-शर्मिला विश्वकर्मा, निजगढ
काठमाडौं ।पहिचान नेपालले बारा जिल्लाको निजगढमा अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन विश्लेषण र कार्यान्वयनको अवस्था सम्बन्धी ३ दिने अन्तरक्रियात्मक गोष्ठीको आयोजना गरेको छ । बारा जिल्लाको निजगढ नगरपालिकाको कार्यकक्षमा Disability Rights Fund USA को सहयोगमा आयोजना गरेको सो गोष्ठीमा यस क्षेत्रमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूले भोग्न परेका विभिन्न चुनौतीहरूको विषयमा छलफल गरियो ।
यसै छलफलमा सिमरा २ की पूर्ण दृष्टिविहीन अपाङ्गता भएकी महिला अम्बिका पक्वालले आफू पूर्ण दृष्टिविहीन हुँदा पनि ग वर्गको अर्थात् पहेँलो रङ्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेको र सामाजिक सुरक्षा भत्ता पनि मासिक रूपमा रु ७ सय मात्रै प्राप्त गरेको बताउँदै यस क्षेत्रमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई संवोधन गरिनु पर्ने बताउनु भयो ।
त्यसै गरी कलैया ६ की अभिभावक साल्मा खातुनले १७ वर्षको उमेरमै ७ लाख भन्दा बढी दाइजो दिएर आफ्नी बहिरा अपाङ्गता भएकी छोरीको विवाह गरे पछि अपाङ्गता भएकै कारण श्रीमानले विभिन्न यातानहरु दिएर काखे नातिनी सहित छोडेको र माइतीमा नै पाल्न परेको गुनासो गर्नु भयो । यसै क्रममा उहाँले छोरी र नातिनीको न्यायका लागि सबैले पहल गरिदिनुहुन आग्रह गर्नु भयो ।
यसै क्रममा कलौया १ की शारीरिक अपाङ्गता भएकी महिला गोदावरी शाहले शिक्षा प्राप्त गरेका अपाङ्गता भएका महिलाहरुलाई स्थानीय निकायमा नै रोजगारीको व्यवस्था गरिनु पर्ने, शिक्षा प्राप्त गर्न नसकेका व्यक्तिहरुलाई सीप मुलक तालिम प्रदान गरी स्वरोजगार बनाउनु पर्ने र तराई क्षेत्रमा हुँने विभिन्न हिंसा न्यूनीकरणका लागि भएका ऐन कानुनको जानकारी गराउँदै कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
साथै आयोजक संस्था पहिचान नेपालकी कार्यकारी निर्देशक इच्छा के. सी. ले कार्यक्रमको सहजीकरण गर्दै महिला हिंसा सम्बन्धी जानकारी गराउनु भयो । उहाँले लैङ्गिक हिंसा सम्बन्धी कानुनी प्रावधानको बारेमा प्रस्ट पार्दै अपाङ्गता भएका महिलाहरूले दाइजो लगायतका विभिन्न
हिंसा भोग्न परेको र यसको लागि सबैले आवाज उठाउनु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई साङ्केतिक भाषा सिकाउनु पर्ने कुरामा जोड दिनु भयो ।
अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन विश्लेषण र कार्यान्वयनको अवस्था सम्बन्धी ३ दिने अन्तरक्रियात्मक गोष्ठी कार्यक्रममा निजगढ नगरपालिका १२ का अभिभावक सोनाम सिंह गोलोले बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि साङ्केतिक भाषामा शिक्षा दिने व्यवस्था गर्नु पर्ने, स्थानीय निकायहरूले उनीहरूको मनोबल बढाउने काम गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी दृष्टिविहीन शिक्षक तथा अपाङ्गता अधिकारकर्मी श्याम सुन्दर महतोले नेपालको संविधानको विषयमा जानकारी गराउँदै संविधानमा अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिक अधिकारका विषयमा प्रस्ट पार्नु भयो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई परीक्षामा सहयोगी लेखनको विषयमा पनि जानकारी गराउनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय तथा सचिवालय सदस्य सुनिल कुमार यादवले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिमा उल्लेख गरिएका व्यवस्थाहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो । साथै उहाँले राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि गरिएका सेवा सुविधाका बारेमा पनि जानकारी गराउनु भयो ।
यस कार्यक्रममा बारा जिल्लाका ३५ जना विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ ।
उक्त ३ दिने कार्यक्रममा विद्यमान नीति, नियम र कानुनलाई लैङ्गिकता र अपाङ्गताको आधारमा विश्लेषण गर्दै अन्तरक्रियात्मक गोष्ठी गरियो ।