यहाँ नेपाल कतार सम्बन्ध र विविध मुद्दाहरूबारे जानकार हुनुहुन्छ । समस्याहरू के–के छन् कतारमा ?
धन्यवाद । वास्तवमा कतार सरकारले नेपालीहरूलाई हेर्ने दृष्ट्रिकोण अरु देशलाई हेर्ने भन्दा नितान्त फरक छ । अर्थात, कतार सरकारले नेपालीहरूलाई सधैँ सम्मानजनक ढङ्गले व्यवहार गर्दछ । कतारले नेपालीहरूलाई इमान्दार, बहादुर र मेहनतीको रूपमा हेर्छन । यहाँले भन्नुभएजस्तै कतारको अहिलेको प्रमुख मुद्दा भनेको कतारले नेपालसँग कसरी अझ बढी मित्र सम्बन्ध स्थापना गर्न सकिन्छ भनेर निरन्तर प्रयास गरिरहेको छ । अर्थात, नेपालले कतारलाई खाडी मुलुक मात्र भन्ने नठानोस र कतारले नेपाललाई आफ्नो देश बनाउन श्रमिकहरू ल्याउने श्रमिकखाना मात्र नठानोस भन्ने कुरालाई आत्मसात गर्दै दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन हर प्रयासहरू कतारले गरिरहेको छ । नेपालको सुस्त विकासको गतिले कतारलाई पनि दुःखी तुल्याएको छ । किनभने, कतारको लगभगत ४० प्रतिशत विकास नेपालीहरू आएरै गरेका हुन । त्यसर्थ, कतारले ठानिरहेको छ– कस्ता कस्ता सहयोग र सहकार्य गरेर नेपाल देशलाई पनि विकसित बनाउन सकिन्छ भनेर ।
कतारमा कतारका बासिन्दाहरूभन्दा नेपालीहरूको संख्या बढी हुन लागिसक्यो भन्ने सुनिन्छ । यत्रो संख्यामा रहेको नेपालीहरूको वर्तमान अवस्थामा कतारमा के–कस्ता समस्याहरू छन् ?
वास्तवमा कतार हाम्रो देश जस्तो कानुन नै अपरिपक्व भएको देश हैन । कतार कानुनीरुपमा एकदमै मजबुत छ । यहाँ सबै कार्यहरू कानुनी सिस्टमको आधारमा चल्छ । यसर्थ, यदि हामीहरू अर्थात् नेपालीहरूले पनि यहाँको कानुन अनुसार चल्न सक्यौ भने वा कानुनको परिपालना गर्यौ भने कुनै पनि समस्याहरूको दास बन्नु पर्दैन । तर दुखद कुरा यही हो कि– यहाँको व्यावहारिक कानुनलाई हामीले पूर्ण परिपालना गर्न नसक्दा समस्यामा फस्छौँ । हामी नेपालीहरू नेपालमा बेरोजगारीको चरम अवस्थामा गु्रजिरहेको अवस्थामा कतारको भिसा आउनासाथ मेरो भिसा आयो अब म कतार जान्छु भनेर खुसी हुन्छन् । तर, कतार आउनु पूर्व कतारको श्रम बजार, भाषा, सीप र कानुन लगायत महत्वपूर्ण पक्षहरूको जानकारी हासिल नगरी आउछौं र अनेकन दुःख विपतहरु पाउछौं । यही हो यथार्थ । कतार सरकारले नेपालीहरूलाई कहिल्यै दुःख दिँदैन । सधैँ सम्मानजनक व्यवहार गर्दछ । नेपालीहरूलाई कतारीले बहुत मन पराउछन । त्यसर्थ, कतारमा अहिले त्यस्तो जटिल खालका समस्याहरू छैनन् । सानातिना समस्या जहाँ पनि हुन्छन् । र, हामीले त्यस्ता समस्याहरूको समाधानको निमित्त प्रयास पनि गरिरहेका छौँ । र अर्को कुरा त्यस्ता सानातिना समस्याहरूको फेस गर्नु पनि नेपालीहरूको लागि सामान्य भईसकेको छ ।
यहाँ त विभिन्न कल्याणकारी संस्थाहरूमा आवद्ध पनि हुनुहुन्छ । कतार बस्नुभएको पनि धेरै भयो । हामीले सुने अनुसार कतार आउन चाहने श्रमिकहरूको लागि तय भएको शून्य शुल्क सेवा को कार्यान्वयन हुन नसकेकोले अझै पनि कतार आउन चाहने नेपालीहरुकोलागि विविध झमेला छ भनिन्छ नि ?
हो यो कुरा सत्य हो । यो समस्या कतारको हैन । हाम्रो देशमै समस्या छ । मूल संग्लो भए मात्र धारासम्म संग्लो पानी आउने हो । हाम्रो देशको म्यानपावर व्यवसायी मित्रहरूले नै यसमा समस्या सृजना गरेका छन् । हाम्रो देशको सरकारले पनि यस सेवालाई कार्यान्वयन गर्नमा चासो दिएको देखिँदैन । बिचौलियाहरुको खेलले मात्र यस्तो भएको हो । यसकोलागि हामीले आन्तरिकरुपमा प्रयास गरिरहेका छौँ । यसमा छिटै सुधार आउनेछ भन्ने सकारात्मक सोचमा छु म पनि ।
नेपालीहरूलाई वैदेशिक रोजगारीकोलागि उच्च सम्भावना भएको देश कतारमा हाम्रो दूतावाससमेत रहेको छ । दूतावासले कामदारहरूको हक, हित र अधिकारको निमित्त उचित कार्य गरिरहेको छ त ?
खासमा दूतावसले नै दुईदेशको मित्रतालाई कूटनीतिक उचाइमा पुर्याउने हो । हाम्रो दूतावासले पनि सामान्य त कामदारहरूका मुख्य–मुख्य समस्याहरूको समाधानको लागि लागिपरेकै छ । तर, दूतावासमा समेत कर्मचारीहरू कम भएर हो वा अन्य कारण कामदारहरूको सानातिना समस्याहरू र अन्य विविध सेवा प्रवाहमा प्रमुख भूमिका खेल्न सकिरहेको छैन । हामीले पनि दूतावासलाई विभिन्न सल्लाह र सुझावहरू दिन्छौ, सघाउछौं । तर, दूतावासको काम त्यति सन्तोषजनक भने छैन । दूतावास पनि बिस्तारै अपडेट र परिवर्तन हुँदै जाने हो । बिस्तारै सुधार हुँदै छ ।
कुनै बेला नेपालमा जहाज आउँदा कतारीहरू नेपालमा जहाज कस्तो हुन्छ हेर्न आउँथे, तर कतार अहिले विकासको उच्च चरणमा पुगिसक्यो नेपाल झन् खस्कँदै गएको देखिन्छ ? कतारको तीव्र विकासको रहस्य के होला ?
देश बनाउन नातावाद, कृपावाद र फोहोरी राजनीतिको चंगुलबाट छुटकारा पाउनुपर्छ । कतारले त्यतिबेला विश्वका अन्य विकाशशील देशहरू कसरी विकसित हुँदै गइरहेको छ भनेर कतारले अध्ययन गरेर विदेशी प्राविधिकहरू ल्याएर आफ्नो देशलाई कसरी विकास गर्न सकिन्छ भनेर निरन्तर सिस्टमेटिक ढङ्गले लागिपरे । त्यति बेला कतार एउटा टापु मात्र थियो । बिस्तारै कतारमा ग्यास तेल खानीहरू उत्खनन गर्दै गए । कुनै हालतमा पनि देश विकास गर्नु छ भनेर लागिरहे । त्यही क्रममा नेपालीहरूलाई पनि कामदारको रूपमा ल्याइयो । अन्ततः तीव्र विकासको फड्को मार्न सफल भयो कतार । त्यसर्थ, मुख्य राज भनेकै जिम्मेवार, पारदर्शीता र व्यवस्थित नेतृत्व नै हो । हाम्रो देशले पनि छिटै विकासको लहर समातेर अघि बढ्ने छ भन्नेमा पूर्ण विश्वास छ मलाई । हामी पनि सधैँभर यहाँ अरूको देशमा बस्न चाहँदैनौ ।
कतारको विकासमा नेपालीहरूले खेलेको भूमिकाको वर्णन गरिसाध्य छैन । तर, कतार सरकारले कुन रूपमा लिन्छ नेपाली कामदाहरको योगदानलाई ?
कतार सरकारले नेपालीहरूलाई एकदमै सम्मानजनक दृष्टिले हेर्छन । र, नेपाली कामदाहरुको योगदानप्रति कतार सरकार सदैव आफू आभारी रहेको समेत जिकिर गरिरहन्छ । अन्य मुलुकहरूको तुलनामा अहिले नेपालीहरूलाई कतारमा बहुत अवसर र सम्मान दिएको छ कतार सरकारले । नेपालीहरूले कतारको विकासमा पुर्याएको योगदानको कदरकै निमित्त कतार सरकारले नेपालमा खेल स्टेडियम बनाइदिने भनेर भनेको पनि छ । धेरै नेपाली बुद्धिजीवीहरू र युवाहरू कतारमा छन् । त्यसर्थ उनीहरूलाई बोनस सेवा समेत दिनुपर्छ भनेर बोनस सेवाबाट पनि नेपाली कामदारहरूलाई फाइदा भएको छ । सन् २०२२ को विश्वकममा पनि नेपालीहरूसँग सहकार्य गरेर केही न केही फाइदाजनक जिम्मेवारी दिने भनेर कतार सरकारले भनेको पनि छ । समग्रमा, कतार सरकारले नेपालीहरूलाई राम्रो दृष्टिले हेर्न गर्दछ ।
कतारमा सङ्घसंस्थाहरूको अवस्थाहरूको अवस्था कस्तो छ ?
राम्रै छ । धेरै सङ्घसंस्थाहरू स्थापना भएका छन् यहाँ । सबैले आ–आफ्ना क्षमता अनुसारको कल्याणकारी कामहरू गरिरहेका छन् । पछिल्लो समय मुख्य सङ्घसंस्थाहरू सामान्य निष्क्रिय भएको जस्तो देखिएता पनि पुनः आफ्नो गतिमा आउनेछ । सबै सङ्घसंस्थाहरू बीचमा सुमधुर समन्वय र सहकार्य भई आफ्नो देशमा सामाजिक कार्यहरू समेत गरिरहेको उदाहरणहरु प्रशस्त छन् ।
नेपाली व्यावसायीहरुको अवस्था कस्तो छ कतारमा ?
नेपालीहरू त्यस्तो प्रोफेसनल व्यावसायीहरु छैनन् कतारमा । अलि–अलि भएकाहरूले राम्रै गरिरहेका छन् । किनभने कतारमा मजबुत कानुन भएकोले व्यावसायीहरुले कुनै पनि झमेलाहरूमा फस्नु पर्दैन । राम्रै छ व्यवसायको सम्भावना कतारमा । नेपाली व्यवसायी मित्रहरूले पनि राम्रै गरिरहनुभएको छ ।
तपाईँ पहिले नेकपा एमालेको कतार संयोजक हुनुहुन्थ्यो । पछि पार्टी एकीकरणपश्चात पनि तपाईँ नै संयोजक हुनुभयो ? के कारण होला ?
मूल कुरा त मेरो विगतको पार्टीगत कामको मूल्याङ्कनकै आधारमा साथीहरूले सर्वसम्मत मलाई नै संयोजक बनाएकोमा साथीहरुप्रति आभारी छु । पार्टी सङ्गठनात्मक विस्तारमा विगतमा मैले निर्वाह गरेको भूमिकाले नै मलाई अहिले पनि पुनः जिम्मेवारी सम्हाल्ने सुनौलो सुअवसर प्राप्त भएको छ । र, भविष्यमा समेत पार्टीमा राम्रो छाप पार्ने खालका सुधारात्मक कार्यहरू गर्ने प्रतिबद्धता समेत रहेको छ मेरो । भलै कतारमा काम गर्दै, सामाजिक कार्य पनि गर्दै राजनीतिक पार्टीगत भूमिकाहरू निर्वाह गर्नु बहुत मुष्किल एवं चुनौतीपूर्ण काम भए पनि मैले आफूलाई संगठनमा चुनौतीहरूको सामना गर्दै क्रियाशील बनाईराखेको छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कतारमा आउँदै गरेको २०२२ को विश्वकप फुटबललाई सारा नेपालीहरूले पनि आफ्नो अवसरको रूपमा लिनुहोला । दूरदूर युरोप अमेरिका जानुपर्ने वाध्यात्मक अवस्थालाई चिर्दै यही नजिकै नेपालीहरूलाई माया गर्ने मुलुक कतारमा हुनगईरहेको विश्वकप फुटबल हेर्न आउन सक्नुहुन्छ । नेपालले पनि कतारबाट देश विकास कसरी गर्ने भन्ने पाठ सिकेर तीव्र विकासको पथलाई समातोस भन्न चाहन्छु ।