समाजसेवी जगतबहादुर गुरुङ सोसल सर्भिस लाईफ टाईम अवार्डबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार २२:२७

जेठ १४,काठमाडौँ । सोसल सर्भिस लाईफ टाईम अवार्डबाट हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष जगतबहादुर गुरुङ सम्मानित भएका छन । राजधानीमा मंगलबार गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सवको अवसरमा सो संस्थाले गुरुङलाई सामाजिक कार्यमा उत्कृष्ट कार्य गरेबापत सम्मान गरेको हो ।
कार्यक्रम मा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन बिश्वका लागि अनुकरणिय रहेको र नेपालको बिबिधता बिश्वसामु आर्कषणको केन्द्र रहेको भन्दै पर्यटन क्षेत्र कहिल्यै अन्त नहुने संभावना बोकेको क्षेत्र भएकाले यसको बिकासमा सरकार लागि पर्ने बताए । कार्यक्रम मा सभा का सभापति गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले भिजिट नेपाल २०२० को लक्ष्य प्राप्त गर्न आफु लागिपरेको भन्दै पर्यटन क्षेत्र चलायमान बनाउन बार्षिकोत्सवलाई राष्ट्रिय कार्यक्रमको रुपमा प्रश्तुत गरिएको बताए । उनले व्यवसायीसँग निरन्तर सहकार्य गर्दै पर्यटन क्षेत्रको बिकासमा लागि पर्ने बताए ।
कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही मिङ्मा शेर्पालाई टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड प्रदान गरिएको थियो ।
यसका साथै पर्यटन पुरस्कार बाट , सुबोध सिंखडा, युवराज श्रेष्ठ, दुर्गादत्त ढकाल, संगम शेर्पा, आशुतोस भण्डारी, तेम्बा लामा, नवराज श्रेष्ठ लाई बिधागत पर्यटन पुरस्कार प्रदान गरिएको थियो ।
यसका साथै पर्यटन पत्रकारिता पुरस्कारबाट उत्तरगया दैनिकका शिव देबकोटा, सगरमाथा टेलिभिजनका बरिष्ठ समाचारदाता श्रीकृष्ण सुबेदी, शिवपुरी मिडियाका रबिन थपलिया, शारदा प्रिन्टीङ प्रेसका भिम प्रसाद सापकोटलाई सम्मान गरिएको थियो ।
को हुन त समाजसेवी जगत बहादुर गुरुङ ?
एउटा सामान्य निम्न वर्गीय परिवारमा नुवाकोटको विकट गाउँ कुमरीमा जन्मिएका जगत अहिले आफ्नो कर्मका कारण आफ्नो समुदायमा मात्र होइन, अन्य जगतमा पनि ख्याती कमाउँदैछन् । नुवाकोट जिल्लाको रोल्पा भनिने कुमरीमा आजभन्दा ८ बर्ष अगाडि मात्र बिजुलीको उज्यालो पुगेको बताउँदै जगत भन्छन्, ‘राजधानीबाट नजिक भएपनि विकासका पूर्वाधारबाट जिल्लामै सबैभन्दा विकट गाउँ कुमरी हो ।’जहाँ जगतको बाल्यकाल बितेको थियो ।

आफ्नो जन्मथलोमा बिजुली पु¥याउन जगतले धेरै संघर्ष गर्नुप¥यो । सरकारको त ध्यान पुग्न सकेन सकेन, राजनीतिक दलहरुले पनि उक्त क्षेत्रलाई आफ्नो भोट बैंकमा मात्र प्रयोग गरेँ, जगत भन्छन्, ‘आजभन्दा १० बर्ष अगाडिसम्म राजधानीसँग जोडिने कुनै बाटो थिएन, हिडेरै ७ घण्टाको पैदल यात्रा गर्नु उक्त क्षेत्रका बासिन्दाको बाध्यता थियो ।’

कोही अकस्मात विरामी परेपनि उनीहरुले अस्पतालको मुख देख्दैनथेँ, गाउँघरको झारफुक र परम्परात उपचारमा नै भरपर्नु उनीहरुको नियति नै थियो । यस्तो नियतिलाई जगतले पनि भोग्न बाध्य भए । बाल्यकालदेखि नै रोगी जगतलाई परिवारमा काम नलाग्ने सन्तानको रुपमा हेर्न थालियो । शारीरिक रुपमा अशक्त जगतलाई परिवारको हेपिएको सन्तानको रुपमा हेर्न थालियो । घरमा कुनै काम गर्न नसक्ने देखेपछि उनका बाबुआमाले स्कूलतिर बरालिन सक्छ भने गाउँको स्कूलमा पठाए । तर, तीनै जगतले स्कूल गएपछि आफूलाई अध्ययनमा तल्लीन गराउन थाले । औसत विद्यार्थीका रुपमा जगतले क्रमशः माथिल्लो कक्षा उतिर्ण गर्दै गए । जब २०४८ सालमा उनले प्रवेशिका परीक्षा उतिर्ण गरे । तब उनको लागि उच्च शिक्षा हासिल गर्न राजधानी छिर्नुको विकल्प थिएन । राजधानीमा गएर उच्च शिक्षा हासिल गर्ने उनको उत्कट अभिलाषा भएतापनि परिवारले उनलाई राजधानीसम्म पठाएर पढाउने न त हिम्मत थियो न त उनको पारिवारिक आर्थिक अवस्थाले नै यसलाई साथ दिन्थ्यो । तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै जगतलाई राजधानीतिर हुँइकिन त कुमरी गाउँले रोक्न सक्यो, न त उनको कमजोर पारिवारिक आर्थिक अवस्थाले नै छेक्न सक्यो ।

पचास रुपैयाँ लिएर जगत जब काठमाण्डौ पुगे
आफ्नी आमाले दिएको बाटो खर्च बापतको पचास रुपैयाँ लिएर जगत जब काठमाण्डौ पुगे । तब उनको संघर्षका दिनहरु झन् कठोर बन्न थाल्यो । उनी कामको खोजीमा भौतारिन थाले । यो बीचमा उनले ६ महिना कालिमाटीस्थित एउटा भात होटलमा सहयोगीका रुपमा काम गर्न थाले । त्यसबेलाको अवस्था सम्झदै उनी भन्छन्,‘मैले भात होटलमा भाँडा माझ्ने काम गरेँ, त्यतिखेर मेरो हात पूरै फुटेको थियो ।’ त्यसो त उनले गलैंचा कारखानामा पनि ऊन कात्ने काम समेत गरे । राजधानीमा जिउन त्यति सहज अझै हुन सकेन, उनले पत्रिका बेच्ने काम पनि गरे । जगतले आफ्नो काम गर्ने अभिलाषालाई त्यतिकै मर्न दिएनन् ।

झण्डै ६ महिनासम्मको कठोर कामबाट जब उनले छुटकारा पाए, उनको जीवनमा केही परिवर्तनका संकेत देखा परे । एउटा पर्यटक कम्पनीले भारी बोक्ने भरियाको खोजी गरिरहेको उनले पत्तो पाए । उनले हिमालमा जाने पर्यटकहरुको डोकोमा भारी बोक्ने काम पाए । त्यो पनि उनको लागि त्यति सहज त थिएन । हिमालको चुचुरो नजिकसम्म झण्डै ६०र७० केजीको भारी बोकेर जानुपर्ने काम कठिन हुनु स्वभाविकै हो । शारीरिक रुपमा कमजोर जगतले यसअघि भारी बोक्ने काम भने गरेका थिएनन्, उनी भन्छन्, ‘यसअघि मैले भारी नबोकेपनि जिन्दगीको भारी बोकेरै भएपनि संघर्ष गर्न पर्दछ भनेर यो काम सुरु गरेँ ।’ झण्डै ३ बर्ष उनले यो कामलाई निरन्तरता दिए ।
मानिसलाई संघर्ष जीवन जिउनलाई मात्र होइन, अन्य परिवेशलाई पनि सिकाउने गर्दछ । जगतले पनि भारी बोक्ने काम गर्दैगर्दा विदेशी पर्यटकहरुसँग अंग्रेजी भाषा समेत सिक्न अवसर प्राप्त गरे । उनलाई लाग्यो पर्यटन व्यवसायमा लाग्नु छ भने यस सम्बन्धी तालिम लिनु जरुरी छ । उनले पर्यटकहरुका निम्ति पथप्रदर्शकको तालिम लिने निधो गरे । नेपाल सरकारको मान्यताप्राप्त संस्थाबाट तालिम लिएपश्चात जगत भरियाबाट पर्यटकहरुका लागि पथप्रदर्शक बन्न पुगे ।

बुबाको अन्तिम वाक्य :भविष्यमा एउटा अस्पताल बना हैं’
उनी आफ्नो कर्मथलोमा सक्रिय थिए । गाउँबाट अकस्मात उनलाई खबर आयो । उनका बाबु भीरबाट लडेर घाइते भएका छन् । उनका बाबुलाई अस्पताल ल्याउने कुनै विकल्प थिएन । कारण थियो एउटा भौगोलिक विकट भने अर्को थियो अभाव, गरिबी र अशिक्षा । २०४८ सालमा जगत उनको समुदायबाट प्रवेशिका परीक्षा पास गर्ने पहिलो व्यक्ति थिए । तत्पश्चात २०६२ सालसम्म उनको समुदायमा प्रवेशिका परीक्षा कसैले उतिर्ण गर्न सकेन । यसले पनि उनको समुदायको शैक्षिक अवस्थालाई पुष्टी गर्दछ । परिवारमा शिक्षाको अभावका कारण नै उनका बाबुलाई कसैले पनि अस्पताल लगेर उपचार गर्ने हिम्मत गरेन । झण्डै २ हप्तापछि जगत आफ्नो पुगे त्यतिन्जेल साँझ परिसकेको थियो । भोलिपल्ट बाबुलाई बोकेरै भएपनि अस्पताल ल्याउने उनले निधो गरेका थिए । बाबुसँग छलफल गर्दा उनका बाबुले बारम्बार भनिरहेका थिए कि, ‘तँ भएको भए मलाई अस्पताल लैजान्थिस् होला नि । बाबु हाम्रो गाउँमा पनि एउटा अस्पताल भए अकालमै ज्यान जाने थिएन । यदि तैले केही गर्न सकिस् भने भविष्यमा एउटा अस्पताल बना हैं रु’ बुबाको अन्तिम वाक्य जगतको निम्ति सदैव गडिरह्यो । भोलिपल्ट विहान उनका बुबाको देहान्त भयो ।

नियतिलाई कसले रोक्न सक्थ्यो र रु मन गह्रुगो बनाएर जगत आफ्नो काममा फर्किए । कामको दौरानमा धेरै विदेशी पर्यटकहरुसँग उनको समिप्यता बढ्नु स्वभाविकै थियो । कयौंले आफ्नो व्यवसायिकताभन्दा माथिको सम्बन्ध राख्न चाहेनन् भने कतिले जगतसँग आत्मिय सम्बन्ध पनि राखे । यही क्रममा सन् २००७ मा उनीसँग ३ जना अमेरिकी पर्यटकको भटे भयो । उनीहरुसँग काम गर्ने दौरानमा जगतले आफ्नो विगत र वर्तमान उनीहरुसँग व्यक्त गरे । उनको यो कुराले ती पर्यटकलाई मन छोयो । अनि उनीहरुले जगतको गाउँमा जाने निधो गरे । जगतले आफ्नो गाउँमा उनीहरुलाई हार्दिकतापूर्वक लिएर गए । समुदायमा पनि अनौठो र उत्साहपूर्ण हार्दिकता थियो । जब जगतको गाउँमा ती पर्यटकहरु पुगेर फर्के उनीहरुले आफूले सक्ने जति सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धता व्यक्त गरे ।

आफ्नै सक्रियतामा यसरी गाँउ बनाए जगतले
यसको झण्डै १० महिनापछि जगतलाई उनीहरुले आफ्नो मुलुक अमेरिका डाकेर त्यहाँ आर्थिक सहयोग जुटाउने काम गरे । त्यतिञ्जेल ४० हजार डलर सहयोग स्वरुप उनीहरुले जगतको गाउँको विकासका निम्ति उपलब्ध हुने भयो । तत्कालै जगत आफ्नो गाउँ फर्किएर समुदायमा यस बारेमा छलफल चलाए । तर उनको कुरालाई पत्याउने कसले रु समुदायले भन्न थाले, ‘एउटा सामान्य परिवारमा जन्मिएको तामाङको बच्चाले बाटो खन्ने काम कसरी गर्न सक्छ रु’ तर उनको अठोेट र सहयोगीहरुको हातको समर्थनले उनले आफ्नो गाउँसम्मको १३ किलोमिटर बाटो खन्ने कामको अगुवाइ गरे ।

त्यतिले उनलाई पुगेन । मुख्य राजमार्गबाट गाउँसम्मको यात्रा गर्न सडक मार्ग जोडिनु आफैमा उल्लेखनीय उपलब्धी थियो । अब उनको लक्ष्य गाउँमा स्वास्थ्य संस्था सञ्चालन गर्नु थियो । त्यसको निम्ति प्रारम्भमा उनले सन् २००९ मा २२ जना विदेशी विशेषज्ञ चिकित्सकहरु ल्याएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । गाउँमा अधिकांश महिलाहरुमा आँङ खस्ने समस्या देखियो । शिविरमा आएका २५० जना महिलाहरुको स्वास्थ्य परीक्षण गर्दा ६० जनालाई तत्कालै उपचार गर्नुपर्ने देखियो । उनीहरुका निम्ति गाउँमा उपचार सम्भव नभएपछि राजधानीको अस्पतालमा ल्याएर उपचार गरियो । अहिले तिनै आमाहरु जसको उपचारमा सहयोगी भूमिका निर्वाह गरेका जगतलाई आशिर्वाद दिँदै भन्छन्, ‘सायद तिमी नभएको भए हामी अहिलेसम्म बाँच्ने थिएनौं । तिमी त हाम्रो छोरा नै हौ ।’ अहिले कुमरीमा जगतकै प्रयासमा सुकमान मेमोरियल पोलिक्लिनिक सञ्चालनमा रहेको छ । जहाँ उपचारका निम्ति आधुनिक प्रविधियुक्त प्रयोगशाला, ११ शैया तथा नियमित स्वास्थ्य परीक्षण गर्नको निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरु मार्फत स्थानीयहरुले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् ।
गाउँमा आफ्नो समुदायबाट पाएको सद्भाव र मायाबाट जगत भावुक हुँदै भन्छन्,‘जीवनाई सार्थक रुपमा अगाडि बढाउन स्वास्थ्य र शिक्षा अनिवार्य छ ।’ स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनको निम्ति उनले समुदाय स्तरमा महिला दिदीबहिनीहरुलाई साक्षरता अभियान नै चलाए । उनी भन्छन्, ‘जबसम्म महिला शिक्षित हुँदैन, तबसम्म घर,परिवार र समुदाय शिक्षित हुनै सक्दैन ।’ अहिले उक्त क्षेत्रमा सुविधा सम्पन्न विद्यालय समेत उनकै प्रयासमा निर्माण भएको छ । अहिले झण्डै ४ सय विद्यार्थीहरुले सो विद्यालयमा अध्ययन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु