१९ असोज २०७८, धनगढी
सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा एकीकृत वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा यहि असोज १७ गते देखि ३ दिन सम्म चल्ने गरि शुरु भएको समीक्षा गोष्ठीमा प्रदेशको भूगोल भित्र सेवा दिइ रहेका बयलपाटा सहित अन्य सबै सरकारी अस्पताल ,नौ वटै जिल्लामाअवस्थित स्वास्थ्य कार्यालयहरु र आयुर्बेद स्वास्थ्य केन्द्रहरुले आर्थिक बर्ष २०७७.७८ मा सम्पादन गरेको स्वास्थ्य कार्यक्रम हरुको समीक्षा गर्ने गरि कार्यक्रम भै रहेको छ ।
एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठीको उद्घाटन सत्र सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा भौतिक पूर्वाधार बिकास मन्त्री मा.श्री दीर्घ बहादुर सोडारी, सामाजिक बिकास मन्त्री मा श्री लाल बहादुर खड्का ,सामाजिक बिकास राज्य मन्त्री मा.श्री मना कुमारी साउद ,धनगढी उप महानगर पालिका प्रमुख श्री नृप बहादुर वड , संघीय सरकारका तर्फ बाट स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा श्री आर पी बिच्छा ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख श्री रिता भण्डारी जोशी ,अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी स्वास्थ्य ब्यबस्थापन सुचना प्रणाली शाखा प्रमुख श्री अनिल थापा लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा स्वास्थ्य निर्देशनालय राजपुर डोटीको तर्फ बाट स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले आर्थिक बर्ष २०७७.०७८ मा स्वास्थ्य निर्देशनालय र मातहतका निकायबाट सम्पादन भएका प्रमुख कार्यक्रम हरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
प्रदेशले सम्पादन गरेका कार्यक्रमहरु मध्ये ग्रामीण अल्ट्रासाउन्ड निकै प्रभावकारी रहेको कुरा निर्देशक डा अवस्थीले बताउनु भएको छ । वहाका अनुसार सो कार्यक्रम मार्फत प्रदेशका कुल अनुमानित गर्भवतीको संख्या ७५२३७ जना मध्ये ४५१३५ जनाले ग्रामिण अल्ट्रासाउन्डको माध्यमबाट गर्भ जांच गराएको देखिन्छ, जस मध्ये १५६२ जनाको गर्भमा जटिलता पत्ता लगाउन सकियो र जटिलता देखा परेका महिलाहरुलाई समयमै सुबिधा सम्पन्न अस्पतालमा प्रेषण गरि थप जटिलता हुन् बाट र ज्यान जान जोगाउन सकिएको कुरा जानकारी गरिएको छ । त्यसै गरि सुदूरपश्चिम प्रदेशले राजपुर डोटीमा बायोमेडिकल इक्युप्मेंट प्रयोगशाला स्थापना गरेको छ, जुन प्रयोगशाला बाट स्वास्थ्य क्षेत्रमा प्रयोग हुने औजार उपकरणहरु मर्मत सम्भार गर्ने काम भै रहेको छ । त्यसै गरि कंचनपुर जिल्लामा इन्टोमिलोजी ल्याब स्थापन गरिएको छ, जुन ल्याब बाट रोग सार्ने किट हरु जस्तै लामखुट्टे लगायत अन्य किटहरुको अध्ययन गर्ने काम भै रहेको छ । डोटी , डडेल्धुरा र दार्चुला जिल्लामा नसर्ने रोगको लागि पेन प्याकेज बिस्तार गरिको छ । प्रदेशका ८ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भै सकेका छन् । नमुना स्वास्थ्य प्रदेश निर्माणको लागि स्वास्थ्य निर्देशनालय राजपुर डोटीले बिभिन्न १७ वटा सूचक हरुको शत प्रतिशत प्राप्तिको समेत लक्ष्य निर्धारण गरेको छ ।