-देवशंकर पौडेल
रामेछाप जिल्लाले धेरै राष्ट्रिय व्यक्तित्वहरू जन्मायो । त्यसमध्ये अग्रपंक्तिमा मकैका खेतीका लेखक कृष्णलाल अधिकारी, राणा शासन विरोधी आन्दोलनका अमर सहिद गंगालाल श्रेष्ठ र नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव क.पुष्पलाल हुनुहुन्छ । हामी उहाँहरूलाई एकैचोटी पुकार्दा ‘तीनलाल’ भन्ने गर्छौ । हामी उहाँहरूको बृत्तचित्र तथ्यमा आधारित भएर निर्माण गर्न चाहन्छौं । यही क्रममा क्रमशः उहाँहरूको जीवनशैली र चरित्रको खोजी गर्न सुरु ग¥यौं ।
नेपालमा त्यसबेलासम्म कम्युनिष्ट पार्टी संगठित रुपमा थिएन, जहिलेसम्म पुष्पलालले नेकपाको गठन गर्नुभएन । नेपाली राजनीतिका शीर्षमानव क.पुष्पलाललाई त्यसबेला राम्रोसँग जानियो जुनबेला उहाँको जन्मभूमि रामेछापको भँगेरी, नेकपा गठन भएको घर कोलकाता (बागबजार÷श्यामबजार), मृत्यु भएको स्थान गोविन्दबल्लभ पन्त अस्पताल नयाँदिल्ली र जलाइएको चिता निगमबोध घाट यमुनातट दिल्लीसम्म पुगियो । क.पुष्पलालको अन्तिम संस्कारको समयमा सामेल हुनुभएका मदन भारती (पाल्पा), बृषबहादुर थापा (रोल्पा), चन्द्रपाल थापा (सुर्खेत) र खगराज न्यौपाने (स्याङ्जा) सँग भेट भएपछि उहाँलाई दाहसंस्कार गरिएकै बेदीमा फोटो राखेर सयौंजना प्रवासी नेपालीहरूको साथमा क.पुष्पलाललाई भावपूर्ण श्रद्धाञ्जली अर्पण ग¥यौं । वि.सं. २०१७ सालदेखि वि.सं.२०३५ सालसम्म निर्वासित भएर बस्नुभएको वाराणसीको दसपुत्र गल्लीस्थित घर, पटना, दरभङ्गा, वाराणसी, कोलकाता, सिलिगुढी, दार्जीलिङ, बाग्राकोटआदि ठाउँका उहाँका अनन्य मित्रहरू, उहाँका कम्युनिष्ट गुरु क.रत्नलाल ब्राह्मण ‘माइलाबाजे’ (दार्जीलिङ) का घरसम्म पुगेर उहाँका अवशेष, उहाँलाई सम्झिएर भावुक हुने उहाँका आत्मिय मित्रहरू जे–जे, जो–जो र जहाँ जहाँ भेट्यौं, ती हाम्रा लागि प्रेरणाका अमिट स्रोत बने ।
भारतीय नेताहरु क.सीताराम यचुरी, क.प्रकाश कारत, क.सुधाकर रेड्डी, क.कविता कृष्णन्, डिपी त्रिपाठी आदिले दक्षिण एसियाली राजनीतिमा क.पुष्पलालको योगदानको चर्चा गर्दै क.पुष्पलाल नेपाल र भारतमात्रै होइन उहाँ एसियाकै नेता भएको बताउनु हुँदा क.पुष्पलालको राजनीतिक दृष्टिकोण, सम्पर्क र आकर्षणको दूरी फराकिलो देखेर हामी मात्रै होइन दक्षिण एसियाली कम्युनिष्ट आन्दोलनकै अगुवा नेतृत्व भएकोमा गौरवान्वित भयौं ।
धन्य ती क.पुष्पलालका मित्र दिवङ्गत डा.विश्नाथ सिंहका परिवारले त्यसबेला पुष्पलालका लागि तयार गरिदिनुभएको १२ जना सुत्न मिल्ने एउटै खाट आजसम्म सुरक्षितसाथ तन्ना कँसेर राखिदिनुभएको पाउँदा हामी द्रवीभूत भयौं । त्यस्तै पट्नामा पनि डा. राजेन्द्रप्रसाद रामको परिवारले पनि उहाँले प्रयोग गर्नुभएका खाट पलङ्गहरू सुरक्षित राखिदिनु भएको रहेछ । वाराणसी, पटना, दरभङ्गा, कोलकाता जहाँ क.पुष्पलालले अध्ययन गर्नु भएका विभिन्न कलेजका पुस्तकालयहरू, पानी भर्ने इनार, उज्यालो खोज्दै लेख्ने पढ्ने गर्नु भएको दरभङ्गाको रेलवे स्टेसन (प्लेटफर्म), कोलकाताको धर्मतला, बागबजार, बालीगञ्ज, आदि ठाउँका नेपाली (दरवान, कुल्लीजस्ता घरेलु कामदार) हरू बस्ने अँध्यारा कोठा कोठा घुमेर उहाँका पदचापहरू पछ्याउँदै गयौं । जनताप्रति क.पुष्पलालको र क.पुष्पलालप्रति जनताको सम्बन्धका बारेमा गहिरिएर बुझ्ने कोशिस ग¥यौं ।
आर्थिक अभावले सख्खर र चिउरा, खाएर दिनरात कटाएको अवस्था, लाउन खानका लागि मितब्ययिता, लेख्ने कागजको अभावमा चुरोटका खोल, कार्टुनआदिमा नेपाली क्रान्तिका दस्तावेज लेख्नुपर्दाको दयनीय अवस्था, खानपिनमा अन्य पार्टी कमरेडसँग हार्दिकतापूर्ण प्राथमिकता हेर्दा उहाँको जीवन निस्वार्थ भावमा जनतमा समर्पित देखियो । यतिबेला हामी क.पुष्पलालका अनुयायीहरू मुलुककै नेतृत्व गरिरहेका छौं । क.पुष्पलालको कसीमा आजका हामीलाई हेर्दा गाडीको चुकुल अंगरक्षकले खोलिदिनु पर्ने, छाता पनि अर्कैले ओढाइ दिनु पर्ने । सुविधाका नीम्ति नीतिहिनताको साहारा लिंदै दलाल, नोकरशाही पुँजीपतिजस्ता दुष्टहरू जसलाई क.पुष्पलालले वर्गशत्रु ठान्नुभयो त्यसैको साहारा लिँदै गरेका, एक कमरेडले अर्को कमरेडलाई छिर्के हानिरहेका आजका हाम्रा लागि उहाँका ती दिनहरू प्रेरक बने ।
नेपालको निरंकुश पञ्चायती शासनलाई परास्त गर्न नेपालका कम्युनिष्ट र काँग्रेस मिलेर संयुक्त जनआन्दोलनको जरुरी औंल्याउनुहुने क.पुष्पलालको भनाई त्यसबेलाको काँग्रेसले मानेन । धेरैपछि २०४६ सालमा आएर काँग्रेस कम्युनिष्टको संयुक्त जनआन्दोलन, वि.सं. २०६२÷२०६३ को जनक्रान्तिको सफलताले नेपाली राजनीतिमा क.पुष्पलाल भौतिकरुपमै जीवितै हुनुभएको महसुस हुन्छ ।
