सुश्मा महरा वरिस्ठ सौन्दर्यविद् हुनुका साथै, एक सफल महिला उद्यमी पनि हुन । दुई दशक देखी सौन्दर्यशास्त्रको क्षेत्रमा कृयाशिल महरा डेढ दशक देखी सौन्दर्य व्यवसायमा संलग्न रहदै आएकी छिन् । नेपाल, भारत र थाईल्याण्डबाट सौन्दर्यशास्त्र सम्बन्धी बिषयगत तालिमहरु हासिल गरेकी महराले सौन्दर्यशास्त्र बिषयमा अध्यापन गर्दै आएकी छिन् भने व्यवसायिक रुपमा फेसियल हाउस ब्राण्डमा चेन विजनेश संचालन गर्दै आईरहेकी छिन् ।
त्यसो त सौन्दर्य विधामा नियमित तवरले कलम चलाउदै आएकी महराका सामयिक लेख रचनाहरु प्रकाशित हुँदै आएका छन् । निर्भिक र साहसी महिला व्यवसायीको रुपमा चिरपरिचित उनी काठमाडौं उद्योग वाणिज्य संघकी कोसाध्यक्ष समेत हुन । वरिस्ठ सौन्दर्यविद् सुश्मा महरासँग कोभिड १९ ले सौन्दर्यको क्षेत्रमा पारेको प्रभाव एवम् अन्य समसामयिक बिषयमा केन्द्रित रहेर न्युजलाईन्स पाक्षिकले गरेको कुराकानीको सारसंक्षेप :
कोविड १९ का कारण समग्र व्यापार व्यवसाय क्षेत्रमा कस्तो असर परेको छ ?
हाल खाद्य सामाग्री, स्वास्थ्य सामाग्री वाहेकका अन्य कारोबारका क्षेत्रहरुको व्यापार निकै खस्केको छ । कतिपय व्यवसाय अझै संचालन हुन अनुमतीको पर्खाईमा छन् । यसबाट रोजगारीको क्षेत्र पनि निकै प्रभावित बनेको छ । आम्दानी नभए पछि घर भाडा, विद्युत महशुल, कर, बैंकको ब्याज, किस्ता, कर्मचारीलाई तलब दिनुपर्ने दायित्वलाई पुरा गर्न अधिकांश व्यवसायीलाई कठिनाई भैरहेको छ । हाल बजार केही खुकुलो भए पनि ग्राहकहरुको उपस्थिती निकै न्युन छ । लामो समयसम्म लकडाउन जारी रहदा यसले व्यापार व्यवसायको क्षेत्रलाई तहसनहस पारेको छ । त्यसैले अहिलेको परिस्थिती निकै जटिल छ ।
सरकारले मौद्रिक नितीबाट दिएको सहुलियतबाट राहत मिल्ने अवस्था कत्तिको देख्नु भएको छ ?
सरकारले ल्याएको बजेट जति निराशाजनक थियो मौद्रिक निती तुलनात्मक रुपमा उत्साहप्रद रह्यो । यद्यपी त्यो पर्याप्त भने छैन् ।अन्य मुलुकमा जिडिपीको २० प्रतिशतसम्म स्टुमुलस प्याकेज ल्याएको अवस्था छ । तर हाम्रोमा ५ प्रतिशतसम्म पनि आएन । यसबाट वास्तव मै व्यवसायीहरु निराश बनेका छन् । सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण निकै संकुचित पाराको छ । व्याजदरमा २ प्रतिशतसम्म छुट दिने व्यवस्थाले त्यति ठुलो राहत मिल्छ झै लाग्दैन । कम से कम पूर्ण रुपमा प्रभावित व्यवसायलाई भारी ब्याज छुट दिने गरि पुनर्कर्जाको निती अख्तियार गर्न सक्नु पर्थ्यो भने घर भाडामा कम्तिमा पनि ५० प्रतिशत छुट र व्यवसाय निर्वाद रुपमा संचालनमा आएको ३ महिना पस्चात मात्रै बहाल चुक्ता गर्न सक्ने गरि वाध्यकारी नियम लागु गर्न सक्नु पर्थ्यो ।यस्ता विविध सवाल छन् । मुख्यतया निजी क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्वबाट सरकार चुकेको महशुस गरेको छु ।
व्यवसायीहरुले नाफा कमाईन्जेल चुप लागेर बस्ने तर आफुलाई अप्ठयारो पर्दा राज्यबाट सहुलियत पाउनुपर्छ भनेर माग गर्नु उचित छैन भन्ने सवाल पनि उठेको छ नि ?
वास्तवमा जसले त्यसो भन्छन् त्यो अर्थतन्त्रलाई नबुझ्नेले भन्ने कुरा हो । कोभिडबाट सिर्जित अवस्था भनेको विल्कुल फरक परिवेश हो । सारा विश्व प्रभावित छ । निजी क्षेत्रको हकमा कुरा गर्नुहुन्छ भने नेपालको जिडीपीमा निजी क्षेत्रको ७० प्रतिशत हाराहारी योगदान रहदै आएको थियो । त्यस योगदानलाई भुलेर कोरा कुरा गर्दै जाने हो भने भविस्यमा अर्थतन्त्रमा पर्ने असर झनै भयावह बन्न सक्छ ।अरु देशमा हेर्नु भयो भने पनि निजी क्षेत्रलाई नगद प्रवाह गरेर राज्यले आडभरोसा दिई राखेको छ । त्यसो गर्नुको मतलब निजी क्षेत्र पनि राज्यको अभिन्न अंग हो र अर्थतन्त्रलाई चलायमान गराउने मुख्य मेरुदण्ड पनि निजी क्षेत्र हो भनेर नै हो । यहाँ धेरैको रोजीरोटीको सवाल जोडिएको छ भने देशको अर्थतन्त्र सबल बनाउने वा कमजोर पार्ने भन्ने बिषय पनि प्रमुख रहन्छ । जुन यहाँले नाफा कमाईन्जेल चुप लागेर बस्ने कुरा गर्नु भयो यो सबैमा लागु हुने बिषय होईन् । कोविड अघि पनि साना तथा मझौला व्यवसाय संचालन गर्न त्यसै पनि मुश्किल थियो । हाम्रोमा लागु हुँदै आएको कर प्रणाली, बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा माथिको नियन्त्रणमा सरकारको फितलो नियमन, नाम मात्रको अनुगमन, श्रम कानुनका केही प्रावधान जस्ता कार्यले गर्दा ढुक्कका साथ व्यापार व्यवसाय गर्ने माहौल छैन । व्यवसाय गरेर सबैले नाफा मात्र कमाएका छन् भन्नु पनि गलत छ । सामान्य अवस्थामा समेत व्यापारमा गरेको लगानी डुब्न सक्छ । जोखिम मोले पछि केही नाफा पनि राख्नुपर्ने हुन्छ ।त्यसैले व्यवसायीका पिडालाई पनि बुझ्नु पर्छ ।
तपाईको विचारमा अहिलेको अवस्थालाई कसरी व्यवस्थापन गर्नु पर्छ भन्ने लाग्छ ?
हाल सरकारले लिएको निती विल्कुलै मिलेको छैन । सरकारले बुझनु पर्ने कुरा के छ भने बन्द भएको समय र आगामी दिनमा व्यवसायलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा स्पस्ट हुनु पर्छ । सबै ब्यापारीहरु अन्यौलमा छन् । घर धनी भाडा माग्छ । व्यवसाय बन्दछ । यो समस्याका कारण कति ठाउँमा त व्यवसायीले आत्महत्यानै गरी सकेका छन्। यस्ता समस्याहरु प्रति बेलैमा ध्यान जान जरुरी छ । जसका लागि सरकारले विज्ञ टोली बनाएर अहिलेको परिस्थितीको सुक्ष्म रुपमा अध्ययन गर्नुपर्छ । यो कोविडको कहर कहिलेसम्म रहन्छ भन्न सक्ने अवस्था नरहेकाले उद्योग व्यापारको क्षेत्रमा पर्दै आएको र भोलीका दिनमा थपिने बोझलाई कसरी कम गर्ने भन्नेमा दृष्टि लगाउनु पर्छ ।
यो कोभिडको प्रकोप कहिलेसम्म रहन सक्ने आँकलन गर्नु भएको छ ?
चाईनाले फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कोविडको खोपको तेस्रो ट्रायल गराईसकेको छ भने अब डिसेम्बरको अन्त्यसम्ममा संसार भरी वितरण गर्ने बताईएको छ । त्यस्तै रसिया, भारत लगायतका देशमा पनि जनवरीको तेस्रो हप्ता पस्चात खोप लगाउने कुरा आएकाले अब हामीले सोच्नु पर्छ कि अझै छ महिना हाम्रा लागि निकै चुनौतिपुण रहनेछ । यसै पेरिफेरिमा रहेर समस्या समाधान गर्न सकियो भने सबै व्यवसायलाई राहात हुन्छ ।
तपाईले सञ्चालन गर्नु भएको फेसियल हाउसको कस्तो योजना बनाउनु भएको छ ?
हामीले अहिले तीन भिन्न प्रणालीमा काम गरिरहेका छौं । हाम्रा ग्राहकहरुलाई सकेसम्म घरमा आफैले गर्न सक्ने सौंन्दर्य स्याहार गर्न आग्रह गरिरहेका छौं र यसका लागि हामीले फोन र भाईवर मार्फत परामर्श सेवा दिरहेका छौं । सौन्दर्य सामाग्रीहरुको हकमा अनलाईन मार्फत सामाग्रीहरु देशै भर पुग्ने व्यवस्था गरेका छौ । र अर्को केहि ब्राचहरु सबै सुरक्षा का उपायहरु अबलम्बन गर्दै खोलेका पनि छौं ।
यसपालीको दशै कसरी मनाउने योजनामा हुनुहुन्छ ?
यस पालीको दशै पक्कै पनि खल्लो हुनेवाला छ ।कोविडको संक्रमण दर पनि बढदै गईरहेको अवस्थामा जोखिम पनि बढेको छ । सकेसम्म टिका लगाउनको लागि घरबाट बाहिर ननिक्लदा नै राम्रो हुन्छ भन्ने लाग्छ । त्यसैले म चाहि यस पाला सिमित घेरा भित्र मात्रै टिकाटाला लगाउने योजनामा छु । पहिले पहिले जस्तो खुलेर दशै मान्ने पक्षमा म छुईन्, अवस्थाले पनि त्यही भन्छ । त्यसैले , तपाईंको यस लोकप्रिय म्यागाजिन मार्फत म समस्त नेपाली दिदी बहिनी, दाजु भाई, बुवा, मुवा, साना साना नानी सबैलाई दशै मनाउने वहानामा जोखिम नमोल्नुस् भन्न चाहन्छु । अवस्था प्रतिकुल रहेकाले सकेसम्म आफ्नो घर परिवारका सदस्य वाहेक अन्य मान्यजनबाट आशिर्वाद लिने लालसा नपाल्नुस् भन्छु । अन्त्यमा दु:खमा हास्न सिक्नुस्, शान्ती पुर्वक बाँच्न सिक्नुस् । स्वास्थ्य प्रति बिशेष ध्यान दिनुस् । अर्को बर्ष पक्कै पनि राम्रोसँग हासीखुसी दशै मनाउँला ।