईन् ।

आगलागीबाट ५६ वर्षीय चन्द्रकुमार राई, उनकी ८६ वर्षीया आमा गंगामाया, ४९ वर्षीया श्रीमती पार्बता र ४६ वर्षीय बहिनी बिष्णुकुमारीको जलेर मृत्यु भएको परिवारले जनाएको छ । राति करिब २ बजेतिर भएको आगलागीमा उनीहरुसहित दुई तले काठको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा करिव १ करोड ५० लाख बरावरको धनजनको क्षति भएको उनले जानकारी गराईन।
कार्यक्रममा बोल्दै मृतक गंगामाया राईका छोरा रामकुमार वान्तवाले नियोजित रुपमा केही व्यक्तिले चारै जनाको हत्या गरी घरमा आगो लगाएर आगलागिबाट मारिएको देखाउन खोजिएको बताएका छन ।
२०७४ असोज ४ गते मध्य रातमा भएको आगलागी कनैपनि कोणबाट भईपरि नभएर नियोजित रुपबाटै आफ्नो परिवारको हत्या गरिएको उनीहरुले दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘चारै जनाको मृत्यु हुनु शंकास्पद छ, यति ठूलो घर दनदनी जलेर खरानी हुँदासम्म किन कोही चिच्याएनन ? किन कसैले हाम फालेर बाँच्ने प्रयास गरेनन् ? मेरी आमा असक्त भएपनि अन्य तीन जनामध्ये कोही एक जना त बच्नुपथ्र्यौ ।’
विद्युत सर्ट भएर आगलागी भएको भनेर प्रहरी प्रशासन भने अनुसन्धान नगरी सुतेर बसिरहेको उनले गुनासो पोखे । उनले भने,‘तत्कालीन् प्रहरी निरिक्षक राजन कार्कीको अहिले सरुवा भईसकेकोले पनि आफुहरु कहिलेसम्म अपराधीलाई हेरेर बस्ने ?’ विद्युत सर्ट भएर आगलागी भएको भए घरको एक छेउबाट आगो लाग्नुपर्ने हुन्छ, तर यहाँ घरको चारैतिरबाट एकैपटक आगो लागेको कारणपनि घट्ना नियोजित रुपमा गरिएको उनले बताए ।

पिडित परिवारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि अनुसन्धान गर्नुपर्ने र यसको लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा पिडित परिवारद्धारा वितरण गरिएको प्रेस वक्तव्यको पूर्णपाठसहित

प्रेस वक्तव्य
मितिः २०७५।६।१८
आदरणीय पत्रकार ज्यूूहरु,
साथै आमन्त्रित अतिथी ज्यूहरु,
गत वर्ष २०७४ असोज ४ गते मध्यरातमा मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ३ हरकपुरमा षडयन्त्रपूर्ण ढंगबाट भएको घर आगलागी घटनामा घरभित्रै ४ जनाको ज्यान गएको थियो । तर हालसम्म घटनाको प्रभावकारी अनुसन्धान हुन नसकेको र सत्यतथ्य सार्वजनिक हुन नसकेको विषयमा आज हुन गइरहेको पत्रकार सम्मेलनमा यहाँहरु सम्पूर्णलाई स्वागत तथा धन्यवाद ब्यक्त गर्दछु ।
१. घटना र क्षतिको बारेमा संक्षिप्त जानकारी

मिति २०७४ साल असोज ४ गतेको मध्य राती करीव १२ बजेदेखि २ः१५ बजेको समयमा नियोजित षडयन्त्रपूर्ण आगलागी घटनामा परी मेरी आमा गंगामाया राई वर्ष ८६, दाजु चन्द्र कुमार राई वर्ष ५६, भाउजु पार्वता राई वर्ष ४९ र मेरी दिदी बिष्णु कुमारी राई वर्ष ४६ को घरभित्रै जलेर मृत्युु भयो । सो आगलागी घटनामा घर, किराना पसल, गोठ, मिनी ट्याक्टर, मोटर साईकल, साइकल, पम्पिङसेट मेसिन, ह्वील चियर, फर्निचरहरु, फ्रिज, टिभी, सोलार, मोवाइल फोन, ल्याण्डलाइन फोन, नगद, सुनचाँदी, अन्न, भाँडावर्तन सम्पूर्ण गरी करीव १ करोड ५० लाख बराबरको धनमाल क्षतिपूर्ति भएको छ ।

अतः उक्त नियोजित र षडयन्त्रपूर्ण घटनाको सुक्ष्म अनुसन्धान र न्यायका निम्ति हामी पीडित परिवारका तर्फबाट गरिएका प्रयासहरु र माग अनुरोधका बारेमा तपाइँको सशक्तमिडियामार्फत् सरकार र राज्यको सम्बन्धित निकायलाई जानकारी गराउँदछु ।

२. पीडित परिवारका सदस्यहरुबाट गरिएका प्रयासहरुः
१. इलाका प्रहरी कार्यालय, पथरी, मोरङमा घटनाको जाहेरी, उजुरी दर्ता गरिएको ।
२. शंकास्पद व्यक्तिहरुका बारेमा इलाका प्रहरी कार्यलय पथरी, मोरङ्गमा लिखित बयान दिइएको ।
३. अनुसन्धान कार्यमा सघाउ पु¥याउन फेला पारिएका तथ्य प्रमाणहरु र अपराधीसम्म पुग्ने संभावित आधारहरु इलाका प्रहरी कार्यलय, पथरीलाई उपलब्ध गराइएको ।
४. मृतक चन्द्र कुमार राईको लास उठाइएको ठाउँमा खोस्रने क्रममा भुँइमा रगत जमेको टाटा भेटिएको । इलाका प्रहरीको टोलीले उक्त रगतको टाटाको फोटो मोवाइलमा सारेर लिएर गएको ।
५. २०७४, असोज २९ गते घटनास्थलमा पत्रकार सम्मेलन गरिएको ।
६. तपशिलका निकायहरुमा प्रभावकारी अनुसन्धानका लागि घटनाको बिबरणका साथ निवेदन दिइएको,
तपशिलः
क) इलाका प्रहरी कार्यालय, पथरी मोरङ्ग
ख) जिल्ला प्रशासन कार्यालय, मोरङ्ग
ग) जिल्ला प्रहरी कार्यालय, मोरङ्ग
घ) कोशी अञ्चल प्रहरी प्रमुख कार्यालय, सुनसरी
ङ) पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालय, मोरङ
च) अपराध अनुसन्धान व्यूरो (सि.आई.वि.), महाराजगञ्ज, काठ्माडौं ।
छ) प्रदेश गृह मन्त्रालय, प्रदेश नं. १
ज) गृहमन्त्रालय, सिंहदरवार काठ्माडौं ।
झ) राष्ट्रिय मानव अधिकार आयोग, विराटनगर ।
७. मृतक आमा गंगामाया राईको नाममा रहेको १ कठ्ठा घडेरी जग्गा, घटना हुनु भन्दा ९ महिना अगाडि आमाको देवर अनिल राईले किर्ते बेचविखन गरेको तथ्य फेला प¥यो । सो किर्ते जालसाजीलाई लुकाउने क्रममा प्रमाण नस्ट गर्न अपराधमा निजको संलग्नता हुनसक्छ । उक्त किर्ते जालसाजी विरुद्ध अनुसन्धानका लागि सम्बिन्धत कानेपोखरी गाउँपालिका र इलाका प्रहरी, पथरीमा उजूूरी दर्ता गरिएको ।
८. उक्त घडेरी जग्गा सम्बन्धी कागजात प्रमाणहरु घर आगोलागीसँगै जलेर नष्ट भएकोले प्रतिलिपी खोजी गरीदिन सम्बन्धित निकायमा निवेदन गरिएको ।
९. अनुसन्धानलाई सघाउ पु¥याउन २०७४ साल मंसिर ३ गते थप सूचनाहरु इलाका प्रहरी कार्यालय पथरीलाई उपलब्ध गराइएको ।
१०. अनुसन्धान कार्यमा सहयोग पु¥याउन २०७५ साल असार २० गते ८ बुँदे थप सूचनाहरु इलाका प्रहरी कार्यालय, पथरीलाई उपलब्ध गराइएको ।
११. २०७५ साल असोज १२ गते पीडित परिवारका सदस्यहरुको (तेश्रो पटकको भेटघाट) अनुरोध र लिखित निवेदन सम्मानित गृहमन्त्रीज्यूलाई बुझाइएको ।
३. मृतकहरुको पृष्ठभूमीः
