चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

घोषणापत्र दोहोरयाएर पढ्न ओलीलाई बामदेवको सुझाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २२, बिहीबार २२:२१

‘पार्टी एकता सुदृढ हुन्छ कि हुँदैन भन्ने कुरा सरकारको काममा भरपर्छ’
‘निर्वाचन लड्ने कुराबाट म ब्याक भएको छैन, तर मलाई सांसद बनाईदेउ भनेर माँग्न जान्न’
काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले भने,‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु । पत्रकारहरुलाई यो साझा घोषणापत्र लागु गर्न पनि दबाबमूलक कार्यक्रम ल्याउन यहीँबाट विशेष अनुरोध गर्दछु।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग खुलेर कुरा गरेका नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरु हर्न बाँकी रहेको सुनाए । उनले भने,‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होईन् ।’

उनले प्रधानमन्त्री ओलीले मात्रै नभए वर्तमान अर्थमन्त्रीले पनि साझा घोषणापत्रअनुसार आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । उनले थपे,‘निर्वाचनको बेला जारी भएको घोषणापत्र अब कार्यान्वयन हुनुपर्यो । नीति तथा कार्यक्रम पनि त्यहीअनुसार लागु हुनुपर्छ । बजेटपनि त्यही अनुसार आउनुपर्छ ।’

बरिष्ठ नेता माधव नेपाल र तपाईको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेर भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा गरेन भनेर गुनासो छ। त्यही कुरा भनेको हो । अरु त्यस्तो केही पनि होईन।’

उनले पटक/पटक निर्वाचनमा जारी गरेको साझा घोषणापत्र पार्टीका हरेक केन्द्रिय सदस्यहरु, स्थायी समिति सदस्यहरु र सचिवालय सदस्यहरुले पढ्नुपर्ने पनि दोहोर्याए ।

उनले भने,‘म फेरी दोहोर्याएर भन्छु, हामी सबैले अब घोषणापत्र पढ्नुपर्छ । प्रधानमन्त्री ओलीले त झनै दोहोर्याएर पढ्नुपर्यो । अध्यक्षदेखि पदाधिकारीले दोहोर्याएर पढ्नुपर्यो ।’ आफू र प्रधानमन्त्री ओलीबीच सम्बन्ध राम्रै रहेको पनि उनले जिकिर गरे । उनले थपे,‘हामीबीचको सम्बन्ध राम्रै छ।’

त्यस्तै उनले आफूले मलाई सांसद बनाउनुपर्यो भनेर कहिल्यैपनि पार्टीमा माग नराखेको स्पष्ट पारे । ‘मलाई सांसद बनाउनुपर्यो भनेर माग छैन । मलाई २ वटा अध्यक्षले तपाई प्रतिनिधि सभामा आउनुपर्छ भन्नुभयो । ओलीजीले मेरो सैद्धान्तिक अनुसार आउनुहुुन्न तर व्यवहारिक रुपमा आउनुपर्छ भन्नुभयो ।’

गौतमले पार्टीका केही केन्द्रिय सदस्यहरुले फेरी संसदमा आउने कुरालाई आदर्शविपरित भयो र पदलोलुपता देखायो भनेरसमेत आरोप लगाएको स्मरण गराए । उनले भने,‘मैले पदको लोभ देखाएँ भनेर पनि पार्टीका नेताहरुबाट कुरा आयो । म एक व्यक्ति हुँ । एउटा व्यक्ति जाने हो । अरु त के नै हो र ?’

उनले आफूलाई पूनः संसदमा ल्याउनको लागि पार्टीको सचिवालय बैठकले चुनाव लडाउने भनेर सर्वसम्मतीले निर्णय गरेको पनि दाबी गरे । उनले भने,‘अरु कुरा त उहाँहरुलाई सोध्दा थाहा हुन्छ । कतिसम्म गर्नुभएको हो भने निश्चित जित्ने निर्वाचन क्षेत्रमा तपाई जानुपर्छ भन्नुभएको हो । अनि निर्वाचित सदस्यले जिताउँछौं र जनताले पनि जिताउँछौं भन्नुभयो भने तपाई जानुपर्छ भनेर निर्णय भएको हो । यो फेरी सर्वसम्मत निर्णय भएको हो । सचिवालयमा सर्वसम्मती भएको हो । यसबारेमा कुनै विमति थिए । पछि विमति किन भयो मैले बुझ्न सकेको छैन् ।’

फरक प्रसँगमा उनले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सम्पन्न गरेर देखाईदिने पनि उद्धघोष गरे । उनले भने,‘तीन महिनाभित्र एकीकरण गरेर सम्पन्न गरिदिन्छु । त्योपनि विवादरहित तरिकाले । मसँग कुशलता छ । यससम्बन्धी क्षमता छ । कहिलेकाहीँ एक्लो व्यक्तिको भूमिका पनि ठूलो र प्रभावकारी हुन्छ । मैले कम्युनिष्ट आन्दोलनमा यस सम्बन्धमा विशेषज्ञता हाँसिल गरेको छु । मैले निर्माण गरेका संगठनहरु फलेको छ । फुलेको छ ।’

पार्टीभित्रको गुट अन्त्य गर्ने दायित्व मुख्य जिम्मेवारीमा बसेको व्यक्तिको भएको भन्दै आफू यदि उक्त पदमा भएको भए सबै गुटको अन्त्य गरेर देखाईदिने उनको वचनबद्धता थियो । ‘गुटबन्दी अन्त्य गर्छु । पार्टीमा होस् या अन्यत्र । तर, पार्टीको सदस्यको नाताले सबै गर्छु भन्ने हैसियत मसँग छैन ।’–गौतमले प्रष्ट्याए ।

पार्टी एकतालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि अब सरकारले जिम्मेवारीपूर्वक आफ्नो कदम चाल्नुपर्ने पनि उनको धारणा छ । उनले भने,‘म भएको भए जेठ अन्तिमसम्म एकता गरिदिन्थें । एकतामा तुषारापात हुने हो कि ? एकता टिक्ने कि नटिक्ने ? लोकप्रिय हुने कि नहुने ? भन्ने कुरा अहिलेको सरकारको क्रियाकलपासँग हाम्रो पार्टीको भविष्य जोडिएको छ । सरकारले राम्रो काम गर्यो भने हाम्रो पार्टीको एकता पनि सुदृढ हुन्छ ।’

हिजो कुन गुटमा थिएँ वा कतातिर थिएँ भन्नुभन्दापनि अब योग्यता र क्षमताका आधारमा एकता गरेर जाने हो भने राम्रो हुने उनको भनाई छ ।
तर, नेकपामा अहिले अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ अरे नि ? भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,‘कम्युनिष्ट पार्टी एकता गरें भने मेरो जीवनमा सबैभन्दा ठूलो सन्तुष्टि र सफलता प्राप्त हुन्छ भनेको थिएँ । संविधानसभाबाट संविधान जारी भयो । मुलुकमा गणतन्त्र आयो । अहिले मैले दुई पार्टीबीच एकता गराउन भूमिका खेलेको छु । अब यसलाई जोगाउने काम सबैको भूमिका हो ।’ उनले संविधानअनुसार निर्दिष्ट अबको लक्षय समाजवाद बनाउने हो भने भोलिदेखि नै काम सुरु गर्नुपर्ने पनि तर्क गरे ।

पार्टीभित्र कुनै अस्वस्थ प्रतिष्पधा नभएको पनि उनले जिकिर गरे । उनले थपे,‘हामीबीच कुनै द्वन्द्ध छैन । र, अस्वस्थ प्रतिष्पर्धापनि छैन् । तर, पार्टीभित्र अराजक तत्वहरु पनि छन् । म निर्वाचन लड्ने सवालमा सांसदलाई राजिनामा दिन लगायो । वामदेवले सांसद किन्यो भनेर केन्द्रिय सदस्यहरु भने । त्यतिमात्रै होइन, सचिवालय र स्थायी समितिका सदस्यहरुले पनि भने । पार्टी एकतासँगै केहीको अराजक भीडहरुपनि लागेका छन् ।’

उनले आफू निर्वाचन लड्ने निर्णयबाट ब्याक नभएको पनि जिकिर गरे । उनले भने,‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होईन् । संसदमा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो । तर, अब म कुनै नेतालाई मलाई सांसद बनाईदेउ भन्न जाँदिन् । घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’

आगामी महाधिवेशनमा तपाई अध्यक्षकोलागि तयारी गर्दैहुनुहुन्छ अरे नि भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘त्यो पछिको कुरा हो । मेरो संयोजनमा घोषणापत्र बनाएको हुँ । मैले नै यसको मस्यौदा गरेको हुँ । धेरै साथीहरु मिलेर यसको सम्पादनको काम गर्यौं । मैले धेरै बुद्धि लगाएको छु । कमिजोरी छन् भने त्यसप्रति मेरो जवाफदेहिता छ ।’

अब सरकारले घोषणापत्रअनुसार काम गरेन भने आफू केही साथीहरुको साथ र सहयोग लिएर कार्यान्वयन गराउनतर्फ लागिपर्ने पनि गौतमले जनाए ।

फरक प्रसँगमा उनले आफूलाई पार्टीका नेताहरुले अन्र्तघात गरेर चुनाव हराएको पनि आरोप लगाए । उनले भने,‘त्यो क्षेत्रमा म निर्वाचन हार्ने अंकगणित थिएन । स्थानीय निर्वाचनमा कांग्रेसको २४ हजार मत थियो । नेकपा माओवादीको २६ हजार र एमालेको ३० हजार । यत्तिको फराकिलो मत हुँदाहुँदैपनि चुनाव हार्न पुगें । यसमा ममाथि अन्र्तघात भएको कुरा प्रष्ट रुपमै देखियो । त्यहाँ चलखेल भएको छ । हाम्रो मत बिग्रियो ।’

उक्त निर्वाचनमा आफूविरुद्ध उम्मेद्धवारी दिएर विजयी बनेको कांग्रेस नेता सञ्जय गौतमको नाम नलिईकन उनले भने,‘त्यहाँ पप्पु कन्ट्रक्शनलाई पुलको जिम्मा दिन पहल गर्ने कांग्रेसका नेता माननीय बने । बर्दियाको त्यो क्षेत्रमा जे जति काम भएका छन् त्यसमा सबै मेरो योगदान छ । यदि भएको छैन भने पनि त्यसमा मेरो दोष छ।’

निर्वाचन ताका क्लबका सभापति ऋषि धमलाले आफूसँग गरेको अन्तरक्रियाको स्मरण गराउँदै उनले भने,‘ऋषिजी तपाईले सोध्नुभयो अब तपाई प्रधानमन्त्रीको उम्मेद्धवार हो भनेर ? मैले तपाईसँग भनेको म उम्मेद्धवार हुँ भनेकै हो । भावी प्रधानमन्त्रीको उम्मेद्धवार भन्नुभएको हो । न्यायपूर्ण रुपमा जाने हो भने म प्रधानमन्त्रीको उम्मेद्धवार नै हो । यो कुरा त मैले धेरै पहिल्यैदेखि भन्दै आएको छु। तपाईले आफ्नो शैलीमा प्रश्न गर्नुभयो । मैले पनि मेरो शैलीमा म प्रधानमन्त्रीको उम्मेद्धवार हुँ भनें । त्यति भनेकोले मलाई त्यसको निम्ति सजाय दिनुपर्छ ? म प्रधानमन्त्रीको उम्मेद्धवार भनेर मैले के पाप गरें ? हो, त्यही कारणले मलाई चुनाव जित्नबाट रोकेको हो भने जसले गर्यो त्यो ठूलो पाप हो ।’

मुलुकमा विकास र समृद्धि हाँसिल गर्नको लागि हिजो परिवर्तनका आन्दोलनहरुमा सँगै लडेका राजनीतिक शक्तिहरुबीच आजपनि अनिवार्य एकता र सहकार्यको खाँचो रहेको उनले औंल्याए । उनले भने,‘नेपालका सबै राजनीतिक दलहरु मिलाउन मैलेमात्रै सक्छु । अब १० वर्ष सत्ताधारी र प्रतिपक्षी दल सबैको हैसियतअनुसारको सरकार बनाउने हो । अब संसारभरिबाट लगानी ल्याउनुपर्छ । सबैले निर्माण गरेको नेपाल बनाउनुपर्छ । गणतन्त्र ल्याउने पार्टीहरु मिलेर देश निर्माण गर्यौं भनेर विश्वलाई सन्देश दिनुपर्छ ।’

उनले अब राष्ट्रिय सरकारको आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘राष्ट्रिय सहमतिको सरकार बनेपनि अब केपी र प्रचण्डकै नेतृत्वमा हुने हो । ओली, प्रचण्ड, देउवा, उपेन्द्र र महन्थको नेतृत्वमा हुन्छ । पालैपालो गरौं ।’

नेता गौतम आज नोष्टाल्जिक बनेका थिए । उनले पत्रकार ऋषि धमला पहिले कमरेड हुनुहुन्थ्यो भन्दै आफ्नो भनाई सुरु गरेका थिए । गौतमले भने,‘मैले ऋषिजीलाई क्लबको आफ्नै भवन बनाउने वचन दिएको छु । म आज एउटा घोषणा गर्न चाहन्छु, ऋषिजी तपाई जग्गा खोज्नुहोस् । भवनको डिजाईन बनाउनुहोस् । क्लबको भवन म बनाईदिन्छु । पत्रकारहरुकोलागि कोठाको व्यवस्था गर्नुहोस् । लागत कति लाग्छ त्यसको ईष्टिमेट पनि गर्नुहोस । म त्यो व्यहोर्छु । अनुदानमा हुन्छ वा अन्य केहीबाट म बनाउन तयार छु।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु