मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

सन्तानेश्वर महादेव :- एक संक्षिप्त चिनारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ६ गते, सोमबार १५:२८

सरोज ओझा

पौराणिक तथ्य एवं किंवदन्ती

स्कन्दपुराणको केदार खण्डमा शिवशक्तिको महिमा वर्णन गर्ने क्रममा सन्तानेश्वर महादेवको विवरण पाईन्छ । यस्तै स्कन्द पुराणमा श्रीस्वस्थानी ब्रतकथाको दशौं अध्यायमा सतिदेवीको बिभिन्न अङ्ग पतन भई शिवशक्ति पीठ उत्पत्ति हुने क्रममा नेपालको ॐकारेश्वरमा पुग्दा सतिदेवीको उपल्लो ओठ पतन भयो भनिएको छ । ॐकार पीठ, मातृकादेवी, पुर्णेहरी योगीनी, श्री सन्तानेश्वर महादेव उत्पत्ति भयो र शिवशक्ति स्वरुपले रहे भनिएको छ । त्यस मोक्ष भूमिमा कल्पवृक्ष आई नाना फलफूल चढाई पुजा गरे, ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्दन कल्पवृक्षले जो चिताएको सो फलाउन सकूँ भनी मागेको कथा रहेको छ ।
यस महादेव र कैलाश पर्वतको बारेमा विभिन्न किंबदन्ती तथा जनश्रुतिहरु पनि रहेको छन् । पौराणिककालमा बाहृैवटै राशीहरु यस स्थानमा भलरी शीवजीको तपस्या,आराधना गरेको हुनाले भन्ने जनश्रुति पाईन्छ ।
द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तीको चाहना राखी यसै पुण्यभूमिमा आई शिवजीको आराधना गरेपश्चात् प्रत्येक पत्नीहरुबाट दश पुत्र र एक पुत्री प्राप्त भएको थियो भन्ने पौराणिक किंंबदन्ती रहेको छ । यसरी यी महादेवको मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतिहरुलाई सन्तान प्राप्त हुने, भविष्य उज्जवल हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने आदि मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाईन्छ ।
यस ईलाकामा बिबाह, ब्रतबन्ध वा कुनै उत्सव पर्दा प्राचीनकालमा आवश्यक भाँडावर्तन प्राप्त हुने किंबदन्ती रहेको पाइन्छ । यसको प्रमाणस्वरुप कैलाश पर्वतको उत्तरपूर्वमा रहेको महाङ्काल मन्दिरको ढुङ्गाको छिद्रमा कान थापेर सुन्दा भाँडावर्तनहरु बजेको आवाज आज पनि सुन्न सकिन्छ भन्ने मान्यता स्थापित छ ।

अवस्थिती र संरचना

सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १३ ,झरुवारासी स्थित कैलास पर्वतमा अवस्थित रहेको छ । यस मन्दिर सातदोबाटोबाट करिव ६ कि.मि. दक्षिण पूर्व दिशामा पर्दछ । ललितपुरको चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल हुँदै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । समुन्द्री सतहबाट १५०७ मीटरको उचाईमा रहेको सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वतको शिखरमा विराजमान छ । मन्दिरको फेदि स्थित मुल गेटबाट शिखरमा उक्लनका लागी ३६६ वटा सिँढी हुँदै करिव १०० मिटर जतिको उकालो चढ्नु पर्दछ ।

प्यागोडा शैलीमा निर्मित सन्तानेश्वर महादेव मन्दिर २ तलाको रहेको छ । मन्दिरको शीर्ष भागमा एक ठूलो र अन्य गरी कुल ५ वटा गजुरहरुका साथै त्रिशुल र डमरु पनि विराजमान रहेका छन् । यस मन्दिरको छाना तामा धातु पाताबाट छाईएको छ । मन्दिरको २ वटै तलामा नै टुँडाल र कुँशल जोडेर आँखिझ्याल आकृति बनाईएको छ । मन्दिरमा धातुपाताकै झल्लर राखिनूका साथसाथै नुपूर घण्टाहरु पनि जडान गरिएका छन् भने चारैढोकामा तोरण स्थापित छन् । यसैगरी ढोकाको दायाँ–बायाँ २÷२ वटा आँखिझ्याल आकृतिमा झ्याल राखिएको छन् ।
सन्तानेश्वर महादेव मन्दिरभित्र एउटा सानो मन्दिर देख्न सकिन्छ । सो सानो मन्दिरको गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरुप रहेको छ । यस स्वरुपमा ३ भाग रहेको पाईन्छ । पहिलो सन्तानेश्वर महादेव, दोस्रो पार्वती र तेस्रो सँगै रहेको सानो शिलालाई गणेश मानी पुजिदै आएको छ । यसको बाहिर अर्को दुई शिला दायाँ–बायाँ रहेका छन् । यी शिलाहरुलाई नन्दी र भृङ्गी मानिएको छ । यस्तै अलि पर अर्को शिला पनि देखिन्छ । यसलाई वासुकी नाग मानिएको छ । यस परिसरमा अष्टमातृका गणेश सहितको श्रीस्वस्थानी माताको देवल रहेको छ । यस्तैगरी यहाँ श्री स्वस्थानीको मन्दिर,काल भैरव, वाशुकीनाग, हनुमान, चौसड्ढी शिवलिङ्ग, वसाहा, गणेश, सरस्वती, दुर्गा, कृष्ण, विष्णु लगायतका विभिन्न देवदेवीका मूर्ति हरु स्थापित रहेका छन् ।

धार्मिक गतिविधी एवं मेला

यस मन्दिरमा श्रावण महिनामा श्रावण्ी मेला (बोलबम), हरितालिका तीज, ऋषि तर्पणी (रक्षा बन्धन), दशैं, तिहार, बाला चतुर्दशीका दिन शतवीज छर्ने कार्यक्रम, स्वस्थानी ब्रत मासमा शिव माहापुराण, ब्रतबन्ध कार्यक्रम, शिवरात्री, अक्षय तृतीया, गुरु पूर्णिमाको दिन लगायत अन्य दिनहरुमा विविध धार्मिक कार्यक्रम हुने गर्दै आईरहेको छ । यस दिनहरुमा भक्तजनहरुको विशेष भीड लाग्ने गरेको पाईनछ । हाल मन्दिरमा दैनिक रुद्राभिषेक, पूजाआरती आदि नियमित रुपमा सञ्चालनमा रहेको छ । यहाँ नियमित रुपमा शिव भजन, रामायण भजन तथा साईराम भजन सञ्चालन हुँदै आएको छ । साथै धुनी जगाउने कार्यलाई पनि यहाँ निरन्तरता दिईदै आईएको छ ।

संरक्षण र प्रवद्र्धन

हालको मन्दिर वि.सं. २०६९ सालमा निर्माण सम्पन्न भएको मन्दिरको मोठमा उल्लेखित ताम्रपत्रबाट जानकारी लिन सकिन्छ । यसभन्दा अगाडि चारैतिर पर्खालको रुपमा गाहो उठाई झ्याल र ढोका रहने ठाउँमा खाली छोडी त्यसमा फलामको बार एवम् फलामकै खापा आकृति बनाइएको थियो । त्यसमाथि जस्ताको छाना छाएर दुई तलाको मन्दिर बनाईएको थियो । सो मन्दिरभित्र हाल गर्भगृहमा सानो मन्दिर निर्माण गरिएको छ । साथै मन्दिरको नित्य कार्य सञ्चालनको लागि वि.सं. १९७१ सालमा दाताको सहयोगमा २७ रोपनी जग्गा मन्दिरको नाममा राखी गुठीको व्यवस्था गरिएको छ । मन्दिर निर्माण स्थानीयहरुको सक्रिय सहयोग र सहभागितामा सम्पन्न भएको यो मन्दिर एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

मन्दिरको विकास र संवद्र्धनमा वि.सं. २०४७ सालमा सन्तानेश्वर महादेव संरक्षण तथा संवद्र्धन सेवा संघको गठन गरिएको थियो । यस संघका वर्तमान अध्यक्षमा ईन्जिनियर विनोद खड्का रहेका छन् । भौतिक एवं सांस्कृतिक विकासका लागि वि.सं २०५८ साल मंसिर २० देखि २८ गतेसम्म विराट धान्याञ्चल महायज्ञ लगाईएको थियो । सो महायज्ञबाट प्राप्त रकमबाट यहाँको सिँढी निर्माण कार्य वि.सं. २०५९ सालमा सम्पन्न भएको थियो ।
सन्तानेश्वर महादेव मन्दिर परिसरको बृहत्तर विकासको लागि एक गुरुयोजना तयार भएको छ । सो गुरुयोजनाअनुसार चरणबद्ध रुपमा हाल निमार्ण कार्यहरु भईरहेका छन् । यस योजनामा कलात्मक प्रवेशद्धार, सिँढी, परेवा व्यवस्थापन, २०,००० लिटरको आकाशे पानी जम्मा गर्ने भूमिगत ट्याङ्की, मन्दिर बाहिर र भित्र स्लेट ढुङ्गा छाप्ने कार्य, पाटी सत्तल निमार्णका साथै मन्दिरको पर्खाल निर्माण भईसकेका छन् । संघले शिव पार्वतीको मुर्ति, योग तथा ध्यान केन्द्र, भक्तिसङ्गीत पाठशाला, प्रवचन स्थान, भजन मण्डल, बगैचा, वनभोज स्थल, उपत्यकालगायत प्राकृतिक हिमश्रृङ्खला समेतको अवलोकनका लागी भ्यू टावर, गरिव र अशक्त वरिष्ठ नागरिकहरुका लागि वृद्धाश्रम एवं शारीरिक अशक्तताका कारण सिढी चडेर स्वयं मन्दिर परिसरमा पुग्न नसक्ने श्रद्धालुहरुका लागि विद्युतीय रेल सेवा उपलव्ध गराउने महत्वपूर्ण कार्यलाईे अगाडि बढाइरहेको छ ।
कैलाश पर्वत १५० रोपनी क्षेत्रफलमा फैलिएर रहेको यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अनुरुप विभिन्न धार्मिकजन्य फलफूल तथा जडीबूटीका बिरुवाहरु रोपण गरिएको छ । यस पर्वतको फेदीबाट उकालो चढ्दै जाँदा केही गाहृो महसुस भए पनि मन्दिर परिसर पुगेपछि काठमाण्डौ उपत्यकाको रमणीय दृष्य अवलोकनबाट हर जो कोहिको मन आनन्दित हुने गर्दछ । यसर्थ पनि सन्तानेश्वर महादेव मन्दिर परिसर शिवजीको भक्तिभाव राख्ने मनुवा मात्रको रोजाई नभई शान्तिप्रेमी, प्रकृतिप्रेमी र पर्यापर्यटनमा रुचि राख्ने जोकोहि मनुष्यको आकर्षण केन्द्र रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु