मङ्सिर १८ गते संवाददाता, काठमाडौँ
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हिजो मङ्सिर १७ गते अर्थात् डिसेम्बर ३ तारिका दिन ” दिगो विकास प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता ” भन्ने मूल नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेशराज आचार्यको अध्यक्षतामा गठित मूल आयोजक समितिले तय गरेको कार्यक्रम अनुसार हिजो डिसेम्बर ३ तारिका दिन बिहान काठमाडौँको भृकुटीमण्डपबाट प्रभात फेरी कार्यक्रम गरी सरोकारवाला निकायहरूको औपचारिक शुभकामना आदान प्रदान गरिएको थियो ।
यस कार्यक्रमलाई संवोधन गर्दै शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको ” दिगो विकास प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता ” भन्ने नारा लाई कार्यान्वयन गर्नको लागि नेपाल सरकारले प्रयास गर्ने भन्दै जति सक्दो छिटो अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय नीति पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुरेशराज आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल सरकारले बनाए ऐन कानुन, नीति नियम अनुसार काम गर्दै आएको भन्दै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई प्रविधिसँग पनि जोड्नु पर्ने कुरामा जोड दिनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस वर्ष देखि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गताको क्षेत्रमा विभिन्न विधा मार्फत महत्त्वपूर्ण योगदान दिएका विभिन्न १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान पत्रद्वारा दोसल्ला ओढाएर सम्मान पनि गरेर अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार स्थापित गर्नका लागि प्रेरणा प्रदान गरेको छ । यस मूल समारोहका बिचमा पत्रकारिताको क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई अगाडी बढाउँदै आउनु भएकी कास्की जिल्ला, पोखरा महानगरपालिका २६ स्थायी ठेगाना भई विगत १४ वर्ष देखि काठमाडौँमा रहेर रेडियो, विभिन्न पत्रपत्रिका तथा अनलाइन मार्फत पत्रकारिता गर्दै आउनु भएकी शारीरिक अपाङ्गता भएकी सञ्चारकर्मी शर्मिला विश्वकर्मा, रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ का दृष्टिविहीन सञ्चारकर्मी टिकाराम घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कर्मचारी ताराकेश्वर नगरपालिका ६ काठमाडौँ निवासी ईश्वर रोइला, सरकारी कर्मचारीको तर्फबाट मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका ६ निवासी नेपाल सरकारको निजामती सेवा अन्तर्गत स्वास्थ्य निरीक्षक शारीरिक अपाङ्गता भएकी महिला पार्वती पौडेल, बाग्लुङ् जिल्ला रामरेखा १ का सुनाई सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूका शिक्षक सन्तोष पौडेल, बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ११ निवासी दृष्टिविहीन शिक्षक भावुकजंग थापा, अपाङ्गता भएका व्यक्तिसँग बिहे गरी निरन्तर अपाङ्गताको क्षेत्रमा क्रियाशील व्यक्ति दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका ५ की प्रतिमा शर्मा जसले सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिसँग विवाह गरेर आज सम्म यही क्षेत्रमा लागि रहनु भएको, त्यसै गरी ललितपुर महानगरपालिका ४ की गोमा अधिकारी, राष्ट्रिय अपाङ्ग संघ नेपालका संस्थापक अध्यक्ष निर्मल कुमार देवकोटा ( उहाँ अमेरिका भएको कारण उक्त सम्मान उहाँकी श्रीमती लक्ष्मी महर्जन / देवकोटालाई प्रदान गरिएको ) र राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा रहेर स्थापना काल देखि विभिन्न कार्यसमितिमा रही अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार स्थापित गर्न योगदान पुर्यामउनु भएको भनी टेकनाथ न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सबैलाई शुभकामना दिँदै अपाङ्गता भएका किशोर किशोरीहरूलाई विकासको मूलधारमा समावेश गर्नु पर्ने, सबैको लागि समावेशी र समतामूलक समाजको निर्माण गर्न सबै प्रकारका अवरोधहरूको पहिचान गरी ती अवरोधहरू हटाएर उनीहरूका लागि न्यायमा पहुँच, रोजगार, स्वरोजगार, शिक्षा, स्वास्थ्य, प्रजनन स्वास्थ्यका सवालमा काम गर्न जरुरी रहेको बताउनु भयो ।
त्यसै गरी FFO नर्वे र DPOD डेनमार्कका नेपाल प्रतिनिधि रेणु लोहनीले दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका सवालहरू समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि बनेका ऐन कानुनहरू पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि सबै एक जुट हुनु पर्ने बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले राज्यले अपाङ्गता भएका व्यक्तिहरूका हक हित र अधिकारका लागि काम गर्दै आएको भए पनि पूर्ण रूपमा देशका ३ वटै तहमा रहेका संघिय, प्रदेश र स्थानीय सरकारले अपाङ्गता अनुकूलको वातावरणमा पूर्ण रूपमा काम गर्न नसकेको गुनासो गर्नु भयो । यसै क्रममा उहाँले यी ३ वटै तहका सरकारहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापित गर्नका लागि आवश्यक बजेटको विनियोजन गर्नु पर्ने कुरामा जोड दिँदै सम्मानित व्यक्तिहरू र कार्यक्रममा सहभागी सबैलाई अपाङ्गता भएका व्यक्तिहरूको ३२ औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।