संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन’ हिक्मत वादी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० फाल्गुन ७ गते, सोमबार १७:२९

काठमाडौं ।वादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक–सामाजिक रूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै संख्यामा रहेको भए पनि मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा यो समुदायको प्रतिनिधित्व देखिएको छ ।
बाद्यवादन र नाचगानलाई आफ्नो पेशा बनाएको यो समुदायलाई शुरुमा तत्कालीन राजा रजौटा र जमिन्दारहरूले मनोरञ्जन लिनमा प्रयोग गरेको पाइन्छ । त्यसपछि यो पेशा पनि धेरै नटिकेपछि वादी समुदायका महिलाहरू बाध्यतावस यौन व्यवसायमा लागेको पाइन्छ । बाध्यतावस त्यस्तो पेशामा लागे पनि अहिले यो समुदायका महिलाहरूले यौन व्यवसाय छाडेर अन्य पेशामा छन् र राज्यले पनि यो समुदायलाई यौन हिंसामुक्त समुदायको रूपमा घोषणा गरिसकेको छ । वादी समुदाय अहिले आर्थिकरूपमा आत्मनिर्भर बन्ने प्रक्रियामा छन् । यो समुदाय भारतको वैशालीबाट लिच्छवि कालमा नेपाल छिरेको विश्वास गरिन्छ ।
अझै पनि वादी समुदाय सोचेअनुरुप अघी बढ्न सकेको छैन । उनीहरुलाई तल्लो दर्जाको रुपमा हेर्ने चलन पनि बाकिँनै छ । तर वादी समुदायका एक यूवा हिक्मत वादी भने हिक्मतीलो बनेर आफ्नो समुदायको लागि आवाज उठाइरहेका छन् ।
हिक्मत वादी जसले गर्दा अहिले कर्णालीका वादी समुदायका बालबालिकाहरुले पनि शिक्षा पाएका छन् । उनीसँग वादी समुदायका बालबालिकाको ठूलो भविष्य जोडिएको छ । दैलेख घर भएका उनले ‘वादी सरोकार मञ्च’ स्थापना गरेका छन् । यस मञ्चले पहिलो काम वादी समुदायको अधिकारका लागि लढ्छ । दोस्रो काम वादी बालबालिकालाई शिक्षित बनाएर, वादी समुदायको अधिकारमा अग्रपंतिमा उभिने दक्ष र सक्षम बनाउने काम गर्दछ ।
यिनै हिक्मतलाई कर्णाली उत्सव कुडा कर्णालीकामा आयोजकले सोमबार पैकेलो अर्थात हिरोको रुपमा बोलाएर आफ्नो कथा भन्न लगायो । कथाको सुरुवातमै उनले आफ्नी आमालाई सम्झे । उनका अनुसार उनकी आमाका बुवाले अन्र्तरजातिय विवाह गरेका थिए । उनकी आमाका बुवा बस्नेत थरका थिए । तर उनले वादी समुदायकी महिलासंग विहे गरेपछि उनलाई आफन्त र घरपरिवारबाट तिरस्कार गरेर वादी समुदायमै पठायो । हिक्मतकी आमा पनि वादी समुदायमै हुर्किइन । सानैमा विवाह भएकी उनकी आमाका २७ वर्षकै उमेरमा ७ वटा छोरी जन्मिसकेका थिए । छोराकै आशमा उनका बुवाले अर्की विहे गरे । बुवाले सानीआमा ल्याएकै वर्ष हिक्मत पनि आमाको कोखमा हुर्किरहेका थिए । २०५० सालमा उनको जन्म भयो । दैलेखको तल्लो डुङ्गेस्वरमा बस्दै आएका वादि समुदायको सदस्यको रुपमा । अर्की विहे गरेसंगै बुवा केहि दिदिहरु र सानी आमालाई लिएर अछाम जिल्लामा गएको उनले बताए । उनले भने , ‘ हाम्रो समुदायको चलनै थियो । अर्को विहे गरेपछि अन्त जाने । बुवा गएपछि हाम्रो परिवारमा अझै बज्रपात भयो । दुःखमा रहेको हाम्रो परिवारको जिन्दगीमा अझै दुःख थपिए । ’
जसोतसो आमा र दिदिहरुले आफूलाई भने सुखैमा हुर्काएको हिक्मत बताउँछन् । आफूले पढ्न नपाएपनि भाईलाई पढाउन पर्छ भन्ने लागेर विद्यालय पठाएको उनी सम्झिन्छन् । दिदिहरुको पनि सबैको १२ ÷१३ वर्षकै उमेरका विहे भयो । त्यसपछि फेरि हिक्मतका दुःखका दिन सुरु भए । दिदिहरुले गर्ने सबै कामहरु सबै उनले गर्न पर्ने भयो । पहिलोपटक आफूले गुडको भारी बोकर २५ रुपैँया कमाएको उनको मानसपटलमा ताजा छ । उनकी आमा त्यतिबेला छोरा कमाउँने भयो भनेर खुसी भएकी थिइन् । घरायसी संगै घरधान्नको लागि अरुको काम गर्दै गर्दा उनले २०६५ सालमा एसएलसी पास गरे । आफूले पढ्नको लागि आमा र आफ्नो पेट पाल्नको लागि धेरै दुःख गरे । उनीसंगैका साथीहरु रमाइरहेको बेला उनले खोलामा माछा मार्दै बसे । अरुको काम गर्दै बसे । उनले लेभरी गरेर कमाएको पैसाले गाउँकै कस्मिेटिक पसल खोले । विस्तारै उनको व्यवसाय राम्रो भएपछि उनले सुर्खेतमा पनि फेन्सी र पुस्तक पसल खोले । उनले भाईलाई रोजगारिको लागि विदेश पनि पठाए । राम्रो कमाई भएका भएका उनले गाडी पनि जोडिसकेका थिए । २०७२ सालमा उनले विहे पनि गरे ।
हिक्मत वादि समुदायको लागि काम गर्नपर्छ भन्दै अघि सरे । उनी आफ्नो समुदायको लागि काम गर्ने भन्दै विभीन्न संघसंस्थामा पनि जोडिए । आफ्नो समुदायकालाई सबल बनाउँको लागि संघर्ष गर्न थाले । वादी समुदायका बालबालिकाहरुको पहँुच शिक्षामा पुगाउन पर्छ भन्दै लागे । २०७७ साल फागुन ९ देखी २६ गतेसम्म उनले मुख्यमन्त्री कार्यालय अघि वादी समुदायको उत्थानको लागि आन्दोन सुरु गरे । उनले वादी समुदायको लागी जमिनको माग गरेका थिए । आफू आफ्नो लागि अब्बल बन्दै गएपनि आफ्नो समुदायको लागि केहि गर्न नसकेको भन्दै उनले वादी समुदायको बालकालिकालाई सुर्खेतमा ल्याएर पढाउन सुरु गरे । यो अभियानमा लागेपछि उनले पसल , गाडी सबै बेच्नपर्ने अवस्था आयो । बालबालिकालाई पढाउने बेला रिन लागेर उनले बजारमा व्यापारीबाट थप्पड पनि खाए । तर उनले बालवालिकाहरुलाई पढाउने काम रोकेनन् । अहिले उनले १ सय २७ जना बालबालिकाहरुलाई सुर्खेतमा होस्टेलमा राखेर पढाइरहेका छन् । उनी भन्छन् , ‘ कर्णालीलाई बनाउँन छ भने बालबालिकालाई खान दिएर कुपोषित हुनबाट बचाउ । शिक्षित बनाउँ । यति लामो संघर्ष पछि हिक्मतलाई लागेको छ । संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन । अहिले कर्णाली संगै देशभरबाट उनका बालवालिकाका लागि सहयोग पनि आइरहेको हुन्छ । कर्णाली सरकार र नगरपालिकाले पनि सहयोग गर्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु