• कोरोनाको दोस्रो लहरसँगै निजि विद्यालयको संघर्ष “

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १९:३७

    प्रल्हाद दाहाल
    निवर्तमान सचीव :एन प्याब्सन

    विश्व महामारीको रुपमा रहेको कोरोनाभाइरसले यस वर्षको शैक्षिकसत्र लगभग पूरै प्रभावित पार्यो । केही समयको भौतिक उपस्थिति र बाँकी अनलाइनको माध्यमबाट जसोतसो शैक्षिक सत्र सकिएको छ । अब असार १ गतेदेखि नयाँ सत्र सुरु गर्न भन्दै शिक्षा मन्त्रालयबाट सुचना जारी गरिएको छ ।

    धेरै समयसम्म भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्न नसकिएका कारण यो वर्ष पाठ्यक्रम केही मात्रामा कम गर्दै दुई महिना शैक्षिक सत्र लम्ब्याएर भए पनि सम्पन्न गरियो । निजि विद्यालयले यस्तो कठिन अवस्थामा आफ्नो जिम्मेवारी बहन गरेता पनि त्यसको मर्का भने कसैले पनि बुझ्ने कोसिस गरेको पाइदैन । कोरोना भाइरसका कारण लकडाउन हुँदा निजि विद्यालयले अनगिन्ती समस्या झेल्दै आफ्ना सबै किसिमका कर्तव्य पूरा गरेका छन्। तर राज्यबाट कहिँ पनि सम्बोधन गरेको पाइदैन ।जसले गर्दा आम निजिमा पढ्ने विद्यार्थी र विद्यालय संचालक सरकारले गरेको फरक व्यवहारबाट दुखी हुन परेको छ ।

    हाम्रो देश भौगोलिक रुपम बिकट छ । कति ठाउँमा विजुली बत्ती नै पुगेको छैन भने कति ठाउँमा नेट नै राम्रोसँग नटिप्नाका कारण अनलाइन कक्षा लिन संभावना नै छैन ।जहाँ नेट थियो,बत्ती थियो त्यहाँ पनि अनगिन्ती समस्याका विच जिनतिन पढाइ भएको छ । तर वास्तवमा पढाइ कति सकियो भन्ने कुरा चाहिँ कठिन नै छ। सबै ठाउँमा एकै किसिमका स्कूलहरू नभएका र सबै ठाउँमा कोभिडको सङ्क्रमण पनि एकैनासको नभएका कारण स्कूलहरूमा पढाई पनि ठाउँ अनुसार फरक फरक भएको देखियो । अहिले पढाइभन्दा पनि आम मानिसमा कोरोनाभाइरससँग कसरी बाँच्ने भन्ने कुरा चाहिँ बढी महत्वपूर्ण भयो । संक्रमण कम होस् भनेर देशैभर लकडाउन गरियो । लकडाउनपछि स्कुलहरुले अनलाइन पढाइ गर्न बाध्य हुन पर्यो । तर यसको अभ्यास हाम्रो देशमा त्यति धेरै नभएका कारण त्यति प्रभावकारी हुन सकेन जति आशा गरिएको थियो । तर जे जस्तो भए पनि हाम्रो देशमा त्रिभुवन विश्वविद्यालयदेखि स्कुल तहसम्म सबैतिर अनलाइनबाट नै कक्षा चल्यो । कोरोना भाइरसका कारण कतै स्कूल दुई महिना मात्र भौतिक रुपमा सञ्चालन भए भने कतै ६ महिना संचालन भएका थिए । सबै स्थानको वैकल्पिक पठनपाठन पनि एकैनास हुन सकेन । सहरीक्षेत्रमा अनलाइन कक्षा अलि बढि प्रभावकारी भयो भने ग्रामीण क्षेत्रतिर तुलनात्मक रुपले कम भयो । तर ग्रामीण क्षेत्रमा संक्रमण कम भएकाले भौतिक रुपमा पठनपाठन अलि बढी नै भयो । जसको कारण ग्रामीण क्षेत्रकाभन्दा शहरी क्षेत्रका अनि विशेष गरि साना तथा मझौला विद्यालय ठूलो समस्यामा छन् । अनलाइन पढाउँदा पनि सबै विद्यार्थी सहभागीता नहुने,शुल्क नउठ्ने,अलि धेरै रकम बाँकी भएपछि स्कुल नै छाड्ने,अनलाइन पढेता पनि अनेक बहाना बनाएर सकभर शुल्क तिर्न नखोज्ने आदि कारण ठूलै मर्कामा परेका छन् । यस्ता प्राय विद्यालयको आफ्नो जमिन र भवन पनि छैन । सबै जसो भाडामा नै संचालन गरेका हुन्छन्। यत्रो समयसम्म नियमित विद्यार्थीसँग शुल्क उठाउन नसक्दा विद्यालय टिकाउनै गार्हो भएको छ । बाहिरबाट हेर्दा अनलाइन पढाएका छन्, शुल्क लिएकै छन भन्ने छ तर वास्तवमा त्यस्तो छैन । यो लेबलका निजि विद्यालयमा पढ्ने अभिभावक पनि ठूलो समस्या भोगेका छन् । प्राय जसो निजि अफिसमा काम गर्ने, साना-साना ब्यापार व्यावसाय गर्ने खालका हुन्छन् । अहिले यो कोरोनाका कारण सबभन्दा बढी मारमा पनि त्यही लेबलका मानिस छन् । यस कारण पनि साना तथा मझौला निजि विद्यालय सबैभन्दा बढी मारमा परेका छन् । हुन त यो कोरोनाका कारण कुनै क्षेत्र पनि राम्रोसँग संचालन हुन सकेको छैन । तर ठूला-ठूला निजि विद्यालयमा भने त्यति धेरै समस्या देखिदैन । त्यहाँ भवन आफ्नै हुन्छ, भाडा तिर्न पर्दैन, त्यहाँ पढाउने अभिभावक पनि आर्थिक हिसाबले अलि सम्पन्नै र बुझ्ने खालका हुन्छन् , पढ्नका लागि आवश्यक सामग्री ल्यापटप, मोबाइल,नेट,ट्याब आदि जे जे आवस्यक हो त्यो अनुसार उपलब्ध गराउन सक्ने हुँदा अलि बढी सहज भएको पाइन्छ । वैकल्पिक पठनपाठनमा पनि निजी तथा सामुदायिक विद्यालयहरूबीच भिन्नता रह्यो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ल्यापटप, कम्प्युटर, नेट लगायत आवश्यक सामग्री उपलब्ध गराउन राज्य आफैं लाग्यो भने निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई भने पुरै सौतेनी ब्यवहार नै गरियो ।
    गत वर्ष जस्तै यो वर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्याङ्कनको आधारमा गरिने लगभग निश्चित प्राय छ । यदि परिक्षा भएको भए पनि यस पटक अलि कठिन नै थियो। हामीले निजि र सुगम भागको मात्र कुरा गरेर हुँदैन । निजि र शहरी क्षेत्रका विद्यालयमा करिब ८० प्रतिशत पाठ्यक्रमको पढाइ सकिएको देखिन्छ भने सरकारी र दुर्गम स्थानका विद्यालयमा भने करिब ७० प्रतिशतसम्म सकिएको पाइन्छ। यो एउटा औसतमा निकालिएको डाटा हो । यो अफ्ट्यारो समयमा ठ्याक्कै डाटा निकाल्न कठिन छ । ठाउँपिच्छे र स्कूलपिच्छे अझ विषयपिच्छे फरक फरक आँकडा आउन सक्छ । हाम्रो जस्तो देशमा यो यस्तो अवस्थामा जे जति हुन सक्यो यो ठूलै उपलब्धि मान्नुपर्छ । यो हामी कहाँ पहिलो अनुभव हो । गत वर्ष चैतदेखि अनेक कठिनाईका विच अलि अलि गर्दै यतिसम्म गरियो । यो महामारीको बेला जे जस्तो भए पनि अनलाइन र दूरशिक्षा प्रभावकारी नै सावित भयो ।
    आँकडा जस्तो भए पनि अनेक अफ्ट्यारा पार गर्दै अब लगभग सबैजसो विद्यालयहरूले जेष्ठभित्र यो शैक्षिक सत्र पुरा गरि असारदेखि नयाँ सत्रको सुरुवात गर्दै छन् । यो नै महामारीको कठिन समयको सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ । शैक्षिक सत्र जसोतसो सकिए पनि यस अवधिमा आम विद्यार्थीहरूलाई कत्तिको गुणस्तरीय सिकाइ उपलब्ध भयो भन्ने कुराको मूल्याकंन भने आउँदा दिनमा देखिने कुरा हुन् । ज्ञान बाँड्ने हिसाबले अनलाइन वैकल्पिक माध्यम राम्रै रह्यो भने सीप बाँड्ने अनि प्रयोगात्मक विधिहरू भने विद्यार्थीले आफ्नो घरको वातावरण अनुसार सिकेका हुन्छन् ।यो समयमा विद्यालयमा पाउने शिक्षामा केही कमि भएता पनि यसपालि केही मात्रामा भएपनी घरायसी ज्ञान भने सिक्न पाएका छन् । कतिपय विद्यार्थीलाई ठूलो हुने बेलासम्म पनि खाना बनाउन नआउने, करेसा बारीमा के फल्छ थाहा नहुने, आफन्तहरु नचिन्ने,आफ्नो गाउँको बारे थाहा नहुने, घरको बारे खासै थाहा नहुने जस्ता कुरा थियो भने यसपालि सिक्ने मौका मिलेको छ । यसलाई पनि हामीले एउटा राम्रै उपलब्धिको रुपमा लिनुपर्छ । अब आम अभिभावक र शिक्षकले आफ्ना बालबालिकामा न्यूनतम सिकाइ हुनसक्यो कि सकेन भनेर बुझि जहाँ आवश्यक छ सोही अनुसार अभिभावक र शिक्षकले त्यसलाई पूरा गराउनतिर लाग्नुपर्छ । विशेष गरी ठूलो कक्षा र साना बालबालिकालाई अभिभावक र शिक्षकले ख्याल गर्नुपर्ने हुन्छ ।

    उपकरण र इन्टरनेटमा सहज पहुँच नभएको अवस्थामा अनलाइन शिक्षा त्यति प्रभावकारी हुन सकेन । त्यसको लागि विद्यालयहरुले आ-आफ्नो अनुकुल त्यसको ब्यवस्थापन गर्नुपर्ने भयो। यस्तो अवस्थामा सरकारको सबैलाई एकै नासको निर्णयले काम नगर्न सक्छ । भौगोलिक अवस्था र वातावरणको हिसाबले फरक पर्ने भएकाले त्यस्तो जिम्मा विद्यालयहरुकै हुन जरुरी छ । एउटै कक्षामा पनि कुनै विद्यार्थीलाई शिक्षकको थप सहयोग चाहिने अनि कुनैलाई नचाहिने हुनसक्छ । त्यसैले आवश्यक अनुसार शिक्षकले सबै खाले अभ्यास गरि निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रणाली अपनाई अगाडि बढ्नुपर्ने हुन्छ । हरेक विद्यार्थीलाई मापदण्डभित्र राखेर विद्यालयहरूले मूल्याकंन गरि के के आवश्यक छ भनी सहि तरिकाले अगाडी बढ्नुपर्ने देखिन्छ ।

    अब कलेजमा यसपालिदेखि अलि फरक माध्यम अपनाउनु पर्छ । गत वर्ष जस्तो हल्का रुपमा नभएर अब अलि गहन रुपमा अध्यापन गराउनुपर्ने हुन्छ । कक्षा १०का विद्यार्थीहरुले जति सिक्नुपर्ने हो त्यति सिक्न सकेका छैनन् । त्यसको लागि पनि कक्षा ११ मा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

    वास्तवमा महामारीले शैक्षिक गुणस्तरमा ठ्याक्कै कति प्रभाव पार्‍यो भनेर बुझ्न यसपालिको एसईई नतिजा र पोहोरको एसईईको नतिजा तुलना गरेर मात्र पुग्दैन । यसको सहि नतिजा अबको केही वर्षमा मात्र थाहा हुन्छ । पोहोर त बरु विद्यार्थीले परिक्षा मात्र दिन नपाएका हुन, शैक्षिक सत्रभर पढ्न त पाएकै थिए । पढ्न पाएका विद्यार्थीहरूको नतिजा र यसपालि वैकल्पिक माध्यमबाट पढेका विद्यार्थीहरूको नतिजा तुलना गर्दा त पक्कै पनि केही कमजोरी यसपटकको बैकल्पिक कक्षामा भइ नै हाल्छ । अब यो महामारी वा यस्तै खालका अन्य समस्याहरु आइरहन सक्ने भएकाले अबदेखि शैक्षिक सत्र सक्काउने मात्रभन्दा पनि कसरी गुणस्तर दिन सकिन्छ र थप प्रभावकारी बनाउन सकिन्छ भनेर लागिपर्नुपर्ने समय आएको छ । नत्र भने हामी कुनै पनि समय अफ्ट्यारो परिस्थितिमा पर्न सक्छौं । यस विषयमा आम हामी सबै सरोकारवाला र सरकारले बेलैमा सोच्न पर्ने हुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु