विश्वव्यापी शिक्षाको अवस्था बुझ्दाखेरि नेपालको शिक्षा सस्तो : रमेश सिलवाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ४ गते, बुधबार १९:२२

काठमाडौं, ४ बैशाख । हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पारे । उनले भने,‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ भर्ना अभियानलाई सबैले अपनत्व लिनुपर्ने उनको भनाई छ ।

सिलवालले भर्ना अभियान प्रभावकारी बनाउनको लागि विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्नेमा पनि जोड दिए । नयाँ शिक्षा ऐनमा पनि केही कमजोरी भएकोले सुधार गर्न जरुरी रहेको सिलवालले बताए ।

सिलवालले साक्षरता अभियानलाई पनि खाली अक्षर र अंक चिन्ने खालको मात्रै बनाउन नहुने स्पष्ट पारे । उनले थपे,‘अक्षर र अंक मात्रै चिन्नु साक्षरता होईन् । पढाई र सिपको माध्यमले जीवनयापन गर्न सक्ने बनाउनुपर्छ । अब साक्षरताको परिभाषा बदल्नुपर्छ ।’ सिलवालले गुणस्तरीय शिक्षामा बढि जोड दिनुपर्ने सुझाए ।

महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा नराखेको उनको गुनासो छ । उनले भने,‘साँच्चै शिक्षामा सुधार गर्ने हो भने सरोकारवाला पक्ष एक ठाउँमा भेला भएर बहस गरौं । छलफल गरौं । के गर्दा शिक्षा क्षेत्रमा राम्रो गर्न सकिन्छ, त्यही गरौं ।’ उनले बढि शुल्क लिने विद्यालयहरुलाई अनुगमन गरेर कारबाही गर्नुपर्ने बताए । तर, यसको नाममा कसैले पनि खेती गर्ने काम गर्न नहुने उनको भनाई छ ।

शिक्षा निःशुल्क भनिएपनि स्थानीय निकायले अहिले त्यो भार बोक्ने क्षमता नै नराख्ने उनको भनार्य छ । उनले भने,‘देशकै ठूलो काठमाडौं महानगरपालिका नै यो भार बोक्ने क्षमता राख्दैन् । अरु, स्थानीय निकायको के कुरा गर्ने ?’ उनले शिक्षा निःशुल्क भनिएपनि ९९.९ प्रतिशत सरकारी विद्यालयहरुले शुल्क उठाईरहेको दाबी गरे ।

उनले निजी विद्यालय सञ्चालकहरुले छुद्र व्यवहार गर्न नहुने तर्क गरे । उनले भने,‘किताब, युनिफर्मको नाममा हामीले छुद्र व्यवहार गर्नुहुँदैन् ।’ उनले विश्वव्यापी शिक्षाको अवस्था बुझ्दाखेरि नेपालको शिक्षा सस्तो रहेको दाबी गरे ।

आफूले सञ्चालन गरेको शैक्षिक संस्थाको बारेमा उल्लेख गर्दै उनले ५–७ प्रतिशत शुल्क बढाउँदा कर्मचारीको तलबमा खासगरी शिक्षकहरुको तलब १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको दाबी गरे । शिक्षाको नाममा कसैले पनि व्यापार गर्न नहुने उनको तर्क छ । ‘कष्ट रिकभगरी प्रिन्सिपल’मा जानुपर्ने उनको जोड छ । उनले भने,‘कुन शीर्षकमा कति पैसा लिईएको छ, त्योअनुसार काम भएको छ कि छैन ? त्यो सबै अभिभावकले हेर्नुपर्छ ।’

कतिपयले निजी विद्यालयले अभिभावकलाई लुटिरहेको भन्ने आरोप लगाएको सुनाउँदै उनले प्रश्न गरे,‘लुटेराको स्कुलमा विद्यार्थी नपढाऔं । तपाईहरु लुटेर भन्नुहुन्छ अनि त्यही स्कुलमा लगेर विद्यार्थी भर्ना गर्न मरिहत्ते गर्नुहुन्छ ।’ हालै भएको भेटवार्तामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको निजी विद्यालयहरुकै कारण शिक्षा धानिएको भन्ने अभिप्रायको अभिव्यक्ति आएको र आफूहरुलाई धन्यवाद दिएको पनि सिलवालले सुनाए ।

उनले कतिपयले निजी विद्यालय बन्द गर्नुपर्ने तर्क गरिरहेकोमा आपत्ति जनाए । उनले भने,‘हामी नियमन मान्न तयार छौं । तर, बन्द गर्ने कुरा नगरौं । यसमा मेरो गम्भिर असहमति छ ।’ सरकारी विद्यालयहरुलाई गुणस्तरीय बनाउनुपर्नेमा उनको जोड छ । ७५३ वटै स्थानीय तहमा नमूना विद्यालय खोल्नुपर्ने पनि उनले धारणा राखे । उनले थपे,‘शिक्षालाई हामीले प्रतिष्पर्धात्मक बनाउनुपर्छ । उनले विद्यालय सञ्चालकहरुलाई बैंकको व्याजदर सस्तो गराए ‘कष्ट सेयरिङ’ घट्ने पनि स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु