संझनामा मदन भण्डारी( देवु पराजुली )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते, शुक्रबार १३:३६

२६वर्ष अगाडी म बिहान आगन छेउको अगेनोमा भैसीलाई कुडो पकाउदै थिए भाई छेउमा खेलीरहेको थियो। बा पानी लिन जानु भएको थियो। आमा गोठमा गोबर फाल्दै हुनु हुन्थ्यो। दाईहरु बाहिर। बा हस्याङ फस्याङ गर्दै पधेराबाट आउनु भो र पानीको डोको बिसाएर खुईय सुस्केरा हाल्दै लौ! खत्तम भो, अब शान्ति संग बाच्न पनि नपाईने भो भन्नु भो। आमा हातमै गोबर लिएर के भयो भन्दै आउनु भो म पनि चनाखो भए। बाले हत्पत रेडियो खोल्नु भो। छ बजेको धार्मीक कार्यक्रम बजेको थियो रेडियोमा। अहिले जस्तो एफ एम र फोन थिएन। म शंका डर र अत्यासको नजरले बालाई हेरिरहे। भाई लुपुक्क मेरो काखमा आएर टासीयो। मलाई ठुलै बित्यास परेछ कि झै डर लाग्यो। डराई डराई बालाई सोधे’बा! के भयो र?’ बल्ल बाले रहस्य खोल्नु भो देशका ठुला राम्रा र असल नेता मदन भण्डारी चढेको गाडी त्रिसुलीमा खसेर मरे रे। बर्बाद भयो। … कसैले षडयन्त्र गरेर मारेको रे। अब जनताका छोरा छोरी बाच्न पनि नपाउने भए। बाको यो कुराले मलाई डर लाग्यो आफ्नो संभावित मृत्यू संझेर। म खासै कुरा बुझ्ने अवस्थामा पनि थिइन।
बिहान सात बजेको समाचार आउने बेला सम्म मेरो घरमा अरु पाच सातजना हजुरबा र काका नाता पर्नेहरु जम्मा हुनु भो। सात बजेको समाचार पछि मेरो घरको मन्दिर वरपर सानो तिनो सभा नै भयो। हत्यारा को र के के कारणले मार्यो होला भनेर अनुसन्धान सुरु भो। शंका उपशंका थुप्रै भए। म पनि चाख मानेर कुरा सुन्न तिर लागे। मेरो छिमेकी जिल्लाका जिवराजको भन्दा अली टाढैका मदनको बढि खोजी भैरह्यै। यो मेरो मात्र होइन तत्कालीन अवस्थामा हजारौ गाउँमा मदनको हत्याराको खोजी भो। रेडियो बाटै थाहा पायौ उनको लाश भेटियो र हज्जारौ मलामी थिए त्रिपुरेश्वर देखी आर्यघाट सम्म। गाउँमा पनि शोक सभा भयो। हत्याराको खोजी गर्न काठमान्डौमा थुप्रै पटक उच्चस्तरीय छानविन कमिटी बन्यो। प्रतिवेदन के के आयो आयो तर हत्यारा पत्ता लागेन एक मात्र आधार ड्राइभर अमर लामालाई पनि बाच्न दिएनन्। त्रिसुली संगै गहिरिएर गयो हत्या र हत्याराको सत्यता। त्रिशुलीको छेउमा शालीक बनेर मौन बसे मदन र जिवराज।थुप्रै पटक मदनका सानी छोरीहरु बिचराको सुचीमा परे। अब त उनिहरु पनि बढे पढे र स्वावलम्वि बने। विध्या राष्ट्रपति बनिन् दुई दुई पटक तर कसरी र किन मरे कसैले आज सम्म थाहा पाएको छैन।
आज पनि उनको संझनामा फेरी हत्यारा पत्ता लगाउने भाषण छाटीयो। छानविनको तयारी गरीयो। फेरी उनकै नाममा नया राजनीती जोडीयो। सत्यता कही नजीकै छकि त्यो बुझ्न छोडीयो।
स्याङाजाको बिकट गाउँमा बसेर मेरो बाले मदन भण्डारी मर्दा गरेको चिन्तन र अनुसन्धान भन्दा फरक यहाँ काठमान्डौका भद्रहरुले केहि निकाल्न सकेनन्। मदन आश्रितको मृत्यूको दुःखमा गाउँबाट गरेकै अनुसन्धान ठिक रहेछ। आज पनि म त्यहि गाउँ र गाउँलेले उनि प्रति गरेको विश्वास सहित श्रद्धञ्जली अर्पण गर्दछु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु