२५ माघ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
नेपाल अपाङ्ग महिला संघ अपाङ्गता भएका महिलाहरूको हक, हित र अधिकार सुनिश्चितका लागि काम गर्ने एक गैर सरकारी संस्था हो । अपाङ्गता भएका महिलाहरूका लागि काम गर्ने क्रममा विभिन्न सरोकारवाला निकायहरूका साथै काठमाडौँ जिल्लाको बुढानीलकण्ठ नगरपालिकासँग पनि समन्वय गरेर केही कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसै क्रममा आज माघ २५ गते सी.वि.एम.को आर्थिक सहयोगमा बुढानीलकण्ठ नगरपालिकाको कार्यालयमा सिकाइ र अनुभव आदान प्रदान तथा आगामी योजनाका बारेमा छलफल कार्यक्रमको आयोजना गर्योि । यस छलफलमा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा बुढानीलकण्ठ नगरपालिका अति नै संवेदनशील र सकारात्मक रहेको, उनीहरूका लागि कार्यक्रम सञ्चालन गर्न नीति योजनाहरू बनेको भए पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नु भयो । साथै उहाँले यस नगरपालिकामा अपाङ्गता सहायता कक्ष स्थापना गरिएको र नेपाल अपाङ्ग महिला संघ लगायतका विभिन्न संघ संस्थाको सहकार्यका केही कामको सुरुवात भएको भन्दै आगामी दिनमा यस कार्यालयलाई मानव मैत्री बनाउन लिफ्टको व्यवस्था गरिने, अपाङ्गता सहायता कक्षमा अपाङ्गता भएको व्यक्तिलाई कर्मचारी राखिने, यस नगरपालिकाका वडा कार्यलयहरु अपाङ्गता मैत्री बनाइने कुरामा जोड दिनु भयो ।
त्यसै गरी आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले विभिन्न हिंसा, विभेद, यौन हिंसामा परेका अपाङ्गता भएका महिलाहरूको लागि छात्रावास सञ्चालन गरिएको भन्दै यस बुढानीलकण्ठ नगरपालिकाले यस क्षेत्र भित्र रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने, यस नगरपालिका अपाङ्गता तथा मानव मैत्री बनाइनु पर्ने र आगामी दिनमा यस नगरपालिकासँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताउनु भयो ।
त्यसै गरी बुढानीलकण्ठ नगरपालिकाका प्रशासकीय प्रमुख तुल्सिराम अर्यालले आगामी दिनमा यस नगरपालिकालाई अपाङ्गता मैत्री बनाइने, यो वर्षको नीति तथा कार्यक्रममा अपाङ्गता भएका
व्यक्तिहरूको क्षेत्रमा काम गर्नका लागि आवश्यक बजेटलाई संवोधन गर्ने कुरामा जोड दिनु भयो ।
यस छलफलमा नेपाल अपाङ्ग महिला संघकी परियोजना संयोजक गंगा देवकोटाले अपाङ्गता भएका महिलाहरूको सवालमा काम गर्ने क्रममा सन् २०२१ देखि २०२३ सम्म ” पहिचान ” नामक परियोजना मार्फत काम गरिएको भन्दै यस परियोजनाको कार्य क्षेत्र, उपलब्धिहरू, गतिविधिहरू, चुनौती, अपेक्षा, आगामी योजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले यसै परियोजना मार्फत काम गर्ने क्रममा बुढानीलकण्ठ नगरपालिका भित्रका ३ सय जना व्यक्तिहरू सहभागी भएको र ती व्यक्तिहरू मध्ये १६६ जना अपाङ्गता भएका व्यक्तिहरूले पनि सहभागिता जनाएको पनि जानकारी गराउनु भयो । यसै क्रममा बुढानीलकण्ठ नगरपालिका भित्र विभिन्न राष्ट्रिय नीति तथा ऐन कानुन र अन्तर्राष्ट्रिय सन्धि, महासन्धि सम्बन्धी तालिमहरू भएको, २०८०/८१ को नीति तथा कार्यक्रममा अपाङ्गताका सवाल समावेश गरिएको, राष्ट्रिय अपाङ्गता नीति २०८० बनाइएको, अपाङ्गता सहायता कक्ष स्थापना लगायतका सकारात्मक कार्यहरूको थालनी भएको भन्दै आगामी दिनमा आयोजना गरिने कार्यक्रमहरूमा बुढानीलकण्ठ नगरपालिकाको सहकार्य र साथ हुन आवश्यक रहेको पनि बताउनु भयो ।