मान्छेको जन्म, कृति र मृत्यु तीनवटा महत्वपूर्ण काम हुन्छन् । त्यसमध्ये उहाँको जन्म नेपालमा भयो । नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर महत्वपूर्ण कृति भारतीय भूमिमा स्थापित गर्नुभयो । निर्वासित अवस्थामा उहाँको मृत्यु भारतमै भयो । यसकारणले पनि हामी उहाँको सुक्ष्म अध्ययन गर्न चाहन्थ्यौं । क.पुष्पलाल वित्नुभएको ४० वर्ष भएपछि खोजीमा निस्किएछौं । स्वस्थानी कथाका पात्र नवराजले उनका पिता शिव शर्माको हाडखोड खोजेजस्तो । असाध्यै ढिलो भयो । ढिलै भए पनि जे जति पायौं, राम्रै उपलब्धि हासिल भएको छ । हाम्रो यात्रामा सारथी हुनुहुन्छ, पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष क.लोककृष्ण भट्टराई । उहाँको सम्बन्ध सम्पर्क हेर्दा स्वयं उहाँलाई पनि चिन्ने अवसर हामीहरूले पायौं । यस कामको हुट्हुटी लगाउनुहुने श्रीहरि श्रेष्ठ, किरण मोक्तानहरूको पहलकदमी नभएको भए सायद यो काम हुने थिएन । क.पुष्पलालका भारतीय मित्र डा.राजेन्द्र रामका छोरा प्रवीण रञ्जन र प्रताप रञ्जन, सावित्री भट्टराई, सन्दीप अर्याल, कवि कार्की, सचित राई, नारायण शर्मा, रामायण धमलाआदिको सहयोग अविस्मरणीय छ ।
हामीले धेरै सिक्यौं । जो व्यवहारमा उतार्न सकिएला नसकिएला । जस्ताको तस्तो वर्णन गर्न गाह्रो छ । यी सबै कुराले हामीलाई लाग्यो क.पुष्पलालको समर्पणभावको सामू उहाँका अनुयायी भनिएका हामीहरू ‘कम्युनिष्ट’ हौं भनेर भन्न पनि अप्ठ्यारो हुनेजस्तो महशुस भयो । क.लोककृष्ण भट्टराईबाहेक हाम्रो टोलीमा संलग्न कसैले पनि क.पुष्पलालसँग साक्षातकार गर्न पाएनौं । क.पुष्पलालबाट प्रशिक्षित भएका आजका कतिपय हाम्रा अग्रज नेताहरूको व्यवहार (आत्मा पूजन) हेर्दा उहाँहरू एक आपसमा भेटघाट हुँदा, पुष्पलालकालीन स्कुलिङ सम्झेर हृदयमा कत्तिको ज्वलन हुँदो हो भन्ने महसुस ग¥यौं । भारतीय कम्युनिष्ट पार्टीका नेता र पुष्पलाल कालीन नेताहरुको जीवन शैली हेर्दा कम्युनिष्ट आन्दोलनको उत्थानका खातिर सत्तारुढ नेपाली कम्युनिष्ट नेतृत्वले आफ्नो जीवन शैली जनभावनासँग मिल्नेगरी सच्चिनुको विकल्प देखिंदैन ।
हामी क.पुष्पलालकालिन नेपाली प्रजातान्त्रिक आन्दोलनका नेताहरू हिजो क.पुष्पलाललाई आलोचना गर्ने आजसम्म जिवित नेपाली नेताहरू यतिबेला आइपुग्दा आफूले क.पुष्पलाललाई गरेको आलोचना गलत भएको महसुस गर्दै पश्चाताप गरिरहनुभएको छ । क.पुष्पलालका विचारमा नै आजको नेपाल हिँडिरहेको अवस्था छ । दूरदर्शी क.पुष्पलालका दृष्टिकोण ठीक भएको देख्दा आफूले त्यतिबेला गरेको आलोचना गलत भएको ठहर गर्दै आत्मालोचना गर्दैगरेका भनाईहरू संग्रहित छन् । ढिलै भएपनि क.पुष्पलालको जीवनमा आधारित बृत्तचित्र सबैसामू पु¥याउन अब केही समय मात्र पर्खनुपर्ने छ ।