काठमाडौ गत बैशाख १३ र १४ गते सम्पन्न आन्तरिक पर्यटन मेला (डोमेस्टीक टुरिजम मार्ट (डीटीएम)को अभूतपूर्व सफलतापछि दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा सञ्चालन गरिनेछ । नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको उक्त मेला नेपाल भ्रमण वर्षको सुरुवाति दिनमा नै आयोजना हुनुले पनि सरकारको २० लाख पर्यटक भित्र्याउने योजनालाई थप बल पुग्ने विश्वास आयोजकको छ । ‘पहिले देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलामा मुलुकका ७७ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्य, लोक संस्कृति, सम्पदा र मौलिक अवस्थीति र व्यापारिक स्टलहरुको एकथलोबाट मुलुकभर चिनारी गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी (अबिरल)ले बताएका छन् । यसैबीच, मेलाको आवश्यकता र यसको औचित्यबारे अध्यक्ष अधिकारीसँग सोधेका छौं ।
डीटीएम दोस्रो संस्करणको मिति घोषणा गर्नुभएको छ । के छ तयारी ?
हो, हामीले पहिलो डीटीएम अत्यन्त सफलतापूर्वक सम्पन्न गरेपछि सबैको सुझाव र सल्लाहअनुसार आगामी माघ २३ देखि २५ गते (सन् २०२० को फेब्रुअरी ६ देखी ८ तारिख)सम्मका लागि दोस्रो संस्करणको मिति घोषणा गरेका छौं । र, तयारीको सुरुवाती चरणमा छौं । डीटीएमका लागि पर्यटन क्षेत्रमा चिरपरिचित व्यक्तित्व माधवप्रकाश सुबेदीको संयोजकत्वमा डीटीएम कमिटी गठन गरेका छौं । कमिटी बनिसकेपछि डीटीएम गुडवील एम्बेसडर, डीटीएम ब्राण्ड एम्बेसडर, डीटीएम मिडिया संयोजक, सल्लाहकार, प्रचारप्रसार संयोजकलगायत विभिन्न जिम्मेवारी बाँडफाड गर्नेछौं । भ्रमण वर्षको सुरुवाती दिनमा नै आयोजना हुने भएकाले पर्यटन क्षेत्रलाई नयाँ दिशाबोध गर्नमा डीटीएम फलदायी हुने विश्वास हामीले लिएका छौं ।
डीटीएमको मुख्य उद्देश्य चाही खास के हो ?
मुख्यतः यो देश चिनाउने अभियान नै हो ।
हामीले यसअघि आयोजना गरेको मेलामा पनि यही कुरालाई जोड दिएका थियौं । ‘पहिले देश अनि विदेश’ भन्ने हाम्रो मुल मन्त्र हो । युरोप अमेरिका गएर सेल्फी खिचेर फेसबुकमा राख्नेहरुलाई रसुवा र जुम्लाको प्राकृतिक मनोरम दृश्यको बारेमा कुनै वास्ता भएको देखिदैन । मुलुकभित्रका सबै प्रदेश र स्थानीय तहहरुमा फरकफरक प्रकृति र संस्कृति झल्कने चिजहरु छन्, यद्यपी हामीले ती स्थानहरुलाई सधंै बेवास्ता गर्दै आयौँ । अब यसो हुनु हुदैन, घुम्ने केन्द्रहरु पोखरा र लुम्बीनी मात्र होइन, यन्यत्र पनि छन् । तिनीहरुलाई बाहिर ल्याउनुपर्छ । मुलुकभित्र नै घुम्ने संस्कृतिको विकास गर्नुपर्छ भनेर हामी लागिपरेका छौं । हामी आयोजक भएको हुनाले व्यवस्थापन पक्षको जिम्मेवारी हामीमाथि भएपनि यो सबैको हो । यसमा सबैको अपनत्व हुनेछ । भ्रमण वर्ष २०२० घोषणा गरिएपनि ठोस कार्यक्रम ल्याउन नसकिरहेको बेला हामीले यो मेलाको आयोजना गरेको हुनाले पनि यसले मुलुकको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन हुनेमा दुईमत छैन । यसको एक मात्र उद्देश्य मुलुकका गन्तब्यहरुको प्रवद्र्धन नै हो ।
मेलामा कति स्टल रहनेछन् ?
अहिले हामी सुरुवाती अवस्थामा नै छौं । आजको मितिसम्मको कुरा गर्दा ४० वटा स्टल बुकिङ भइसकेको छ । मंसिर मसान्तसम्म स्टल बुकिङ गर्नेहरुलाई २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । अघिल्लो पटक १ सय १५ वटा स्टल रहेकोमा यसपटक करिब २ सय वटा स्टल रहने गरी गृहकार्य भइरहेको छ ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटन बोर्डसँग यहाँहरुको सहकार्य कसरी अगाडि बढ्छ ?
सरकार र हाम्रो उद्देश्य साझा छ । २० लाख पर्यटक भित्र्याउने गरी सरकार अघि बढिरहँदा त्यसको नेतृत्व पर्यटन बोर्डले गरिराखेको छ । हामीले पनि नेपाल आएका पर्यटकहरुलाई कुन कुन ठाँउमा के के छ, कहाँ के पाईन्छ, स्थानीय भेषभूषा, संस्कृति, रहन सहन र पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिन्छौं । तसर्थ, पर्यटन बोर्ड र हाम्रो काम परिपुरकको रुपमा रहेको छ ।
डीटीएम सामाजिक की व्यावसायिक ?
यो विशुद्ध सामाजिक कार्यका रुपमा लिएका छां । मेला सञ्चालन गर्न र यसको व्यवस्थापनका लागि रकमको आवश्यकता पर्छ नै । यसमा पर्यटन बोर्डसँग पनि हाम्रो सहकार्य हुन्छ । स्टल बुकिङबाट हुने आम्दानीलाई पनि हामीले शिक्षा, स्वास्थ्यका क्षेत्रमा खर्च गर्दै आएका छौं ।
डीटीएम राजधानीमै किन ?
नेपाल घुम्न आउने पर्यटक आजको मितिसम्म काठमाडांै भएर नै आउँछन्, उनीहरुलाई मुलुकभित्रको स्थानहरुका बारेमा जानकारी दिन राजधानी भन्दा अर्को उपयुक्त स्थान छैन । अर्को कुरा सत्य यही हो की सरकार, व्यवसायी र नीति निर्माताहरुको भीड राजधानीमा नै बढी छ । यसर्थ मेलाको व्यवस्थापन र अन्य प्राविधिक तवरले उपयुक्त यहीँ हो भन्ने हाम्रो बुझाई हो । यद्यपी, मेला भृकुटीमण्डपमा अयोजना भएपनि प्रवद्र्धन मुलुककै गर्ने हो । केही वर्षभित्रै मोफसलमा यसको विस्तार गर्नेछौं ।