अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १९ गते, मंगलवार ०५:४८

शर्मिला विश्वकर्मा

राष्ट्रिय महिला आयोगले हिजो असार १८ गते सोमबारका दिन राजधानीमा अपाङ्गता भएका महिलाहरूको हक, अधिकार संरक्षणको विषयमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोजक संस्था राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा गरिएको अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा महिला तथा सामाजिक मामिलाका सभापति रोशन कार्कीले अपाङ्गता जुन सुकै समयमा जो सुकै व्यक्तिहरूलाई पनि हुन सक्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरू अपाङ्गता भएकै कारण निराश हुन र एक्लो हुन नहुने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई सबै निकायहरूले प्राथमिकताका साथ संशोधन गर्नु पर्ने बताउँदै आगामी दिनमा राष्ट्रिय महिला आयोगको सहयोगमा उनीहरूका सवालहरूलाई प्राथमिकताका साथ संशोधन गर्नु पर्ने भनी वकालत तथा पैरवी गर्ने बताउनु भयो । यसै क्रममा उहाँले अपाङ्गता भएका महिलाले भोग्नुपरेको विविध प्रकारको हिंसा, विभेद न्यूनीकरणका लागि सरोकारवालासँग बसेर समितिमा छलफल गर्ने पनि बताउनु भयो ।
त्यसै गरी आयोजक संस्था राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले सबै वर्ग तथा समुदायका महिला र त्यस भित्रका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई संशोधन गर्दै उनीहरूको न्यायमा पहुँच पुर्याकउनका लागि राष्ट्रिय महिला आयोगले काम गर्ने बताउनु भयो । त्यसै गरी उहाँले अपाङ्गता भएका महिलाले भोगेको विभेद, समस्या निक्कै जटिल भएकोले यसको न्यूनीकरणका लागि विशेष व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो ।


उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अपाङ्गता भएका महिलाहरूका विभिन्न समस्या तथा चुनौतीहरूको न्यूनीकरणका लागि राष्ट्रिय महिला आयोगले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै काम गर्ने र उनीहरूका विविध सवालहरूलाई संवोधन गर्ने बताउनु भयो ।

अपाङ्गता भएका महिलाहरुको सवालमा गरिएको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका विभागकी उपसचिव तथा निर्देशक निरा अधिकारीले अपाङ्गता भएका समग्र व्यक्तिहरू तथा महिलाहरूको सही तथ्याङ्क हुनु पर्ने, उनीहरू माथि हुने विभिन्न हिंसाका घटनाहरू न्यूनीकरणका लागि दीर्घकालीन समाधानहरू ल्याइनु पर्ने र यस्ता कार्यक्रमहरूलाई प्रदेशहरूमा पनि गरिनु पर्ने कुरामा जोड दिनु भयो ।
राष्ट्रिय महिला आयोगद्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाहरूको वर्तमान अवस्था, समस्या, चुनौती र अपाङ्गता भएका महिलाहरूको अधिकार प्रवर्धनका लागि अवलम्बन गर्नु पर्ने उपायहरूका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले समाजमा अपाङ्गता भएको छोरीले केही गर्न सक्दिन भन्दै घर भित्र नै लुकाएर राख्ने, घरबाट बाहिर ननिकाल्ने, शिक्षा तथा कुनै पनि तालिमको अवसरबाट वञ्चित गर्ने गरेको भन्दै केही अपाङ्गता महिलाहरू अपाङ्गताकै कारण महिला हिँडडुल गर्न नसक्ने, प्रतिकार गर्न र भन्न नसक्ने भएकाले विभिन्न हिंसा तथा बलात्कार लगायत यौन हिंसामा पर्ने, विवाह नहुने, भइहाले पनि अन्य महिलाले झैँ हक अधिकार नपाउने, यौन हिंसामा परे न्याय नपाउने लगायतका समस्यामा परेको बताउनु भयो ।
सो कार्यक्रममा संविधान सभा सदस्य इन्द्रमाया गुरुङले सरोकारवाला तथा राज्यका सबै संरचनाहरू मानव मैत्री बनाउनका लागि राष्ट्रिय महिला आयोगले पहल गर्नु पर्ने, राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइएका ऐन, कानुन तथा नीति नियमहरू पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी उपाध्यक्ष मिना पौडेलले अपाङ्गता महिला भित्रको विविधताका सवालहरूलाई पहिचान गरी ती सवाल संवोधानका लागि राष्ट्रिय महिला आयोगले पहल गर्नु पर्ने, महिला हिंसा न्यूनीकरणका लागि अपाङ्गता भएका महिलाहरूलाई लक्षित गरी आर्थिक आय – आर्जनका कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय महिला आयोगले सोमबार राजधानीमा आयोजना गरेको अपाङ्गता भएका महिलाहरूको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले राज्य स्तरबाट सेवा सुविधा दिने निकायहरूमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि साङ्केतिक भाषाको दोभासेको व्यवस्था गर्नु पर्ने, मानव मैत्री संरचना निर्माण गरिनु पर्ने, अपाङ्गता भएका महिलाहरू माथि हुने विभिन्न हिंसाको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू ल्याइनु पर्ने, अन्यायमा परेकालाई सहज रूपमा न्याय दिनु पर्ने लगायतका सवालहरूलाई संवोधन गर्नका लागि राष्ट्रिय महिला आयोगले पहल गर्नु पर्ने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु