बरिष्ठ वामपन्थी नेता लोककृष्ण भट्टराई भट्टराईले नेपालमा ठूलो संघर्ष त्याग, बलिदानबाट प्राप्त गणतन्त्रको आभास झुपडीसम्म पुग्नुपर्ने बताउनु भएको छ । रामेछाप पोष्टसँग कुराकानी गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । भट्टराईले नेपालको परिवर्तनका खातिर भएको आन्दोलनमा भएको त्याग र बलिदानमा तल्लो तहका जनताबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गणतन्त्र प्राप्तिको आभास झुपडीमा बस्ने जनतासम्म पुग्नुपर्ने बताउनु भयो ।
भट्टराईले एक प्रसङ्गमा रामेछाप जिल्ला, नेपालको बाम आन्दोलनको मूहान भएको समेत बताउनु भयो । उहाँले रामेछापलाई क. पुष्पलालको जन्मस्थल, चतुरमान सुनुवार, रिपुमर्दन अधिकारी, नारायणबाबु श्रेष्ठ, धनीराम तामाङ, इन्द्रप्रसाद ढुंगेल, पद्मशंकर अधिकारी, रुद्रप्रसाद ढुंगेलजस्ता ००७ सालकै क्रान्तिका वाम प्रजातान्त्रिक हस्तीहरु रहेको जिल्लाको रुपमा समेत हेर्नुपर्ने बताउँदै पछिल्लो समयमा पनि रामेछापका युवाहरुले अनुकरणीय काम गरिरहेको र यस्ता कामबाट ७७ वटै जिल्लाका युवाहरुलाई मार्गदर्शन गर्न सहयोग पुग्ने बताउनु भयो ।
भट्टराईले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि नेपालको वामपन्थी आन्दोलनले नयाँ उचाई प्राप्त गरेको, अब यो एकता अझ बृहत बनाउँदै मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुक्छे, नेत्रविक्रम चन्दलगायतको नेतृत्वमा रहेका अन्य वामपन्थी शक्तिहरुसँग पनि एकीकरण गर्नुपर्ने त्यसले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई बृहत एकीकरण र ध्रुवीकरण गर्नसक्ने बताउनु भयो । उहाँले अर्को एक प्रसङ्गमा नेपालका कम्युनिष्टहरु गुटगट मानसिकताबाट ग्रस्त भएको, त्यसलाई तोड्न आवश्यक रहेको समेत बताउनु भयो । उहाँले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणका सन्दर्भमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफू निकटकालाई बढी जिम्मेवारी दिन सुरुवात गरेकाले पार्टीभित्र गुटको गन्ध आउन थालेको बताउनु भएको छ । यस्तो भयो भने एमाले र माओवादीको एकताले सार्थकता नपाउने, अन्य वामपन्थी शक्तिहरुबीच पनि एकता गर्न कठिन हुने भन्दै निश्चित मापदण्ड अपनाएर नीति, विधिका आधारमा विधान बमोजिम जिम्मेवारी बाँडफाँड गर्ने हो भने एकीकरण प्रक्रियाले स्थायित्व पाउने समेत भट्टराईले बताउनु भयो ।
भट्टराईले समाजवादका जति ठूला कुरा गरेपनि उत्पादन प्रणालीसँग जोडिएन भने त्यसले कुनै समाजवाद प्राप्त हुँदैन । दुई तिहाई प्राप्त वर्तमान सरकारले कृषि र उर्जा क्षेत्रको विकासका लागि तत्काल बजेट विनियोजन गरेर उत्पादन बृद्धि गर्ने कार्यमा लाग्न सकेमात्रै समाजवादको यात्रा सुरु हुने र पुष्पलालले देखेको सपना पूरा हुने बताउनु भयो ।
भट्टराईसँग गरिएको विस्तृत कुराकानी :
समृद्धिको कुरा गर्ने नेताहरु गुटपरस्त हुनुभएन
लोककृष्ण भट्टराई
बरिष्ठ वामपन्थी नेता
यहाँ नेपालको बरिष्ठ वाम नेता हुनुहुन्छ । नेपालको बाम आन्दोलनबारे बताइदिनुहोस न ?
रामेछाप जिल्ला, नेपालको बाम आन्दोलनको मूहान हो । क. पुष्पलालको जन्मस्थल, चतुरमान सुनुवार, रिपुमर्दन अधिकारी, नारायणबाबु श्रेष्ठ, धनीराम तामाङ, इन्द्रप्रसाद ढुंगेल, पद्मशंकर अधिकारी, रुद्रप्रसाद ढुंगेलजस्ता ००७ सालकै क्रान्तिका वाम प्रजातान्त्रिक हस्तीहरु रहेको जिल्लाले नै नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व गरेको छ भन्दा फरक पर्दैन । हालै रामेछापकै उत्साही वाम युवाहरु देवशंकर पौडेल, श्रीहरि श्रेष्ठ, किरण मोक्तान, लगायत धेरै युवाहरुले नेपालकै इतिहास समेटिनेगरी वामप्रजातान्त्रिक आन्दोलनको सिद्धान्तकार माक्र्सवादको नेपाली माटोमा पहिलो प्रयोगकर्ता नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल सहिदहरु कृष्णलाल र गंगालाल सहित समेटिएको बृत्तचित्र (फिल्म) निर्माणमा पहल गरेबाट रामेछाप जिल्ला देशका ७७ जिल्लाभन्दा चेतनशील जिल्ला भएको प्रमाणित हुन्छ । कम्युनिष्ट आन्दोलन आज एकीकरणको अभियानमा छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । अब बाँकी समूहहरु वैद्य समूह, विप्लव समूह, नेमकिपा (विजुक्छे समूह), मोहनविक्रम समूह, ऋषि कट्टेल समूह र माक्र्सवादी धारका दुईवटा समूह समेतलाई मिलाउने र भ्रष्टाचार विरोधी आन्दोलन, उत्पादन आन्दोलन न्यायोचित वितरणको आन्दोलन, नेपाली जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार दिनेजस्ता जिम्मेवारी अब हालका नेकपाका नेताहरु विशेषगरी केपी ओली र पुष्पकमल दाहालको काँधमा आएको छ । साथै लोकतान्त्रिक आन्दोलनको सहयोगी नेपाली कांग्रेसलाई पनि साथमा लिएर नेपालको समृद्धि, उन्नति गर्ने अभिभारा पनि यो सरकार र सत्तारुढ पार्टीको छ ।
केही समय अघि मात्रै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु मिलेर नेकपा बने, तर त्यो पार्टी एकीकरण प्रक्रियाले मूर्त रुप नलिँदै आन्तरिक द्वन्द्वमा फसेको भन्ने पनि छ नि ?
यो कुरा केही हदसम्म आएको छ । त्याग गरेका, हिजो एकीकरणका पक्षपाती धेरै मानिसहरुलाई नेतृत्वमा नराखेर गुटका आधारमा ओठ निचोर्दा दूध आउने मानिसहरुलाई नेतृत्वमा राखेर बनेको कमिटी छ । त्यसमा पनि हाल प्रदेश, जिल्ला, स्थानीय तहमा एकीकरण गर्दा प्रदेशको एकीकरण र कमिटी निर्माणमा गुटको गन्ध आएको छ । यो राम्रो भएन । अब निश्चित मापदण्ड अपनाएर नीति, विधिका आधारमा विधान बमोजिम स्थायी समितिले निर्णय गर्नेगरी जिल्ला र स्थानीय निकायको एकीकरण गर्नु राम्रो हुन्थ्यो । यो प्रदेशको निर्माण पनि पुनः दोहो¥याएर सबै नेताहरु बसेर निर्माण गरे बढी लोकतान्त्रिक हुन्थ्यो । त्यसो हुन सकेन भने फेरि हृदयदेखि नै एकीकरण हुन्न र फुट हुनपनि सक्छ । यसलाई सचिवालयमा बस्ने सबै र विशेषगरी दुईजना अध्यक्षले बढी गम्भीर हुनुप¥यो । गलत भएकोमा सुधार हुनुप¥यो । त्याग गरेका, इमेज भएका, इतिहास भएका र जनतामा लोकप्रिय मानिसहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरेमात्र कम्युनिष्ट आन्दोलन अघि बढ्छ । राष्ट्रको समृद्धि र कायापलट विकासका लागि नेता गुटपरस्त हुनुभएन । नेताको दिमाग सबैलाई समेटने खालको हुनुप¥यो ।
हामी एकातिर सबै कम्युष्निट पार्टी एकीकरणको कुरा गर्छौ, अर्कातिर एउटा कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई देशैभरि धरपकड गर्ने पक्राउ गर्ने क्रम पनि तीव्र पारिएको छ, साथै एकीकरण भएकै पार्टीमा पनि पदीय बाँडफाँडमा असन्तुष्टि बढ्दै जाँदा यसले कस्तो परिणाम देला त ?
पहिलो कुरा त विप्लव समुहलाई मूलधारमा ल्याउनै पर्छ । उहाँका नेता कार्यकर्ताहरु पक्राउ गर्नु धेरै ठूलो भूल भयो । यसलाई सच्याएर विप्लवजीसँग घनिभूत वार्ता गरी शान्तिपूर्ण जनआन्दोलनको बाटोमा ल्याउनु पर्छ । एकीकृत पार्टीमा भएको पदीय बाँडफाँडको गुटगत भागबन्डालाई तुरुन्त सच्याउनु पर्छ । इमेज भएका राम्रा मान्छेलाई जिम्मेवारी दिनुपर्छ । र सरकारले जनताको मन छुने कार्यक्रम ल्याउनु प¥यो । यो अहिलेको युवालाई विदेश निर्यात गरेर रेमिट्यान्स भित्र्याई जागिर खाने प्रवृत्तिको अर्थतन्त्रलाई खत्तम गरेर कृषि, उर्जा र उद्योगमा बढीभन्दा बढी बजेट राखेको अर्थतन्त्रलाई बहाली गर्नुपर्छ । जसरी मनमोहन अधिकारीको सरकारले जनताका मनछुने कार्यक्रम ल्याएर आज कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय बनाउन मद्दत पु¥याउनु भएको थियो, त्यस्तै खालको कार्यक्रमहरु ओलीजीले किन नल्याउने ? जस्तै चुनावी घोषणापत्रमा भएको पाँच हजार बृद्धभत्ता दिने कुरा, कूल बजेटको घटीमा १५ प्रतिशत कृषिमा र १५ देखि १७ प्रतिशत उर्जामा लगानी गर्ने कुरालाई विर्सिएर पूरानै कांग्रेसी परम्पराको बजेट ल्याएपछि कसरी लोकप्रिय हुन्छ कम्युनिष्ट पार्टी ? यो गम्भीर प्रश्नको हल पार्टीका नेताहरुले गर्नुप¥यो । आगामी बजेटमा कृषि र उर्जामा सबैभन्दा बढी बजेट छुट्याएर उत्पादन आन्दोलनको महिम छेड्नुप¥यो । त्यसका लागि हामीले ‘अष्ट ज’ अभियान नेपाल (जल, जमिन, जनावर, जराजुरी, जडिबुटी, जंगल, जनशक्ति, जलवायू) नामक उत्पादन अभियान सुरु गरेका छौं । यो लाइनमा दलहरु र सरकार आउनु प¥यो । अब युवाहरुलाई मलेसिया, कतार, दुवई, साउदी अरेविया पठाउन छाड्नुप¥यो । यहीँ कृषिमा बजेट विनियोजन गरेर ती युवाहरुलाई कृषि उत्पादन, पशुपालन, जडिबुटी खेती खाद्यान्न उत्पादन मत्स्य पालन, फलफूल खेती, वनजंगल अभियान जस्ता कुराहरुमा लगाउनु प¥यो । अनिमात्र कम्युनिष्ट पार्टी स्थापना भएको र यसले जनतामा बाँडेको सपना पूरा हुन्छ । समृद्ध नेपाल निर्माण हुन्छ । कमरेड पुष्पलाल, लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलनका शान्तिपूर्ण सशस्त्र आन्दोलनका सहिदहरुको सपना पूरा हुन्छ । अन्यथा हामी उही सामन्ती चिन्तनमा रुमल्यिऔं, ठूलो नेता र सानो कार्यकर्ता भन्ने व्यवहार प्रदर्शन गर्न थाल्यौं भने जनताले पत्याएको यो ८० प्रतिशत कम्युनिष्ट पार्टीप्रतिको सहानुभूति धराशायी हुन सक्छ । त्यसैले हामी सबैले गम्भीर भएर सोचौं ।
तर यहाँले भनेजस्तो तत्कालीन अल्पमतको मनमोहन सरकारले गरेको जनपक्षीय काम दुई तिहाई बहुमत भएको वर्तमान सरकारले त जनताको मनछुने कुनै पनि कार्यक्रम ल्याउन सकेन त ? यसलाई के ले छेक्यो ?
केपी ओलीजी बोल्ड मान्छे हो । अघिल्लो पाली सरकार बनाउँदा उहाँले भारतीय नाकावन्दीको विरुद्धमा लिएको स्ट्यान्ड राम्रो थियो । र जनताको कार्यक्रम पनि ल्याउन खोज्नुभएको थियो । तर, सहयोगी वाम शक्तिले साथ दिएन । अहिले पार्टी एकीकरण नै गर्नेगरी एकता भएर दुई तिहाई बहुमतको सरकार छ, त्यसमा पनि मधेसवादी दल उपेन्द्र यादव वामपन्थी नै हुनुहुन्छ । के ले रोक्यो म पनि अचम्मित भएको छु । मैले त भेटेको त छैन तर, विभिन्न पत्रपत्रिकामा लेखेर तत्काल बजेट जे जस्तो भएपनि क्याविनेटले निर्णय गरेर अहिले कृषिमा १.९ प्रतिशत बजेट छ, त्यसलाई एकै पटक बजेटको १५ प्रतिशत बढाएर १६.९ गराउन म अनुरोध गर्दछु । त्यस्तै उर्जामा ४.५ छ त्यसलाई १५ प्रतिशत थपेर १९.५ बजेट विनियोजन गरी कर्णाली, बुढीगण्डकी, तामाकोशी, दूधकोशी, सुनकोशीजस्ता योजनाहरु जनताबाट सेयर उठाएर आफैंले निर्माण गर्ने, कुनै राष्ट्रको पैसा आवश्यक छैन भन्ने वातावरण सिर्जना गर्न केपी जी, पुष्पकमल जी र सबै नेताहरुलाई म अनुरोध गर्न चाहन्छु । जस्तै नेपाली ३ करोड जनता प्रवासी नेपाली २ करोड गरी विश्वमा ५ करोड नेपाली छन्, प्रत्येक नेपालीले नेपालको उर्जा विकासका निम्ति उर्जा विकास कम्पनी खोलेर कम्तीमा ५० हजारको सेयर आब्हान गर्ने हो भने २५ खबर रुपैयाँ हुन्छ । २५ खबर रुपैयाँले २५ हजार मेघावाट विद्युत उत्पादन पाँच वर्षमा गर्न सकिन्छ । र तत्काल क्याविनेटले निर्णय गरी नेपालको जलविद्युत उर्जा विकास कम्पनी कानुन संसदमा ल्याउने र त्यसलाई पारित गरेर सेयरको निम्ति प्रधानमन्त्रीले संसदमा रहेका सबै दलहरुलाई साक्षी राखेर नेपाली जातिका लागि आब्हान गर्ने र भन्ने यो शिव, जनक, विश्वामित्र, बाल्मिकी, गौतम, भृगु, बेदव्यास, र बुद्धको देश पृथ्वीनारायण शाह, विशे नगर्ची, बहादुर शाह, वीर भक्ति थापा, अमरसिंह थापा, भिमसेन थापा, देवशम्शेर, टंकप्रसाद आचार्य, वीपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी, गणेशमान सिंह र मदन भण्डारी समेतको देश भएको र लोकतन्त्र र समाजवादका लागि जनआन्दोलन र जनयुद्धमा हजारौं सहिदले बलिदान गरेको देश भएकाले सेयरबाट पुँजी निर्माण गरी त्यो पँुजीले देशको अथाह उर्जा निकाल्ने आब्हान गरेका छौं भनेर प्रधानमन्त्रीले आब्हान गर्ने हो भने सजिलै दुई वर्षमा २५ खरब रुपैयाँ उठछ । २५ हजार मेघावाट विद्युत उत्पादन भयो भने ७७ वटै जिल्लामा मानिसको यातायातको लागि केवलकार, सामान ढुवानीका लागि रोपवे निर्माण गर्न सकिन्छ । अनि हाम्रो भूगोल, हाम्रो जमिनमा डोजर आतंक लगाएर पहिरो जाने, वस्ती धारासायी हुने रोगको नियन्त्रण हुन्छ । हाम्रा ती गुफाहरुमा ती जंगलका बीचमा भएका चराचुरुंगी र मयूर नाँचदेखि जनावरको अथाह प्राकृतिक दृश्य हेर्न संसारका मानिस यहाँ ओइरिन्छन् । दस वर्षमा यो देश संसारको स्वर्ग हुन्छ । यस्ता कुरामा ध्यान नदिएर विदेशीहरुसँग हात पसार्ने, जुन पञ्चायती शैली हो । त्यही शैलीलाई पछ्याउन छाड्नु पर्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव क. पुष्पलालबारे यहाँ निकै जानकार हुनुहुन्छ । सामान्यभन्दा सामान्य नेपाली जनतालाई पनि क. पुष्पलालबारे सकिट कुरा बताइदिनुहोस न ?
कमरेड पुष्पलाल नेपालको ठूलो दार्शनिक, राजनीतिज्ञ र नेपाली जनताको मर्म बुझेको नेपाली समाजको अन्तरविरोध बुझेको नेता हुनुहुन्थ्यो । जसले बनाएको दर्शन, रणनीति, कार्यनीतिबाट २४० वर्षको राजतन्त्र ढलेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । यो उहाँकै लाइन हो । र त्यसैले अहिले नेपाली समाजले यहाँका पार्टीहरु कम्युनिष्टहरु र कांग्रेसले पनि कमरेड पुष्पलालको थेसिस अनुसार गणतन्त्र आएको कुरा स्वीकार गरिसकेका छन् । अब यो गणतन्त्रको आभास रामेछाप, सोलुखुम्ब, ओखलढुंगा, सप्तरी सिराहा, रौतहट, जुम्ला, हुम्ला, बझाङ, बाजुरा, बैतडी कञ्चनपुरको गरिवको झुपडी–भुपडीमा पुग्नुप¥यो । कमरेड पुष्पलालले भन्नुभएको छ ‘लाखौलाख झुपडीको एकता नेपाली राष्ट्रियता हो । तिनको आर्थिक, राजनीतिक र सांस्कृतिक हक र हितको रक्षा जनवाद हो’ अब उहाँको यही लाइन अनुसार नेपालमा हामी सबै मिलेर आर्थिक क्रान्ति गर्नु प¥यो । उत्पादन आन्दोलन गर्नुप¥यो । दलाल पुँजीपतिमा आधारित अर्थ व्यवस्थालाई नष्ट गरेर सबै गरिवलाई उठाउने खालको समाजवादी अर्थ व्यवस्थाको निर्माण गर्नुप¥यो । त्यसतर्फ संसदमा रहेका सबै दलहरु सबै पार्टीका नेता, कार्यकर्ताहरु सबै बुद्धिजीवीहरु आम किसान मजदुरहरु लाग्नु प¥यो । एउटा महिम अभियान छेड्नुप¥यो । विशेषगरी नेपालमा किसान आन्दोलन भएको छैन, किसान आन्दोलनलाई उठाएर उत्पादन र न्यायोचित वितरणको आन्दोलनको उभार ल्याउनु प¥यो । यही नै कमरेड पुष्पलालको भनाई हो । यसरी नै हाम्रा श्रद्धेय नेताहरुको, उहाँका दिवगंत चेलाहरु, मनमोहन अधिकारी, निर्मल लामा, जयगोविन्द साह, हरिहर यादव, दुःखीलाल चौधरी, रामप्रसाद राई, एकदेव आलेमगर, रमानाथ पासवानदेखि मदन भन्डारीहरु जस्ता नेताहरु र सहिदहरुको सपना पूरा गर्ने लक्ष्य हालको सत्तारुढ पार्टी नेकपा र विपक्षमा रहेका अरु नेकपा र नेपाली कांग्रेसले पनि लागू गर्नुपर्छ । अनि ५४ वर्षको उमेरमा मुटुको व्याथाबाट प्रवासमा मृत्यु भएका कमरेड पुष्पलालको सपना साकार हुनेछ । मृत्युको अन्तिम अवस्थामा कमरेड पुष्पलालले भन्नुभएको थियो ‘जनता चेतनशील हुनुपर्छ । कार्यकर्ता संगठित हुनुपर्छ, सामाजिक क्रान्ति अवंश्यमभावी छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन ।’