त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाइ वैशाख १ गते बुटिक विमानस्थलको रूपमा घोषणा गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २ गते, बुधबार १२:५७

काठमाडौँ – जहाजबाट उत्रिएपछि आगमनतर्फ अघि बढ्दा टर्मिनलतिर छिर्ने ढोका नजिकै बुद्धको मूर्तिसहितको ठूलो अक्षरले ‘बेलकम टु नेपाल’ लेखिएको छ । ती अक्षरमा नेपालको कला, सम्पदा र विभिन्न पर्यटकीय गन्तव्यको चिनारी झल्कने तस्बिर देख्न सकिन्छ । सँगै चारवटा तामाका घडामा पानी र फूलले सजाइएको छ । भित्रपट्टी छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । पर्यटक आगमन कक्षमा सझाइएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ ।

यस्तै, सुनौला द्वारबाट अन्तर्राष्ट्रिय विमानस्थल छिर्दैगर्दा दायाँबायाँ दुईवटा कलात्मक चौतारा बनाइएको छ । जुन विश्वका विमानस्थलमा कहीँ पनि पाइँदैन । बुटिक विमानस्थलको अवधारणाअनुरुप चौतारा बनाइएको विमानस्थलले जनाएको छ । यो फेरिएको दृश्य हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा स्थापित गर्ने उद्देश्यले सुधार थालिएको हो । सांस्कृतिक पहिचान र मौलिकता झल्कने, आधुनिकता टल्कने गरी बुटिक विमानस्थलको रूपमा परिणत गरिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको मौलिक पहिचान झल्ने र सेवा सुविधामा आधुनिकता टल्कने गरी विमानस्थललाई बुटिक विमानस्थल बनाउने घोषणा गरेका थिए । उनले पटक÷पटक सार्वजनिक कार्यक्रममा बुटिक विमानस्थलको विषय उठाउँदै आएका छन् । प्रधानमन्त्रीको चासोअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विमानस्थल सुधारका लागि लागि परेका छन् ।
फलस्वरुप नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्न काम थालिसकेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री अहोरात्र खटेर विमानस्थल सुधार तथा सेवा गुणस्तरमा लागिपरेका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाटै पर्ने भएकाले विमानस्थलको स्वरुप बदल्न लागिपरेको उनको भनाइ छ । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोचअनुरुप काम भइरहेको हो । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु तस्बिर, काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास भइरहेको महाप्रबन्धक क्षेत्रीले जानकारी  दिए ।

वैशाख १ गते बुटिक विमानस्थल शुभारम्भ गरिने
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी वैशाख १ गते बुटिक विमानस्थलको रूपमा शुभारम्भको घोषणा गरिने भएको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले वैशाखबाट बुटिक विमानस्थल शुरुवात गर्ने र त्यसअघि चैतसम्म बुटिकका लागि आवश्यक काम गरिने उल्लेख गरे । “वैशाख १ बाट बुटिक विमानस्थलको शुभारम्भ गर्छौँ, केही काम शुरु भइसकेको छ । हाम्रो विमानस्थल आफैँमा बुटिक विमानस्थल हो । अर्को वर्ष पुस १६ गते विमानस्थललाई पूर्ण बुटिकको रूपमा परिणत गछौँ,” उनले भने । महानिर्देशक गौतमका अनुसार बुटिकको अर्थ सङ्ग्रहालय होइन । प्राचीनता झल्कने कला कृति मात्र नभई व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्छ । बुटिकको साज सञ्जावटका साथै जनशक्ति पनि सोही अनुरुपको व्यवस्था गरिने महानिर्देशक गौतमको भनाइ छ ।
विश्वकै पहिलो बुटिक विमानस्थल
नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सम्भवतः विश्वकै पहिलो बुटिक विमानस्थल बन्ने बताइन्छ । अहिलेसम्म संसारका कुनै पनि विमानस्थलले बुटिक विमानस्थल घोषणा गरेका छैनन् । महानिर्देशक गौतमले नेपालको विमानस्थल बुटिकको रूपमा घोषणा गरिएको संसारकै पहिलो विमानस्थल हुने उल्लेख गरे ।
उनले भने, “विश्वमा बुटिक विमानस्थल भनेर घोषणा गरेको कहीँ पाइएको छैन, नेपालको विमानस्थल पहिलो हुन्छ ।” नेपाली मौलिकपनले सुसज्जित पारेर सिँगार्ने काममा विमानस्थल व्यवस्थापन सक्रिय रूपमा लागिपरेको छ । सरसफाइ, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा नयाँ कुर्सी तथा सोफा परिवर्तन भएका छन् भने नयाँ कार्पेट फेरिएको छ । भित्र प्रवेश गर्दा भित्तामा विभिन्न नेपाली कला झल्कने पोस्टर राखिएका छन् ।
पार्किङलाई व्यवस्थित गरिएको छ ।
बुटिक विमानस्थल बनाउने थालनीसँगै अहिले अन्तर्राष्ट्रिय टर्मिनल भवनको विज्ञापन हटाउनेदेखि मौलिकता झल्काउने कार्य भइरहेको छ । “अहिले बुटिक एयरपोर्टको अवधारणामा काम सुरु भइसकेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन १ र २ प्रस्थानतर्फको विज्ञापन पूरै हटाइएको र विमानस्थलमा मधुरो ध्वनि बजाउन समेत सुरु भइसकेको छ, टर्मिनल बाहिर पनि सौन्दर्यकरणको काम शुरु गरेका छौँ,” महाप्रबन्धक क्षेत्रीले भने ।
विमानस्थल प्रवेश गर्ने वा आगन्तुक आउने क्षेत्रमा जो कोहीले पनि अहिले मधुरो ध्वनिको रूपमा गुम्बातिर बजाइने ‘ओम म्हनी पद्मे हँ’ भन्ने आवाज सँगसँगै नेपाली धुन सुन्न सकिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

श्राेतः janasawal.com

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु