बाटो हिंड्दा हिंड्दै एउटा ढुङ्गामा चन्दन लागेको देख्यौं भने हामी त्यो ढुङ्गालाई ढोगेर नै हिंड्छौं र उस्तै परे हामी फूल वा पैसा नै चढाएर हिंड्छौं। एउटा रुद्राक्षको दानो बाटोमा भेट्यौं भने बोकेर हिंड्छौं वा नकुल्ची हिंड्छौं। यदि हाम्रो दिमाग ठिक छ भने जतिसुकै रिस उठे पनि हामी मन्दिर वा गुम्बा अनि मस्जिद र चर्चमा गएर जथाभावी थुक्दैनौं ,लात्तीले मूर्तिलाई हान्दैनौं र झुट पनि बोल्दैनौं ।किनकि हामीलाई लोकले यही अनुशासन सिकाएको छ। मानवीय सभ्यतादेखि नै यी कुराहरु हस्तान्तरित हँुदै आए । धर्म भनेको मान्छेलाई अनुशासनमा राख्ने सबैभन्दा कडा र व्यावहारिक कानुन हो जसलाई जो कसैले मान्छन् । संसारमा कोही पनि मान्छे नास्तिक छैन।आस्थाका सवालमा कोही धेरै थोरै पाइएलान् तर शुद्ध नास्तिक भने पाइँदैनन्। मूर्ति पूजा गर्नु मात्र आस्तिकता हैन। लोकको भावनालाई स्वीकार्नु अनि विश्वास गर्नु पनि आस्तिकता हो।
संसारमा सबैभन्दा शक्तिशाली शासन भनेको लोकको शासन हो। सबैभन्दा आकर्षक कला पनि लोक कला हो । मन्त्रमुग्ध विश्वास भनेको लोकविश्वास हो। गहिरो चिन्तन पनि लोक चिन्तन हो जुन सर्वहितमा केन्द्रित र लोकजीवनमा निहित हुन्छ। सबैभन्दा मिठो लाग्ने शैली पनि लोकशैली हो।
हामी परिवारलाई मान्छौं। समाजलाई मान्छौं।समुदायलाई मान्छौं। अनि समाजका मूल्य र मान्यतालाई मान्छौं। वास्तवमा यी सबै कुरा लोकका समुच्चय हुन्। यसको मतलब के हो भने हामी समुदाय वा लोकभन्दा टाढा हुन सक्दैनौं। हामी आफ्नो वास्तविक परिचय नै लोकमा पाउँछौं। केही न केही सचेतना हामीलाई लोकले दिएको छ। र त हामी शुभकार्य गर्न खोज्छौं। शुभसाइत खोज्छौं । शुभदिन र शुभचिन्तन खोज्छौं।लोक वा जनविश्वासका आधारमा हामी त्यसलाई कुनै तर्क नगरी स्वीकार्छौं र जीवनपद्दति बनाउँछौं।
कसैले रीतिथिति वा रहनसहनलाई संस्कार वा संस्कृतिको नाम दिन्छन त कसैले मानवनिर्मित सांस्कारिक सम्पत्ति ठान्छन्। संस्कार मान्नु भनेको धर्म मान्नु भनेको होइन। आफूलाई नबिर्सनु भनेको हो। एउटा परिवारको सुरुवात हाडनाताको सम्पर्कबाट भएको कुरा समाजशास्त्रीहरुले स्वीकारेका त छन तर यही लोकले बिस्तारै बिस्तारै भिन्न भिन्न परिवार जो कम्तिमा ७ पुुस्ता वारपार दोहोरो सम्बन्ध कटेको हुनुपर्ने नियम बनायो र फलतः हामी अधिकांश त्यसैमा अभ्यस्त भयौं र सभ्य बन्यौं। हाम्रो सुरुवात पनि त्यही बर्बर युगबाट भयो जहाँ आविष्कार ,लिपि अनि लेखनको पद्दति सुरु भएको थ्यो र हामी मान्छे आजको बेलामा आइपुग्ने आधार बनेको थियो।
जुनसुकै धर्मले मान्ने एउटै भगवान हो । नाम फरक होला तर आस्था अपेक्षा सबै हाम्रा समान हुन्छन्। प्रकृति समान हुन्छ।विश्वास समान हुन्छ । तरिका फरक होला तर व्यवहार र प्राप्ति समान हुन्छ। पीडा र क्रन्दन समान हुन्छन । दुःख र सुखको प्रकृति समान हुन्छ केवल मात्रा फरक हुन्छ । सुविधा फरक फरक होला तर सन्तुष्टि समान हुनसक्छ। त्यसैले हामी मान्छे हौं । हाम्रो धर्म पनि मान्छेजस्तै बन्नुपर्छ।मान्छे जेमा खुसी हन्छ ,त्यही खुसीलाई स्वीकार्नुपर्छ।
हामी नेपाली जम्मा १२६ जातिका छौं।हरेकका आआफ्ना मान्यता छन्। आस्था छन्।सपना होलान्। शैली होलान्। परिचय भिन्न होला। पेसा र प्रवृत्ति भिन्न होला । जीवनशैली भिन्न होला। तर पनि भावना समान छ। सभ्यता समान छ। स्वाभिमान समान छ। संस्कार र संस्कृति समान छन्।एकता समान छ। अनि त राष्ट्रियता दह्रो छ। दृष्टिकोण मजबुत छ। शिर उच्च छ।साहसको छाती बिशाल छ। वीरताको आवाज बुलन्द छ। आकारमा साना छौं हामी तर स्वाभिमान ,संस्कृति र राष्ट्रभाव अनि सङ्कल्पमा अरुकै समकक्षी छौं।
संस्कृतिका सवालमा बोल्ने हो भने हामी यति बिशाल ढङ्गले विश्वजगत्मा प्रस्तुत हुन सक्छौं कि संसारमा कोही पनि हाम्रो जत्तिको सांस्कृतिक आयाममा आउन सक्दैन।संस्कृतिको गरिमामा छाउन पनि सक्दैन। छुट्टाछुट्टै संस्कृतिको भाषा बोल्न सक्दैन। भेषभूषामा अलङ्कृत हुन सक्दैन। शैलीमा विविधता थप्न सक्दैन।तर हामी नेपाली सक्छौं किनकि हामीसँग एउटा अतुलनीय साझातत्व छ। सामान्यीकृत स्वभाव र जीवनशैली छ।आपसी मेलमिलाप र सद्भावको बर्चश्व छ। हम्रामा तराईमा बाढी आए पहाडले छेक्ने संस्कार छ,हिमालमा जाडो बढे तराईले सेक्ने परम्परा छ,पहाडमा पहिरो गए बेंसीको जमीनले रोक्ने धर्म छ। त्यसैले त हामी राष्ट्रलाई ४ वर्ण ३६ जातको साझा फूलबारीका रुपमा आत्मसात् गर्छौं । हामी चाहे तागाधारी हौं चाहे मगराती वा चाहे मङ्गोलका पक्षपाती हौं चाहे दलितका परिचायक , जोसुकै भएपनि हामीले सामान्यीकृत भई नेपालीत्व देखाउँछौं।पूर्वको चण्डी ननाच्ने त्यहाँको मान्छे को होला र ? पश्चिमको देउडा र राइझुमा नगाउने को होला र । सोल्टी र सोल्टीनीको गीतमा रमाउँदै धान ननाच्ने को होला र? देउसी भैलो र सङ्गीनीमा नरमाउने को होला र? लामाको सेलो बज्नेबित्तिकै ननाच्ने को होला र? कौरा नाचेर रात कटाउन मन नपराउने को होला र? सालैज्यूको भाका हालेर गीत गाउँदै मेलापात नधाउने को होला र? किनकि हामी सबै नेपालीहरुमा सामान्यीकृत जीवनशैली छ र त्यो नै नेपालीहरुको सुन्दर संस्कार हो।
संस्कार वा संस्कृतिको सङ्ख्या नै धेरै भएपछि यहाँका चाडपर्वहरु धेरै हुनु कुनै नौलो कुरो होइन।हरेक महिना वा जातिअनुरुप चाडपर्व मानिनु नेपालका लागि सुन्दर पक्ष हो। नेपालका केही चाडपर्वहरु साझा छन्। जसलाई सबैले मनाउँछन्। सबैले मन पराउँछन्। हरेक नेपालीमा उमङ्ग ल्याउने यस्ता चाडहरुले विशेष महत्व राख्छन्। केही जातिविशेष चाडले विशिष्ट महत्व राख्छन भने साझा ठानिएका चाडहरुले सामान्य वा साधारण महत्व राख्छन्। सामान्य भनेको नगण्य भनेको होइन। सबैको साझा महत्व भनिएको हो।चाडपर्व मनाउँदा मात्र यसको महत्व बढ्छ। गरिमा हुर्किन्छ । मूल्य र मान्यताले अनुशासन सिकाउँछन्।किनकि हामीलाई अनुशासन चाहिएको छ।केही स्खखित अनुशासनका कारण दिनप्रतिदिन बलात्कार, अपहरण, गुण्डागर्दी, भ्रष्टाचार, व्यभिचार जस्ता घटनाहरु घटिरहेका छन्। यदि त्यहाँ अलिकति मात्र धर्मको याद आएको थ्यो भने मान्छे नैतिक बन्धनमा पथ्र्यो। नैतिकता र प्रतिष्ठाको हेक्का आएको थ्यो भने इमान्दारिता र इज्जतको डोरीले कसिन्थ्यो । परोपकार र मानवताको दायरा बढ्थ्यो। तर धर्म पनि नमान्ने अनि लोकको विश्वास पनि नगर्ने कारणले विकास,सभ्यता,सूचना तथा समृद्धिको पनि मजबुत अपेक्षा पूरा हुन सक्दैन।
“काम गरे माम खान पाइन्छ”, “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर”, “अल्छे तिघ्रो स्वादे जिब्रो”, “कि आफूले जान्नु कि भनेको मान्नु,” “काम गर्ने कालु मकै खाने भालु”, जस्ता लोक उखान तथा उक्तिहरु बिल्कुलै नेपाली लोकजीवन,संस्कार र जीवनको मूल्यसँग सम्बन्धित छन्। जसलाई आत्मसात् गर्ने हो भने हरेक व्यक्तिको जीवन समृद्धतिर उन्मख हन्छ।किनकि ती उखानहरुले संस्कार र कार्य संस्कृतिलाई बोकेका छन्।हामी नेपालीको साझा समस्या पनि इमान्दारिता र नैतिकता हो। काम नगर्ने अनि गफ ठूलाठूला गर्ने प्रवृत्तिका कारण नेपाल पछि परेको कुरामा कुनै शङ्का छैन। हाम्रो यस्तै स्वभाव भएकाले हामीलाई पछि पारिएको हो। हाम्रो माइन्ड(दिमाग)भन्दा बढी मुख चन्छ हरेक क्षेत्रमा।त्यही भएर व्यक्तित्व विकास हुन सक्दैन। अब यहाँ नैतिक अनुशासन चाहिन्छ, जसको अबलम्बन सबैले गरुन्। अनुकरण सबैले. गरुन्।नैतिक अनुशासन भएमा अधिकांश विकृतिहरु घटेर जान्छन्।नैतिक अनुशासनको एउटा पाटो भनेको आध्यात्मिकता हो। धार्मिकता हो। सांस्कृतिकता र सामाजिकता हो। लोकको इमान्दारितापूर्वक विश्वास र चिन्ता गर्नु नैतिक रुपमा अनुशासित हुनु हो। हामीले धर्मलाई पनि मानेनौं र लोकलाई पनि मानेनौं भने निश्चित रुपमा हाम्रो सभ्यता नै हराएर जान्छ। किनकि हाम्रो सभ्यताको सुरुवात त्यही लोक र धर्मबाट भएको थियो।
आउनै लागेको दर्शै र तिहारको पनि कुरो गरौं। यी चाडहरु भनेका आदिम चाडहरु हुन।यिनीहरु सामान्यअवस्थामा मनाइन्छन्।यसको मतलब जानेर होस् वा नजानेर, मानेर होस् वा नमानेर, बुझेर होस् वा नबुझेर सबै समुदायले मनाउँछन्। कसैले आंशिकतः कसैले पूर्णतः यसलाई विशेष चाड मान्छन्। नेपालका कुनै पनि वर्ग वा समुदाय यी चाडहरुबाट मुक्त छैनन्। क्ेही न केही रुपमा दशैं वा तिहारको रौनक उनीहरुका घरमा पुगेकै हुन्छ। चाहे त्यो किनमेलका नामले होस् ,चाहे त्यो खानपिनका नामले होस् वा चाहे त्यो भेटघाटका नामले होस् वा चाहे त्यो घुमघामका नामले होस् केही न केही ढङ्गले मनाइन्छन्।अन्य केही पर्व पनि सामान्य अवस्थामा मनाइने गरिन्छ नेपालमा ।जस्तैः भ्यालेन्टाइन डे, क्रिस्टमस,ल्होसार,होली, शिवरात्री , फादर्स डे, बुद्ध जयन्ती,तीज तथा नयाँ वर्ष आदि। यस्ता चाडपर्वहरु मान्न पनि लोकले सिकाएको हो । कुन चाड कसरी मनाउने भन्ने कुरा लोकले निर्धारण गरिसकेको छ र त्यसैअनुसार हामी मनाउँछौं। हामीलाई यस्ता चाडपर्वहरुले खान सिकाउँछन्। बोल्न सिकाउँछन्। लुगा लगाउन सिकाउँछन्।एकापसमा आदर र सम्मान गर्न सिकाउँछन्।
आफ्ना कुरा प्रभावकारी रुपमा व्यक्त गर्न सिकाउँछन्।मान्छेपिच्छे व्यवहार गर्न सिकाउँछन्। समय र ठाउँअनुसार व्यवह्ृत हुन सिकाउँछन्।कसैलाई बचत गर्न सिकाउँछन्।कर्सलाई खर्च गर्न सिकाउँछन्। कसैलाई फेसन गर्न सिकाउँछन् त कसैलाई फेसन बनाउन सिकाउँछन्।कसैलाई खुसी हुन सिकाउँछन् त कसैलाई दुःख र सुखलाई बुझ्न सिकाउँछन्।अनि हामीलाई जिम्मेवार हुन सिकाउँछन्।कर्तव्यनिष्ठ भई इमान्दार हुन सिकाउँछन्।त्यसपछि हामी सबै नैतिक अनुशासनमा बाँधिन्छौं।किनकि हामीले हाम्रो लोकबाट यिनै कुराहरु सिकेका छौं।हम्रो परम्परा विल्कुलै व्यवस्थित रहेछ। मार्गदर्शक रहेछ। अनुशासित रहेछ। तर हामी हरेकले धर्म र संस्कारलाई बेवास्ता गर्नाले धरै आपराधिक घटनाहरु घट्न थाले।मानमर्यादाका कुराहरु ओझेलमा परे।अझै आआफ्ना लोक र संस्कारका मूल्य र मान्यतालाई बेवास्ता गर्ने हो भने अझै ठूलठूला घटना,हत्या, हिंसा ,द्वन्द्व तथा विपत्तिहरु आउन सक्छन्। सम्बन्धहरु नासिन सक्छन्। विश्वासहरु टुट्न सक्छन्। परिवार नर नाता तथा आफन्तहरु मेटिन सक्छन् । किनकि आज नैतिकता बिर्सनेहरुले भोलि सबथोक नबिर्सेला भन्न सकिन्न। यसका लागि हामी हरेकले धर्मको महिमा र मूल्यअनुरुप जीवनपद्धति बनाउनु आवश्यक छ।लोकको मूल्य र विश्वासअनुरुप जिन्दगी चलाउनु पर्छ। समाज र यसको मान्यताअनुरुप व्यक्तित्व विकास गर्नुपर्छ। आफ्नो काम आफैं गर्ने संस्कारको विकास गर्नुपर्छ। कमचोर प्रवृतिको आजैबाट अन्त्य हुनुपर्छ ।खुट्टा तान्ने प्रवृत्ति हैन हातमा हात मिलाई सहकार्य नीतिअनुरुप अगि बढियो भने मात्रै हामी समृद्धिको दिशामा पुग्न सक्छौं। त्यसैले हामी आआफूमा विशिष्टीकृत नभै सामान्यीकृत भई समाजमा उत्रियौं भने हामी सबैको कल्याण हुन्छ।चाँडै समृद्धि प्राप्त हुन्छ।समाज तथा लोकको सपना साकार हुन्छ र हामी सबैजना सफल हुन्छौं।
शुभकामना