१. मृतक चन्द्र कुमार राई वर्ष ५६, खुद्रा किराना व्यावसायी, स्थानीय समाजसेवी, पूर्व निर्वा्चित वडाअध्यक्ष (२०५४), स्थानीय विकासमा सक्रिय, गाउँलेहरुले अभिभावकको रुपमा मानिदैँ आएको व्यक्तित्व । मृतकका १ छोरा र १ छोरी काठमाडौँमा बस्दै आएका । तर घटनापछि दुबैजनाको गाँसबासको व्यवस्था नभएको ।
२. मृतक पार्वता राई वर्ष ४९, मृतक चन्द्र कुमार राईकी पत्नी (पूर्व महिला स्वास्थ्य स्वंय सेविका, बचत समूह सहकारीमा सक्रिय सदस्य भएको ) ।
३. मृतक गंगामाया राई वर्ष ८६, कान्छा छोराबुहारी मृतक चन्द्रकुमार राई र पार्वता राईसँग बस्दै आएको । मृतक आमा गंगामाया राई स्थानीय लक्ष्मी प्रा.वि.मा स्थापित ‘गोकुल प्रसाद गंगामाया राई छात्रवृत्ति कोष’ को दाता एवं शिक्षा प्रेमी । घटना हुँदाका बखत बिरामी अशक्त ।
४. मृतक बिष्णु कुमारी राई, तामाङ्ग वर्ष ४६ । मृतकका ३ छोराछोरी वैदेशिक रोजगारीमा रहेको । कान्छी छोरी किरण तामाङ धरानमा स्नातकमा अध्ययनरत । दिदी बिष्णु कुमारी प्रायः कान्छी छोरी किरणसँगै धरानमा बस्दै आएको र छोराछोरीले जापान घुमाउन लैजाने सल्लाह भइरहेको र जापानबाट फर्किएपछि काठमाडौमा घर बनाएर छोराछोरीको बिहेबारी गर्ने घरसल्लाह थियो । काठमाडौमा घरको नक्शा बनाएर, घडेरीमा ईनार खनी, आवास कर्जा प्रक्रियाका लागि स्टान्डर्ड चार्टर्ड बैंक, बानेश्वरमा खाता खोली सकेपछि विरामी आमालाई भेट्न हरकपुर, मोरङ गएको । घर व्यवहार मिलाएर र दशैँ मानेर धरानबाट काठमाडौँ एकैचोटी डेरा सर्ने तयारीमा लागेको । फूलपातीको दिन आइपुग्ने गरी कान्छी छोरी किरणसँग धरानबाट पोखरा जाने तयारी गरेको । तर पहिला विरामी आमालाई भेटेर आउँछु भनेर धरानबाट हरकपुर घर आएको । घरबाट साँझ ९ बजेतिर आमालाई भेट्न गएको र सोही रात आगलागी घटना भएको । मृतक दिदी बिष्णु कुमारी र भेनाबीच ३ वर्षदेखि घरेलु हिंसा चलिरहेको थियो ।
४. घरको संरचनाः
१. सालको काठ २५ खम्बे घर, ६ धुरे, जस्ता पाताको छाना । माथिल्लो तला बरण्डामा काठकै रेलिङ, घरको भित्रि पाटिसन र तल्ला छपाइ सबै सालकै तख्ताले बनेको । बाहिरी वरीपरी २२ वर्ष अघिको सेन्टरबटम (बाँसको भाटामा सिमेन्टले लिपेको), पूर्वपट्टि बरण्डामुनी लाछि गाँसेर जस्तापाताले छाएको ।
२. पूर्वी बरण्डाबाट हाम फालेर जस्ताले छाएको लाछिमाथिबाट करेसाबारीमा सजिलै झर्न पनि सकिने, उत्तर बरण्डाबाट धानबारीमा हामफालेर भाग्न पनि सकिने, दक्षिण बरण्डाबाट आँगनमा हाम फाल्न मिल्ने ठाउँ भएको । मुनी तला वरीपरी बाँसको भाटामा माटोको लिउन लगाएको ।
३. मुनी तलामा किराना पसल चलाइरहेको । धानको भकारी, चामल, कनिका, चिउरा, चिनी, आदि पसलका सामानहरु राखिएको ।
४. मुनीतलाको पछाडिपट्टिबाट बैकल्पीक ढोका भएको । मान्छे आहोरदोहोर गर्न मिल्ने फराकिलो झ्याल पनि भएको । त्यहीबाट पानींको धारा र सँुगुरको खोर, करेसाबारी जाने आउने गरेको ।
५. पसलसँगैको मुल ढोकाबाट आँगन र भान्साघर, गोठ हुँदै सडकतिर निस्कने ।
६. घटना हुने ४ दिन अगाडि मात्र भान्साघर नै आँगन तर्फ सारिएको । भान्सापछाडि बाख्रा, कुखुरा र गाईगोठ थियो ।
७. फराकिलो, आँगनपारी शौचालय थियो । छ ।
८. घरको वरिपरि रुखबिरुवाहरु र पछाडिपट्टि धान रोपेको थियो ।
५. खाने सुत्ने चलनः
१. राती अवेलासम्म पनि पसलमा फाट्फुट्ट ग्राहकहरु आइरहने गर्थे । प्रायः खाना खाएर सुत्दा रातको ११।१२ बज्ने गथ्र्यो ।
२. काठको झ्यालहरु सधैँ खुल्लै रहन्थ्यो । घोप्टे लगाएपछि ढोकाहरु थुनेर सुत्ने चलन थिएन ।
३. बहिर बरण्डामा खाट थियो । दिदी बिष्णु कुमारी वा जो कोही पाहुना आमालाई भेट्न जाँदा सधैँ त्यही बरण्डामा सुत्ने गरेको थियो ।
४. उत्तरपट्टिको कोठामा आमा गंगामाया राई र हेरचाहका लागि दाजु चन्द्र कुमार सुत्ने गर्नुहुन्थ्यो ।
५. दक्षिणपट्टिको कोठामा भाउजु पार्वता राई सुत्ने गर्नुृहुन्थ्यो ।
६. घरमा चुरोट बिडी, जाँड रक्सी मृतकहरु कसैले खानु हुन्नथ्यो ।
६.घटनाको प्रकृति र उब्जिएका प्रश्नहरुः
१. रातको १२ बजे पानी जम्नेगरी ठूलो वर्षा भएको थियो ।
२. मध्यरात २ः१५ बजेतिर घरको वरीपरीबाट आगो लागेको गाउँलेहरुले देखे । आगो कुनै एक छेउबाट सुरु हुन्छ कि, घरको वरीपरी चारैतिरबाट ह्वारह्वारी सुरु हुन्छ ?
३. मृतकहरु कराएको, चिच्याएको कोही छिमेकी गाउँलेहरुले सुनेनन् । आगोले सल्किदा मान्छे चुपचाप बसिरहन सकिन्छ ?
४. हाम फालेर भाग्ने उपायहरु हुँदा हुँदै आमा बाहेक अन्य ३ जना किन भागेर बाहिर निस्किेनन् ?
५. ठुुलो मूूल घर जलेर धुरीबाट आगोको लप्का खसेपछि मात्रै भान्सा घर सल्किएको छ । घरमा चुरोट बिंडी कसैले खादैनथे । आगो कहाँबाट आयो आफै ?
६. दिदी बिष्णु कुमारी र भाउजु पार्वता दुवैका ठूला ठूला ज्यान, कहिल्यै एकै ठाउँ सुत्ने गरेका थिएनन् । दिदी बिष्णुकुमारी सधैँ बरण्डाको खाटमा सुत्ने र भाउजु सधैँ दक्षिणपट्टिको आफ्नै कोठामा सुत्ने गर्नुहुन्थ्यो । अब सुतेकै ठाउँमा मृत्यू भएको भए कसरी दुवैजनाको लास एकैठाउँमा भेटियो ?
७. मृतक आमा गंगामायाको हेरबिचारको लागि दाजु चन्द्रकुमार आमासँगै सुत्ने गर्नुहुन्थ्यो । यदि सुतेकै ठाउँमा मृत्यू भएको भए आमा र दाजुको लास कसरी अलग अलग ठाउँमा भेटियो ?
६. घटनास्थलमा जम्मा भएपछि गाउँले छिमेकी शैलेन्द्र थोक्लेन लिम्बुले विद्युत प्राधिकरणलाई फोन गरेर लाइन काट्न लगाएका छन् । अब कसरी विद्युुत सर्ट भएर आगो लाग्यो त ?
७. त्यो विद्युत मध्यरातमा मात्रै सर्ट हुन्छ ? अनि दिदी बिष्णु कुमारी त्यो घरमा सुतेकै रातमा नै विद्युत सर्ट हुन्छ ?
८. शंकास्पद ढंगबाट एक स्थानीय व्यक्तिले गलत सूचना प्रचारवाजी गरेको पाइयो । जसका कारण अनुसन्धान कार्य नै प्रभावित बन्न पुगेको छ । तर किन निजउपर प्रभावकारी अनुसन्धान गरिएन ?
९. घटना भएको १ वर्ष बितिसक्दा र अनुसन्धानमा सघाउ पु¥याउने शंकास्पद आधारहरु, तथ्य प्रमाणहरु प्रशस्त हुँदाहुँदै पनि किन प्रभावकारी अनुसन्धान भइरहेको छैन ?
१०. के हाम्रा ति ४ जना मृतकहरु त्यसैगरेर मारिनै पर्ने खालका मान्छेहरु थिए त ? होइन भने, घटना भएको आज ३७९ दिन बितिसकेको छ, पिडीतले कहिले न्याय पाउने ? अनुसन्धान प्रभावकारी हुँदैभएन । सरकार पिडितलाई न्याय दिन सक्रिय छैन । राष्ट्रिय मानव अधिकार आयोग नामको संस्थाले पनि पिडीतलाई न्याय दिलाउने गरी आजसम्म कुनै भूमिका खेलिदिएन । हामीले कोसँग न्याय माग्ने ? कहाँ गएर न्याय खोज्ने ?
उल्लेखित बाहेक अरु पनि थुप्रै पारिवारिक हिंसाका घटनाहरु, नजिकको आफन्तमा भएको हत्याको घटना, शंकास्पद तथ्यहरु सम्बन्धीत निकायमा लिखित बयान, बुुँदागत टिपोटहरु उपलब्ध गराइएको छ । जसको आधारमा यदि सुुक्ष्म अनुसन्धानमा तदारुक्ता देखाउने हो भने, अपराधी उम्किने ठाउँ छैन । तर किन तदारुकताका साथ अनुसन्धान भइरहेको छैन ? अनुुसन्धानमाथि नै हामीलाई शंका छ । कतै यस्तो नियोजित बर्बर हत्याकाण्डलाई पनि भवितव्य प्रमाणीत गर्ने अर्को षडयन्त्र त हुुदैछैन ? हामी पिडित परिवार सदस्यहरु दिनदिनै थप पिडामा छौँ ।
७.पीडित परिवार सदस्यको सरकारसँग माग अनुरोधः
१. यो घटना भवितव्य हुदैँ होइन, नियोजित षडयन्त्र हो । घटनाको अतिसुक्ष्म अनुसन्धान गरी छिटो भन्दा छिटो सत्यतथ्य सार्वजनिक गरियोस् ।
२. शंकास्पद व्यक्तिहरु, तथ्य र प्रमाणहरुउपर प्रभावकारी अनुसन्धान गरियोस् र दोषी अपराधीउपर कडा कानूनी कारवाही गरियोस् र पीडितलाई उचित क्षतिपूर्ति दिइयोस् ।
३. अनुसन्धान लम्बिदा पीडितका छोराछोरी र पीडित परिवारका सदस्यहरुमाथि पर्न जाने असर र क्षतिपूर्तिको सुनिश्चित गरियोस् ।
४. अनुसन्धानमा ढिलासुस्तीका कारण हामी पीडित परिवारले बिरोध प्रर्दशन, सडक आन्दोलन, बन्द हडताल, आमरन अनसन जस्ता अप्रिय बाटो रोज्नु पर्ने बाध्यता सृजना नगरियोस् ।
५. हामी राज्यका इमान्दार र असल नागरीक हौँ । तर न्यायको लागि यसरी लडिरहँदा घटनामा संलग्न दोषी अपराधीद्धारा कुनै पनि बेला हामी निशाना पर्न सक्छौँ र हामी जोखिममा हुन सक्छौँ । तसर्थ राज्य सरकारद्धारा हामी पीडित परिवार सदस्यहरुको जीउधनको शान्ति सुरक्षाको सुनिश्चित गरियोस् । तनावमुक्त भइ काम गर्ने, भविष्य निमार्ण गर्ने, सम्मानकासाथ बाँच्न पाउनेलगायत हाम्रो मानव अधिकारको तत्काल सुनिश्चित गरियोस् ।
अतः हामी पीडित परिवारका सदस्यहरुले घटना भएको आज ३७९ दिन बितिसक्दा समेत अनुसन्धानको नाममा केही तथ्य फेला परेको जानकारी सम्बन्धित निकायबाट नपाउँदा हामी थप पीडित बन्दै गएका छौँ । तसर्थ यस विषयमा तपाइँको प्रभावकारी संचारमाध्यमको सहयोगको अपेक्षाका साथ अनुरोध गर्दछौँ ।

पीडित परिवार सदस्य
इन्दिरा राई
(मृतक गंगामाया राईकी छोरी)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु