सोलुखुम्बु, २८ असोज । सोलुखुम्बुस्थित माप्य दुधकोशी गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिएको कोशीपारी तर्ने कायघाट मोटरेबल पुल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले उक्त पुलको लागि टेण्डर आह्वान गर्ने औपचारिक निर्णय गरेसँगै पुल निर्माण कार्य अघि बढाउने बाटो खुल्ला भएको हो ।
उक्त मोटरेबल पुलको निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो । उक्त मोटरेबल पुलका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा बजेटसमेत विनियोजन गरिसकेको छ ।
कोशीपारी तर्ने कायखेत र सेलुवाबीचमा करिब ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिने छ । दुधकोशी नदीका कारण कोशीपारी तर्नका लागि बिकल्पको रुपमा यसअघि ह्वीम् पाइप राखेर अस्थायी रुपमा गाडि आवतजावत गर्ने व्यवस्था गरेको थियो ।
अध्यक्ष राईकाअनुसार गाउँ कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विशेष प्राथमिकतामा राखिएको कृषि र पशु सम्बन्धि कार्यक्रम अभिलम्ब कार्यन्वयनमा ल्याउने निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिकाअन्तर्गत वडाको केन्द्रको टुंगो लगाउन बाँकी वडाहरुका लागि दुई महिनाको समयसिमा तोकेको छ । आगामी दुई महिनाभित्र अनिवार्य रुपमा वडा केन्द्रको टुंगो लगाउन सम्बन्धित वडा समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म वडा नम्बर ३, ५ र ७ बाहेक अरु वडाहरुले भने वडा केन्द्र निश्चित गरिसकेको छ ।
यसैबीच, लामो समयदेखि रिक्त रहेको गाउँपालिकाको प्रवक्ता पदपूर्ति गरिएको छ । तत्कालिन प्रवक्ता निमराज तामाङले राजिनामा दिएपछि खाली रहेकोमा मंगलबारको कार्यपालिका बैठकले वडा नम्बर २ का वडा अध्यक्ष तेजबहादुर मगर (असारमान)लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।