सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गताका सवाल समावेश सम्बन्धमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २३ गते, मंगलवार ०६:१०

२३ असोज २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

“अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार, योजनावद् अपाङ्गता समावेशी विकासको मूल आधार ” भन्ने नारा सहित राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ( निडवान ) ले सोमबार काठमाडैमा सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल विषयक राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्यो ।

राष्ट्रिय योजन आयोगको सहकार्य, दिगो विकास तथा सुशासन समिति राष्ट्रिय सभाको संयोजन र UN Women को सहयोगमा काठमाडौँमा आयोजना गरिएको उक्त राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि एवं सुशासन तथा दिगो विकास समितिका सभापति प्रकाश पन्थले सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरू, महिला तथा दलित समुदायका सवालहरूलाई समावेश गरी संवोधन गर्नका लागि राष्ट्रिय योजना आयोग लगायतका सम्बन्धित निकायहरूका प्रतिनिधिहरूसँग निरन्तर छलफल गरिरहेको बताउनु भयो । साथै उहाँले यस विषयमा सङ्कल्प प्रस्ताव पेस गरेर उनीहरूका सवालहरूलाई संवोधन गर्न निर्देशन दिएको भन्दै यस विषयमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

त्यसै गरी राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता ढुङ्गाना शाहले यस सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई प्राथमिकताका साथ समावेश गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । यसै क्रममा राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले यस सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई प्राथमिकताका साथ स्थान दिनको लागि राष्ट्रिय योजना आयोगले सक्दो प्रयास गर्ने भन्दै यसका लागि सुशासन तथा दिगो विकास समितिको महत्त्वपूर्ण भूमिका हुने बताउनु भयो ।

यस कार्यक्रममा राष्ट्रिय योजना आयोगका निर्देशक शिव रञ्जन पौडेलले सोर्हौ पञ्चवर्षीय योजना, निर्माण र यसको वर्तमान अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले यस विषयमा विभिन्न विज्ञहरूसँग छलफल गरी निर्देशन समितिबाट स्वीकृत गराइएको, यसलाई प्रदेश स्तर, राष्ट्रिय विकास परिषदमा छलफल गरी माघ मसान्त सम्म जारी गर्ने योजना गरेको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ( निडवान ) का अध्यक्ष प्रतिभा गुरुङले सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संवोधन गर्न लक्षित वर्गहरू र अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई समावेश गरिनु पर्ने बताउनु भयो । साथै उहाँले यस राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीबाट आएका सवालहरूलाई दस्तावेजीकरण गर्ने, प्रदेश तथा संघिय स्तरमा छलफल गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूले गरेको प्रतिबद्धता कार्यान्वयनको अवस्थालाई मध्यनजर गर्दै अपाङ्गता भएका व्यक्तिहरूका सवाल संवोधनका लागि सबै एकीकृत भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीमा बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नोरु शेर्पाले २४ सै घण्टा सहयोगीको आवश्यकता हुने तथा श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको सहयोगी व्यवस्थापनका सवालहरूलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणी घिमिरेले यस सोर्हौ पञ्चवर्षीय योजनामा हिमोफिलिया अपाङ्गता भएका व्यक्तिहरूको औषधी उपचारका लागि नेपाल सरकारले व्यवस्था गर्नु पर्ने सवाललाई पनि प्राथमिकता दिनु पर्ने बताउनु भयो । काठमाडौँमा आयोजना गरिएको काठमाडैमा सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल विषयक राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको सञ्चालन अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँका महासचिव गणेश के.सी.ले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु