मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज नेकपा ले उम्मेदवारको टुङ्गो लगाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १७ गते, आईतवार १०:१७

काठमाडौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार समय अभावले शनिबारको बैठकबाट उम्मेदवारको टुङ्गो लगाउन नसकेको हो ।
बैठकले तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफलसमेत गरेको जनाइएको छ । “बैठकमा हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरेका छौँ, तिनमा छलफल शुरु भएको छ”, उनले भने, “भोलिको बैठकपछि उम्मेदवारको घोषणा गर्नेछौँ ।”
पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको उनले जानकारी दिए । “उनी सिकिस्त भएको होइन, तर उनको स्वास्थ्यमा केही समस्या देखापरेका कारणले परीक्षण भइरहेको छ”, उनले भने, “प्रधानमन्त्रीको केही स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ, त्यो प्रतिवेदन प्राप्त भएपछि उपचारका अरु माध्यमका बारेमा आवश्यक निर्णय हुन्छ ।” प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा डाइलासिसपछि सामान्य अवस्थामा काम गरिरहेका छन् ।
कास्की–२ मा विद्या भट्टराई फाइनल
नेकपाले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार फाइनल गरेको छ । नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो । तर नेकपाले विद्याकै नाममा सहमति जुटाएको हो । नेकपा कास्कीका एक नेताले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको आफूहरुलाई जानकारी गराइएको बताए । उनले उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा भने आइतबारको सचिवालय बैठकपछि गरिने तय भएको जानकारी दिए ।
स्रोतका अनुसार कास्की–२ बाहेक अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ । शनिबारको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने उम्मेदवारको टुंगो आइतबार लगाइने बताएका थिए । कात्तिक ८ गते नेकपा कास्कीले विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको थियो ।
तर, कात्तिक १३ गते नेकपा गण्डकी प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको थियो । अन्ततः केन्द्रले कास्की जिल्ला कमिटीकै नाम सदर गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ । सिङ्गो देशकै ध्यान खिचेको कास्की २ उपनिर्वाचन प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान पनि हो । यसअर्थमा पनि कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
जनसवाल डट कम बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु