काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । यसैक्रममा विभागले आइतबार तीन वटा मेडिकल कलेजमा छापा मारको छ । आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको हो ।
सतर्कता केन्द्रको प्रतिवेदन पाएपछि हामीले सूक्ष्म अनुसन्धान शुरु गरेका थियौ’ सम्पति शुद्धिकरण तथा अनुसन्धान विभागका एक अधिकारीले भने, ‘आज स्थलगत रुपमै केही कागजात लिएर विस्तृत अनुसन्धान सुरु गरेका छौँ ।’ सतर्कता केन्द्रले केही दिनअघि निजी मेडिकल कलेजले विद्यार्थीबाट दुई लाखदेखि २५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएर ठगी गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र सम्पति शुद्धिकरण तथा अनुसन्धान विभागलाई पठाइएको केन्द्रको प्रतिवेदनमा विभिन्न १२ मेडिकल कलेजले विद्यार्थीसँग झण्डै तीन अर्ब रुपैयाँ अतिरिक्त शुल्क लिएर ठगी गरेको उल्लेख छ ।
सतर्कता केन्द्रको प्रतिवेदनले निजी मेडिकल कलेजले ठगी गरेको पाइएपछि नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १५ दिनभित्रमा अतिरिक्त शुल्क फिर्ता गर्न र नगरे ठगी मुद्दामा कारबाही गर्ने मेडिकल कलेज सञ्चालकलाई चेतावनी दिएका थिए । विभागले छापा मारेकामध्ये विराटनगरको नोबेल मेडिकल कलेजले पछिल्लो तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपैयाँ अतिरिक्त शुल्क उठाएको छ । सुनिल शर्मा सञ्चालक रहेको यस कलेजमा पटक पटक विवाद र आन्दोलन हुदै आएको थियो ।
यस्तै मेडिकल कलेजका ‘माफिया’का रुपमा परिचित बसरुद्दिन अन्सारीले सञ्चालन गरेको वीरगञ्जको नेश्नल मेडिकल कलेजले विद्यार्थीबाट ३२ करोड ५५ लाख रुपैयाँ असुलेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । यस्तै चितवन मेडिकल कलेजले पनि लाखौँ रुपैयाँ अतिरिक्त शुल्क उठाएको भन्दै काठमाण्डौसम्म आएर विद्यार्थीले प्रदर्शन गरेका थिए । गएको महिना विद्यार्थीले कलेजमा तालाबन्दी गरेर सडक प्रदर्शन गरे पनि कलेज सञ्चालकले शुल्क फिर्ता गरेका थिएनन् ।
चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपाने आफूहरुले सरकारले भनेरै अतिरिक्त शुल्क लिएको दावी गर्नुभएको थियो । अतिरिक्त शुल्क नदिएको भैरहवाको युनिभर्सल कलेजमा विद्यार्थीले तालाबन्दी गरेर रिले अनसन थालेका छन् । ‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको हो’ मन्त्रालय स्रोतले भन्यो, ‘विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।’ मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।
जनसवाल दैनिकबाट