• जनताको चाहाना अनुसार काम हुन नसक्दा सरकार र नेताको आलोचना स्वाभाविक:दाहाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १४:१३

    -प्रल्हाद दाहाल

    जबसम्म मुलुक सबै कुरामा आफैं आत्मनिर्भर हुँदैन तबसम्म मुलुक कहिल्यै समाजवाद उन्मुख हुन सक्दैन । हाम्रो देशमा अहिलेको वर्तमान अवस्था हेर्दा पनि प्रष्ट हुन्छ कि हामी अझ केही वर्ष सबै कुरामा आत्मनिर्भर हुन गार्हो छ यहि रुपले मात्र अगाडि बढ्ने हो भने । अहिले कम्युनिष्ट पार्टीको बहुमत सरकार हुँदा पनि समाजबादभन्दा पुजीवाद उन्मुख काम बढी भएको सहजै देख्न सकिन्छ । त्यसैले समाजवाद ल्याउन जति नै लागिपरे पनि हाम्रो जस्तो देशमा धेरै कठिन हुने कुरा सहजै अनुमान गर्न सकिन्छ । जबसम्म देशमा पुर्ण आत्मनिर्भरता हुदैन तबसम्म समाजवाद स्थापनाको कल्पना पनि गर्न सकिँदैन । कृषि प्रधान भनिएको हाम्रो देशमा धान चामल मात्र होइन कोदो, गुन्द्रुक, फापर र जनै समेत बाहिरबाट आयात हुने गरेको छ । जबसम्म देश गरीब रहिरन्छ तबसम्म मानिसहरु बिकाउ हुन्छन् । त्यसैले पहिला जनतालाई सक्षम बनाउन तिर लागौं अनि बिस्तार अरु काम गर्न सजिलो हुँदै जानेछ ।

    राज्यले अब कृषिको विकासको लागि गुरु योजना बनाई सरोकारवालाहरुलाई राखेर तत्काल कार्यनयन तिर जानुपर्छ ।
    कृषि मन्त्रालयले आफ्ना सातै प्रदेशम उत्पादन हुनसक्ने प्रमुख उत्पादनको अध्ययन गरि ती उत्पादनको बारेमा स्थानीय सरकारलाई प्रशिक्षित गरि बजार व्यवस्थापनका लागि प्रदेश सरकारलाई प्रशिक्षित गर्ने जस्ता कामहरुमा तत्काल काम गर्नुपर्ने देखिन्छ । मन्त्रालयमा मन्त्री, सचिव, सहसचिव, उपसचिवहरू , अधिकृत, सुब्बा, खरदार अनि अरु थुप्रै कर्मचारी छन् जसले स्वदेश वा विदेशमा गएर कृषि सम्बन्धि विभिन्न विषयमा डिग्री हासिल गरेर यहाँ नयाँ नयाँ खोज र अनुसन्धान गर्न भनेर सरकारी तलवभत्ता खाएर बसेका छन् । तर खोइ त आजसम्म कृषिमा के चाहिँ परिवर्तन भयो त ? अब यसरी हुँदैन हामी सबैजनाले एकाअर्कालाई आवश्यक सहयोग गरि तत्काल लागिपर्नुपर्छ । अन्यथा हेर्नुस् हामी युगौयुगसम्म यत्तिकै रहनेछौ र भावी पुस्ताले हामीलाई धिक्कार्ने छन् ।

    हाम्रो देशमा नेताले जनतालाई फकाउन र खुशी पार्न धेरै प्रयोग गर्ने राम्रो र भरपर्दो शब्द भनेको समाजवाद नै हो । समाजवाद आयो भने गरिब र धनी बराबर हुन्छन् भन्ने कुराको आम जनतामा ठूलो भ्रम छ । जबसम्म नेताहरु जनताको स्थानमा बस्न र आफ्नो बिगत ख्याल गर्न सक्दैनन् तबसम्म यस्तै हुन्छ । काम गर्दा सबैलाई समान उपलब्धि हुने गरि गरियो भनेमात्र सहता हुनेछ । नेताले आफ्नो बिगत बिर्सने अनि आफ्नो दुनोमात्र सोजाउने काम गर्न थालेपछि आम जनताको हित कहिल्यै हुन सक्दैन । जनता सधैं जनता मात्रै हुन यिनीहरुलाई केही थाहा छैन् भन्ने भ्रम त्यागे हुन्छ । जनता पनि नेता बन्न सक्छन् तर नेतालाई पुनः जनता बनेर जनताको ठाउँमा आउनुपर्छ भन्ने कुराको हेक्का हुनुपर्छ । तेति बेला बल्ल थाहा हुन्छ जनता भएर बस्न कति सकस रहेछ भनेर । हाम्रो देशमा हामी कुरा धेरै गर्दछौं र काम अत्यन्त कम गर्दछौ । जबसम्म हामी आफैं काम गरेर त्यसको महत्व बुझिदैन तबसम्म केही गर्न सकिँदैन । तर अब पनि बिझ्छु , बुझौंला अनि गर्दै छु भन्ने हो भने काम गर्न सकिदैन । त्यसैले बेलैमा केही गरौ पछि धेरै ढिला भैसकेको हुन्छ ।

    वास्तविक समाजवाद भनेको कष्टपूर्ण परिश्रम, उन्‍नत चेतना, सामाजिक सद्भाव, मान्छे मान्छे बीचका सबैखाले भेदभाव समाप्त भएको समाज हो। जबसम्म जाति प्रथा रहिरहन्छ, जबसम्म महिला-पुरुषबीच दासी र मालिकको सम्बन्ध रहिरहन्छ तबसम्म हाम्रो देशमा समाजवादको स्थापना गार्हो छ । समाजवाद भनेको त्यस्तो उन्नत समाज हो, जहाँ मानिसहरु शिक्षित हुन्छन् । अर्काको प्रगति र उन्नतिमा कसैले अलिकती पनि ईर्ष्या गर्दैनन्। कोहि कसैले केहि कामको लागि पनि घुस लिने र दिने गर्नेछैनन् । उद्योगपतिले कर लुकाउने छैनन् । सधैं खुशीका साथ कर बुझाउने छन् । नागरिक स्वतन्त्रता सबैभन्दा माथि हुनेछ । एउटाले अर्कालाई कहिल्यै पनि कुनै कुरामा धाक र धम्की लगाउने छैनन् । सबैतिर शान्ति हुनेछ ।

    समाजवाद भन्न जति सजिलो छ प्राप्तिको लागि भने ठुलो संघर्ष गरेर मात्र ल्यान सकिन्छ । बन्दुकले साम्राज्यवाद जोगाउन सक्छ, पूँजीवाद जोगाउन सक्छ, तर समाजवाद स्थापनामा तेसको कुनै अर्थ हुँदैन । आधुनिक समाजवादी समाज भनेको उच्च चेतनासहितको हतियार विरोधी समाज हो। यसरी हेर्ने हो भने हामी नेपालीले वास्तविक समाजवाद ल्याउन लागिपरेकै छैनौं । यसको लागि त हाम्रो जस्तो देशमा अझ धेरै त्याग र तपस्याको आवश्यक छ, जुन कुरा अहिलेको यो नेतृत्वबाट सम्भावना नै छैन । यसको लागि त यहि तरिकाले अझ एक दुई पुस्तामा पनि भन्न सकिँदैन । अब साँच्चै लाग्ने नै हो , देशमा समाजवाद ल्याउने नै हो भने नयाँ शक्तिको खाँचो छ जुनमा स्वार्थ भन्ने हुनु नै हुँदैन । तर त्यो पनि अहिलेको यो समाजमा पाउन र कल्पना गर्न गार्है छ । तैपनि असम्भव केही हुँदैन भने झैँ देशको लागि केही गर्छु अब पनि नगरे कहिले गर्ने भन्ने खालको नयाँ सोच कोहिमा आयो र चमत्कार भयो भने भन्न पनि सकिँदैन । आशा गरौं त्यस्तै कोहि निक्लोस् र देशमा नयाँ आयाम ल्याओस् ।

    हामीले जुन भ्रम पालेका छौं,त्यो बेकार हो । लेनिनवाद र माओवादले समाजवाद ल्याउन कुनै खालको सहयोग पुग्ने छैन । लेनिनवादका कारण सोभियत संघको विघटन भयो। माओवादका कारण मुक्तिको पच्चीस वर्षसम्म राष्ट्रिय आम्दानीको तथ्याङ्कलाई सोचे जति माथि लान सकेन। नेपालमा हेर्ने हो पनि त्यस्तै छ । माओवादी आन्दोलनले जनताको हितको लागि अनि समाजवाद स्थापनाको लागि के चाहिँ खास फरक पार्यो त ? अन्त्यमा गएर उहि जे थियो त्यहि नै भयो ।

    त्यस कारण हामीले रे, हो, अँ भनेर होइन कि भनेर भोगेको र वास्तविकतालाई हेरेर त्यो वा यो वाद नभनी अनि बल्ल मान्नुपर्ने हुन्छ । चिनले राज्य नियन्त्रित पुँजीवादको ढोका खोलेर अभूतपूर्व विकास गरेको देखिएकै छ। भाषण गरेर चीनले यो विकास गरेको होइन। हामीले हाम्रो देशमा कामभन्दा पनि कुरा बढी गर्यौ । त्यसले गर्दा जनताको आशा अनि भरोसा पूरा गर्न नसकेर जनताको माझ अफ्ट्यारो महसुस गरेर बस्नु परेकोछ । कुरा गरेर समाजवाद आउँदैन। कुरा गरेर आउने भए विश्वमा पहिलो समाजवादी मुलुक नेपाल नै हुन्थ्यो । काम गरेर मात्र विकासको ढोका खोल्न सकिन्छ। आज विश्वको महाशक्ति भएको चीनले हामी समाजवादी भयौं भन्न अझै सकिरहेको छैन ।

    हामी नेपालीहरु अल्छी छौं । आफ्नो कामभन्दा पनि अरुको चियोचर्चो बढी गर्ने अनि आलोचना गर्दै अधिकाशं समय बिताउने गर्दछौं । नेतालाई मात्र दोष दिएर केही काम छैन । हामी जनताले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । आ- आफ्नो काम सबैजनाले गर्ने र कोहि कसैले पनि नहुने काममा नलाग्ने हो भने नेतालाई गाली पनि गर्नु पर्दैन र कसैले बदमासी पनि गर्न सक्दैनन् । यहाँ त आफुले गल्ती गर्दा ठिक हुने अरुले गर्दा पहाड नै खसे झैँ हुनाले समस्या भएको हो । गल्ती जो कोहीले गरे पनि गल्ती नै हो र यो गर्नु हुदैन भन्ने कुरा आम मानिसको मनमा नआएसम्म कहिल्यै पनि यो समाज परिवर्तन हुन सक्दैन । क्रमिक विकास प्राकृतिक कुरा हो। चाहिनेभन्दा नपत्याउने पाराले छिटोछिटो विकास हुँदा पनि पछि पुरानै ठाउँमा फर्किनैपर्छ, किनभने तेस्तो प्रकारको छलाङ विकास प्रकृति विरोधी सोच हो। छलाङ तरिकाको विकासमा केही नेता र कार्यकर्ताहरुले काम पाउलान् तर त्यो टिकाउ भने हुदैन । क्रमिक विकासले मात्र टिकाउ र सन्तुलन हुन्छ । क्रमिक विकासको नमूना हामी युरोपको फिनल्याण्ड, स्वीट्जरल्याण्ड र डेनमार्कमा हेर्न सक्छौं । फिनल्याण्ड र स्वीटजरल्यान्ड गणतन्त्र भएका देश हुन् । फिनल्यान्डमा चाहिँ नेपालकै जस्तो संघीय गणतन्त्र छ ।

    जहाँ जे भए पनि देशको विकास भनेको त्यहाँको हावापानी, माटो, भौतिक अवस्था, जनताको चाहाना सबै कुरा हेरेर मात्र हुने कुरा हो । अरुको नक्कल गरेर आफ्नो अवस्था नबुझी हचुवाको भरमा हुने कुरा होइन । आजसम्म जे जति कुरा भए सबै हामीले बुझ्दै नबुझी अरुको नक्कल गरेर गर्यौ । यसले न आफ्नो तरिकाको भयो न त अरुको जस्तै नै भयो । हामी “घर न घाटको” जस्तो भयौं । अब भने राम्रोसँग बुझेर जनतासँग चाहाना अनुसार आवश्यकताको आधारमा आफ्नोभन्दा जनताको स्वार्थमा काम गरे मात्र जनताको मन जितेर अगाडि बढ्न सकिन्छ । अब कुनै वादको पछि नलागि विकासवादको मात्र पछि लागौं अनि मात्र वास्तविक वाद प्रप्त गर्न सकिन्छ । होइन भने सधैं अरुको नक्कल वाद मात्र पाउने छौं र अन्त्यमा ” हात लाग्यो शून्य ” हुनेछ । अब आइन्दा अरुको कुनै लोभ र लालचमा नलागी आफ्नो देशको विकास हामी आफैं लागेर गरौं । यसमा आम जनता नेता सबैको हित हुनेछ ।

    (लेखक-दाहाल लामो समयदेखि शिक्षा,राजनीति सामाजिक,सहकारी र डेरीको बारेमा कलम चलाउदै आउनुभएको छ)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु