नमराज भट्ट
धनगढी,३१ भाद्र २०७८
स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना तथा विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राबिधिक सहयोग र सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा औलो रोग निवारणको लक्ष्य हासिल गर्नको लागि प्रदेश स्तरीय योजना तर्जुमा गोष्ठी प्रदेशको अस्थायी राजधानी धनगढी कैलालीमा शुरु भएको छ ।
भाद्र ३१ देखि असोज ०१ गते सम्म धनगढीमा संचालन हुने योजना तर्जुमा गोष्ठीमा सुदूरपश्चिम प्रदेश,सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश जन स्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र,नौ वटै स्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुख र कार्यक्रम फोकल पर्सन, दातृ निकाय विश्व स्वास्थ्य संगठन, सेभ द चिल्ड्रेन यु एस ग्लोबल फन्डका कार्यक्रम संग आबद्ध व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम संचालन भइरहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक श्री उत्तम राज प्याकुरेलले बताउनु भएको छ ।
नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो रोग निवारण गरि सक्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले औलो रोग निवारणको लागि लगातार तिन बर्ष सम्म स्थानीय औँलो रोगीको संख्या शुन्यको अवस्थामा रहनु पर्छ भन्ने मापदण्ड निर्धारण गरेको छ ।
त्यसै कारण नेपालले पनि सन् २०२५ सम्ममा औलो निवारणको लक्ष्य हासिल गर्नको लागि सन् २०२२ देखि नै स्थानीय औलो रोगीको संख्या शुन्यमा झार्नु पर्ने हुन्छ । गत आर्थिक बर्षमा देश भरिमा देखा परेका कुल ३६४ औलो रोगि मध्ये ५८ जना स्थानीय औलो रोगि फेला परेका थिए।
त्यस मध्ये सुदूरपश्चिममा मात्र २१० जना कुल औलो रोगि फेला परेकोमा ३६ जना स्थानीय औलो रोगि सुदूरपश्चिमकै भएको हुनाले र तुलनात्मक रुपमा औलोको भार सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा अत्यधिक रहेको हुनाले सुदूरपश्चिम प्रदेश बाटै यस प्रकारको योजना तर्जुमा गोष्ठी आयोजना गरि औलो रोग निवारणको कार्यक्रम लाई घनिभूत रुपमा अगाडी बढाउने गरि योजना बन्ने र कार्यक्रम तय हुने कुरा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ ।
योजना तर्जुमा गोष्ठीको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयका माननीय मन्त्री श्री लाल बहादुर खड्का, सामाजिक बिकास मन्त्रालयका राज्य मन्त्रि श्री मना कुमारी साउद, सामाजिक बिकास मन्त्रालयका सचिव श्री रघुराम बिष्ट, प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थी, विश्व स्वास्थ्य संगठनका डा.सुभाष लाखे, सेभ द चिल्ड्रेनका नेशनल टेक्निकल एडभाइजर डा. सुमन थापा,इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भि बि डी एन टि डी शाखा प्रमुख डा.गोकर्ण दाहाल लगायतको आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो।
कार्यक्रममा उपस्थित माननीय सामाजिक बिकास मन्त्री र राज्यमन्त्री ज्युले सुदूरपश्चिम प्रदेशमा देखा परेको औँलो रोगको उच्च भारलाइ कमि गर्न र समयमै रोग निवारणको लक्ष्य हासिल गर्नको लागि गर्नुपर्ने कामको लागि प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।