अपाङ्गतामा पनि छोराको तुलनामा छोरीलाई विभेद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ७ गते, बुधबार २०:२७

शर्मिला विश्वकर्मा, काठमाण्डौं |  सुर्खेत जिल्ला विरेन्द«नगर नगरपालिका वडा नं ८ निवासी ७८ वर्षिया गीता देवि आचार्यका ५ छोरी १ छोरा छन् । यी मध्ये छोरा र ३ जना छोरीहरु पूर्ण रुपमा दृष्टिविहिन छन् । तर गीता देवीले छोरालाई भने भारतमा लगेर पढाउनु भयो त्यो समयमा नेपालमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई पढाउने विद्यालय छ भन्ने आफुहरुलाई थाहा नभएको उहाँ बताउनु हुन्छ । आफ्नो गला अबरुद्ध पादै उहाँ भन्नु हुन्छ “छोरा अपाङ्गता भए पनि जहाँ कहाँ लगेर हुन्छ, जसरी भए पनि पढाउनु पर्दछ भनेर श्रीमानले भारतमा लिएर जानु भयो र उतै पढाउनु भयो । तर माइली छोरी कमलालाई भने छोरी मान्छे, त्यही पनि आँखा देख्दिन, घर नजिक विद्यालय पनि छैन, किन पढाउनु प¥यो भनेर पढाउनु भएन” ।

दृष्टिविहिन छोरी भएकै कारण घर नजिक विद्यालय नभएको र टाढा पठाउदा सुरक्षित नहोला, कसैले केही गरिदेला भनेर पढन नपठाउदा म पारिवारिक तथा सामाजिक हरेक कार्यहरुमा पछाडी परेको अनुभव कमला आचार्यको छ । आफ्नो जीवन यापनको लागि आफै केही पनि गर्न नसक्ने भएकोमा उहाँलाई पछुुतो छ । भन्नुहुन्छ, ‘मलाई पनि त्यो समयमा पढाउनु भएको भए आज मैले पनि काम गर्न पाउथे, सामाज र घरको लागि केही गर्थे तर पढ्न नपाउदा हरेक अवसरहरुबाट बञ्चित भएर घरमा नै बस्न बाध्य छु ।’

गिता देवि आर्चायकी साहिली छोरी भिमा आर्चाय र कान्छि छोरी मेनुका आचार्य पनि जन्मजात नै पूर्ण दष्टिविहिन हुनु हुन्छ । भिमा र उहाँकी बहिनी मेनुकाले भने पढ्ने अवसर पाए । उनीहरुले पढ्ने बेलामा नेपालमै विभिन्न जिल्लाहरुमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि पढ्ने विद्यालयको स्थापना भइसकेका थिए । र भिमा र बहिनीले यस्तै विद्यालयमा छात्रावासमा बसेर पढे । पढाइले उनीहरुका लागि अवसरको ढोका पनि खोल्यो । जसका कारण अहिले उनीहरु सहज रुपमा आफ्नो जीवन यापन गर्न सक्ने भएका छन् ।

भिमा भन्नु हुन्छ “मेरो दाजु दृष्टिविहिन भएर पनि पढ्न पाउनु भयो, विवाह गरेर छोराछोरी छन् तर त्यहि परिवारको मेरो दिदी कमलाले भने छोरी अनि दृष्टिविहिन भएकै कारण पढ्न पनि पाउनु भएन र उहाँको विवाह पनि भएको छैन । यो उहाँले भोग्न परेको विभेद हो ।” पाल्पा जिल्ला तिनाहुँ नगरपालिका ३ का मित्रलाल अधिकारीको घरमा पनि ६ जना दाजुभाई ३ जना दिदी बहिनी छन् । ती मध्ये ३८ बर्षिय मित्रलाल अधिकारी, उहाँका दाजु र २ दिदीहरु जन्मजात नै पूर्ण दृष्टिविहिन अपाङ्गता हुनु हुन्छ । मित्रलाल अधिकारीका अनुसार ४ जना छोरा छोरी नै दृष्टिविहिन अपाङ्गता भएता पनि आमा बुवाले अपाङ्गता छोराछोरीमा कुनै पनि विभेद नगरी समान शिक्षा लिने अवसर पाउनुभयो ।

तर एउटै घरमा छोरा र छोरी अपाङ्गता हुदा छोराको तुलनामा हजुरहरुले कस्तो विभेद सहनु प¥यो भन्ने प्रश्नमा उहाँका २ जना दृष्टिविहिन दिदीहरु भने बोल्न चाहनु भएन ।
सुनसरी जिल्ला चक्रवर्ति नगरपालिका वडा नं ७ निवासी पूर्ण दृष्टिविहिन महिला सिमा नेपालको घरमा २ जना छोरी र १ जना छोरा गरी ३ जना मध्ये एक जना छोरीले मात्र आँखा देख्न सक्छिन् । सिमाले घरमा अपाङ्गता छोरी भएकै कारण आमा बुवाबाट कुनै पनि विभेको महसुस गर्न परेन । तर सिमा नेपाल भन्नु हुन्छ “तराई क्षेत्रमा भने मद्येशी तथा मुस्लिम समुदायमा एउटै घरमा छोरा र छोरी दृष्टिविहिन हुदा छोरालाई बढि माया गर्ने, विद्यालयमा पढनको लागि भर्ना गर्ने, षोषणयुक्त खानेकुराहरु ख्वाउने तर छोरीलाई घर बाहिर जान नदिने, नपढाउने, विरामी भए पनि राम्रो उपचार नगर्ने, अपाङ्गता छोरी भनेर हेला गर्ने गरेको देखिन्छ । ”

दृष्टिविहिन अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष सिता सुवेदीले “छोरा जस्तो सुकै अपाङ्गता भएको भएता पनि उसको हेरचाहको लागि, सन्तान प्राप्तीको लागि, सम्पत्तिको संरक्षणका लागि योग्य केटी खोजेर विहे गराइदिने, छोरीलाई भने विहे नै नगराइदिने, पैतृक सम्पत्ति नदिने, नपढाउने, घर बाहिर जान नदिने ” गरेको बताउनु हुन्छ ।

अपाङ्गता भएका छोराछोरीका अभिभावकले छोराको तुलनामा छोरीलाई अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व नगराइने, अपाङ्गता छोरीको विवाह पनि नगरिदिने, छोरालाई राम्रो बोर्डिङ्ग स्कूलमा पढाउने, छोरीलाइ सके सम्म नपढाउने पढाए पनि सरकारी स्कुलमा भर्ना गरिदिने गरेको अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ‘पारिवारिक निर्णहरुमा अपाङ्गता छोरीलाई सहभागि गराइदैन ।’ यस्ता विभेदहरुले गर्दा अपाङ्गता भएकी महिला तथा छोरीले बाचुञ्जेल घर भित्र नै अरुको आज्ञा पालना गर्दै पीडादायी जीवन जीउन बाध्य भएको उहाँको भनाइ छ ।

नेपाल अपाङ्ग महिला संघले सन् २०११ म गरेको अध्ययन प्रतिवेदन अनुसार ६७ प्रतिशत अपाङ्गता भएका महिलाहरु विभिन्न हिंसामा परेको र यसमा पनि ६३ प्रतिशत युवा अपाङ्गता भएका महिलाहरु रहेको पाइएको छ । अधिकांश अपाङ्गता भएका महिलाहरु हिंसा नै सहेर बस्न बाध्य भएका छन् । न्यायको लागि उजुरी दिने निकायहरु सम्म उनीहरुको पहुँच छैन । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अनुसार ४० प्रतिशत भन्दा बढि अपाङ्गता भएका महिलाहरुले नियमित रुपमा आय श्रोत गुमाउन परेको अवस्था छ । यसको मुख्य कारण घरैबाट हुने विभेद हो ।

नेपाल नेत्रहिन संघका महासचिव शिशिर खनाल “एउटै घरमा अपाङ्गता भएका छोरा र छोरीको तुलनामा छोरीलाई बढि विभेद गर्नुको कारण चेतनाको कमी तराई र ग्रामीण क्षेत्रहरुम यो अवस्था झन चरम हुने गरेको बताउनु हुन्छ” छोरीले आँखा देख्दिन किन पढाउनु प¥यो, यसले पढेर के नै गर्ने हो र, छोरा त अपाङ्गता भएपनि हाम्रो बुढेसकालको साहारा हो, बंश राख्छ भन्ने जस्ता गलत धारणहरुको अन्त्य नहुदा छोरी पिडित भएको उहाँको ठम्याइ छ ।

कति परिवारमा अपाङ्गता भएका सन्तान कति छन, छोरी अपाङ्गताको अवस्था कस्तो छ, कस्ता कस्ता विभेदको सामना गर्न परेको छ भनेर अनुसन्धान नै नभएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष रमा ढकाल बताउनु हुन्छ । “आगामी दिनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले यस विषयमा काम गर्ने ”उहाँ बताउनु हुन्छ । राज्यले अपाङ्गता भएका व्यक्ति तथा महिलाको अधिकारका लागि विभिन्न ऐन कानून, नीति नियमहरु बनाएको छ ।अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ३ मा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताको आधारमा भेदभाव वा उसको वैयक्तिक स्वतन्त्रताबाट बञ्चित गरिने छैन भनिएको छ । साथै अपाङ्गता भएका व्यक्तिहरुलाई उसको परिवारका कुनै सदस्य वा संरक्षकले अपाङ्गता भएकै आधारमा पालनपोषण, खानपान, हेरचाह, सम्पत्ति बाँडफाँड वा अन्य कार्यमा कुनै प्रकारको भेदभाव गर्न नपाइने व्यवस्थ छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी २००७ को धारा ५ ले समानता र गैर भेदभाव, १० मा जीवनको अधिकार, १३ मा न्यायमा पहुँच, २३ मा घर तथा परिवारबाट सम्मान, २४ मा शिक्षा, २५ मा स्वास्थ्यको अधिकारको व्यवस्था गरेको छ ।

नेपालको संविधान २०७२ अन्र्तगत समानताको हकमा सबै नागरिक कानूनको दृष्टिमा समान हुने र कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित नगरिने व्यवस्था छ । त्यसै गरी शिक्षा सम्बधि हकको उपधार ३ मा अपाङ्गता र आर्थिक रुपले विपन्नले कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने र ४ मा दृष्टिविहिन नागरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर वा बोलाई सम्बन्धि अपाङ्गता भएका नागरिकलाईसौकेतिक भाषको माध्यमबाट निशुल्क शिक्षा पाउने व्यवस्था समेत गरिएको छ ।

यसै गरि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ र यसको नियमावली २०७७ पनि छ । अपाङ्गता भएका महिलाहरुका लागि वकालत, पैरवी, कानूनी सहयोग जस्ता विशेष कार्यक्रमहरु, ऐन कानूनहरु, नीतिगत व्यवस्थाहरु पनि छन् । यी नै व्यवस्था अनुसारमन्त्रालयले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायतका संघ संस्थाहरुसँग सहकार्य गरी जनचेतना जगाउने, विभेद अन्त्य गर्ने, न्याय दिलाउने, नीत नियमहरु कार्यन्वयनका लागि पहल गर्ने, कार्यक्रमहरु सञ्चालन गर्न अनुदान सहयोग उपलब्ध गराउँदै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव तथा अपाङ्गता अधिकार प्रर्वद्धन शाखा प्रमुख जमुना मिश्रले जानकारी दिन ुभयो । साथै प्रत्येक स्थानीय तहहरुले आफ्ना क्षेत्रमाअपाङ्गता भएका व्यक्ति कति छन्, कुन प्रकारको अपाङ्गता धेरै छ अपाङ्गता भएका महिला बालबालिकाको अवस्था कस्तो छ भनि अध्ययन गरेर नीति कार्यक्रम र योजनाहरुतय गर्नुपर्ने देखिन्छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालले “नगरपालिमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने कार्य भै रहेको र यही पुष महिनाको अन्तिम सम्ममा तथ्याङ्कक आउने जानकारी दिनु भयो । उहाँले “अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका लागि कामा गर्ने संघ संस्थाहरुसँग छलफल गरी उनीहरुको पुनस्र्थापना, रोजगारी, शिक्षा, तालिम लगायतका सेवा उपलब्ध गराउने नीति ल्याइएको” बताउनु भयो । उपमेयर शान्ति नेपालले “अन्य नागरिकहरुका साथै अपाङ्गता भएका व्यक्ति तथा महिलाहरुका लागि पनि विशेष शिक्षा कार्यक्रम सञ्चालन गरी पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने नगरपालिकाको योजना रहेका पनि उहाँले जानकारी दिनुभयो ।”

अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क: राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ५ लाख १३ हजार २ सय २१ अपाङ्गता भएका व्यक्ति छन । जुन १.९४ प्रतिशत हुुन आउँछ । यो मध्ये अपाङ्गता भएका महिलाको संख्या २ लाख ३३ हजार २ सय ३५ रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको संख्यामा पनि नेपाल नेत्रहिन संघका अनुसार दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको संख्या ९४ हजार २ सय ५४ रहेको र त्यस मध्ये पनि दृष्टिविहिन महिलाहरुको संख्या करिब ७५ हजार भन्दा बढि रहेको छ । संघका अनुसार दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुको करिब ७५ हजार जनसंख्या मध्ये अधिकांश दृष्टिविहिन महिलाहरुले पारिवारिक तथा सामाजिक रुपमा विभेदको सामना गर्न परेको छ । तर पनि आफुले भोगेको विभेद, हिंसा, अन्याय, अत्याचारको विषयमा विभिन्न कारणले उहाँहरु खुलेर कुरा गर्न चाहनु हुन्न । नेपाल नेत्रहिन संघ तथा नेत्रहिन महिला संघका अनुसार अधिकांश दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको परिवारमा जन्मजात नै ४ ÷५ जना छोराछोरी नै दृष्टिविहिन भएको पाइएको छ । एउटै परिवारमा २ जना छोरा वा छोरी, १जना छोरा वा छोरी वा त्यो भन्दा बढि संख्यामा दृष्टिविहिन भएको अवस्थामा दृष्टिविहिन छोरा र दृष्टिविहिन छोरीमा पनि विभिन्न विभेदहरु हुने गरेका धेरै घटनाहरु छन् तर ती सबै बाहिर आउन नसकेको संघको भनाइ छ । ( यो आलेख सञ्चारिका समुहले “लिङ्ग पहिचान सहितको सन्तान छनोटको रोकथाम र अनुसन्धान ” विषयक तालिम प्रदान पश्चात तयार गरिएको हो )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु