काठमाडौँ । शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेकोे छ । जाजरकोटमा मात्र ९२ जनाको मृत्युको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। १२८ जनाको मृत्यु भएको पुष्टि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि गरेका छन् ।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिका रहेका छन् । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए । भूकम्पका कारण यहाँ विद्युत सेवा मेत अवरुद्ध भएको छ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ भने ८५ जना घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोटतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेका हुन् । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७, १२:०८, १२:२९, १२:३५ गरी ४ पटकको क्रमशस् ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडको भुकम्प गएको थियो ।